तीजमा व्रत बस्दा के कुरामा ध्यान पुर्‍याउने?- स्वास्थ्य - कान्तिपुर समाचार

तीजमा व्रत बस्दा के कुरामा ध्यान पुर्‍याउने?

कान्तिपुर संवाददाता

काठमाडौँ — आज दर खाने दिन । पारिवारिक जमघटमा हर्षोल्लासका साथ दर खाने दिन मनाइदैँछ । हिन्दु महिलाहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन खाइने दरको आफ्नै सांस्कृतिक महत्व रहेको छ । त्यसैगरी तीजको व्रत बस्नु धार्मिक आस्थासँग जोडिएको त छ नै स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।

जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती भन्छिन्–‘दर भनेको शब्द दरिलो(बलियो) भन्ने शब्दबाट आएको हो ।’ हिन्दु महिलाहरुले एकदिनअघि मज्जाले दरिलो खाना खाएर भोलिपल्ट व्रत बस्दा शरीरमा कमजोरी आउँदैन भन्ने किसिमको मान्यताले दर खाने चलन चलाएको हुनुपर्छ,’ उनले भनिन् ।

दर खाने चलन पनि समय अनुसार फेरिएको र फेरिनु राम्रो पनि रहेको उनको भनाइ छ । ‘पहिला महिलाहरुसँग पैसा हुँदैन थियो । मिठो मसिनो खान पनि अरुसँग पैसा माग्नुपर्थ्यो । अब महिलाहरु शिक्षित भइसकेका छन् । काम गर्न थालेका छन् । आफ्नो पैसा आफैं प्रयोग गर्न थालेका छन्।’ उनी पारिवारिक जमघटमा मात्र दर खाने चलन अहिले आएर सामाजिक जमघटमा फैलिएर खाने चलन राम्रो भएको बताउँछिन् ।

उनले व्रतले शरीरका लागि फाइदा हुने बताइन् । उनका अनुसार स्वस्थ्य मानिसले हप्ता वा महिनाको एकचोटी व्रत बस्नु शरीरका लागि राम्रो हो तर स्वास्थ्यको दृष्टिकोणले एकदिन अगाडि अटेसमटेस गरेर राति १२ बजेसम्म नसुती दर खाएर भोलिपल्ट उपवास बस्नुको केही अर्थ नरहेको डा. उप्रेतीको भनाइ छ ।

दर खाँदा मिष्ठान्न भोजन धेरै खाइने भएकाले धेरै चिल्लोयुक्त तथा गुलियो खानु हुँदैन । डा. उप्रेती भन्छिन्– ‘दर रमाइलो गरेर स्वस्थ्यकर खानुपर्छ । खानेकुरा पकाउँदा धेरै चिल्लो पिरो हालेर नपकाउने । दर खाने नाममा बजारका धेरै रंगीचंगी मिठाई खानु हुँदैन । रंगजन्य खानेकुराले राम्रो गर्दैन ।’

नर्भिक अस्पतालकी पोषणविद् प्रनिती सिंहले सकिनसकी व्रत बस्नु शरीरका लागि बेफाइदाजनक रहेको बताउँछिन् । उनका अनुसार तीजको होस् वा अरु स्वास्थ्यका दृष्टिकोणले व्रतका विभिन्न फाइदा रहेका छन् । जस्तै:

  • व्रत बस्दा शरीरले डिटक्स गर्दछ । जस्तै, १२ घण्टा व्रत बस्दा बोसोपनि घट्दै जान थाल्छ । हामीले खाइरहेको खानामा विषाक्त पदार्थ पनि हुन्छ त्यो कोषिकामा गएर बसिराखेको हुन्छ त्यो पनि व्रत बस्दा निस्किन्छ ।
  • व्रत बस्दा हाम्रो शरीरमा रहेको ह्युमन ग्रोथ हर्मन बढ्छ र त्यो बढ्यो भने मेटाबोलोजिम राम्रो हुन्छ । मांसपेशीलाई अक्सिजन पाएर राम्रो विकास दिन्छ ।
  • १६ घण्टाको व्रत बस्दा हाम्रो शरीरमा कोषिकाहरुको प्रक्रिया हुन्छ जुन पछि नचल्ने तथा गलेको हुन्छन् त्यसलाई रिन्यु गर्न थाल्छ । पुरानो कोषिका मर्दै जान्छ र नयाँ कोषिका बन्दै जान्छ ।
  • हामीले खाना नखानु वा व्रत बस्नु भनेको शरीरलाई चाप दिएको हो । खाना नपाउदाको अवस्थामा हाम्रो शरीरको कोषिकाले कसरी अपडेट गर्ने भनेर सामना गर्ने क्षमता बढाउँछ ।

कस्ता व्यक्तिले व्रत बस्नुहुन्न?

  • गर्भवती महिला, स्तनपान गराइरहेका महिला
  • १३ वर्ष मुनिका बालबालिकाहरु
  • मधुमेहका समस्या भएका मान्छ
  • रक्तचाप कम भएका व्यक्ति
  • इटिङ डिसअर्डर भएकाले
  • ग्यास्ट्रिकको समस्या भएकाले
  • धेरै औषधि सेवन गरिराखेकाले

प्रनिती कुनै पनि व्यक्तिले सकी नकसी व्रत बस्न नहुने सुझाउँछिन् । उनका अनुसार मधुमेहका समस्या भएका व्यक्तिले व्रत बस्दा सुगर लेभल एकदम कम हुन सक्ने अवस्था आउँछ जसले गर्दा मान्छे रिंगटा लाग्ने अनि बेहोस पनि हुन सक्छ ।त्यसैगरी कम तौल भएका र कमजोर व्यक्तिले व्रत लिनु राम्रो नहुने उनको भनाइ छ ।

उनी पनि तीजमा स्वस्थ्यकर खानेकुरा खान सुझाव दिन्छिन् । प्रनिती भन्छिन्–‘पहिले दर खाँदा घरकै शुद्ध खाने चलन थियो तर अहिले रेष्टुरेन्टका खाना तथा मदिराजन्य पदार्थ बढी चल्न थालेको छ जुन शरीरका लागि राम्रो होइन ।’

उनका अनुसार व्रत बस्नुभन्दा अगाडी खाइने चिल्लो तथा जंक फुडजस्ता खानाले शरीरलाई ‘डिटक्सिफाइ’ हुन दिँदैन । ‘हाम्रो शरीरले अघिल्लो दिन खाएका ती खानेकुरा नै सफा गर्न समय लगाउँछ । अर्कोतर्फ मदिराले याशरीरलाई डिहाइड्रेट गर्छ जसले गर्दा अर्को दिन झन् बढी प्यास लाग्छ,’ उनले भनिन् ।

संस्कृतिभन्दा स्वास्थ्यका हिसाबले व्रत बस्न इच्छुकले कस्तो खालको व्रत बस्दा शरीरलाई फाइदा गर्छ भनेर पोषणविदसँग सल्लाह लिएर मात्र गर्नेपर्ने उनी बताउँछिन् ।

प्रकाशित : भाद्र २३, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीले पठायो नेपाल सरकारलाई जवाफ 

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालसँगको सम्झौताका विवादित विषयमाथि नेपाल सरकारलाई जवाफ पठाएको छ । 

नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ बुधबार नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावास स्रोतले जनाएको छ ।

एमसीसीको मुख्यालयले नेपालस्थित अमेरिकी राजदूतावासमार्फत जवाफ पठाएको हो । पत्रको विस्तृत विवरण भने आउन बाँकी छ ।

यसै विषयमा चासो राख्दै एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले राजदूतावासमार्फत नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो । एमसीसीको विषय नेपालमा राजनीतिक एजेन्डा बनेर विवादमा परेपछि अर्थ मन्त्रालयले विवादित ११ बुँदा समेटेर अमेरिकी राजदूतावासमार्फत नै एमसीसी मुख्यालयलाई पत्र पठाएको थियो ।

विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजनासम्बन्धी सम्झौताका विषयमा उठिरहेका सवाललाई स्पष्ट पार्न ११ बुँदे सूचीसहित पत्र लेखिएको थियो । स्रोतकाअनुसार एमसीसीले सबै बुँदाको एक–एक गरी जवाफ दिएको छ ।

सरकारले पठाएको पत्रमा एमसीसीलाई लिएर विभिन्न पक्षबाट जे–जे प्रश्न उठेका छन्, तिनलाई प्रस्ट पार्न भन्दै प्रश्न गरिएको थियो । अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’अन्तर्गत एमसीसी परियोजना पर्छ कि पर्दैन, एमसीसीअन्तर्गत नेपाल अमेरिकी सुरक्षाको घेरामा पर्छ कि पर्दैन, परियोजनाको लेखा परीक्षण नेपाल कि अमेरिकाबाट हुने हो कि होइन, सम्झौता नेपालको संविधानभन्दा माथि छन् कि छैनन्, यो पूर्वाधार र ऊर्जा विकासका लागिमात्र हो कि होइन, अन्य सहयोग र यो सहयोगमा के फरक छ, यो सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौमिक सत्तालाई असर पार्छ कि पार्दैन लगायत विषय पत्रमा समेटिएको थियो ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा वासिङ्टन डीसीमा सम्झौता भएको थियो । उक्त सम्झौताको दस्तावेज संसद्‌बाट अनुमोदन गर्नका लागि २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरिएको थियो । त्यसलगत्तै सम्झौतालाई लिएर पक्ष र विपक्षमा बहस चलिरहेको छ ।


प्रकाशित : भाद्र २३, २०७८ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×