कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुपोषणको ‘महामारी’ : दुई बालबालिकामध्ये एकमा रक्तअल्पता 

बुनु थारु

काठमाडौँ — निम्न वर्गको परिवारमा जन्मिएकी कञ्चनपुरकी ३५ महिनाकी ७.५ केजीकी विमला पार्की (नाम परिवर्तन) स्वस्थ्य नै देखिन्थिन् । एकदिन उनलाई झाडापखालाले च्याप्यो । उनका परिवारले गाउँकै क्लिनिकमा लगेर देखाए । तर, निको भएन । उनको खुट्टा नचल्ने भएपछि धामीझाँक्री कहाँ पनि लगे ।

कुपोषणको ‘महामारी’ : दुई बालबालिकामध्ये एकमा रक्तअल्पता 

एकदिन उनलाई कञ्चनपुरको कृष्णपुर स्वास्थ्य चौकी पुर्‍याइयो । त्यहाँ उनको स्वास्थ्य हेरेपछि कञ्चनपुरको पोषण गृहमा रिफर गरियो । २०७७ भदौ १५ गते गृहमा भर्ना भएकी उनको ३३ दिनको बसाईपछि २.८ किलो तौल बढ्यो । परिवारले पक्षघात भनेर आस मारिसकेको उनी हिँड्‌डुल गर्नसक्ने भइन् ।

नेपालको अवस्था हेर्दा पाँच वर्ष मुनिका एक तिहाईभन्दा बढी बालबालिकाहरुमा उमेरअनुसार उचाई नपुगी पुड्को भएको पाइएको छ । वाग्मती र गण्डकी प्रदेशका २९ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन देखिएको छ भने कर्णाली प्रदेशका ५५ प्रतिशतमा यो समस्या पाइएको छ ।

कुपोषणको समस्या बढी कर्णाली प्रदेशमा देखिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका न्युट्रिसन फोकल पर्सन परशुराम नेपालीका अनुसार यस जिल्लामा जनचेतनाको कमी, गरिबी बालविवाह, सरसफाइ आदि कुपोषणका प्रमुख कारणहरु हुन् । उनी भन्छन्– ‘अर्गानिक तरकारीहरु बजारमा बेच्ने र जंक फुड लगेर बच्चाहरुलाई दिने चलन छ । गाउँमा उत्पादित खानेकुराहरु मिलाएर खुवाउने चेतना अझै विकास भइसकेको छैन ।’ मुगु जिल्लामा ९ प्रतिशत बालबालिकाहरु कुपोषित रहेको उनले बताए ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार सन् २००१ पाँच वर्षमुनिका बालबालिकामध्ये ५७ प्रतिशतमा पुड्कोपन अर्थात् दीर्घ कुपोषण थियो भने यो अवस्था सन् २०१६ मा ३५.८ प्रतिशतमा झरेको छ । कुपोषणको स्थितिमा केही सुधार देखिए पनि यो अझै जनस्वास्थ्यको गम्भीर विषय मानिएको छ । कुपोषणले बर्सेनि २५ हजार बालबालिकाको मृत्यु हुने गरेको युनिसेफको विश्लेषण छ ।

नेपालमा कस्तो छ पोषणको अवस्था?

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा पाँच वर्ष मुनिका ३५.८ प्रतिशत बालबालिकाहरु पुड्कोपन तथा ९.७ प्रतिशत बालबालिकाहरु ख्याउटेपनबाट प्रभावित छन् । साथै ५२.७ प्रतिशत रक्तअल्पताको समस्याबाट पीडित रहेका छन् ।

त्यसैगरी शिशु ६ महिनाको हुँदासम्म पूर्ण स्तनपान गराउनेको संख्या सन् २०११ म ६९.६ प्रतिशत रहेकोमा सन् २०१६ मा आएर ६६.१ मा झरेको थियो । आमाको दूधमा बच्चालाई आवश्यक पर्ने सबै पौष्टिक आहार पाइने भएकाले पनि यो महत्त्वपूर्ण छ ।

विश्वमा पाँच वर्ष मुनिका ४५ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणले हुने गरेको छ । न्यून पोषणको समस्याले उनीहरुमा शारीरिक, मानसिक असर पार्न सक्छ ।

नेपालमा दीर्घ कुपोषण हुनुका कारणहरु के–के हुन्?

नेपालका बालबालिका तथा महिलाहरु न्यूनपोषण र अधिक पोषण दुवै प्रकारको कुपोषणसम्बन्धी समस्याबाट पीडित छन् । न्यून पोषणको समस्या प्रजनन् उमेरका महिला तथा पाँच वर्ष मुनिका बालबालिकामा व्याप्त छ ।

न्यून पोषण हुनुमा पोषिला विविध प्रकारका खानेकुरामा पहुँच नहुनु वा भएको खाद्यवस्तु उचित तरिकाले उपभोग नगर्नु, अशुद्ध खानेपानी तथा न्यून सरसफाईबाट हुने संक्रामक रोगहरु तथा यसको समयमै उपचार नहुनु, उपलब्ध स्वास्थ्य सेवाको उपभोग नगर्नु, लगायतका कारण रहेका छन् ।

‘खानेकुरा खुवाउन सिकाइ पुगेन’

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार थुप्रै कारणहरुमध्ये गरिबी पनि एक हो । उनी कुपोषण अन्त्यका लागि नेपालमा बनाइएका कार्यक्रमहरु उपयुक्त नभएको बताउँछिन् । उनका अनुसार पोषण पुन:स्थापना केन्द्र खुलेर राम्रो कार्य गरिए पनि आमाहरुमा बच्चाहरुलाई कसरी खुवाउने, के खुवाउने, कस्तो खुवाउने भन्नेमा सिकाइ कम छ ।

डा. उप्रेती भन्छिन्– ‘घरमै भएको खानेकुरा पौष्टिक तत्वले भरिपूर्ण छन् । जस्तै कोदो, फापर, आलु, चामल आदि खुवाउन जानियो भने धेरै फाइदा पुग्छ ।’ उनले अभिभावकहरुले बालबालिकालाई कमसल खाना बढी खुवाउनाले उनीहरु मोटोपनको सिकार भइरहेको बताउँछिन् ।

‘खानेकुरा खान सिकाई नै पुगेन । कोदो गरिबहरुको खाना भनेर बेवास्ता गर्छन् । तर त्यो खानेकुरामा धेरै पौष्टिकता छ । भएका खानेुकराहरु राम्ररी सदुपयोग गरेर खान सके कुपोषणको समस्या कम हुन्छ,’ उनले भनिन् ।

कोभिडले पोषणमा पारेको असर

राष्ट्रिय योजना आयोगका अनुसार कोरोना भाइरस महामारीले ज्येष्ठ नागरिकसँगै महिला तथा बालबालिकामा बढी असर गरेको छ ।

आयोगको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ मा गरिबी १६.७ प्रतिशतमा पुर्‍याउने लक्ष्य योजना लिएकोमा बन्दाबन्दीको कारण ४ प्रतिशतले गरिबी बढेको जनाएको छ । जसले थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि पर्न गएको अनुमान गर्न सकिने उल्लेख छ ।

अघिल्लो वर्षसम्म नेपालमा कुल ५६ लाख गरिबीको रेखामुनि रहेकोमा कोरोना भाइरस महामारीपछि त्यो संख्या बढेर ६८ लाख पुगेको देखिन्छ ।

इन्टरनेशल जर्नल फर इक्विटी इन हेल्थमा प्रकाशित एक लेखका अनुसार कोभिड नियन्त्रण गर्न गरिएको लकडाउनले महिला तथा बालबालिकामा कुपोषणको जोखिम निम्तिएको उल्लेख छ । सन् २०११ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको रिपोर्टमा १.४ प्रतिशत बालबालिकामा मोटोपनको समस्या देखिएको थियो भने २०१६ को सोही रिपोर्टमा १.२ प्रतिशतमा मोटोपनको समस्या देखिएको थियो । तर कोभिडपछि लामो समय भएको लकडाउनका कारण यो संख्यामा बढोत्तरी भएको अनुमान गर्न सकिन्छ ।

कोरोनाका समयमा विद्यालय बन्द हुनु, शारीरिक क्रियाकलाप कम हुनु, टिभी, मोबाइल बढी चलाउनु, अत्यधिक खानुले मोटोपन बढेको विज्ञहरुको भनाइ छ ।

अल्का अस्पतालकी पोषणविद् विनिता पन्तका अनुसार कोरोनाले बालबालिकाहरु मोटोपन बढाएको छ । पन्त भन्छिन्– ‘कम तौल हुनु र बढी तौल हुनु दुवै कुपोषण हुन् । सानैदेखि बालबालिकालाई एकदम बढी खुवाउने त्यसमाथि धेरै चिल्लो वा क्यालोरीयुक्त खाना खुवाउने गर्नाले बालबालिकामा मोटोपन बढ्दै गएको छ ।’

उनले सानैदेखि बालबालिकाहरुलाई सन्तुलित आहार दिनुपर्ने सुझाइन् । हामीकहाँ एकदमै धेरै खुवाउने चलनले पछिसम्म बढी खाने बानी लाग्ने गरेको देखिन्छ । ‘खानेकुरामा तरकारी तथा फलफूलको मात्रा अधिक हुनुपर्छ । मोटोपनको समस्या लिएर आउने बालबालिकाहरुमा मासु बढी खाने, मैदाको सेवन, फलफूल र तरकारीको मात्रा एकदम पाइएको छ,’ उनले भनिन् ।

लक्ष्य भेट्न चुनौती

राष्ट्रिय योजना आयोगले गरेको मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०१९ का अनुसार ३१ प्रतिशत बालबालिकामा पुड्कोपन देखिएको छ । जुन नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा ३६ प्रतिशत देखिएको थियो । तर ख्याउटेपन १० प्रतिशतमा रहेकोमा १२ प्रतिशत पुगेको देखिन्छ । पोषणसम्बन्धी सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरुले अझै पनि पूर्ण रुपमा सफलता पाउन सकेका छैनन् ।

बहुक्षेत्रीय पोषण योजनाले आगामी पाँच वर्षमा दीर्घ कुपोषणलाई ३६ प्रतिशतबाट २८ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, विश्व स्वास्थ्यसभाले निर्धारण गरेको लक्ष्यअनुसार सन् २०२५ को अन्त्यमा कुपोषणको दर २४ प्रतिशतमा पुर्‍याउनुपर्नेछ । साथै दीगो विकास लक्ष्यले उक्त प्रतिशतलाई सन् २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने अपेक्षा गरिएको छ । तर लक्ष्यअनुसार पोषण नियन्त्रणमा कठिनाई हुने देखिन्छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख डा. केदार पराजुलीले ५ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सुत्केरी आमा तथा १० देखि १९ वर्ष उमेर समूहका किशोरीमा पोषणको बढी समस्या रहेको बताउँछन् ।

‘२ जना बालबालिकामध्ये १ जनामा रक्तअल्पता छ । यो ठूलो समस्या हो । समयमा सम्बोधन गर्न सकिएन भने विकराल रुप लिन सक्छ,’ उनले भने । उनले कोभिड महामारीले लक्षित समुदायहरुले नजिकको स्वास्थ्य संस्थामा गएर सुविधा लिनुपर्ने थियो त्यस संख्यामा कमी भएको बताए । ‘कोभिडको बेला ९० प्रतिशतको हाराहारीमा हामीले भिटामिन ‘ए’ खुवाउन सफल भयौं । त्यस्तै गरी आइरन फोलिक एसिड पनि कमी हुन दिएका छैनौं,’ उनले भने, ‘कुपोषित बालबालिकाको जुन संख्या समुदायमा छ त्यो संख्या उपचार केन्द्रमा आएका छैनन् । त्यो हामी स्वीकार्छौं ।’

पोषणका लागि स्वास्थ्यको मात्र नभएर सबै क्षेत्रको योगदान आवश्यक रहेको भन्दै पोषण नियन्त्रण गर्न लक्ष्य भेटाउने क्रममा रहेको उनले दाबी गरे ।

प्रकाशित : भाद्र १८, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?