स्तन क्यान्सर : भ्रम र वास्तविकता- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्तन क्यान्सर : भ्रम र वास्तविकता

डा. अनामिका झा, डा. सुमन लामिछाने

काठमाडौँ — क्यान्सरका बिरामीहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा स्तन क्यान्सरको बारेमा पनि धेरै चर्चा परिचर्चा सुनिन्छ। क्यान्सर भन्ने बित्तिकै निको नै नहुने असाध्य रोग हो भन्ने मान्यता जनमानसमा रहिआएकोले, यसको नामले नै जो कोही आत्तिने गर्छन् । त्यसमाथि विश्वको आंकडा अनुसार महिलाहरुमा हुने क्यान्सरमध्ये स्तनको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सर हो।

अध्ययनहरुले देखाए अनुसार प्रत्येक आठ महिलामा एक जनामा जीवनकालमा स्तन क्यान्सर देखापर्ने जोखिम हुने गर्छ । नेपाल तथा विकासशील मुलुकहरुमा भने पाठेघरको मुखको क्यान्सरपछि महिलाहरुमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो।

के यसको मतलब केही पनि बच्ने उपाय छैनन् भनेर हामी डराइ डराइ बस्ने मात्र हो त ? स्तन क्यान्सर सचेतना महिना अक्टोबर महिनाको मौका पारेर स्तन क्यान्सरका बारेमा बुझ्नै पर्ने केही तथ्य प्रकाश पार्न चाहन्छौँ।

स्तन क्यन्सरको जोखिम बढाउने विभिन्न कारक तत्वमध्ये परिवारमा कसैलाई क्यान्सर भएको इतिहास, केही अनुवांशिक परिवर्तनहरू, मोटोपना, हर्मन थेरापीहरू पर्दछन्। रोकथाम तथा रोगको पहिलो चरणमा पत्ता लगाई शिघ्र उपचार सुरु गर्नु नै यस रोगले पार्ने असर तथा मृत्युबाट जोगिने उपाय हो । नियमित व्यायाम, स्वस्थ खानपान तथा मोटोपना र तौल नियन्त्रणहरू यसको केही रोकथामका उपायहरू हुन्, जसले स्वास्थ्य सम्बन्धी अन्य थुप्रै समस्याहरुबाट पनि बचाउन मद्दत गर्छन् ।

यो रोगको पहिलो चरणमा पत्ता लगाउन सक्यो भने यसलाई पूर्णतया निको पार्न सकिन्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यही तथ्यले नै रोग पत्ता लगाउन गरिने स्क्रिनिङ विधिहरुको आवश्यकता औंल्याउँदछ । स्क्रिनिङ भनेको कुनै पनि रोगको लक्षण नदेखिँदैमा विभिन्न पद्दतिहरुद्वारा गरिने परीक्षणहरु हुन् । यसले लक्षण नदेखिँदैको प्रथम चरणको अवस्थामा नै रोगको पत्ता लगाई शीघ्र उपचारमा सहयोग पुर्‍याउँछ।

स्तन क्यान्सरका स्क्रिनिङका उपायहरूमा स्वयं गरिने स्तन परीक्षण, चिकित्सकद्वारा गरिने स्तन परीक्षण तथा मेमोग्राफी पर्दछन् । स्वयं गरिने स्तनको परीक्षणका विधिहरू इन्टरनेटमा खोज्ने हो भने सजिलै भेट्टाउन सकिन्छ। यस्तो जाँच महिनामा कम्तीमा एकपटक गर्न पनि विज्ञहरुले सुझाव दिने गर्छन् । यस्तो जाँच प्रायः महिला आफैँले नुहाउँदा वा कपडा फेर्दा गर्न सक्दछन्।

आफैँले जाँच गर्न सकिने र कुनै साधन वा अन्य व्यक्तिको सहयोग नलिई गर्न सकिने हुनाले यसलाई एउटा सरल उपाय मान्न सकिन्छ। यसका अलावा चिकित्सकद्वारा गरिने स्तन परीक्षणका लागि तीनदेखि छ महिनामा सम्बन्धित स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श तथा जाँच आवश्यक पर्दछ।

हामी सबैले देखेसुनेको जाँच एक्स-रे कै एक नवीन पद्दति हो मेमोग्राम । यसमा विकिरणको प्रयोग गरिने भए पनि शरीरलाई खासै हानी नगर्ने सानो मात्राको एक्स-रे विकिरणको प्रयोग हुने गर्छ । स्तन क्यान्सरको स्क्रिनिङका लागि यो अध्ययनहरुद्वारा प्रमाणित विधि हो । जसले विभिन्न ठूला जनसंख्यामा गरिएका अध्यनहरूमा रोगको प्रभाव तथा मृत्युदर कम गराएको देखिएको छ । पश्चिमी मुलुकहरुमा प्रोटोकल अनुसार नै ४०/५० वर्ष उमेरपछि हरेक एक वा दुई वर्षमा महिलाहरूको मेमोग्राम गर्ने गरिन्छ । हाम्रो क्षेत्रमा पनि कम उमेरमा नै धेरै स्तन क्यान्सरका बिरामी देखिँदै आएको हुँदा ४० वर्षबाट नै वार्षिक स्क्रिनिङ मेमोग्राम गर्नु उचित मान्न सकिन्छ।

हाम्रो परिप्रेक्षमा हेर्नुपर्दा मातृ-शिशु स्वास्थ्य तथा सङक्रमणजन्य रोगहरुले नै नीति-निर्माण तहमा प्राथमिकता पाएका छन्। त्यसैले अन्य क्यान्सरजस्तै स्तन क्यान्सर बारे जनमानसमा गरिने सचेतना कार्यक्रमहरुले पनि खासै प्राथमिकता पाएका छैनन्। जनस्वास्थ्यको तहमा स्क्रिनिङका उपायहरू नअपनाइएको यस्तो अवस्थामा व्यक्तिगत रुपमा गरिने परीक्षणहरुका लागि सचेतना बढाउनुपर्ने आवश्यकता देखिन्छ।

स्तनसँग सम्बन्धित हरेक लक्षणहरु जस्तै- छाम्दा थाहा हुने गाँठा, मुन्टा बाट पानी बग्नु (विशेष गरी रगत मिसिएको जस्तो), छाला वा मुन्टामा आएका नयाँ परिवर्तनहरुलाई बेवास्ता गरेर पछि जचाउँछु भन्दै बस्नु निश्चय पनि राम्रो होइन । यस्ता लक्षणहरु देखा परेमा तुरून्त स्वास्थ्यकर्मीसँग उचित परामर्श लिनुपर्छ । यस्तो अवस्थामा तुरुन्त मेमोग्राम वा अल्ट्रासाउण्ड जाँच गरिहाल्नुपर्छ ।

सामान्यतया ४० वर्ष उमेर कटेपछि स्तनको घनत्वमा कमी आउँदै जाने हुँदा मेमोग्राम यो उमेरपछि गर्नु उपलब्धिपूर्ण हुन्छ । कम उमेरका महिलाहरुमा स्तनको घनत्व ज्यादा हुने हुँदा मेमोग्रामको संवेदनशिलता कम हुने गर्दछ र यस्तोमा समस्या भएको अवस्थाममा पनि मेमोग्राममा नदेखिने हुनसक्छ ।

स्तनको अल्ट्रासाउण्ड (भिडियो एक्स-रे भनिने) कम उमेरका महिलाहरूका लागि बढी उपयोगी हुनसक्छ। साथै यसको प्रयोग मेमोग्राममा देखिएका केही समस्याहरू प्रस्ट्याउन पनी यो जाँच उपयोगी हुन्छ।

माथि उल्लेख गरिएभन्दा बाहेक पनि स्क्रिनिङ वा स्तनको जाँचका उपायहरु छन् जसमा स्तनको एमआरआई जाँच पर्दछ। यो जाँच भने सामान्यतया केही खर्चिलो हुने गर्छ । साथै यसको सहज उपलब्धता पनि अन्य जाँचहरुको तुलनामा कम छ। कहिलेकाहीँ एमआरआईको प्रयोग परिवारमा स्तन क्यान्सर देखिएका महिलाहरुमा कम उमेरमा गरिने स्क्रिनिङका लागि गरिन्छ।

कुनै एक उखानमा भनिए जस्तो अज्ञानता सधैं वरदान सावित नहुन सक्छ । स्वयं सचेत हुनु वास्तवमै आवश्यक छ र यही नै स्तन क्यान्सरको असर कम गर्ने पहिलो उपाय हुन सक्छ।

सबै कुराहरु नकारात्मक मात्र छैनन्। आज पनि विश्वमा धेरै महिलाहरु स्तन क्यान्सर लागेर पनि समयमै उपचार सुरु गरेकाले रोगमुक्त भई सामान्य जीवन यापन गरिरहेका छन्। र, यो सबै केवल स्क्रिनिङका उपाएहरु समयमै अवलम्बन गरेको उपज हो।

आफूमा देखिएका लक्षणहरूको समस्याको शीघ्र सम्बोधन, स्क्रिनिङ विधिका प्रयोग तथा नियमित मेमोग्रामहरुले हाम्रो मनमा शान्ति त प्रदान गर्छ नै, डरलाग्दो रोगबाट पनि बेलैमा बचाउन सक्दछ। त्यसैले, विशेषगरी महिलाहरुले आफू सचेत भई स्वास्थ जीवन जीउनका लागि पहल गर्नुपर्छ ।

(डा. झा त्रि. वि शिक्षण अस्पताल, महाराजगंजमा रेडियोलोजी विभागमा सहायक प्राध्यापकको रुपमा कार्यरत छिन् भने डा. लामिछाने सशस्त्र प्रहरी अस्पतालमा कार्यरत रेडियोलोजिस्ट हुन् ।)


प्रकाशित : कार्तिक १, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोट बस दुर्घटना: एकको मृत्यु

कान्तिपुर संवाददाता

नुवाकोट — किस्पाङ गाउँपालिका–५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको निधन भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । दुर्घटनामा घाइते मध्ये नौ जना काठमाडौं र २८ जनाको त्रिुशली अस्पतालमा उपचार भइरहेको छ । बसमा झन्डै ५० यात्रु थिए ।

तस्बिर : किस्पाङ गाउँपालिकाको कार्यालय

सोमबार बिहान किस्पाङ १ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रकाशित : कार्तिक १, २०७८ १५:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×