कोभिडविरुद्ध खोप लगाउन किन हिच्किचाउँछन् गर्भवती महिला ?- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडविरुद्ध खोप लगाउन किन हिच्किचाउँछन् गर्भवती महिला ?

बुनु थारु

काठमाडौँ — काठमाडौँ कोटेश्वरकी २८ वर्षीया अञ्जली श्रेष्ठको गर्भमा ९ महिनाको बच्चा हुर्किरहेको छ । २ हप्ता अगाडि उनलाई खोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षण देखिए । परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो । एनजीओकर्मी श्रेष्ठले कोरोनाभाइरस विरुद्धको खोप लगाउँदा गर्भमा रहेको बच्चालाई असर पुग्नसक्छ भन्ने डरका कारण खोप लगाएकी थिइनन् । संक्रमित भएर गाह्रो महसुस भएपछि भने उनलाई खोप नलगाएकोमा पछुतो छ ।

घरमै आइसोलेसनमा बसेर ठीक भइरहेकी श्रेष्ठ भन्छिन्– ‘खोप लगाएको भए अहिले जति गाह्रो बनाउँदैनथ्यो होला । चिकित्सकले लगाऊ भनेका छन् । अब त छुटाउँदिन ।’

कपन बस्ने २५ वर्षीया भावना लामा ८ महिनाकी गर्भवती छिन् । सुरुमा त उनी खोप लगाउने कि नलगाउने भन्ने दोधारमा थिइन् । एकदिन समाचार पढ्दै गर्दा गर्भवतीले पनि खोप लगाउन मिल्छ भन्ने थाहा पाइन् । नजिकैको खोप केन्द्रमा गएर भेरोसल लगाइन् । ‘खोप लगाएर अहिले ढुक्क छु । केही नकारात्मक असर पनि देखिएको छैन । दुवै डोज लगाएँ । संक्रमण भइहाले पनि गाह्रो बनाउँदैन भन्ने आशा छ’ उनी भन्छिन् ।

विश्व स्वास्थ्य संगठनले ६ महिनाअघि नै गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउन सक्ने भनेर सिफारिस गरिसकेको छ । गर्भवती महिला त्यसमाथि पनि दीर्घरोग भएका महिला कोभिड–१९ को जोखिम समूहमा पर्छन् भनेर पनि डब्लूएचओले दाबी गरेको छ ।

त्यसैगरी, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोनाविरुद्धको खोप सुरक्षित रहेको र गर्भवती महिलाहरूले लगाउन सिफारिस गरिसकेको छ । यस्तै भारतले पनि गर्भवती महिलाहरूलाई कोभिड–१९ विरुद्धको खोप दिने नर्णय गरिसकेको छ । गर्भवती महिला, बच्चाको योजना बनाइरहेका महिला तथा स्तनपान गराइरहेका सबै महिलालाई सीडीसीले आफ्नो तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोभिडविरुद्धको खोप लिनुपर्ने बताएको छ ।

कोभिडविरुद्धको खोप लगाएपछि संक्रमण भए पनि सिकिस्त बिरामी नहुने वैज्ञानिकहरूको सुझाव छ । सीडीसीले गर्भवती महिलाहरूले बुस्टर खोप पनि लिन सक्नेसमेत बताएको छ ।

सीडीसी भन्छ– ‘कुनै पनि कोभिडविरुद्धको खोपमा जीवित भाइरस हुँदैनन्, त्यसैले यसले गर्भवती महिला तथा शिशुहरूलाई बिरामी बनाउँदैन । गर्भवती महिलाले खोप लिएको खण्डमा यसले एन्टिबडी निर्माण गरी शिशुलाई पनि सुरक्षा प्रदान गर्छ ।’

कोरोना संक्रमण भएको अवस्थामा गर्भवती महिला एक त अस्पताल भर्ना हुनुपर्ने र अरु थप उपचार चाहिने अवस्थामा पुग्न सक्छन् । साथै मृत्युको जोखिम पनि हुनसक्छ । त्यसैगरी बच्चाहरू पनि समय नपुग्दै जन्मिन सक्ने जोखिम रहन्छ । साथै, नवजात शिशुलाई पनि सघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवास्था विकसित हुन सक्छ ।

नेपाल सोसाइटी अफ अब्सट्रेसियन्स एन्ड गाइनोकोलोजिस्ट (नेसोग)ले साउन महिनामा एक विज्ञप्ति जारी गर्दै गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोनाभाइरस विरुद्धको खोप लगाउन माग गरेको थियो । कोभिडले गर्भवती महिलाहरू मात्र नभई उनीहरूको गर्भमा रहेको शिशुलाईसमेत असर पर्ने हुनाले खोप जरुरी रहेको नेसोगको भनाइ थियो । साथै, गर्भवती महिलाहरूका लागि छुट्टै खोपकेन्द्रको पनि व्यवस्था हुनुपर्ने नेसोगको सुझाव थियो ।

धेरैमा कोभिड खोपले गर्भ नबस्ने, गर्भ तुहिने र बाँझोपनको समस्या देखिनसक्छ भन्ने गलत बुझाइले खोप नलगाएको चिकित्सकहरूको तर्क छ । शिक्षित तथा अशिक्षित दुवै परिवारमा यी धारणा अब्बल देखिएको चिकित्सकहरू बताउँछन् ।

खोपले महिला तथा पुरुषमा पनि प्रजननसम्बन्धी कुनै समस्या नदेखिएको अध्ययनहरूले उल्लेख गरेका छन् । हालसम्म यस्ता खालका समस्या देखिने कुनै पनि वैज्ञानिक प्रमाण फेला परेका छैनन् ।

नेसोगका अध्यक्ष स्त्री रोग विशेषज्ञ डा. गणेश दंगालले गर्भवती महिलाले पनि खोप लगाउनुपर्छ भन्ने कुरा तल्लोतहसम्म पुग्न नसकेको बताए । ‘कोभिड खोप लगाउनु हुँदैन भन्नै नै अहिलेसम्म धेरैको बुझाइ छ । सरकारले पनि यो बारेमा स्पष्ट रुपमा नबोलिदिँदा अलि बुझाइमा फरक परेको हो,’ उनले भने, ‘खोपले आमा र बच्चालाई सुरक्षा दिन्छ भनेर नीतिगत तहबाटै सुझाव आउन ढिलाइ भएका कारणले धेरैले लगाउने इच्छा देखाएका छैनन् ।’

डा. दंगालले परामर्शमा आएका गर्भवती महिलालाई स्त्री रोग विशेषज्ञहरूले खोप लगाउन परामर्श दिइरहेका छन् । तर, जनमानसमा सही तरिकाबाट यो सूचना पुग्न नसकिरहेको बताए । उनका अनुसार सरकारी निकायले नै सुरुमा प्राथमिकता नदिँदा धेरैले खोप लगाएनन् ।

‘मुख्य कुरामा विश्वमा लाखौं गर्भवती महिलाले कोभिड खोप लगाइसके तर, कुनै नकारात्मक असर देखिएका छैनन् । उता खोप नलगाएकाहरू भने सिकिस्त देखिएका छन् । सामान्यतया गर्भावस्थामा पहिलो ३ महिना भित्र अंगहरू विकास हुने क्रम हुनाले सकेसम्म औषधिको प्रयोग गर्नु उचित मानिँदैन । ‘तर, कोरोनाको सवालमा भने त्यति पनि कुर्न जरुरी छैन । सुरक्षित छ,’ डा. दंगालले भने ।

अस्पतालमा परामर्श लिन जाँदा धेरैको प्रश्न कोभिड–१९ विरुद्धको खोप लगाउने कि नलगाउने भन्ने प्रश्न लिएर आउने गरेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी बताउँछन् । डा. सुवेदीका अनुसार धेरै महिला तथा उनीहरूको परिवारमा खोपले बच्चामा नकारात्मक प्रभाव पर्छ कि भन्ने डर देखिएको छ ।

धेरैमा खोप लगाएमा बच्चा रोग भएको जन्मिने, हात खुट्टा राम्रो बन्दैन भन्ने सोचाइ देखिएको उनले बताए । ‘यही डरले गर्भवती, स्तनपान गराउने र गर्भवती बन्ने योजना बनाइरहेका धेरैले खोप लगाएका छैनन्,’ डा. सुवेदीले भने, ‘सुरुमा नेपाल सरकारले गर्भवती महिलाहरूलाई खोप दिने वा नदिने भन्ने दोधारमा राखेकाले धेरैले लगाएनन् । तर, अध्ययनले खोप सुरक्षित रहेको देखाएको छ । नवजात शिशुहरूमा संक्रमण नहुने देखाएको छ ।’

यस्तै स्त्रीरोग विशेषज्ञ डा. लता बज्राचार्यले ओपीडीमा आउने हरेक गर्भवती तथा गर्भवती हुने योजना बनाइरहेका सबैलाई कोभिड विरुद्धको खोप लगाउनुपर्ने परामर्श दिने गरेको बताइन् । भन्छिन्– ‘सुरुमा त खोपले असर गर्छ वा गर्दैन भन्ने अध्ययन भएका थिएनन् । बच्चाहरूलाई असर पर्छ भनेर डराए । तर, अहिले खोपले आमा तथा बच्चा दुवै सुरक्षित रहने अध्ययनले देखाएका छन् । त्यसैले ढुक्क भएर लगाउन सकिन्छ ।’

सरकारले स्पष्ट रुपमा गर्भवती महिला तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिनुपर्छ भनेर उल्लेख नगर्दा स्वास्थ्यकर्मीले खोप नलगाइदिएको घटना पनि छन् । धेरैले खोप केन्द्रसम्म पुगेर पनि खोप नलगाइ फर्किएका छन् । स्पष्ट निर्देशनको अभावले धेरै गर्भवती महिलाले कोभिड विरुद्धको खोप नलगाइएको पाइएको छ ।

खोप शाखा प्रमुख सागर दाहालले गर्भवती महिलाहरू कोभिडको जोखिम समूहमा पर्ने भएकाले त्यसमा ध्यान दिँदै खोप निर्देशिकामा गर्भवती महिलाहरूलाई पनि क्याटेगारी छुट्याएर राख्ने बताए ।

‘नेसोगसँगको सहकार्य तथा खोप सल्लाहकार समितिसँग पनि छलफलमा रहेर छिट्टै नै ‘नेशनल डिप्लोइमेन्ट एन्ड भ्याक्सिनेसन प्लान नेपाल’ को संशोधित निर्देशिका आउँदैछ । २ देखि ३ दिनमा नै त्यसको टुंगो लाग्छ । सुरुमा हामीले गर्भवती महिलाहरूले लगाउन चाहेमा खोप दिनु भनेर निर्णय गरेका थियौँ । अहिले उपलब्ध गराउनु भनेर चिठी पठाइसकेका छौँ,’ उनले भने, ‘एक त गर्भवती महिलालाई खोप लिनुहुन्न भन्ने मानसिकताले पनि कम भएको हो । अब स्पष्ट रुपमा निर्देशिकामा पनि लेखिन्छ ।’

खोपविज्ञ डा. श्यामराज उप्रेतीले विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपालमा पनि गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई खोप दिनुपर्ने निर्णय भएको बताए । ‘सुरुमा त खोप नयाँ थियो । १८ वर्ष माथिकालाई मात्र परीक्षण गरियो । गर्भवतीमा पनि कम परीक्षण गरियो । अहिले भने विश्व स्वास्थ्य संगठनले जोखिमको आधारमा गर्भवती महिलालाई दिनुपर्छ भनेको छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले हालै एक सूचना जारी गरी गर्भवती महिलाहरूलाई पनि खोप दिनु भनेर ७ वटै प्रदेशमा चिठीसमेत पठाएको छ ।

कात्तिक ३० गतेको उक्त सूचनामा लेखिएको छ, ‘महाशाखाले कोभिड १९ विरुद्धको खोप उच्च जोखिममा रहेको गर्भवतीलाई मात्र दिइरहेकोमा यसपछि हाल उपलब्ध खोपहरू सकेसम्म गर्भावस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतीहरूले दिने व्यवस्थाको लागि अनुरोध छ ।’

प्रकाशित : मंसिर २, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लामा खाद्यान्न ढुवानी ठेक्का रोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

राजु चौधरी

काठमाडौँ — हुम्लामा नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न ढुवानीका लागि सबैभन्दा बढी शुल्क कबुल्नेलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिम्मा दिने निर्णय गरेपछि उच्च अदालत पाटनले ठेक्का रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले ढुवानी ठेक्का तत्काललाई रोक्न अन्तरिम आदेश जारी गरेको हो । 

खाद्यले कानुनविपरित बढी रकम कबोल गर्नेलाई ढुवानी ठेक्का दिन सूचना निकालेको भन्दै समिट एयर प्रालिका तर्फबाट प्रविण खरेलले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । न्यायाधीश विश्वकर्माको एकल इजलासले बिहीबार दिएको आदेशले दुबै पक्षलाई छलफलका लागि मंसिर १२ गते बोलाएको छ ।

‘तत्कालका लागि आन्तरिम आदेश जारी भयो, आपतकालीन छलफलका लागि दुबै पक्षलाई मंसिर १२ गते बोलाइएको छ,’ मुद्दा दायर गरेका खरेलले भने । यसअघि सार्वजकि खरिद पुनरावलोकन समितिले पनि खाद्यको ढुवानी ठेक्का अनाधिकृत ठहर गर्दै बदर गरिदिएको थियो । समितिका अध्यक्ष भीमकुमार ओझा र सदस्य महेन्द्रबहादुर गुरुङको इजलासले कात्तिक ४ गते पुन: मूल्याङकन गर्न आदेश दिएको थियो ।

समितिले हुम्लामा खाद्यान्न ढुवानी प्रक्रिया पुन: मुल्याङकन गरेर अघि बढाउन समेत आदेश दिएको थियो । महँगोमा ढुवानी प्रस्ताव गर्ने श्रीर्मिका एयर कार्गो सर्भिसलाई १० हजार क्विन्टलको ठेक्का दिनेगरी खाद्यले कात्तिक २९ मा सूचना निकालेको थियो । खाद्यले हुम्लामा नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न गरेको बोलपत्र आह्वानमा श्रीर्मिकाले नेपालगन्जदेखि हुम्ला सरदमुकाम सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ र सुर्खेतबाट सिमकोटसम्म १ सय ५ रुपैयाँ कबोल गरेको थियो ।

श्रीर्मिकाको दरमा ठेक्का हुँदा १० हजार क्विन्टल ढुवानी गर्न १० करोड ७८ लाख (भ्याटबाहेक) खर्च हुन्छ । बोलकबोलका क्रममा सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्ज–सिमकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबुलेको थियो । उक्त दरमा ढुवानी हुँदा ६ करोड ९० लाख (भ्याटबाहेक) रुपैयाँ खर्च हुन्छ ।

त्यस्तै समिट एयरले सुर्खेत–सिमकोट प्रतिकिलो ९७ रुपैयाँ र नेपालगन्ज–सिमकोट प्रतिकिलो ८९ रुपैयाँ कबोल गरेको थियो । समिटले कुल ९ करोड ३८ लाखमा खाद्यान्न ढुवानी गर्ने प्रस्ताव गरेको थियो । तारा एयरले प्रतिकिलो सुर्खेतबाट ७८.९० र नेपालगन्जबाट १ सय १० रुपैयाँमा ढुवानी गर्न सक्ने प्रस्ताव गरेको थियो । ताराको प्रस्तावअनुसार पनि कम्पनीको ९ करोड १३ लाख ४० हजार (भ्याटबाहेक) खर्च हुन्छ । खाद्य कम्पनीको यस्तो निर्णयले १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्दा ३ करोड ८८ लाख बढी खर्च हुने जनाएको छ ।

प्रकाशित : मंसिर २, २०७८ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×