२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट

पर्वत —  कोरोना महामारी तथा श्वासप्रश्वासका लागि आवश्यक अक्सिजन खरिदका लागि अब पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । विभिन्न दातृ निकायको सहयोगमा पर्वत अस्पतालमा दैनिक ४० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट स्थापना भएपछि उक्त बाध्यता हटेको हो । 

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट

जिल्लाका विभिन्न लायन्स क्लब, नेपाल चिकित्सक संघ र चुजी फाउन्डेसन ताइवानको एक करोड बढीको सहयोगमा प्लान्ट स्थापना गरिएको हो ।

२ वर्षअघि गण्डकी प्रदेश सरकारले ७५ लाखको लागतमा जडान गरेको अक्सिजन प्लान्टले काम नगरेपछि दातृ निकायको सहयोगमा प्लान्ट जुटाइएको हो । नयाँ प्लान्ट सञ्चालनमा आएपछि अस्पतालको क्षमताअनुसारका बिरामीका लागि आवश्यक अक्सिजन बाहिरबाट ल्याउनुपर्ने समस्या नहुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुण्डीराज पौडेलले बताए ।

प्लान्ट स्थापनासँगै सिलिन्डरमा रिफिलिङ र नवनिर्मित भवनको इमर्जेन्सी वार्डमा वायरिङको काम सुरु भएको अस्पतालका सूचना अधिकारी लक्ष्मण शर्माले बताए । उनका अनुसार अस्पतालमा नवनिर्मित ५० शय्या क्षमताको भवन सञ्चालनमा आउने बेलासम्म अक्सिजन प्लान्टसमेत पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । ‘अहिले हामीले जोडेको विद्युत् क्षमता पुगेको छैन,’ उनले भने, ‘जेनेरेटर चलाउन मिल्नेगरी क्षमता बढाउन निवेदन दिएका छौं । विद्युत् पर्याप्त भएपछि अरू काम अघि बढाउँछौं ।’

यसअघि सिलिन्डरमा अक्सिजन भर्न आवश्यक कम्प्रेसरको अभावमा पोखरा पठाउनुपर्ने बाध्यता थियो । कम्प्रेसर मेसिनसहित उपकरण जडान भए पनि त्यसको सञ्चालनका लागि २ सय २० वाटभन्दा बढी क्षमताको विद्युत् आवश्यक पर्ने अस्पताल प्रशासनले जनाएको छ । त्यसका लागि छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरणहरू आवश्यक पर्ने भएकाले विद्युत् कार्यालयसँग आवश्यक छलफल भइरहेको छ । विद्युत् व्यवस्थापनका लागि मात्रै करिब १२ लाख खर्च लाग्ने अनुमान छ ।

१५ शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न निर्माणाधीन भवनको काम अन्तिम चरणमा छ । अक्सिजन सिलिन्डरमा भर्नका लागि केही प्राविधिक काम मात्रै बाँकी रहेकाले नयाँ भवनबाट सेवा सुरु हुने समयसम्म सबै काम सकिने अस्पतालका एमडीजीपी डा. धनबहादुर छेत्रीले बताए । ‘रिफिलिङ एक्युपमेन्ट आइसकेपछि सबै सकिन्छ,’ उनले भने, ‘जडानमा अरू लागत खर्च छैन ।’

प्रकाशित : मंसिर २१, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?