जाडोमा छालाको स्याहार कसरी गर्ने?

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेषगरी जाडोमा मानिसका शरीरको छाला सुख्खा हुने, हातखुट्टा, ओठ फुट्ने समस्या देखिन्छन् । त्यसैगरी अर्को ‘चिलब्लेन्स’ भन्ने हुन्छ । यसले हात गोडाहरु सुन्निने हुन्छ । चिसो लागिसकेपछि हातहरु रातो अनि घाउहरु जस्तो हुने कहिलेकाहीं पानीफोकाहरु पनि आउन सक्छ ।

जाडोमा छालाको स्याहार कसरी गर्ने?

अर्को ‘ह्यान्ड एक्जिमा’ हुने सम्भावना हुन्छ । छाला सुख्खा भइ जाडोमा हातखुट्टाहरु चिलाउने, पानीफोका निस्किने र कहिलेकाहीं पटपट फुट्ने समस्या पनि हुन सक्छन् । धेरैजस्तो साबुन, सर्फहरुमा धेरै समय बिताए यो समस्या बढ्छ । त्यसैले जाडाेमा छालाकाे स्याहार अलि बढी गर्नुपर्छ ।

गर्मी महिनामा आद्र तापक्रम हुन्छ जाडोमा सुख्खा खालको हुन्छ । हाम्रो शरीरमा हुने होमियोथर्मिक मेकानिजम भन्छौं जाडो महिनामा शरीरभित्र आफैं ताप जोगाइरहेको हुन्छ । त्यसैले जाडोमा पसिना पनि आउँदैन । जाडो मौसममा हाम्रो शरीरको आफ्नो तापक्रम तथा बाहिरको तापक्रमले छालाहरु सुख्खा हुन्छ ।

जाडो समयमा देखिने अर्को समस्या हो सोरियासिस । जाडोको बेला छालाहरु अरुबेला भन्दा बढी सुख्खा हुने भएकाले गर्दा यो झन् बढ्न सक्छ । सामान्यतया मान्छेमा यो समस्या छ भने गर्मीमा ठीकै हुन्छ जाडो भएपछि कत्लाहरु जस्तो भएर फुस्रो हुने र चिलाउने समस्याहरु देखिन्छ ।

चायाँपोतोको समस्याले पनि जाडो समयमा बढी सताउने गर्दछ । त्यसैगरी जाडोमा धेरैबेरसम्म आगो तापेर बस्ने हुँदा पनि छालामा समस्या आउन सक्छन् । जाडोमा सबै जना न्यानो हुनका लागि एउटै ओच्छ्यानमा सिरकमा गुटुमुटु परेर बस्ने बानी हुन्छ । त्यस्तो बेलामा लुतोको समस्याहरु पनि देखिने सक्छ ।

जाडोमा मान्छेहरु नुहाउन अलि अल्छी गर्छन् । जसले गर्दा हप्ता-दस दिन सरसफाईको कमीले काछ लाग्ने समस्या आउन सक्छन् साथै ब्याकेटिरयाको संक्रमणहरु हुने र घाउ-खटिरा पनि गराउन सक्छन् ।

जाडोमा घाम पनि धेरै तापिन्छ । घामले पनि छालाको एलर्जीहरु गराउँछ । जसलाई हामी ‘पोलिमर्फिक लाइट इरप्सन’ भन्छौं । यसले छाला रातो गराउँछ । सर्न बर्नहरु हुने समस्या हुन्छ ।

कसरी ध्यान दिने त ?

जाडोमा सर्वप्रथम त खानपिनमै ध्यान दिनुपर्छ ।जाडोमा पानी चिसो हुन्छ भनेर पानी खाइँदैन । छाला सुख्खा हुन नदिन हात था गोडामा मोस्चराइजरको प्रयोग गर्नुपर्दछ । नुहाउँदा पनि माइल्ड सोप बडी वासको प्रयोग गर्नुपर्दछ । नुहाइसकेपछि शरीरमा मोस्चराइजर लगाउने गर्नुपर्दछ । अनुहारमा पनि सनस्क्रिन लगाउन बिर्सिनुहुँदैन । ओठमा लीप बामहरु लगाइराख्ने गर्दा समस्या आउँदैन ।

जाडो महिनामा छालाको स्याहार त गर्नपर्छ नै । हामीले कोठा न्यानो बनाउन प्रयोग गर्ने हिटरबारे पनि सावधानी अपनाउनुपर्छ । राति सुत्दा झ्यालहरु डम्म लगाएर सुत्नुभएन । त्यसैगरी आगोको एकदम नजिक गएर पनि नबसौँ । छाला त सुख्खा गराउँछ नै दुर्घटना हुने सम्भावना पनि रहन्छ । जाडोमा आगोले पोलिएका घटना पनि धेरै सुनिने गर्दछन् । त्यसैले जोगिएर बस्नुपर्दछ ।

(छालारोग विशेषज्ञ तथा कस्मेटिक सर्जन डा रुपक घिमिरेसँग कुराकानीमा आधारित )


प्रकाशित : कार्तिक २७, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?