१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेभ नेपाल ग्लोबल अलायन्सद्वारा सय थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमाडौँ — नेपाल, अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलिया, फ्रान्स र बेलायत लगायतका विभिन्न देशका नेपालीहरु आबद्ध संघसंस्था मिलेर बनेको सेभ नेपाल ग्लोबल अलायन्सले सय थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

सेभ नेपाल ग्लोबल अलायन्सद्वारा सय थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

अलायन्सले शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच अक्सिजन कन्सन्ट्रेटर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हस्तान्तरण गरेको हो । प्राप्त अक्सिजन कन्सन्ट्रेटर प्रहरीले देशैभरीका विभिन्न सरकारी अस्पतालमा पुर्‍याउने बताएको छ ।

अलायन्सले गो फण्ड मि लगायतका क्राउड फन्डिङबाट पछिल्लो दुई हप्तामामात्रै ८० लाख रुपैयाँ संकलन गरेको थियो । अलायन्सका नेपाल संयोजक पुकार बमका अनुसार अलायन्समा पूर्व क्रिकेट कप्तान पारस खड्का एक्लैले आठ लाख रुपैयाँ प्रदान गरेका थिए । उनले अलायन्सले किनेका स्वास्थ्य सहायता सामग्रीहरु देशका दुर्गम जिल्लाहरुसम्म पुर्‍याउने जिम्मा नेपाल प्रहरीले लिएको बताए । पुकारले अलायन्सले दोस्रो चरणमा थप स्वास्थ्य सहायता सामग्रीहरु नेपाल झिकाउनुका अलावा कोभिड भ्याक्सिनका निम्ति अन्तर्राष्ट्रियस्तरबाट पहल गर्ने काम भइरहेको बताए । उनले भने, ‘विभिन्न देशमा छरिएका नेपाली र नेपाललाई माया गर्नेहरुबाट भइरहेका सहयोगका विभिन्न प्रयासहरुलाई अलायन्सले एकत्रित गर्दै थप सहायता सामग्री जुटाउने प्रयासमा लागिपरेको छ ।’

अलायन्समा नेपालबाट कलाकारहरु मनिषा कोइराला, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, मलिना जोशी, विजय लामा तथा पूर्वमिस नेपाल शृंखला खतिवडालगायत जोडिएका छन् । अलायन्सकी अन्तर्राष्ट्रिय संयोजक प्रगति घिमिरेले संक्रमणको बिस्तारसँगै नेपालमा देखा परेको स्वास्थ्य संकटमा आफूहरुले सहायता प्रदान गर्न निरन्तर लागिपरेको बताइन् ।

प्रकाशित : जेष्ठ २३, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?