१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाराका स्कुले बालबालिकालाई लगाइने खोप अझै अन्योल

विवरण नै संकलन भइसकेको छैन
लक्ष्मी साह

बारा — कोभिडविरुद्धको मोडर्ना खोप देशभर सुरु भएको एक साता बितिसक्दा पनि बाराका १२ देखि १८ वर्ष उमेर समूहका स्कुले बालबालिकाले खोप लगाउन पाएका छैनन् ।

बाराका स्कुले बालबालिकालाई लगाइने खोप अझै अन्योल

खोप कहिलेदेखि सुरु गरिने भन्ने अझै निश्चित छैन । विद्यार्थीहरूको विवरण उपलब्ध नभएकोले खोप सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालयका अधिकारीहरूले बताएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार १६ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले स्वास्थ्य कार्यालयमा विवरण उपलब्ध गराएका छैनन् ।

उपलब्ध गराइसकेका १२ स्थानीय तहका स्कुले बालबालिकाले पनि व्यवस्थापनको अभावमा खोप लगाउन सकेका छैनन् । खोप सुरु भए न भएको बारेमा स्थानीय स्तरमा रहेको जिल्ला कोभिड व्यवस्थापन तथा नियन्त्रण समितिसमेत बेखबर देखिन्छ ।

पछिल्लो समय समितिको बैठक नै हुन छाडेको छ । समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले तत्काल खोप सञ्चालन गर्न आफूले स्वास्थ्य कार्याललाई निर्देशन दिने बताए ।

सरकारले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको लागि गत आइतबार (पुस ४) देखि देशका ५७ जिल्लामा खोप सञ्चालन गर्न निर्देशन दिँदै त्यही अनुसार प्रदेशमा खोप पठाएको हो । तर तिनै ५७ जिल्लामध्ये बारामा भने विद्यार्थीको विवरणको अभावमा स्वास्थ्य कार्यालयले खोप अझै ल्याउन सकेको छैन ।

५७ मध्येका अधिकांश जिल्लाहरूमा खोप सुरु भएको एक साता बितिसकेको छ, तर यहाँ भने खोप सञ्चालन अझै अन्योल छ । ‘विवरण नभएपछि योजना बनाउनै समस्या भइरहेको छ,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘त्यसैले अझै अनिश्चित छ, कति खोप मगाउने भन्ने विवरण यकिन नै छैन ।’ विवरण उपलब्ध गराउन स्थानीय तहलाई पटकपटक भनिरहँदा पनि विवरण उपलब्ध गराउन नसकेको उनले बताए ।

‘खोप केन्द्र र विद्यालयमै खोप दिने भनिए पनि यहाँ त्यसअनुसार जनशक्ति छैन,’ उनले भने, ‘खोप पूरा गर्न लामो समय लाग्ला ।’ उनका अनुसार कलैया उपमहानगर, कोल्हवी नगरपालिका, प्रसौनी गाउँपालिकासहित चार वटा स्थानीय तहले विवरण उपलब्ध गराउन सकेका छैनन् ।

वयस्कका लागि पनि पहिलेकै भेरोसिल खोप अझै लगाउन नसकिएको उनले बताए । ‘चिस्यान र सिरिन्जको अभावले भेरोसिलमै अड्केका छौं, यादवले भने’ सबैतिर संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्दैमा हैरान छौं ।’

सरकारले गत आइतबारदेखि नै देशभरका ५७ जिल्लामा मोडर्ना खोप सुरु गरेको हो । विवरण उपलब्ध गराउन नसकेका कलैया उपमहानगरपालिकाका शिक्षा फाँट प्रमुख प्रह्लाद वर्णवालले विद्यार्थीको विवरण उपलब्ध गराउन मंसिर २६ र पुस ७ मा सबै विद्यालयलाई सूचना गरिएको बताए ।

पुसको ९ सम्म समयावधि दिए पनि नगरका सामुदायिक र निजी गरी १ सय १५ विद्यालयमध्ये १७ वडा विद्यालयले मात्र विवरण उपलब्ध गरेको उनले बताए । उनका अनुसार कतिपय विद्यालयसित विद्यार्थीको जन्म दर्ता नै छैन । अभिभावकको मोबाइल नम्बर पनि अध्यावधि गरिएको छैन ।

प्रकाशित : पुस ११, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?