कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

के कोरोना खोपले महिनावारीमा असर पार्छ ? 

विज्ञ भन्छन्– ‘अध्ययन भएको छैन, विस्तृत अध्ययन हुनुपर्छ’
बुनु थारु

काठमाडौँ — विश्वका धेरै देशले आफ्ना नागरिकलाई खोप दिइरहेको छ । सामान्यतया कोभिड खोप लिएपछि मानिसहरुमा टाउको दुख्नु, ज्वरो आउनु, एक–दुई दिन सुई लगाएको ठाउँ पाखुरामा दुख्नु आदि असरहरु देखिनु सामान्य हो । तर, खोपकै कारण महिलाको महिनावारी चक्रमा परिरहेको छ भन्ने विषयले महिला तथा किशोरीमा चिन्ता र चासो बढेको छ । 

के कोरोना खोपले महिनावारीमा असर पार्छ ? 

अमेरिकामा धेरै महिला तथा किशोरीले कोभिड खोपपश्चात् महिनावारी नियमित नहुने, बढी दुखाइ महसुस हुने तथा अत्यधिक रक्तश्रावको समस्या हुन थालेको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । त्यसैगरी महिनावारी बन्द भएका महिलाहरुको पनि वर्षौंपछि महिनावारी भएको भनी प्रतिक्रिया दिइएका छन् ।

प्रजनन् स्वास्थ्यमा खोपले अल्प तथा दीर्घकालीन प्रभाव पर्छ या पार्दैन भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको विज्ञहरु बताउँछन् । विज्ञहरुले कोरोना खोपको क्लि‍निकल ट्रायलमा खोपले महिलाहरुको महिनावारी चक्रमा प्रभाव पार्छ वा पार्दैन भन्ने विषयमा पनि परीक्षण गरिनुपर्ने बताएका छन् ।

महिनावारी महिलाको सम्पूर्ण स्वास्थ्यको महत्वपूर्ण भाग हो । महिलामा महिनावारीको चक्र थुप्रै कारणले अनियमित बन्न पुग्ने चिकित्सकहरुको भनाइ छ । गर्भावस्था, हार्मोनमा गडबडी, संक्रमण, रोग, तनाव, जीवनशैली परिवर्तनले महिनावारीमा फेरबदल हुने हुन्छ । त्यसैगरी कसैलाई धेरै लामो समयसम्म महिनावारी हुने र कसैको थोरै वा कम रगत बग्ने व्यक्तिपिच्छे फरक हुने गर्दछ ।

धेरैजसो महिलामा महिनावारी चक्र २१ देखि ३५ दिनको हुन्छ । १४ देखि २५ प्रतिशत महिलामा अनियमित मासिक चक्र देखिएको पाइएको छ । त्यो चक्र छोटो वा लामो हुनसक्छ र एकदम बढी र हल्का रगत बग्ने पनि हुनसक्छ ।

येल स्कुल अफ मेडिसिनका अब्स्टेट्रिक्स, गाइनोकोलोजी तथा रिप्रोडक्टिभ साइसेन्सका प्रमुख डा. ह्युग टेलर भन्छन्– ‘यो बेवास्ता गरिएको एक महत्वपूर्ण विषय हो । मेरो आफ्नै बिरामीहरुबाट खोप लगाएपछि महिनावारिमा फरक देखिएको छ ।’

उनका अनुसार धेरैमा महिनावारी अनियमित हुनुका कारण विभिन्न हुनसक्छ । महिलाहरुमा आएको परिवर्तन खोपसँग सम्बन्धित छ वा मानिसले जबरजस्ती खोपसँग यसको सम्बन्ध जोडिरहेका छन् भन्ने विषय पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।

खोपले महिनावारीमा असर पार्छ ?

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार हालसम्म खोपले प्रजनन् क्षमतामा समस्या ल्याउने भन्ने कुनै तथ्य फेला परेका छैनन् । सीडीसीका अनुसार गर्भवती लगायत बच्चाको योजना बनाइरहेका महिलालगायत सबैले कोभिडविरुद्धको खोप लगाउनुपर्छ ।

अगस्ट ३० मा जारी गरिएको एनआइएसको नेशनल इन्स्टिच्युट अफ आइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्टको विज्ञप्तिमा भनिएको छ– ‘कोभिड–१९ को खोपको प्रतिरक्षा प्रतिक्रियाले गर्भामा प्रतिरक्षा कोषहरु र संकेतहरु बीचको अन्तरक्रियालाई प्रभावित गर्न सक्छ, जसले मासिक धर्म चक्रमा अस्थायी परिवर्तन ल्याउँछ । मासिक धर्म परिवर्तन गराउन सक्ने अन्य कारकहरुमा महामारीसम्बन्धी तनाव, महामारीसँगै देखिएको जीवनशैली परिवर्तन र कोभिड–१९ को संक्रमण हुनसक्छन् ।’

यूके रोयल्यस् कलेज अफ अब्स्टेट्रिसियन्स एन्ड गाइनोकोलोजिस्टका उपाध्यक्ष डा. जो माउन्टफिल्डका अनुसार महिलाहरुलाई यसबारे चासो हुनु स्वाभाविक हो । उनका अनुसार अहिलेसम्म अस्थायी पविर्तनले मानिसको भविष्यको प्रजनन क्षमताको असर पार्ने वा सन्तान नहुने भन्ने बारे तथ्य फेला परेका छैनन् ।

‘कोरोना भाइरसबाट बच्न खोप लगाउन महत्वपूर्ण छ । महिलाहरुले किन यस्तो परिवर्तन महसुस गर्दैछन् भनेर यसबारे अध्ययन हुन जरुरी देखिन्छ,’ उनले भनेका छन् । खोपले असर पुर्‍याउने हो वा होइनमा यकिन नभएका बेला सामाजिक सञ्जालमा यसबारे अफवाह फैलाइएको हुन पनि सक्ने विज्ञहरुको भनाइ छ ।

नेपाल सोसाइटी अफ अब्स्टेट्रिसिन्यस् एन्ड गाइनोकोलोजिस्टका अध्यक्ष डा. गणेश दंगालले हालसम्म यस्तो समस्या लिएर बिरामीहरु आएको जानकारीमा नआएको बताए । ‘कोभिड खोप सुरक्षित रहेको र यसले महिनावारीमा कुनै फरक पार्दैन,’ उनले भने, ‘अरु कारणले गडबडी हुनसक्छन् । त्यसैले कोभिड खोपले होला भन्ने छ । अध्ययनहरुमा महिनावारी गडबड गरेको अध्ययनले पुष्टि गरिसकेका छैनन् । त्यसैले डराउनुपर्दैन ।’

नर्भिक अस्पतालकी स्त्री रोग विशेषज्ञ डा. रंगीना लाईकंगबमका अनुसार पनि हालसम्म ओपीडीमा यस्तो समस्या लिएर कोही आएका छैनन् । डा. रंगीना भन्छिन्– ‘महिनावारी गडबडी विभिन्न कारणले हुनसक्छन् । खोप लगाएका बेला संयोगवश पछि केही असर होला । रिसर्च पेपरहरुहरु पुष्टि भएर आइसकेका छैनन् त्यसैले यसमा यसै कारण भन्न सकिन्न ।’

खोप विज्ञ श्याम उप्रेतीले पनि अहिलेसम्मको डकुमेन्टेसन अनुसार खोपले महिनावारीमा असर पर्छ भन्ने कुरा नआएको दाबी गरे । ‘महिनावारी भएका बेला पनि खोप लिन सकिन्छ । समयअनुसार पछि अध्ययन होला । खोप लगाउनु महत्वपूर्ण कुरा हो,’ उनले भने ।

समस्या अस्थायी हुनसक्छन्

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भ्याक्सिन र फ्लुले महिनावारी चक्रमा प्रभाव पार्ने तथ्य फेला परेका त छन् । तर, तिनले दीर्घकालीन रुपमा असर गर्दैनन् । साथै यी खोपले प्रजनन् क्षमतामा पनि असर नपार्ने बताइएको छ । हालसम्म खोप तथा महिनावारी चक्रमा असर पार्ने भनेर कुनै यकिन सम्बन्ध देखिएको छैन । जनस्वास्थ्य विज्ञहरु खोप एकदम सुरक्षित तथा महामारीलाई अन्त्य गर्न महत्वपूर्ण रहेको बताउँदै आएका छन् । खोप र महिनावारीको असरबारे वैज्ञानिक अध्ययनहरु अहिलेसम्म प्रकाशित भइसकेका छैनन् ।

इम्पेरियल कलेज लन्डनकी स्त्रीरोग विशेषज्ञ डा. भिक्टोरिया मेल भन्छिन्– ‘खोप तथा भाइरल संक्रमणले रोगप्रतिरोधी क्षमतालाई प्रभाव पार्ने भएकाले यसले अस्थायी रुपमा महिनावारी चक्रमा असर पार्ने हुन्छ । त्यसलै पनि यसको अध्ययन महत्वपूर्ण रहेको छ ।’

उनका अनुसार यदि कुनै परिवर्तन देखा परी हाले पनि ती अस्थायी हुन्छन् र तिनले हानी पुर्‍याउँदैनन् ।

‘धेरैजना जसले कोभिड खोपपछि महिनावारी चक्रमा परिवर्तन देखिएको समस्या लिएर आएका छन् उनीहरुले केही समयपछि फेरि सामान्यमा फर्किएको बताएका छन्,’ उनले भनिन्, ‘साथै अहिलेसम्म कोभिड खोप लगाएपछि यसले प्रजनन क्षमतामा प्रतिकूल प्रभाव पार्ने भनेर तथ्य फेला परेकै छैन ।’‍

अमेरिकाले यसबारे अध्ययन गर्ने

यूएस नेशनल इस्टिच्युट अफ हेल्थको समन्वयमा ५ वटा संस्थाले महिनावारी र खोपको सम्बन्धकाबारे अध्ययन गर्ने भएका छन् । कोभिड–१९ को खोपपश्चात् महिनावारीमा पार्ने सम्भावित प्रभावका बारेमा अध्ययन गरिनेछ । यो अध्ययन बोस्टन युनिभर्सिटी, हार्वड मेडिकल स्कुल, जोन्स हप्किन्स युनिभर्सिटी, मिचिगन स्टेट युनिभर्सिटी र ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीले संयुक्त रुपमा अध्ययन गर्ने भएका हन् ।

प्रकाशित : आश्विन २, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?