कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा १ सय ५ डाक्टर रिक्त

जिल्ला र पालिकाले सञ्चालन गरेका अस्पतालहरुमा एक जना पनि स्थायी मेडिकल अधिकृत छैनन् ।

वीरेन्द्रनगर — कर्णालीमा १ सय ५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशभर १ सय ३३ स्थायी चिकित्सकको दरबन्दी रहेकोमा १ सय ५ पद अझै रिक्त भएको हो । निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले कुल दरबन्दीमध्ये २८ पद मात्रै पूर्ति भएको बताए । उनका अनुसार ९२ चिकित्सक करार सम्झौतामा कार्यरत छन् ।

कर्णालीमा १ सय ५ डाक्टर रिक्त

प्रदेशभर ८ सय ८७ स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा ३ सय ७ दरबन्दी मात्रै पूर्ति भएको छ । बाँकी ५ सय ८१ दरबन्दी रिक्त रहेको उनले जानकारी दिए । प्रदेशभरि ६ सय ९३ स्वास्थ्यकर्मी करारमा कार्यरत छन् ।

नर्सिङतर्फ १ सय २९ पद अझै रिक्त छ । १ सय ५७ जनाको दरबन्दी रहेको नर्सिङतर्फ ७९ जनाको मात्रै पदपूर्ति भएको छ । ७६ जना करारमा कार्यरत छन् । २८ पद स्वीकृत भएको प्यारामेडिक्सतर्फ ४५ जना कार्यरत छन् । निर्देशक डा. खड्काले ९२ जना प्यारामेडिक्स करारमा कार्यरत रहेको जानकारी दिए ।

कर्णाली प्रदेशभरि १४ जना मात्रै स्थायी दरबन्दीका चिकित्सक कार्यरत रहेको निर्देशनालयले जनाएको छ । जिल्ला र पालिकाले सञ्चालन गरेका अस्पतालहरूमा एक जना पनि स्थायी मेडिकल अधिकृत छैनन् । जिल्लास्तरका अधिकांश स्वास्थ्य संस्थाले करार सेवामार्फत डाक्टरको व्यवस्थापन गरिरहेका छन् । ‘प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाहेक अन्य अस्पतालमा स्थायी चिकित्सक छैनन्,’ उनले भने, ‘केही जिल्ला अस्पतालहरू डाक्टरविहीन छन् ।’

कर्णाली प्रदेशभरि रहेका ७ सय ४४ स्वास्थ्य संस्थामा स्वीकृत दरबन्दीको आधाभन्दा पनि कम जनशक्तिले सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ । निमित्त निर्देशक डा. खड्काले विशेषगरी प्राविधिक र विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए । ‘पछिल्लो समय जनसंख्या बढ्दै गएको छ,’ उनले भने, ‘जनसंख्याअनुसार स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति नहुँदा सेवा प्रवाह गर्न निकै कठिनाइ भइरहेको छ ।’ पछिल्लो समय जिल्ला–जिल्लामा स्वास्थ्यका पूर्वाधारहरू बढ्दै गए पनि जनशक्ति अभाव कायमै रहेको उनले बताए ।

दुई वर्षअघि सरकारले प्रदेशअन्तर्गतका स्वास्थ्य क्षेत्रमा ८ सय ८७ जनशक्ति आवश्यक रहेको भन्दै नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) स्वीकृत गरेको थियो । तर सबैमा पदपूर्ति हुन सकेको छैन । कर्णालीमा प्रदेश सरकारले वार्षिक बजेटको ७.८३ प्रतिशत मात्रै स्वास्थ्यलाई छुट्याएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?