१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नुनको अधिक प्रयोगले शरीरलाई कति हानी गर्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — नुन विना खानाको परिकल्पना हामी कमै गर्छौँ । त्यसमाथि नेपाली भान्सामा नुनको प्रयोग बढी नै हुन्छ । खानामा नुनको स्वाद हामीलाई जति मिठो लाग्छ त्यति नै उचित मात्रामा प्रयोग नगरेको खण्डमा यसले हानी गर्न सक्छ ।

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड पाइन्छ । इन्टरनेशनल जर्नल अफ इपिडिमियोलोजीले अधिक मात्रामा नुनको प्रयोगले शरीरलाई हानी गर्ने बताएको छ ।

नुनको अत्याधीक प्रयोगले उच्च रक्तचाप तथा मुटुका समस्या निम्तिने देखिन्छ । त्यसमाथि प्रशोधित खानाहरुमा नुनको मात्रा अधिक नै हुन्छ जुन हाम्रो दैनिकीमा प्रयोग गरिरहेका हुन्छौँ ।

विश्व स्वास्थ्य संगठनले दैनिक ५ ग्राम नुन खान उपयुक्त हुने सिफारिस गरेको छ । घरमै पकाइएका नियमित खानेकुरामा ठिकैको नुनको मात्रा हालिएको होला तर बजारका खाना जस्तै बेकरी आइटम, अचार, चट्नी, सस ,पापड, चिसो पेय पदार्थ र डिब्बामा बन्द गरिएका खानेकुरामा नुनको मात्रा अत्याधीक नै हुन्छ ।

धुमपान, मोटोपन, तनाव, बुढेसकाल आदि कारणले रक्तचाप बढ्न सक्छन् तर नुनले पनि यसमा ठूलो भूमिका खेल्ने अध्ययनले बताउँछन् । प्रशोधित खानामा सोडियम लेभल उच्च हुन्छ । अपोलो अस्पतालका इन्टरल मेडिसिनका सिनियर कन्सलटेन्ट एस चटर्जी भन्छन्–‘नुनको अधिक प्रयोगले उच्च रक्तचाप गराउँछ त्यसमाथि व्यायाम, मोटोपन, तनावले पनि त्यसमा बढावा दिन्छन् । प्रशोधित खानामा नुनको मात्रा मात्र धेरै हुँदैन । तेलको पनि धेरै प्रयोग भएको हुन्छ जसले तौल बढाउन सक्छ अनि हाइपरटेनसनले सताउन सक्छ ।'

स्वास्थ्य विज्ञहरुका अनुसार नुनको अधिक प्रयोगले उच्च रक्तचाप बढाउँदै मुटुका समस्याहरु पनि निम्त्याउन सक्छन् । अध्ययनहरुका अनुसार भारतमा सामान्यत: शरीरलाई चाहिनेभन्दा तीन गुणा जति बढी नुन प्रयोग गरिन्छ । भारतमा जुन अवस्था त्यो नेपालमा पनि मिल्दोजुल्दो छ । विलि अनलाइन लाइब्रेरीमा सन् २०२०मा प्रकाशित एक सर्भेका अनुसार नेपालीहरु दैनिक १३.३ ग्राम नुनको प्रयोग गर्ने गर्छन् । तर यसले शरीरलाई फाइदा भने नगर्ने विज्ञहरु बताउँछन् ।

नुनको अधिक प्रयोग गरिरहेको भनेर कसरी थाहा पाउने त?

यदी तपाईँलाई पटकपटक पिसाब लाग्छ भने सम्झनुस् तपाईँले नुनको मात्रा बढी नै प्रयोग गरिराख्नुभएको छ । यो मधूमेहको लक्षण पनि हुन सक्छ । त्यसैगरी नुनको बढी प्रयोगले तिर्खा मात्र लागिरहने बनाइराख्छ । उच्च सोडियमले शरीरमा हुने तरल पदार्थको ब्यालेन्समा गडबड गर्छ ।

तपाईँको शरीरको ठाउँ ठाउँमा सुन्निएको छ भने नुनको मात्रा बढी पनि हुन सक्छ । औंला तथा घुँडामा सुन्निएको महसुश हुन सक्छ । त्यसैगरी टाउको दुख्ने समस्या पनि देखिन सक्छ । डिहाइड्रेसनले त्यसो गराएको हुन सक्छ । पानीको मात्रा बढाउनुपर्छ ।


प्रकाशित : कार्तिक ६, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?