१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ? 

बुनु थारु

काठमाडौँ — छिमेकी राष्ट्र भारतको केरलमा निपा भाइरसको संक्रमण पुष्टिसँगै नेपाल पनि जोखिममा देखिएको छ । सेप्टेम्बर ५ मा निपा भाइरसबाट १२ वर्षीय एक बालकको मृत्यु भइसकेको छ । नेपाल पनि भाइरसको जोखिममा हुन सक्ने विज्ञहरुले बताएका छन् ।

भारतमा देखियो निपा भाइरस, कति जोखिममा नेपाल ? 

के हो निपा भाइरस?

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्ने गर्दछ । यो भाइरस दूषित खाना र मानिसबाट मानिसमा सिधै पनि सर्न सक्छ । भाइरबाट संक्रमित जनावर जस्तै चमेरो तथा सुँगुरको थुक र पिसाबबाट मानिसमा सर्न सक्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यो भाइरस पहिलोपटक मलेसिया तथा सिंगापुरमा सन् १९९८–९९ मा देखिएको थियो । यो भाइरसको नाम मलिसियाको एक गाउँबाट राखिएको हो ।

यो भाइरस पहिलोपटक घरपालुवा सुँगुरमा देखिएको थियो जसबाट ३ सय जना संक्रमित बन्न पुगेका थिए र १०० जनाको मृत्यु भएको थियो । भाइरस नियन्त्रणका लागि १० लाखभन्दा बढी सुँगुर पनि मारिएको थियो । त्यसपछि यता भने उक्त ठाउँमा संक्रमण देखिएको छैन तर भारत र बंगलादेशमा भने बेला-बेलामा संक्रमण देखिएको छ ।

भारतमा सन् २००१ को जनवरी–फेब्रुअरीमा पश्चिम बंगालको सिलिगुडीमा पहिलोपटक यो भाइस देखिएको थियो । त्यतिबेला ६६ जनामा संक्रमण देखिएको थियो । त्यसपछि सन् २००७ मा पनि यो भाइरस देखियो । सन् २०१८ मा पुन: यो भाइरस देखिएको थियो जसमा १७ जनाको मृत्यु भएको थियो ।

बंग्लादेशमा भने सन् २००१ मा यो भाइरस देखिएको थियो ।

निपा भाइरसका लक्षण के-के हुन् ?

निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले मृत्यु पनि गराउन सक्छ ।

भारत र बंगलादेशमा देखिएको यो भाइरसको संक्रमण फलफूलबाट पाइएको छ । काँचो खजुरका जुस यदि चमेरोले खाएको छ भने त्यसको पिसाब तथा थुकबाट मानिसमा सर्न सक्छ । त्यसैले फलफूल खाँदा मज्जाले धोएर अनि ताछेर खानुपर्ने चिकित्सकको सुझाव छ ।

भाइरसको सम्पर्कमा आएको ४ देखि २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् ।४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ । यो भाइरसले खोकी, घाँटी दुख्ने तथा श्वास फेर्न अप्ठ्यारो पनि गराउन सक्छ ।

यदि संक्रमितमा इन्सेफ्लाइटिसको समस्या देखिन थाल्यो भने निद्रा लाग्ने, शारीरिक विचलन महसुस हुनुका साथै मानसिक भ्रम हुने र एक– दुई दिनमै कोमा पनि गराउन सक्छ ।

यो रोग मज्जाले निको हुने भए पनि भाइरसको लामो समयसम्म पनि साइड इफेक्ट हुन सक्छन् । निरन्तर झट्का लागेजस्तो हुनु र व्यक्तित्वमा परिवर्तन पनि आउन सक्छ ।

नेपालमा यसको जोखिम कति? यसो भन्छन् विज्ञ?

निपा भाइरसको हालसम्म कुनै पनि औषधि तथा खोप उपलब्ध भइसकेको छैन । त्यसैले जनचेतना एकदम आवश्यक देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ७५ प्रतिशत केसमा मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संगठनले यो रोगलाई प्राथमिकतामा पर्ने रोग भनेर बताएको छ ।

विज्ञहरुका अनुसार यदि यो भाइरसको आउटब्रेकको शंका गरिएको छ भने त्यो ठाउँलाई तुरुन्त क्वारेन्टाइन गरिहाल्नुपर्छ । नेपालमा भने यो भाइरस परीक्षण गर्ने सुविधाहरु उपलब्ध भइसकेका छैनन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो परीक्षण सम्भव छ ।

हालसम्म नेपालमा निपा भाइरसका केस देखिएका छैनन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार नेपालमा यो भाइरस पुष्टि नभएतापनि पनि जोखिममा रहेको बताउँछन् । डा. पुन भन्छन्–‘ भाइरस फैलाउने खालको चमेरोहरु नेपालमा पनि पाइन्छन् । यो भाइरसको परीक्षण नगरिएको हो वा के हो थाहा भएन अहिलेसम्म पुष्टि भएका केसहरु देखिएका छैनन् ।’ उनले यो भाइरस अति संक्रामक भएको र मृत्युको जोखिम पनि बढी रहेको भन्दै सरकार चनाखो रहनुपर्ने बताए ।

डा. पुनले यो भाइरस उच्च संक्रामकसँगै मृत्युको जोखिम गराउने भएकाले सरकार चनाखो रहनुपर्ने बताए । ‘पहिला पनि भारतमा देखिएको हो । यो भाइरसको प्रभाव एकदम छिटो हुन्छ अचेत नै बनाउने अनि मृत्यु नै हुने हुन्छ । हाम्रो सिमाना पनि खुल्ला छ । त्यसमाथि यो सार्ने चमेरो पनि नेपालमा पाइन्छन्। कोरोना मात्र होइन मौसमी संक्रामक रोगका लागि पनि सरकारले ध्यान दिनुपर्छ । किनभने धेरैजसो संक्रामक रोग कोरोनासँग मिल्दोजुल्दो छन् ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले भारतको केरलमा निपा भाइरसको संक्रमण बढिरहेकाले सबैले सतर्कता अपनाउनुपर्ने आग्रह गरेको छ ।

ईडीसीडीका निर्देशकसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले ७ वटै प्रदेशमा निपा भाइरसका लक्षण लिएर स्वास्थ्य संस्थामा आउनेको विस्तृत विवरण लिइ प्रयोगलाहरुको समन्वयमा नमुन संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशिघ्र पठाउन आग्रह गरेका छन् ।

उनले रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएका वा मृत्यु भएका बिरामीहरुको समयमै अनुसन्धान गर्न सबै अस्पताललाई पत्राचार गरिएको बताएका छन् ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले यो भाइरस परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनसँग स्टकमा राख्नको लागि रिएजेन्ट मगाइएको बताइन् ।

डा‍. झाका अनुसार यो भाइरस परीक्षणका लागि पीसीआर मेसिनबाट नै हुन्छ तर यसका लागि छुट्टै किसिमको रिएजेन्ट आवश्यक हुन्छन् । ‘रिएजेन्टको म्याद गुज्रिने हुन्छ । कुनै ६ महिना वा कुनै १ वर्षसम्म काम लाग्छ । एकपटक गरियो त्यसपछि गरिएन भन्ने त्यो काम लाग्दैन । भाइरस देखिएपछि आवश्यकता हुन्छ ,’ उनले भनिन् ।

डा. झाले संगठनबाट परीक्षणका लागि छिट्टै नै रिएजेन्ट आइपुग्ने बताइन् ।

प्रकाशित : भाद्र २५, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?