कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

असमान संसारमा मानसिक स्वास्थ्यको सवाल

सन्दर्भ : मानसिक स्वास्थ्य दिवस

विषय प्रसंग हेरी तुलनाको प्रयोजन, महत्व र साथमा नकारात्मक पक्ष पनि देखिन्छ । एक व्यक्तिभन्दा अर्को शिक्षित, एक परिवारभन्दा अर्को धनी, एक समुदायभन्दा अर्को सभ्य, एक राज्यभन्दा अर्को समुन्नत, यहि नै संसारको नियति र वास्तविकता हो । जति नै समानताको आदर्श फलाकेपनि असमानता अकाट्य कटुसत्य हो ।  यसरी तुलना हुनुको अभिप्राय: अनुसार त्यसबाट उत्पन्न हुने परिणाम र भाव पनि फरक हुनेगर्छ ।

असमान संसारमा मानसिक स्वास्थ्यको सवाल

व्यक्ति, परिवार, समुदाय, समाज राज्यबीचका असमानताहरुका आधारमा विभेद, हेय, घृणा जन्मिन्छ भने त्यस्तो तुलना दुःखदायी र खेदपूर्ण हुन्छ । तर यहि नै आम रुपमा व्याप्त कटुसत्य हुने गर्छ । यथार्थ असमानताको विश्लेषण गरी समतामूलक गन्तव्यको अभिप्रायः निहित तुलना भने स्तुत्य र स्वागतयोग्य हुन्छ जुन यदाकदा मानव सभ्यता र समाजमा सुखद परिणति ल्याइरहन्छ ।

समानता भन्ने कुरा आदर्शमा सिमित दिवास्वप्न जस्तो छ, दुर्लभ छ। दुनियाँ यति असमान छ, असमानता यति व्याप्त छ कि यसको विम्ब, प्रभाव र भनुँ परिणतिमा मान्छेको मन, जीवन र स्वास्थ्य स्थिति निर्क्यौल भैरहेको हुन्छ । यस वर्ष सन् २०२१ ले कोभिडको निरन्तरतामा सबैजसो राष्ट्र र संसारमा व्याप्त असमानताको कुरुप यथार्थ प्रत्यक्ष देखिसक्यो । त्यतिकै पनि धेरैजसो ठाउँमा मानसिक स्वास्थ्यको स्थिति र सेवा दयनीय थियो नै ।

अहिले यो यथार्थ बीच कोभिड, सिर्जित पिरिस्थितिमा थिलथिलो र अस्वस्थ भएको मान्छेको मनको स्वास्थ्य खोज्नु परेको पनि छ । यहि परिपेक्ष्यमा यस वर्षको मानसिक स्वास्थ्य दिवसले 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने सान्दर्भिक नारा अंगालेको छ । निश्चित रुपमा यसले विसंगत, प्रतिकूल र असंगत यथार्थ वास्तविकताबारे सजग बनाएर समतामूलक, संगत, अनुकूल र स्वस्थ समाज, राज्य र विश्व निर्माण गर्ने पक्षमा पैरवी गर्दछ ।

मानसिक स्वास्थ्य भन्ने कुरा जैव-मनो-सामाजिक जस्ता बहुआयामिक तत्वहरुबाट निर्दिष्ट हुने गर्दछ । यी आयामहरु व्यक्ति, परिवार, समाज, राज्य पिच्छे फरक र असमान हुने गर्दछन् । मानसिक स्वास्थ्य समस्या र रोगका सम्बन्धमा पनि यसका कारक तत्त्वहरु, लक्षणहरु प्रकट हुने खतरा, समस्याको सम्बोधन र उपचारको सम्भावना जस्ता हर महत्त्वपूर्ण विषयहरुमा असमानता व्याप्त छ। मानसिक स्वास्थ्य बचाउने र मनोरोगतिर धकेल्ने खतराका तत्वहरु व्यक्ति, समाज र ठाउँपिच्छे फरक हुने गर्छन् ।

प्राकृतिक र मानवकृत सबै स्वरुपमा ती विविध निर्णायक विषयहरुले मानसिक स्वास्थ्य वा मनोरोगका पृष्ठभूमि, तत्कालिक वा निरन्तरता दिने कारक तत्वका भूमिका खेल्दछन् जसको व्यक्ति र ठाउँपिच्छे असमान वितरण हुन्छ । यी अनगिन्ती असंगत र प्रतिकूल परिस्थितिहरुका बीचमा थपिने महामारी, भूकम्प, बाढीपहिरो, तुफान, हुलदंगा, युद्ध, आक्रमण जस्ता सामूहिक र व्यक्तिगत जीवनका तनावहरुले मानसिकरोगको सम्भावना बढाइरहेका हुन्छन् । यसरी बेलाबेला आइपर्ने तनावका असर पनि असमान नै रहेको देखिन्छ । उदाहरणको लागि भनौं, कोभिड त सबैका लागि महामारी भयो तर अष्ट्रेलिया जस्ता विकसित मुलुकको र नेपाल जस्तो विकाशोन्मुख देशको कोभिड कति फरक देखियो ! विविध पाटाहरुमा असमानता छरपष्टिएको छ। सरकारको पहुँच, जनमनको बुझाइ र व्यवहार, भौगोलिक अवस्थिति र विध्यमान संसाधन श्रोतको फरक स्वरुप र असमान वितरण यति व्यापक छ, त्यो कटुसत्य हो ।

संसारमा मानसिक स्वास्थ्यबारे चेतना, जानकारी, सजगता सबै जसो ठाउँमा विविध अनुपातमा असमान देखिन्छ । मानसिकरोग लाग्दा रोगी, तिनका परिवारको पहुँच धेरै हदसम्म अशिक्षा, अचेतना, मिथ्या, अन्धविश्वासले जेलिने गर्छ । मानसिकरोगहरुमा एक त उपचारसेवा नै चाहिने जति स्वास्थ्यसेवा प्रणालीमा उपलब्ध भएको हुँदैन, त्यसमाथि व्याप्त अज्ञानता, मिथ्या धारणाले गर्दा भएको सेवाको पनि उपयोग कम मात्रै भएको हुन्छ ।

मनोसामाजिक आयामलाई व्यावहारीक रुपमा स्वास्थ्यको अभिन्न अंशका रुपमा अंगिकार गर्ने सवालमा पनि आकाश जमिनको असमानता देखिन्छ । नेपालमा मानसिक स्वास्थ्य हाम्रो स्वास्थ्यको प्रणालीमा नाम मात्रै भएको प्रष्ट छ । एक मनोचिकित्सकका रुपमा बेलायतमा मैले मानसिकस्वास्थ्य सेवा प्रणाली शारिरीक र दन्तस्वास्थ्यको लगभग समानान्तर विकास भएको देखेँ। अझ कुनै कुनै कुरामा त आवश्यकता हेरी समताको सिद्धान्त अनुरुप मनोस्वास्थ्यले वाञ्छित प्राथमिकता पाएको पनि प्रतक्ष दर्शक बनेँ । बेलायत लगायत विकसित देशमा मानसिक स्वास्थ्यले अझै प्राथमिकता पाउनुपर्ने आवाज उठिरहेको सुन्दा र नेपालको ताल देख्दा असमानता कतिसम्म हुनेरहेछ भन्ने प्रष्ट हुन्छ । यद्यपि यी विकसित देशहरुमा पनि आआफ्नै खालमा प्रतिकूलताहरु छन्, कति मानसिकरोगहरुमा रोगी उपचारमा जाने, सहि र प्रभावकारी उपचारबाट लाभान्वित हुने दर अति कम भई आत्महत्या लगायतका जटिलताहरु व्याप्त छन् ।

विकसित मुलुकहरु सचेत, सजग र क्रियाशील छन् भने नेपालमा यो कुरा समग्रमा भन्नुपर्दा आम मानिस र सरकारको परिदृश्य, प्राथमिकता र कार्यक्रममा व्यावहारीक हिसाबले छिर्नसम्म सकेको देखिँदैन । यस्तो नेपाली यथार्थमा, यस वर्षको नारा त हाम्रै लागि आँखा खुलून् भनेर आएको हो भने जस्तो लाग्छ । परिस्थिति जति नै संगीन र प्रतिकूल भए पनि; असमानता जति नै व्याप्त भए पनि मन हाम्रो सबैको हो ।

मन स्वस्थ्य भएन भने यो संसारमा केही कुराको अर्थ रहन्‍न । पुरिनसक्नु असमानता व्याप्त यस्तो संसारमा पनि स्वस्थ, सुखी र सभ्य मन, जीवन र समाज सम्भव छ भन्ने सन्देश एकातिर भगवान बुद्धको जन्मभूमि नेपालले दिइरहेको छ भने अर्कोतिर आम जनजीवनमा मानसिक स्वास्थ्य साक्षात्कार हुन सकेको देखिँदैन । व्यावहारिक रुपमा यसको रुपान्तरणका लागि सम्बन्धित सबैको हातेमालो जरुरी हुन्छ। रोग लागेपछि निरास र हठात् मात्रै बन्ने होइन, जनमनहरु यस विषयमा सुसुचित, जागरुक, बुलन्द हुनुपर्यो ।

सरकारले पनि स्थानीय र केन्द्रीय तहमै कार्यक्रमहरु ल्याउन जरुरी भएको छ। समानता त हाम्रा लागि आदर्शमा मात्रै होला तर समतामा आधारित कदमहरु चालेर असमानता घटाउन सकिन्छ । एक मनोचिकित्सकका रुपमा मेरो विचारमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रुपमा मानवजीवन र समाजलाई मानसिक स्वास्थ्यका हिसाबले सँगैसँगै समतामुलक स्थितितिर डोर्‍याउन तुरुन्तै नगरी नहुने केही कामहरु :

१. हाम्रातिर मानसिक स्वास्थ्य र मनोरोगहरु, तिनका लागि चाहिने सेवासुविधाको अवस्था, असमानता केकस्ता र केकति छन् भन्ने निर्दिष्ट र कार्यमुखी तथा स्थानीय सन्दर्भ, तथ्य र आवश्यकतामा आधारित शोधअनुसन्धान गर्ने र हाम्रो आफ्नो तथ्य, तथ्यांक निकाल्ने।

२. तथ्यमा आधारित वैज्ञानिक मानसिक स्वास्थ्यको जनचेतना, साक्षरता, सजगता अभिवृद्धि गर्नेतिर आवश्यक कार्यहरु सञ्चालन गर्ने । यसमा सञ्चार माध्यम, जानकारी, शिक्षा सम्बन्धी सामग्री र कार्यक्रमको तर्जुमा गर्ने । जनमानसको अनौपचारिक संवादलाई हौसला दिनेदेखि योजनाकार, स्वास्थ्यकर्मीको पनि पुनर्ताजगी र तालिमहरुको आयोजना गर्ने ।

३. विद्यालयदेखि कलेज तथा विविध शैक्षिक तहका विभिन्न कार्यक्रमहरुमा सुहाउँदो किसिमले मनोसामाजिक र तनाव व्यवस्थापन सम्बन्धी सामग्री सहितको पाठ्यक्रमको विकास र अवलम्बन गर्ने ।

४. मानसिक समस्याको उपचारको विशाल खाडल कम गर्न मानसिक स्वास्थ्यसेवाको विकास र प्रसार गर्ने, मानसिक स्वास्थ्यका अलावा स्वास्थ्यका अन्य विधा, क्षेत्रमा कार्यरत कर्मीहरुलाई मनोस्वास्थ्य सम्बन्धी तालिम बेलाबेला आयोजना गर्ने । स्वास्थ्यका सबैजसो शैक्षिक कार्यक्रमहरुमा मनोसामाजिक स्वास्थ्य र तनाव व्यवस्थापनका सामग्रीहरु समावेश गरी परिमार्जन गर्ने ।

५. जनमानस, स्वास्थ्यकर्मी, शिक्षित वर्ग, योजनाकार र नेतृत्व वर्ग सबैले सबैका लागि कुनै न कुनै बेला कुनै न कुनै रुपमा आवश्यक पर्ने मानसिक स्वास्थ्य सेवाहरुका लागि आवाजको उत्थान र पैरवी गरिराख्नुपर्ने हुन्छ ।

६. उपभोक्ता, बिरामी, समुदाय र राज्य सबैले एक लक्षमा सरोकार, सचेतना अभिप्राय:, सेवा, सहयोगको अभिवृद्धि गर्दै लानुपर्ने हुन्छ। यसतर्फ निरन्तर निर्दिष्ट भएर क्रियाशील रहने उच्चस्तरीय साधनश्रोत सम्पन्न एकाइ बन्नुपर्छ ।

प्रकाशित : आश्विन २४, २०७८ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?