सरकारले सातै प्रदेशमा रेबिजको इम्युनोग्लोबुलिन सेवा सुरु गर्ने- स्वास्थ्य - कान्तिपुर समाचार

सरकारले सातै प्रदेशमा रेबिजको इम्युनोग्लोबुलिन सेवा सुरु गर्ने

सरकारले सातै प्रदेशमा रेबिजको इम्युनोग्लोबुलिन सेवा सुरु गर्ने भएको छ । 
कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा ७ प्रदेशका ९ वटा अस्पतालमा सुरू हुने बताए ।

हालसम्म यो सेवा टेकु अस्पतालमा मात्र पाइन्थ्यो । यो सुई नि:शुल्क वितरण हुनेछ । रेबिजको इम्युनोग्लोबुलिन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरिपरि सुईको माध्यमले लगाइन्छ। यो जीवनमा एकपटक मात्र लगाए पुग्छ ।यो सुईले एन्टिबडीको रुपमा काम गर्नेछ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले कुकुर तथा जनावरले टोकेर ठूला घाउ बनाएमा त्यसमाथि कुनै पनि रेबिजको सुई पाएका छैनन् भने यो इम्युनोग्लोबुलिन पाउने बताए ।

हरेक वर्ष विश्वमा ५९००० जना मानिसको रेबिजबाट मृत्यु हुने गरेको छ ।

कुन कुन अस्पतालमा सेवा पाइन्छ?

प्रदेश १– कोशी अस्पताल, विराटनगर

प्रदेश २– जनकपुर अस्पताल, धनुषा

वाग्गती प्रदेश – मदन भण्डारी स्वा.वि.प्रतिष्ठान, हेटौंडा र भरतपुर अस्पताल

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा

लुम्बिनी– लुम्बिनी अस्पताल, बुटवल

कर्णाली– सुर्खेत अस्पताल, वीरेन्द्रनगर

सुदूरपश्चिम– सेती प्रादेशिक अस्पताल, धनगढी

प्रकाशित : मंसिर २, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

‘ई-कमर्स गर्नेले वातावरण राम्रो होस् भन्दै पर्खेर बस्न हुँदैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — कानुनी रूपमा नेपालले स्पष्टता नगरिदिए पनि पछिल्लो समय ई–कमर्स व्यवसाय फस्टाउँदो छ । व्यस्त जीवनशैलीलाई सहज बनाएको मात्र होइन ई–कमर्सले व्यापारको पुरानो अवधारणालाई समेत परिवर्तन गरिदिएको छ । त्यो अवधारणा परिवर्तन गरिदिनेमा पर्छ ई–कमर्स व्यावसायिक कम्पनी– फुडमान्डु । जसले नेपालमा पहिलोपटक अनलाइनबाट खानेकुराको व्यापार गर्ने काम सुरु गरेको हो । 

उसले ११ वर्ष यात्रा पूरा गरिसकेको छ । यसै पृष्ठभूमिमा फुडमान्डुका संस्थापक मनोहर अधिकारीसँग इमर्स व्यापार, यसका जटिलता, नेपालको वातावरण र अवसरबारे ई–कान्तिपुरका लागि कृष्ण आचार्यहेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश :–

फुडमान्डु स्थापनाका हिसाबले अहिले शिशु अवस्थाबाट किशोरावस्थामा प्रवेश गरेको छ । यो ११ वर्षको यात्रालाई कसरी सम्झनुहुन्छ ?

हो, मानव जीवनसँग तुलना गरेर हेर्दा फुडमान्डु शिशु अवस्थाबाट अब किशोरावस्थामा लागेको छ । यो एक दशक अवधिमा मैले यसलाई आफ्नो शिशुकै रूपमा हुर्काएँ । यसलाई व्यावसायिक प्लेटफर्मका रूपमा स्थापित गर्न निकै संघर्ष गरियो । हामीले सुरु गर्दा यो अवधारणा नेपालका लागि नयाँ थियो । सुरुवाती दिनमा ग्राहकहरुलाई अथवा व्यावसायिक साझेदारहरु (पार्टनर) लाई यो कस्तो खालको व्यवसाय हो भन्ने बुझाउनै सकस परेको थियो । यो कम्पनीले के काम गर्छ अथवा कस्तो सेवा दिन्छ भन्ने बुझाउन गाह्रो थियो । तर, समयक्रमसँग बढ्दै जाँदा हामी एक स्थापित व्यवसायको रूप लिएको छ । फुड डेलिभरी सुविधा के हो र यो कसरी प्राप्त गर्न सकिन्छ भनेर अहिले मानिसहरुले बुझ्न थालिसके । अझ सहरी क्षेत्रमा त यो बढ्दो क्रममा छ ।

नेपालको हकमा नितान्त नयाँ अभ्यासको सोच कसरी आयो ?

सन् २०१० को नोभेम्बर ११ मा फुडमान्डुले औपचारिक सेवा सुरु गरे पनि यसको अवधारणा भने त्यसको १ वर्ष अगाडिदेखि नै तयार पारिएको हो । मेरो व्यक्तिगत भोगाइले पनि काम गर्‍यो । सन् २००६/२००७ तिर म एउटा सफ्टवेयर कम्पनीका काम गर्थें । मैले काम गर्ने अफिस वरिपरि खाना वा खाजाका लागि निकै कम मात्र रेस्टुरेन्टहरु भेटिन्थे । बिहान ८ बजे नै सुरु हुने अफिसमा दिउँसोको खाना खान समस्याजस्तो नै थियो । टाढा गएर खाना खान समय पनि सीमित हुन्थ्यो । दैनिकजसो यस्तो समस्या भोग्न थालेपछि त्यसको केही विकल्प हुन सक्छ कि ? भनेर मेरो दिमागमा बसिरहेको थियो । सन् २०१० सम्ममा आइपुग्दा मैले केही अनलाइनमा आधारित व्यवसाय गर्ने सोच बनाएँ ।

साथीभाइहरुसँग सल्लाह गर्दा धेरै आइडिया आए । तर मलाई मन परेको र काम गर्न सम्भव छ भन्ने लागेको उत्कृष्ट आइडिया फुड डेलिभरी थियो । सुरुवाती दिनमा त हामीले फुड अर्डर गर्न मिल्ने कुनै प्लेटफर्म बनाउने सोचेका थियौं । एउटै प्लेटफर्मबाट धेरैवटा रेस्टुरेन्टको खाना अर्डर गर्न मिल्ने खालको अवधारणामा मैले काम गर्न खोजेको थिए । आफूले जाने बुझेको क्षेत्र पनि भएकाले एउटा वेबसाइट बनाउने र त्यसमा धेरैवटा रेस्टुरेन्टहरुलाई लिस्टेड (सूचीकृत) गरेर त्यहाँबाट ग्राहकले अर्डर गरून् भन्ने थियो । सुरुवाती दिनमा अर्डरको मात्रै सोच भएकाले डेलिभरी सम्बन्धित रेस्टुरेन्टले गर्छ भन्ने ठानेका थियौं । तर धेरैजसो रेस्टुरेन्टमा होम डेलिभरी सुविधा थिएन । पछि काम गर्दै जाँदा रेस्टुरेन्टहरुले डेलिभरी गर्नेभन्दा पनि आफैं गर्नुपर्ने अवस्था आयो । अर्डर गर्ने मात्र नभई फुड डेलिभरीको सबै काम गर्ने भनेर सोच बनायौं । त्यसपछि सन् २०११ बाट हामीले डेलिभरीको पनि काम थाल्यौं ।

यो संघर्ष गर्दाको सुरुवाती दिनदेखि अहिलेसम्मको कुनै सम्झनलायक घटनाहरु छन् ?

काम गर्दै जाँदाका भोगाइहरु त हुन्छन् नै । त्यसमध्येका केही नभनौं पनि होला । एउटा दुईवटा त्यस्ता घटना पनि छन् । सुरुवाती दिनमा हामीलाई रेस्टुरेन्टहरुसँग समन्वय गर्नु निकै चुनौतीपूर्ण थियो । मैले सोचेको व्यवसाय गर्नका सबैभन्दा पहिले चाहिने भनेको रेस्टुरेन्टहरु नै हो । उनीहरुसँग समन्वय गरेर मात्र हामी काम गर्न सक्छौं । हामीसँग जोडिनका लागि रेस्टुरेन्टहरुलाई कसरी मनाउने वा के भनेर मनाउने भन्ने कुरा हाम्रा लागि निकै चुनौतीपूर्ण थियो । त्यसमा हामीले धेरै महिना बिताउनुपर्‍यो । सुरुवाती दिनमा हामीले उनीहरुलाई बुझाउन निकै गाह्रो थियो । हामीले यसरी अर्डर गर्छौं, यसरी डेलिभरी गर्छौं, यसरी भुक्तानी गर्नुपर्छ भन्नेजस्ता सामान्य कुरा पनि सिकाउनुपथ्र्यो । सिकाउने मात्र होइन, उनीहरुलाई त्यसमा विश्वस्त पनि पार्नुपर्थ्यो । हामीले दिने सेवाको शुल्कबारे पनि उनीहरुलाई मनाउनुपर्थ्यो । किनभने यस्तो प्रकृतिको व्यवसाय त्यसअघि थिएन । बजारको अवधारणा नै थाहा थिएन । यसकारण रेस्टुरेन्टहरुलाई पार्टनर बनाउने वा हामीसँग जोड्ने भन्ने कुरा सबैभन्दा चुनौतीपूर्ण थियो । महिनौं लगाएर हामीले १०/१२ वटा रेस्टुरेन्टलाई मनायौं । अहिले यो व्यवसाय कस्तो प्रकृतिको हो भनेर धेरैले बुझिसकेका छन् ।

अर्को चुनौती भनेको, म व्यावसायिक पृष्ठभूमिको व्यक्ति थिइनँ । म सफ्टेवयर डेभलपर थिए । प्राविधिक पृष्ठभूमिको भएकाले व्यवसाय कसरी सञ्चालन गर्ने ? त्यसको मार्केटिङ कसरी गर्ने ? जस्ता यी सबै चिजमा मलाई अनुभव र जानकारी थिएन । त्यो नभएपछि मैले ग्राहक कसरी ल्याउने, डेलिभरी सेवा कसरी दिनेजस्ता कुरामा सिक्दै काम गर्दै गए । सुरुवाती दिनमा हरेक काम सिक्दै जानुपर्ने अवस्था थियो । हामीले सेवा सुरु गर्‍र्यौं । रेस्टुरेन्टहरुलाई पनि मनायौं । अब ग्राहकलाई सेवा दिनुपर्ने भयो । ग्राहकलाई पनि हाम्रो सर्भिसका बारेमा जानकारी दिनु थियो । त्यसका लागि हामीले प्रचार सामग्री बनायौं । हामीले २ हजार जतिको संख्यामा प्रचार प्रिन्ट गरेर ल्याएका थियौं होला । मलाई के लागेको थियो भने ती सबै एकै दिन बाँड्यो भने अर्डरहरु निकै धेरै आउँछन् र हामीले धान्नै सक्दैनौं । सबै एकै दिन बाँड्नेभन्दा दिनमा ५०/१०० वटा बाँड्न थाल्यौं । तर ग्राहकबाट हामीले सोचेअनुरूपको अर्डरहरु नै आएनन् । दिनमा ५० वटा बाँड्दा दिनमा एउटा दुईवटा पनि अर्डर थपिएनन् । त्यसपछि नयाँ चिज गर्न, ग्राहकले त्यसलाई स्विकार्नका धेरै समय लाग्दो रहेछ भन्ने मलाई लाग्यो ।

एकैपटक बुझाउनेभन्दा पनि विस्तारै काम गर्दै गएर बुझाउन सकिने रहेछ । त्यो मेरो लागि राम्रो पाठ पनि थियो । त्यसपछि हामीले काम गर्ने शैली पनि परिवर्तन गर्‍यौं । वास्तविकता हामीले अनुमान गरेको भन्दा फरक हुने रहेछ भनेर थाहा भयो ।

यस्ता थुप्रै चुनौतीहरु हामीले भोगेका छौं । फुड डेलिभरीसँग सम्बन्धित मात्र नभई अरु खालका ई–कमर्स व्यवसायहरु पनि बजार त्यति धेरै आएका थिएनन् । बजार नयाँ थियो । वस्तु र सेवाको अनलाइनबाट अर्डर गर्ने र ई–कमर्सको कल्चर नै नरहेको बेला थियो । त्यो बेलामा अहिलेको जस्तो स्मार्टफोन र इन्टरनेटको प्रयोग पनि बढिसकेको थिएन । स्मार्टफोन सीमित मान्छेका हातमा पुगे पनि इन्टरनेट सुविधा थिएन । त्यसमाथि अहिलेको जस्तो सजिलै उपलब्ध हुने खालको र सस्तो त छँदै थिएन । त्यो पनि हाम्रो चुनौती नै हो । सुरुवाती दिनमा हामीले ९० प्रतिशत अर्डर फोनका माध्यमबाट गथ्र्यौं । बाँकी १० प्रतिशत मात्र अनलाइनबाट आउँथ्यो । ग्राहकहरुलाई त्यसबारेको जानकारी र बानी नै थिएन । अनलाइनबाट सेवा दिनेबारे हामीले जसरी सोचेको थियौं, हाम्रो सोचाइभन्दा वास्तविकता निकै फरक भइदियो । सुरुवाती दिनमा हामीले भोगको समस्या यी र यस्तै थिए । जुन अहिले सामान्यजस्ता लाग्छन् ।

अझै पनि ई–कमर्स र यसबाट सेवा लिने दिनेबारे धेरै उपभोक्तालाई जानकारी छैनन् । यो फुड डेलिभरीसँग सम्बन्धित चक्र कस्तो हुन्छ ?

उपभोक्ताले अर्डर गर्नका लागि ३ तरिका छन् । पहिलो, मोबाइल एप्लिकेसन, दोस्रो–वेबसाइट र तेस्रो–फोनकल । अहिले ८० प्रतिशतभन्दा बढी ग्राहकले मोबाइल एप्लिकेसनबाट अर्डर गर्छन् । एप्लिकेसन वा वेबसाइट खोलिसकेपछि आफूले चाहेको रेस्टुरेन्ट छान्नुपर्ने हुन्छ । त्यो नाम वा ठेगानाका आधारमा हुन सक्छ । रेस्टुरेन्ट छानिसकेपछि खानेकुराको अर्डर गरिन्छ । त्यो अर्डरका आधारमा हाम्रो कस्टुमर सर्भिस डिपार्टमेन्टले हेर्छ र भेरिफाई गर्छ । त्यसपछि प्रक्रिया अघि बढ्छ । हामी रेस्टुरेन्टलाई खानेकुरा अर्डर गर्छाैं । डेलिभरी गर्ने साथीहरु खटाइन्छन् । खानेकुरा तयार भएपछि त्यसलाई पिकअप गरेर ग्राहकको ठेगानासम्म पुर्‍याइन्छ । यो प्रक्रिया सरल नै छ । गाह्रो छैन । ग्राहकले अर्डर गरिसकेपछि कति समयसम्ममा सेवा पाउँछन् भन्नेकुरा कुन ठाउँबाट अर्डर भयो अथवा कति नजिक–टाढा छ भन्ने कुराले निर्धारण गर्छ । रेस्टुरेन्टले खाना तयार पार्न लगाउने समयमा पनि त्यो निर्भर हुन्छ । सडकमा ट्राफिकको अवस्था, मौसमको अवस्था र परिस्थितिजन्य अवस्थाले पनि समय कति भन्ने निर्धारण गर्छ । तर हाम्रो औसत डेलिभरी समय भनेको ४५ मिनेट हो । १२ मिनेटमै खाना डेलिभरी गरेको रेकर्ड पनि हामीसँग छ ।

फुडमान्डुले अरु रेस्टुरेन्टले बनाएको खानेकुरा अर्डर र डेलिभरी मात्रै गर्ने हो कि आफ्नै रेस्टुरेन्ट पनि छ ?

हाम्रो आफ्नै रेस्टुरेन्ट छैन । रेस्टुरेन्ट सञ्चालन गर्ने विषय हाम्रो बिजनेस कन्सेप्टमै पर्दैन । अरु रेस्टुरेन्टसँग साझेदारी गरेर अर्डर र डेलिभरीको प्लेटफर्मका रूपमा मात्रै हामी छौं ।

नेपालमा ई–कमर्स आफैंमा नयाँ अभ्यास हो । त्यसमा पनि खानेकुरा अनलाइनबाट बेच्दाको अनुभव कस्तो रह्यो ? के अनलाइनकै कारण नेपालीको खाने बानीमा परिवर्तन भएको छ ?

ग्राहकको बानी बदलिँदो छ । हामीसँग सुरुवाती दिनदेखि नै खाना अर्डर गर्ने ग्राहकहरु अहिले पनि छन् । पहिले एक–दुई महिनामा अथवा महिनामा एक–दुईपटक अर्डर गर्ने ग्राहकहरुले अहिले हप्तामा दुई–तीनपटक वा दिनदिनै अर्डर पनि गर्छन् । यही कुरालाई हाम्रो खानपानको संस्कृतिसँग जोडेर हेर्दा एकदमै परिवर्तन भएर गएको छ । पहिले घरमै पकाएर खानेकुरालाई बढी प्राथमिकता दिइथ्यो । अब त्यो विस्तारै बदिलिँदो छ । अहिले समय धेरै खर्च गर्नुभन्दा त्यसलाई अरू कुनै काममा लाउने वा प्रोडक्टिभ काममा लाउने भन्ने हुन्छ । अहिले समयलाई बढी महत्त्व दिन थालिएको छ । व्यस्त जीवनशैलीमा धेरै कुराका लागि समय निकाल्न गाह्रो छ । खानेकाम सामान्यत: दिनमा तीनचोटि र हप्तामा २१ चोटि गरिन्छ । पकाउने मात्र होइन त्यससँग जोडिएका बजार जाने, सामान किनेर ल्याउने, पकाउनेजस्ता धेरै काम गर्नका लागि मानिसहरुसँग समय नहुन सक्छ । खानाका लागि नजानिँदो हिसाबले हामीले धरै समय खर्च गरिरहेका हुन्छौं । केही मात्रामा भए पनि हाम्रोजस्तो सेवाले त्यो समय बचत गर्न सघाउँछ । ग्राहकले पनि समयलाई बढी प्राथमिकता राख्न थालेका छन् । त्यसको महत्त्व बुझ्न थालेका छन् । हामीले दिने सेवाले उनीहरुको जीवनशैलीमा केही सकारात्मक परिवर्तनका लागि सहयोग गरिरहेको छ । फुडमान्डु आफैंले पनि विगत ११ वर्षमा मानिसको खानेबानीमा परिवर्तन गर्न राम्रो योगदान गरेको छ जस्तो लाग्छ ।


यसको अर्थ अझै यो क्षेत्रमा राम्रो सम्भावना छ भन्न खोज्नुभएको हो ?

हो, अवश्य पनि सम्भावना छ । १० वर्षअघि तीन महिनामा एकचोटि अर्डर गर्ने ग्राहकहरुले अहिले हप्तामा एकचोटि अर्डर गर्न थालेका छन् । नयाँ ग्राहक पनि थपिने क्रममा छन् । हाम्रो सेवाबारे थाहा पाएर त्यसलाई प्रयोग गर्ने उपभोक्ता बढिरहेका छन् । हाम्रो जीवनशैली र सामाजिक परिवेश पनि परिवर्तन भइरहेको छ ।

जीवनशैलीलाई सहज बनाइरहेको र खानपानको शैली परिवर्तन गर्नका लागि सहयोग गरिरहेको भनेर भन्नुभयो । तर फुडमान्डुको आफ्नै रेस्टुरेन्ट छैन । अरु रेस्टुरेन्टले बेच्ने खानामा गुणस्तरको ग्यारेन्टी कसरी गर्नुहुन्छ ? के उपभोक्ताले गुणस्तरीय खानेकुरा पाउँछन् ?

खानेकुराको गुणस्तर सधैं हाम्रो चासोको विषय हुने गर्छ । गुणस्तर मापनका लागि कुनै सरकारी निकायले हामीलाई सहयोग गर्नुपर्छ भन्ने लाग्छ । गुणस्तर निर्धारण गरेर त्यसको प्रमाणपत्र रेस्टुरेन्टहरुलाई उपलब्ध गराइदिने हो भने उपभोक्ताले गुणस्तरमा सम्झौता गर्नु पर्दैन । हामीले सकेसम्म गर्न सक्ने भनेको राम्रो रेस्टुरेन्टलाई मात्रै संलग्न गर्ने गरेका छौं । रेस्टुरेन्टहरुले उपलब्ध गराउने खानेकुरामा उपभोक्ताको प्रतिक्रियालाई आधार बनाएर पनि हामीले उनीहरुलाई छान्दै जान्छौं । गुणस्तरका मामिलामा हामी चनाखो हुन सक्छौं । तर कहिलेकहीं स्वादको कुरा पनि आउँछ । एउटै रेस्टुरेन्टको खानेकुरा कसैले स्वादिलो भन्छन् । कसैले नमीठो भन्छन् । व्यक्तिपिच्छेको स्वादको अनुभव फरक हुन सक्छ । कसैलाई मन पर्ने नपर्ने भन्ने हुन सक्छ । गुणस्तरबारे भने हामी रेस्टुरेन्ट छनोट गर्दा नै ध्यान दिन्छौं । उपभोक्ताको गुनासो आयो भने हामी त्यो रेस्टुरेन्टलाई सुध्रिनका लागि भन्छौं । कतिपय सकारात्मक प्रतिक्रिया पनि आउँछन् । त्यसकारण गुणस्तर बढाउने कुरामा रेस्टुरेन्टहरुबाट पनि प्रतिबद्धता आउँछ ।

अहिले ई–कमर्स र फुड डेलिभरी सेवा दिने भन्दै अरू कम्पनीहरु पनि आएका छन् । ती कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले उपभोक्ताले गुणस्तरीय सेवा पाएनन् भन्ने गुनासो पनि बढ्न थालेका छन् । यो विषयलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

कुनै अवधारणा कसैले सुरुवात नगरेसम्म मात्र नयाँ हुने हो । कसैले सुरु गरिसकेपछि सबैले त्यसको अनुकरण गर्छन् । त्यसलाई पछ्याउँछन्, सिको गर्छन् । कुनै व्यवसाय फस्टाउँदै जाँदा सँगसँगै विकृतिहरु पनि स्वाभाविक रूपमा बढ्दै जान्छन् । यो हरेक ठाउँमा, हरेक व्यवसायमा हुन्छ । हाम्रोमा पनि समस्याहरु देखिन थालेका छन् । अहिले फुड डेलिभरीकै लागि भनेर धेरै कम्पनीहरुले सेवा सुरु गरेका छन् । त्यसलाई हामी स्वागत पनि गर्छौं । जब प्रतिस्पर्धा हुन्छ, तब आफूले आफूलाई अझ परिष्कृत गर्दै जान सकिन्छ । त्यसकारण यो क्षेत्र फस्टाउनु वा बजारमा अरु प्रतिस्पर्धी आउनुलाई मैले सकारात्मक ढंगले नै हेर्छु । अर्को पक्ष भनेको बजार ठूलो छ । यो अझ बढ्दो क्रममा छ । सँगसँगै विकृतिहरु पनि स्वाभाविक रूपमा बढ्दै गएका छन् । केही साथीहरु नबुझीकन यो काममा लाग्नुहुन्छ । यो व्यवसाय कसरी सञ्चालन गर्ने हो ? कति खर्च लाग्छ ? अरू व्यवस्थापकीय कामहरु कसरी गर्नेजस्ता धेरै पक्षबाट हेर्नुपर्छ । यी हरेक चिजलाई विचार नगरीकन बजारमा छिर्दा विकृति देखिन्छन् । केही व्यवसाय लामो समयसम्म चल्न नसेका उदाहरण पनि हामीसँग छन् । मूल्यमा हुने अस्वस्थ्य प्रतिस्पर्धाले छोटो समयका लागि व्यवसायी मात्र होइन उपभोक्ता पनि फाइदा पुग्छ । तर दीर्घकालका लागि त्यसले असर गर्न सक्छ । लामो समयसम्म टिकिरहनका लागि हामीले गुणस्तरीय सेवादेखि हरेक कुरालाई हेर्नुपर्छ । स्वस्थ खालको प्रतिस्पर्धा भएन भने एक–दुईवटा उद्योग मात्र होइन, समग्र व्यावसायिक क्षेत्र नै धरासायी हुने सम्भावना पनि रहन्छ । अहिलेसम्म जटिलखालका यस्ता समस्या देखिइसकेका छैनन् । तर सकभर नआउन भन्ने हामी चाहन्छौं । समग्र उद्योगलाई नै फाइदा पुग्ने र उपभोक्ता पनि लाभान्वित हुने विषयमा हामीले सोच्नुपर्छ ।

अहिले नेपालमा ई–कमर्स क्षेत्रका नीतिगत, प्राविधिक वा अरू समस्या के हुन् ?

ई–कमर्स उद्योगमा अहिले हामीले भोगिरहेको प्राविधिक समस्या भनेको एप्लिकेसन तथा वेबसाइट विकासका लागि पर्याप्त र गुणस्तरीय जनशक्ति छैन । अलि राम्रो र गुणस्तरीय खालको एप्लिकेसन बनाउनका लागि अहिले महँगै शुल्क तिर्नुपर्छ । बजारको आकार सानो भए पनि हामीसँग भएका उपभोक्ताको मागलाई नकार्न मिल्दैन । उनीहरुको सहजताका लागि बढीभन्दा बढी ध्यान दिनुपर्छ । हामीजस्ता कम्पनीको मुख्य काम भनेको ग्राहकले अर्डर गरेपछि कुनै अवरोध र झन्झटबिना उनीहरुको ढोकासम्ममा त्यस्तो वस्तु पुर्‍याउनु हो । तर त्यसका लागि यहाँको ठेगाना प्रणाली (एड्रेसिङ सिस्टोट) राम्रो छैन । अव्यवस्थित सहरीकरणले हामीले धेरै समस्या झेल्नुपरेको छ । एउटा ग्राहकले ई–कमर्ससँग सजिलै कुनै वस्तु घरमा पुर्‍याइदिओस् भन्ने आशा राखेको हुन्छ । तर सबै ग्राहकको सजिलै डेलिभरी सुविधा दिन सकिँदैन ।

सरकारले ई–कमर्स ऐनको मस्यौदा बनाइरहेको छ । ई–कमर्स व्यवसायले नेपालमा अझै उद्योगको परिचय बनाउन सकेको छैन । यो व्यवसायलाई नियन्त्रण, अनुगमन, निरीक्षण गर्ने कानुनी प्रावधान नै छैन । कुन ऐन, नियमावली वा कार्यविधिले यो व्यवसायलाई सम्बोधन गर्छ भन्ने यकिन छैन । सरकारले यसमा स्पष्टता गरिदिने हो भने हामीलाई काम गर्न सजिलो हुन्छ । यद्यपि कानुनी र नीतिगत व्यवस्था छैन भनेर हामीले काम गर्न रोकेका छैनौं । रोक्ने कुरा पनि भएन । व्यवसाय बढ्दै जाँदा स्पष्ट कानुनी व्यवस्था भइदिए राम्रो हुन्थ्यो भन्ने पनि लाग्छ । ई–कमर्स कम्पनी बजारमा पसिसकेपछि सधैं सानो आकारमै रहन्छ भन्ने हुँदैन । त्यसको आकार बढ्दै जाने हो । यो तुरुन्तै लगानीको प्रतिफल दिनेखालको उद्योग हैन । हामी मात्रै होइन विश्वमा कुनै पनि ई–कमर्स कम्पनी छोटो समयमा निकै धेरै नाफा कमाएको भन्ने छैन । धेरै वर्षदेखि बजार सिर्जना गर्दै गएर विस्तारै नाफा कमाउने हो । दीर्घकालीन मुनाफाको लक्ष्य राखेर यस्ता कम्पनीहरु चलाउन उपयुक्त हुन्छ । हाम्रोजस्तो मुलुकमा तुरुन्तै प्रतिफल नदिने खालका उद्योगमा लगानीकर्ताले पैसा हाल्न चाहँदैनन् । वैदेशिक लगानी वा स्वदेशमै पनि लगानी खोज्नका लागि के गर्न सकिन्छ भनेर खोज्न जरुरी छ । त्यसो हुन सकेमा मात्र इकसर्म कम्पनीले एउटा प्रतिष्ठित उद्योगको परिचय पाउन सक्छ ।

अहिले अवस्थामा कानुन छैन भन्नुभयो । कानुन वा नीतिगत व्यवस्था नहुँदा यस क्षेत्रले भोगेका समस्या के कस्ता छन् ?

फुडमान्डुकै हकमा भन्दा हामीलाई काम गर्न कानुनी वा नीतिगत समस्या खासै आएका छैनन् । तर कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनताका हाम्रो सेवालाई प्रशासनबाट अवरोध भयो । राइडरहरु पक्राउ परे । महामारी रोकथामका लागि अनलाइन व्यवसायले सहयोग नै गथ्र्यो । तर राज्यले त्यो कुरा नबुझ्दा केही समस्या भयो । योबाहेक हामीले कानुन वा नीति नियमकै अभावमा काम नै गर्न नसकेको वा रोकिएको भन्ने छैन । कुनै व्यवसाय सुरु हुनुभन्दा अगावै ऐनकानुन त बन्दैन । तर बढ्दै जाँदा त्यसलाई नियमन गर्ने सहजीकरण गर्नेजस्ता कामका लागि कानुनी स्पष्टता चाहिन्छ । सरकारी निकायबाट त्यसको स्पष्टता आउन जरुरी छ । किनभने ई–कमर्स व्यवसायले नेपालको बेरोजगारी घटाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन योगदान गर्छ सक्छ । यो विषयलाई सरकार र सम्बन्धित पक्षले पनि बुझिदिने हो भने सहज हुन्छ ।

तपाईंले ई–कमर्स व्यवसायले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सहयोग गर्छ भन्नुभयो ? त्यो कसरी सम्भव छ ?

ई–कमर्स व्यवसाय निकै पारदर्शी छ । सबै कुरा अनलाइन र डिजिटलाइज्ड भएपछि त्यसको रेकर्ड हुन्छ र पारदर्शिता हुन्छ । समग्र व्यवसायको चक्र नै पारदर्शी रूपमा चल्नेहुँदा यसले अनौपचारिक अर्थतन्त्रलाई पनि औपचारिक बनाउन सहयोग गर्छ । यो व्यवसायसँग जोडिएका सबै पार्टनरहरुको व्यवसायलाई पनि पारदर्शी बनाउन सकिन्छ । हामीसँग काम गर्न आउँदा उहाँहरु पारदर्शी हुनैपर्छ । कुनै कम्पनी दर्ता भएको छैन भने हामी त्यस्ता कम्पनीसँग व्यावसायिक रूपमा साझेदारी गर्दैनौं । उहाँहरु दर्ता भएकै हुनुपर्छ । कर, बिलिङ प्रक्रियालगायत काममा पारदर्शी हुने हुँदा यसले अर्थतन्त्रलाई विस्तारै औपचारिक बनाउँदै लैजान्छ । हामीले गरेको कारोबारको विवरण पनि पारदर्शी भएकाले सम्बन्धित निकायले यो क्षेत्रलाई सजिलै नियमन गर्न सक्छन् ।

अर्को विषय रोजगारी सिर्जना । सफ्टवेयर इन्जिनियर, डाटा साइन्टिस्टदेखि लिएर वस्तु घरघरमा डेलिभरी राइडरसम्मले ई–कमर्समा रोजगारी पाएको देख्छौं । संख्यामा कुरा गर्ने हो भने, कुनै पसलमा २ जना बसेर सय जनालाई सेवा दिन सक्छ । तर अनलाइनको हकमा सय जनालाई सेवा दिन कम्तीमा १० देखि १५ जना चाहिन्छन् । उनीहरुले रोजगारी पाउँछन् । ई–कमर्स व्यवसाय जति बढ्दै जान्छ, त्यहीअनुसार हामीले जनशक्ति पनि थप्दै जानुपर्ने हुन्छ ।


फुडमान्डुकै लगानी कति हो ? यसले कति जनाका लागि रोजगारी सिर्जना गरेको छ ?

फुडमान्डुले प्रत्यक्ष रूपमा २५० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रूपमा त अझ बढी हुन्छ । १७५ जना डेलिभरी गर्ने साथीहरु नै छन् । त्यसभन्दा बाहेक, कस्टमर सर्भिस, प्रशासन, अकाउन्टलगायत काममा जोडिएका छन् । फुडमान्डुको लगानीको कुरा गर्दा सुरुवातमा मैले आफ्नै कमाइबाट लगानी गरेको हो । सन् २०१६ को अन्ततिर एउटा प्राइभेट इक्युटी कम्पनीले लगानी गरेको छ । त्यसको तीन वर्षपछि अर्को एउटा कम्पनीले पनि यसमा लगानी गरेको छ । यो अहिले पनि बढ्दो चरणमा भएको कम्पनी हो । यसकारण हामीले थप लगानीको आवश्यकता महसुस गरेका छौं । व्यवसाय विस्तारको पनि योजना छ । हामीलाई निरन्तर लगानी चाहिरहन्छ र हामीले अहिले पनि थप लगानी खोज्दै छौं ।

ई–कमर्स मात्र होइन, स्टार्टअपलाई नै अहिले धेरै युवाले आफ्नो लक्ष्य बनाउँछन् । तपाईंले बुझेको स्टार्टअप के हो ? नयाँ पिँढीलाई के सन्देश दिन चाहनुहुन्छ ?

स्टार्टअप के हो भनेर धेरैथरी परिभाषा हुन सक्छन् । कसैले नयाँ व्यवसाय सुरु गर्नेबित्तिकै स्टार्टअप भन्ने गरेको पनि भेटिन्छ । फरक सोच र नयाँ धारणा भएको कम्पनीलाई पनि स्टार्टअपको रूपमा बुझेको हामी देख्छौं । कुनै व्यवसाय सुरु (स्टार्ट) भइसकेपछि माथि बढ्दै जानु (अप) महत्त्वपूर्ण कुरा हो । त्यस्तो वृद्धिको सम्भावना छ भने त्यो स्टार्टअप हो । मेरो बुझाइमा कुनै व्यवसाय सुरु भइसकेपछि त्यो धेरै माथिसम्म जान सक्छ भने त्यो स्टार्टअप हो । आफैं केही नयाँ काम गरौं भनेर सोच्नु सकारात्मक छ । तर मेरो व्यक्तिगत अनुभव कस्तो छ भने, धैर्यता र लगनशीलता धेरैमा हुँदैन । राम्रो तयारी गरेर लामो समयसम्म चल्ने भनेर युवाहरु आउनुपर्छ । तत्काल नाफा खोज्ने हो भने यो क्षेत्रमा सजिलो छैन । दीर्घकालीन रूपमा सोचेर आउने हो भने सफलता पाउन सकिन्छ । केही गर्नुपर्छ भन्ने भावना प्राय: युवाहरुमा अहिले देखिन्छ । त्यो राम्रो हो ।

युवा पिँढी ई–कमर्स र स्टार्टअपमा आउनु राम्रो कुरा भन्ने भयो । तर सानो पुँजीबाट सानो व्यवसाय सुरु गर्नका लागि सुहाउँदो वातावरण छ कि छैन ?

सधैं उपयुक्त र अनुकूल वातावरण त कहिल्यै पनि हुँदैन । यदि राम्रो वातावरण छ भने त्यहाँ अवसर पनि कम हुन्छ । हामी वातावरण राम्रो होस् भनेर पर्खेर बस्न हुँदैन । यसलाई आफैं राम्रो बनाउने हो । भएको वातावरणमा आफूलाई अनुकूलित बनाउने (एडजस्ट) गर्ने हो । यसकारण नराम्रो वातावरण हुँदा नै हामीले अवसर खोज्ने र भेट्ने हो ।

नयाँ खालका चिज नेपालमा पनि गर्न सकिन्छ । हामी सधैं बाहिरको चिजलाई भित्र्याउने कुरामा मात्र होइन, आफैं केही काम गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ काम गर्न जरुरी छ । बाहिर प्रयोगमा रहेका राम्रा कुरालाई नेपालमा भित्र्याएर त्यसमा मूल्य अभिवृद्धि (भ्यालु एड) कसरी गर्न सकिन्छ भनेर सोच्न जरुरी छ । नयाँ पिँढीले परिवर्तन गर्ने कुरालाई राजनीति र नेताहरुसँग जोडेर मात्र हेर्न हुँदैन । आफैं केही गरेर परिवर्तन गर्नेबारे सोच्नुपर्छ । बोल्ने धेरै जना हुनुहुन्छ । बोलेर केही हुँदैन । काम गरेर देखाउनुपर्छ । नयाँ पिँढीलाई मेरो यही आग्रह छ ।

अन्त्यमा, फुडमान्डुबाहेक तपाईं अरू कुनै पेसा व्यवसायमा पनि संलग्न हुनुहुन्छ ? अथवा त्यस्तो कुनै सोच बनाउनुभएको छ ?

अहिले म पूर्णरूपमा फुडमान्डुकै काममा लागेको थिएँ । यो कम्पनीको सुरुवाती दिनहरुमा मैले जागिर पनि गर्थें । म पेसाले सफ्टवेयर डेभलपर थिएँ । तर मैले त्यसलाई धेरै अगाडि छोडिसकें । आफ्नै कम्पनीका लागि अहिले पनि सफ्टवेयरसँग सम्बन्धित केही कामहरु गर्छु । अरु व्यवसायमा म संलग्न छैन । अहिले काठमाडौं र पोखरामा मात्र हाम्रो सेवा छ । हामी भौगोलिक रूपमा धेरै ठाउँमा जाने तयारी गरिरहेका छौं । कोभिडका कारण केही पर धकेलिएको थियो । फुडमान्डुलाई अरू सेवासँग जोड्दै जाने पनि हाम्रो तयारी छ । अहिले नै भन्ने हो भने हामीले खानेकुरा मात्र नभई सबै खालका खाद्यान्न सामग्री (ग्रोसरी) को होम डेलिभरी सुविधा सुरु गरिसकेका छौं । अबको हाम्रो योजना भनेको क्लाउड किचनका रूपमा फुडमान्डुलाई तयार पार्न त्यसको पूर्वाधार बनाउनु हो । खाद्यान्नसँगै जोडेर कसरी अरू व्यवसायलाई विस्तार गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौं । खाद्यान्नसँग सम्बन्ध राख्ने हरेक कुरालाई हामी विस्तारै जोड्दै जाने पक्षमा छौं । ताकि ग्राहकले खाद्यान्नसँग सम्बन्धित सबै चिजबीज एकै ठाउँमा भेट्न सकियोस् ।

प्रकाशित : मंसिर २, २०७८ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×