बालबालिकामा देखिने अटिजम कस्तो समस्या हो ?


काठमाडौँ — बालबालिकाहरुमा देखिने व्यवहार तथा संचारको समस्यालाई ‘अटिजम’ भनिन्छ । यो समस्या पहिचान भएका बालबालिकाहरुमा विभिन्न किसिमका व्यवहार, आनीबानी तथा संचारमा समस्याहरु हुन सक्छन् तर यी सबै समस्याहरु हरेक बालबालिकाहरुमा एकै खालका नहुन सक्छ ।


अटिजमका समस्या भएका बालबालिकामा आफूमात्र एक्लै खेल्ने, अरुसँग घुलमिल हुन नसक्ने, कुनै पनि चिजमा धेरै ध्यान दिन नसक्ने, वरिपरी भएका मानिसहरुमा ध्यान नदिने तर वस्तुहरुमा मात्र केन्द्रित हुने, बोल्न ढिला हुने वा नबोल्ने, सधैं बोलेका वाक्यहरु मात्र बोल्ने वा नयाँ कुरा बोल्न नसक्ने, नयाँ प्रश्न गर्न नसक्ने, कसैले बोलाउँदा ध्यान नदिने, आँखा–आँखा जुधाएर अरुलाई नहेर्ने खालका लक्षणहरु देखिन सक्छन् ।
त्यसैगरी आफ्नो हात हेरिरहने वा हल्लाएर खेलिरहने, उफ्रिरहने, कुनै आवाजमा कान थुनिरहने, हिँड्दा भुइँतिर नहेर्ने, सम्म र फराकिलो बाटोमा हिँड्न सहज भए पनि भर्याङ तथा बिग्रेको बाटोमा हिँड्न गाह्रो हुने, उमेरअनुरुप खान–लुगा लगाउन अनि शौचालय प्रयोग तथा सरसफाई गर्न नसक्ने, घुमिरहेका वस्तुहरु हेर्न मन पराउने, पैतालाको गाडिको भागले मात्र टेकेर हिँड्ने, स्कुलमा पठाए पनि पढ्न लेख्न–नसक्ने, खेल्नमात्र रुचाउने, बेला बेला आफैँ चिच्याउने, टिभी मोबाइलमा सुनेका सबै गीत गाउने तर दोहोरो बोलचाल गर्न नसक्ने, परिवार आमाबुवा नचिन्ने लगायतका समस्या अटिजम भएका बालबालिकामा देखिन सक्छन् ।
माथिका लक्षण बालबालिकापिच्छे फरक हुने भए तापनि यसबारे जानकारीको कमी हुँदा धेरैले यस्ता समस्या भएका बालबालिकालाई जिद्दी , अटेरी, एकलकाँटे, चकचके भनेको सुनिन्छ । यथार्थमा बच्चाको व्यवहार तथा बानी नभइ अटिजमका कारणले भएको हुन सक्छ । तर माथि उल्लेखित भएका सबै लक्षणहरु अटिजमकै हुन् भन्न मिल्दैन । यी लक्षणहरु अजिटमका संकेत तथा लक्षणहरु हुन सक्छन् भनेर सचेत रहन जरुरी छ । र, आवश्यक परे डाक्टरको परामर्श लिनुपर्छ ।
के टिभी–मोबाइल हेरेर अटिजम हुन्छ ?
टिभी तथा मोबाइल हेरेर अटिजम हुन्छ भन्ने छैन । अटिजम किन हुन्छ भनेर ठोस रुपमा थाहा नभए पनि विज्ञानले यसका जोखिमहरु गर्भावस्था देखिनै हुने बताउँछ ।
यो समस्या बालबालिकाहरु जन्मिसकेपछि वा जन्मिँदै गर्दा लाग्ने रोग जस्तो होइन ।बालबालिका जन्मिँदादेखि नै आमाको पेट भित्रैबाट अटिजम भइसकेको हुन्छ तर सानो बालबालिकाको आनीबानी विकास हुँदै जाने हुँदा यसको लक्षणहरु पछि देखिन थाल्छ । लकडाउनले गर्दा बालबालिकाहरु घरमै मात्र बसिरहने, धेरै मानिसहरुसँग सम्पर्क नहुने, टिभी मोबाइल अत्यधिक हेर्ने भएकाले अटिजमका जस्तै लक्षणहरु ढिला बोल्ने, एक्लै बस्न रुचाउने आदि देखिएका छन् तर यसलाई अटिजम भन्न मिल्दैन । यस्तो कारणले देखिएका समस्याहरु स्क्रिन टाईम (टिभी मोबाइल हेर्ने समय) कम गर्ने र बालबालिकाहरुलाई बाहिर लगि सबैसँग घुलमिल गराउन थाले स्वतः कम हुँदै जान्छ । अटिजम नै पहिचान भएका बालबालिकाहरुमा यी समस्याहरु यतिमात्र गर्नाले समाधान हुँदैन यसलाई सहजीकरण गर्न पुनर्स्थापनाको सेवा आवश्यक पर्छ ।
के अटिजम भएकाे गर्भावस्थामा थाहा पाउन सकिन्छ ?
अटिजममात्र भई अन्य समस्या नभएको अवस्थामा यो कुनै स्क्यान वा रगत जाँचबाट पत्ता लाग्दैन । किनकि यसमा दिमाग र रगतको अवस्था दुवै सामान्य हुन्छ । जन्मिसकेपछि पनि दिमागको एमआरआई र रगत परीक्षण यसको सबै साधारण हुन्छ ।
अटिजम भएको शंका लागे कसलाई देखाउनु पर्छ ?
यो पहिचान गर्न कुनै डाईगोनोस्टिक परीक्षण हुँदैन । यसका लक्षणहरु देखिए विशेषज्ञ मनोचिकित्सक तथा क्लीनिकल साईकोलोजिस्टहरुले बालबालिकाको व्यवहार, आनीबानी, संचार तथा उसले गर्ने क्रियाकलाप आदिको आधारमा परीक्षण गरिन्छ । यस्तो परीक्षणहरुबाट प्राप्त भएको अंकको आधारमा बालबालिकामा अटिजम भए/नभएको वा भएमा कुन स्तरमा छ भन्ने पत्ता लाग्छ ।
अटिजम निको हुन्छ त ?
अटिजम रोग होइन । यो सिन्ड्रोम हो । त्यसकारण यसलाई रोग जस्तो उपचार गरेर निको पार्ने भन्ने हुँदैन । यो कुनै शल्यक्रिया या औषधि सेवन गरेर ठीक हुने वा सबै समस्या हट्ने हुँदैन तर यसमा देखिएका समस्याहरुलाई सहजीकरण भने पक्कै गर्न सकिन्छ । बालबालिकाहरुलाई आफ्नो जीवनशैली सहज गराउन र आत्मनिर्भर बनाउनु नै यसको प्रमुख पुनर्स्थापना विधि हो । कति बालबालिकाहरु यसको स्पेक्ट्रम (समस्याहरुको सूची)बाट निस्किएर सामान्य मानिसझैँ जीवन बिताएको पनि प्रशस्तै उदारहणहरु छन् । अर्को कुरा, यसका समस्याहरु उमेरअनुरुप फरक हुँदै जान सक्छ त्यसैले यसको पुनर्स्थापनाका विधिहरु फरक हुँदै जान सक्छन् ।
सुरुमा विशेषज्ञ मनोचिकित्सक तथा क्लीनिकल साईकोलोजिस्टहरुले हेरेर अटिजम भएको र यसको लेभल पत्ता लाएपश्चात् समस्याहरु हेरी बालविशेषज्ञ, नाक, कान घाँटीरोग विशेषज्ञ, स्पिचथेरापिस्ट, अकुपेस्नल थेरापिस्ट, विहेविरियल थेरापिस्ट, फिजियोथेरापिस्ट, भिजन थेरापिस्ट, डाईटिसियन आदिको आवश्यकता पर्दछ ।
स्टिमसेल थेरापीले काम गर्छ ?
हुन त, अटिजम भएका बालबालिकाहरुमा सिट्मिसेल थेरापी, हाइपरबेरिक अक्सिजन थेरापी, ग्लुटेन फ्री डाईट आदिको प्रयोग भएको पाइएको छ । यीमध्ये कुनै पनि उपचार वा प्रक्रियाबाट यसको समस्या ठीक गरेको देखिएको छैन । समस्याहरु न्यूनीकरण भएको हुन सक्छ तर त्यही कारणले कम भएको भन्ने प्रमाणित नभएको अवस्था छ किनकि पुनर्स्थापनाले पनि यसलाई न्यूनिकरण गरिरहेको हुन्छ । अतः आजको दिनसम्म यो समस्याको निको नै पार्ने भन्ने कुनै उपचार प्रमाणित छैन ।
अभिभावकले के कुरामा ध्यान दिने ?
अटिजमबारे धेरैलाई ज्ञान कम छ वा छैन । यस्तो अवस्थामा उपचारमा धेरैले चाहिने/नचाहिने सुझाव, सल्लाह दिन सक्छन् । त्यसकारण यस्तो समस्या भएको शंका लागे सम्बन्धित चिकित्सकलाई देखाउन जरुरी छ । बुवाभन्दा आमाहरु धेरै तनावमा हुन्छन् । कतिलाई डिप्रेसन पनि हुन्छ, यस्तोमा आमाहरुले आफ्नो पनि ख्याल राख्ने, परिवारका अन्य सदस्य र आफ्नो लागि समय निकाल्ने र आफ्नो करिअरको बारेमा पनि सोच्नुपर्छ ।समय र पुनर्स्थापनाले बालबालिका आत्मनिर्भर बनाउन धेरै सहयोग गर्छ । हिम्मत हार्नुहुँदैन ।
प्रकाशित : पुस १३, २०७८ १८:५१