कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ओमिक्रोन पत्ता लगाउने ‘एस जिन’ परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै

बुनु थारु

काठमाडौँ — विश्वका ४५ बढी देशमा देखापरिसकेको ओमिक्रोन भेरिएन्टको कोरोना भाइरस सोमबार नेपालमा पनि दुईजनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरुको ‘एस जिन’ परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा ‘एस जीन टार्गेट फेलियर’ (एस जिन फेला नपरेको) पाइएपछि ‘जिनोम सिक्वेन्सिङ’ गर्दा ओमिक्रोन देखिएको हो । 

ओमिक्रोन पत्ता लगाउने ‘एस जिन’ परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै

ओमिक्रोन भेरिएन्ट पुष्टि गर्नका लागि सबैभन्दा सहज उपाय भनेकै कोरोनाभाइरसको पीसीआर परीक्षण गर्दा ‘एस जिन’ फेला नपर्नु हो । पहिलोपटक दक्षिण अफ्रिकाले ओमिक्रोन भेरिएन्ट पत्ता लगाउँदा समेत ‘एस जिन फेलियर’ भएको नमुनाको जिनोम सिक्वेन्सिङ गरेको बताएको छ ।

आरटी पीसीआर परीक्षणमा कोरोनाभाइरसमा रहेका विभिन्न जिनको परीक्षण गर्दछ । त्यसमा भाइरस स्पाइक (एस), न्युक्लियोक्यापसीड( एनटू) र इनभेलप (ई) भए/नभएको हेरिन्छ । यदि ‘एनटू’ र ‘ई’ पुष्टि हुँदा ‘एस’ देखिएन भने त्यो ओमिक्रोन भेरिएन्ट हुने संभावना प्रवल हुन्छ । यसअघि विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’मा राखेको ‘अल्फा भेरिएन्ट’को पनि पीसीआर परीक्षण गर्दा ‘एस जिन’ देखिँदैन थियो ।

नेपालमा भने कोरोना भाइरसको आरटी पीसीआर परीक्षणमा ‘एस जिन’ रहे/नरहेको जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाहेक अन्य प्रयोगशालामा नहुने देखिएको छ । नेपालमा अल्फा भेरिएन्टभन्दा डेल्टा भेरिएन्ट नै फैलिन थालेपछि प्रयोगशालाहरुले ‘एस जिन’ परीक्षणमा खासै चासो नदिएका हुन् । सुरुमा अल्फा भेरिएन्ट नेपालमा भित्रिएको पुष्टि भएपछि प्रयोगशालाहरुलाई एस जिन परीक्षण गर्न लगाउने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएर निर्देशन दिएपनि पछि डेल्टा भेरिएन्ट नै व्यापक रुपमा फैलिन थालेपछि एस जिन परीक्षणमा कसैको पनि ध्यान नगएको देखिन्छ ।

हाल विश्व स्वास्थ्य संगठनले नै पीसीआर परीक्षणमा तीनवटा लक्षित जीनहरू मध्ये एस जिन नदेखिएमा (जसलाई एस जीन ड्रपआउट भनिन्छ) त्यसलाई जिनोम सिक्वेन्सिङबाट अन्यथा पुष्टि नभएसम्म ओमिक्रोन भेरिएन्टको संक्रमण मान्न सकिने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ‘एस जिन’ परीक्षण गर्नका लागि सबै प्रयोगशालालाई निर्देशन दिने तयारी भएको बताए । उनका अनुसार ‘एस जिन फेलियर’ देखिएमा त्यसको रिपोर्ट राष्ट्रिय जनस्वाथ्य प्रयोगशालालाई दिनुपर्नेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले एनपीएचएलमा भने एस जिन परीक्षण गरिरहेको बताइन् । ‘यो परीक्षण गर्ने एउटा निश्चित रिएजेन्ट हुन्छ । हालसम्म यो हामीले मात्र गरिराखेका छौं । यो अरुसँग छैन,’ उनले भनिन्, ‘पीसीआर रिएजेन्ट मात्र होइन मेसिन पनि फरक हुन्छ । मेसिन फरक भन्नाले निश्चित मेसिनमा मात्र उक्त रिएजेन्ट प्रयोग गर्न मिल्छ । कतै कतै होला । नियमित रुपमा महंगो पर्छ भनेर गरिँदैन ।’ उनले एनपीएचएलमा एस जिन नदेखिएका नमुनाको जिन सिक्वेन्सिङ पनि गरिराखेको बताइन् ।

उनका अनुसार नेपालका प्राय सबै प्रयोगशालाहरूले ‘एन’, ‘ई’, ‘ओआरएफ वन एबी’ जिन, ‘आरडीआरपी’ जिनको परीक्षण गरेर कोरोनाभाइरसको संक्रमण रहे/नरहेको परीक्षण गरिरहेका छन् ।

उपत्यकामा कोरोनाको परीक्षण गर्ने ठूला निजी प्रयोगशालाहरु मध्येको एक स्टार अस्पतालले सरकारले निर्देशन दिएको खण्डमा आफ्नो प्रयोगशालामा एस जिनको पनि परीक्षण गर्न सकिने प्रतिक्रिया दिएको छ । यस्तै कोरोना परीक्षण गरेरै प्रयोगशालाका रुपमा स्थापित भएको विद ल्याबले पनि आफूले हालसम्म एस जिन परीक्षण नगरेको तर गर्नुपर्ने अवस्था आए त्यसको व्यवस्था गर्न सकिने दाबी गरेको छ ।

‘एस जिन परीक्षण गर्नुपर्ने भए त्यसको मेसिन र रिएजेन्ट फरक हुन्छ,’ विद ल्याबमा कार्यरत एक अधिकारीले भने, ‘मेसिन र रिएजेन्ट नै फरक हुने भएकाले नगरिएको हो । सरकारले गर्नैपर्छ भन्छ भने हामी तयारी गर्न सक्छौं ।’

एनपीएचएलकी निर्देशक डा. झाका अनुसार परीक्षणलाई सर्वसुलभ बनाउनका लागि सबै प्रयोगशालाले अहिले नै एस जिन परीक्षण गर्न आवश्यक छैन । ‘एस जिन परीक्षण गर्न फेरि सबैलाई मेसिन दिनपर्छ,’ उनले भनिन, ‘कोरोना पोजिटिभ आएपछि जुनसुकै भेरिएन्ट भएपनि संक्रमितले अरुलाई नसरोस् भनेर सावधानी अपनाउन भने जरुरी हुन्छ ।’

उनका अनुसार परीक्षणलाई सर्वसुलभ बनाइएन भने संक्रमण झनै फैलने डर रहन्छ । ‘त्यसैले हरेक व्यक्तिको सिक्वेन्सिङ खोज्न पनि आवश्यक छैन । हरेक देशले कम्तीमा ५ प्रतिशत नमुनाको मात्रै सिक्वेन्सिङ गर्ने गर्दछ,’ उनले भनिन् ।

प्रकाशित : मंसिर २०, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?