१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जडान भएको २ महिनामा पनि सञ्‍चालन भएन अक्सिजन प्लान्ट

शंकर आचार्य

पर्सा — जडान गरेको २ महिना बितिसक्दा पनि नारायणी अस्पतालमा अझै अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा प्लान्टका लागि आवश्यक पर्ने विद्युत आपूर्तिको व्यवस्था नहुँदा उक्त प्लान्ट सञ्चालन हुन नसकेको बताइएको हो ।

जडान भएको २ महिनामा पनि सञ्‍चालन भएन अक्सिजन प्लान्ट


जिल्लाका संघीय सांसद विमल श्रीवास्तवले अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न गत आर्थिक वर्षमा संसदीय कोषबाट २ करोड रुपैयाँ निकासा गराएका थिए । वीरगन्ज महानगरपालिकाको कार्यालय मार्फत् २०७७ माघ १४ गते टेण्डर प्रकाशित भई ठेकेदार बयोधा मेडिकल टेक्नोलोजी प्रालि ललितपुरले १ करोड ४७ लाख ९२ हजार रुपैयाँमा ठेक्का सकार गरी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी भदौको पहिलो साता हस्तान्तरण गरेको थियो ।

कोरोनाको दोश्रो लहरमा यो अस्पतालमा ठूलो संख्यामा कोरोना संक्रमित उपचारार्थ भर्ना हुँदा अक्सिजनको अभाव महशुस गरिएको थियो । त्यति बेला स्थानीय स्तरबाट अस्पतालमा अक्सिजन प्लान्ट जडानको चर्को माग भएको थियो ।

हाल कोरोना संक्रमित बिरामी अस्पतालमा आउन बन्द भए पनि अस्पताल भर्ना हुने अन्य बिरामीको लागि नियमित अक्सिजनको आवश्यकता परिरहेको हुन्छ । अस्पतालले हालसम्म बाहिरबाट अक्सिजन खरिद गरी गर्जो टार्ने गरेको छ ।

‘बिपत्ति घण्टी बजाएर आउँदैन, कोरोना कहर सकिएको होला । तर भविष्यमा जुनसुकै बेला अक्सिजनको चर्को माग हुनसक्छ, त्यति बेला के गर्ने ?’ सामाजिक अभियन्ता प्रकास थारु सोध्छन् । जडान गरेर तयार भइसकेको अक्सिजन प्लान्ट २ महिनासम्म पनि सञ्चालनमा आउन नसक्नु दुःखद भएको उनी बताउँछन् ।

अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले अस्पतालमा हाल उपलब्ध विद्युत क्षमताले अक्सिजन प्लान्टलाई धान्न नसक्ने भएकाले यो प्लान्ट सञ्चालनमा आउन नसकेको बताए । ‘अक्सिजन प्लान्टकै लागि कम्तीमा ५ सय केभिए विद्युत आवश्यक पर्ने रहेछ,’ उनले भने, ‘त्यसका लागि आवश्यक ट्रान्सफर्मर खरिद भई अस्पतालमा ल्याइसकिएको छ, छिट्टै जडान गर्ने तयारी भइरहेको छ ।’

प्लान्ट सञ्चालनमा आएपछि प्लान्टबाट दैनिक ठूलो आकारको १ सय ४० थान सिलिण्डरमा अक्सिजन उत्पादन हुने उनले दाबी गरे । कोरोनाको दोश्रो लहर उच्च बिन्दुमा पुगेको अस्पतालमा दैनिक २ सय ५० सिलिण्डर खपत भएको उनले बताए । पुनः कोरोनाको ठूलो लहर वा अन्य कुनै आकस्मिक परिस्थिति आइपरेर अक्सिजनको चरम माग नभए हाल दैनिक उपलब्ध हुने १ सय ४० सिलिण्डर अक्सिजनले अस्पतालको सहजै माग धान्ने उनले बताए ।

प्रकाशित : कार्तिक ६, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?