कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मी नहुँदा बेनी अस्पतालको सेवा प्रभावित

करारका बाहिरिएका र नयाँ डाक्टर पनि नआएपछि ओपीडी, इमर्जेन्सीलगायतमा असर
घनश्याम खड्का

म्याग्दी — गण्डकी प्रदेश सरकारले बेनी अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीको करार म्याद थप नगर्दा सेवा प्रभावित भएको छ । त्यसैगरी त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट उत्तिर्ण मेडिकल अफिसर मध्येबाट वर्षेनी ८ जना डाक्टर कम्तीमा एक वर्षकालागी इन्टर्नसीपमा पठाउने गरेको थियो ।

स्वास्थ्यकर्मी नहुँदा बेनी अस्पतालको सेवा प्रभावित

यो वर्ष गण्डकी प्रदेश सरकारले ति डाक्टरलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएपछि बेनी अस्पतालमा डाक्टरको अभाव भएको हो । कोरोना कोषको बजेटबाट दुई वर्षदेखी करारमा कार्यरत १६ स्टाफ नर्स, ४ हेल्थअसिस्टेन्ट, २ फार्मेसी, २ ल्याव टेक्निसियन, एक रेडियोग्राफर र ५ कार्यालय सहयोगी गरी ३० स्वास्थ्यकर्मीको करार अवधी गत कात्तिक २४ मा सकिएको हो ।

एकसाथ धेरै स्वास्थ्यकर्मी बाहिरिएको र नयाँ डाक्टर पनि नआएपछि अस्पतालको ओपीडी, इन्डोर, इमर्जेन्सी समेतका स्वास्थ्य सेवा प्रभावित भएको हो । पहिलो ओपीडीमा कम्तीमा तीन जनाले विरामी चेकजाँच गर्ने गरेकोमा अहिले एक जनामात्र डाक्टर हुँदा बिरामीले छिटो छरितो सेवा पाउन सकेका छैनन् । त्यस्तै अवस्था इमर्जेन्सी र अन्य विभागमा पनि छ । ‘पहिले छिटो पालो आउँथ्यो । जाँचेर घर फर्कन सकिन्थ्यो । अहिले दिनभर पालो कुर्नुपर्छ । अझ रगत, पिसाब, खकारको ल्याव परिक्षण रिपोर्ट कुर्नु पर्दा त एकदिन बेनीमै बास बस्नुपर्ने अवस्था आएको छ’ बेनी–४ सिंगाबाट आएका पूर्णबहादुर खत्रीले भने, ‘एउटै डाक्टर घरी इन्डोस्कोपी गर्न जान्छन, घरी भर्ना भएका विरामी जाँच्न पुग्छन । अस्पतालको सेवा ढिला र लतपतको हुन थालेको छ । राम्ररी विरामीको कुरा पनि सुन्दैनन् ।’

करारका स्वास्थ्यकर्मी बाहिरिएको, छात्रवृतीका डाक्टर नआएको कारण मात्र होइन, अस्पतालमा दरबन्दीअनुसारकै डाक्टर तथा स्वास्थ्यकर्मीको पदपूर्ति नहुँदा समेत सेवा प्रभावित भएको छ ।

बेनी अस्पतालका अनुसार ५ स्टाफ नर्स र ५ अनमीको दरबन्दी रहेकोमा भएका ७ मध्ये पनि ४ जना अध्ययन बिदामा छन । २ जना स्टाफ नर्स र १ जना अनमीलाई सहयोग गर्न व्यवस्थापन समितिले राखेका २ जना र अन्य कार्यक्रमबाट आएका ३ जना स्टाफ नर्सले बेनी अस्पतालको इन्डोर, इमर्जेन्सी, डेलिभरी, अप्रेसन, पोस्ट अफ वार्ड, मातृ तथाशिशु क्लिनिक, कोभिड वार्ड, नवजातशिशु स्याहार, डायलासिस, सुरक्षितगर्भपतन समेतका सेवा दिँदै आएका छन् ।

५० बेड क्षमताको बेनी अस्पतालमा ८ जना विशेषज्ञ र ४ जना मेडिकल अफिसरको दरबन्दी भए पनि सबै विशेषज्ञ डाक्टरको पद रिक्त छ । ४ जना मेडिकल अफिसरमध्ये २ जना अध्ययन बिदामा छन । एक पद रिक्त छ । कार्यरत एक जना पनि मेडिकल सुपरिन्टेन्डेन्टको भूमिकामा छन् । बेनी अस्पतालमा अहिले गतवर्ष छात्रवृत्ति कार्यक्रममा आएका तीनजना मेडिकल अफिसर, एक जना एमएसआई प्रोजेक्ट र १ जना नवजातशिशु कार्यक्रमबाट आएका मेडिकल अफिसरले थेगेका छन् ।

जनशक्ति अभाव भएपछि अस्पतालले कोभिड आइसोलेसन वार्ड बन्द गरेको छ । ल्याब परीक्षण रिपोर्ट पनि अहिले दिउँसो एक घण्टा मात्र बाँड्ने गरेको छ ।

‘बेनी अस्पतालमा व्यवस्थापनको अवस्था बेहाल छ । सीमित डाक्टर, स्टाफ नर्स र अन्य स्वास्थ्यकर्मी सबैले सबै काम २४ सै घण्टा खटिएर गरेका छौं’ बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.जीतेन्द्र कँडेलले भने, ‘५० बेडको अस्पतालमा कार्यरत मेडिकल अफिसर र स्टाफ नर्सको संख्याले प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर देखाइहाल्छ ।’

प्रकाशित : मंसिर १३, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?