३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता :  विश्व स्वास्थ्य संगठन

काठमाडौँ — विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्ने बारेमा छलफल गरेका छन् ।

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकता :  विश्व स्वास्थ्य संगठन

'कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,' विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा भनिन् ।

आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ । यस क्षेत्रका ६ वटा देशहरूलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ ।

कोभिड–१९ महामारी सुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए जसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो । विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए ।

'राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्,' क्षेत्रीय निर्देशकले भनिन्, 'हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धहरूमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको छ ।'

सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।

'हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्नका लागि आवश्यक पर्ने प्राथमिकता तथा कायहरू हामीले पहिचान गर्न हामीले काम गरिराख्नुपर्छ,' क्षेत्रीय निर्देशकले भनिन् ।


प्रकाशित : भाद्र २४, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?