कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आधुनिक प्रविधियुक्त अर्थोनेथिक शल्यक्रिया नेपालमै

बुनु थारु

काठमाडौँ — डल्लु काठमाडौंका १९ वर्षीय यमन महर्जनको अनुहारको चिउँडो ठूलो थियो । चिउँडोभित्र पसेको हुनाले खाना राम्ररी चपाउन सक्दैनथे । बोली पनि अस्पष्ट सुनिन्थ्यो । खुलेर हाँस्न पनि गाह्रो हुन्थ्यो । युनाइटेड एकाडेमी कक्षा १२ मा अध्ययनरत यमन अहिले भने निर्धक्क मुस्कुराउँछन् ।

आधुनिक प्रविधियुक्त अर्थोनेथिक शल्यक्रिया नेपालमै

वीर अस्पतालमा अर्थोनेथिक सर्जरीबाट उनको चिउँडोको हड्डि मिलाइएपछि उनको रुप नै फेरिएको छ । ‘बुवा मम्मीले विश्वास नै गर्नु भएको थिएन । आफ्नो फेरिएको अनुहार हेरेर खुसी लागेको छ । नयाँ प्रोफाइल पाएको जस्तो भयो,’ उनले हासिलो अनुहारमा भने । उनले यही उपचारका लागि धेरै ठाउँ धाए तर उपचारको साटो पैसा मात्र खर्च भयो ।

वीर अस्पतालमा पुस १० गते सर्जरी गराएका उनी सर्जरीपछि प्रष्ट बोल्न सक्ने भएका छन् । सर्जरी गरेको कारण सबै कुरा खान नमिल्ने भएतापनि विस्तारै झोलसहित ठोस पदार्थहरु खान थालेका छन् । ‘नेपालमै पनि यस्तो सुविधा रहेछ । कम खर्च तथा समयमा राम्रो उपचार पाएँ । खुलेर हाँस्न थालेको छु,’ उनले भने ।

अर्थोनेथिक शल्यक्रिया कस्तो हो ?

डेन्टो फेसियल डिर्फमिटिज अर्थात् दाँत तथा अनुहारको हड्डीको समस्याले अनुहार बिग्रिएको खण्डमा अनुहार सुन्दर देखाउन अर्थोनेथिक शल्यक्रिया गरिन्छ । वीर अस्पतालमा यो सेवा सन् २००८/९ मै सुरु भएतापनि दक्ष जनशक्तिको अभावले रोकिएको थियो । सर्जरीका लागि भारतबाट डाक्टर बोलाउनुपर्थ्यो भने सो समय सर्जरीमा धेरै प्रविधि प्रयोग गरिँदैन थियो । हातैले गरिन्थ्यो । ‘अहिले भने हामीले नेपालमै फेरि ५ वर्षदेखि यो सेवा दिइरहेका छौं र थप प्रविधिमैत्री पनि,’ क्रेनोफेसियल अर्थोडन्टिक्समा स्पेसलाइजेसन गरेका अर्थोडन्टिस्ट डा. मनिष बज्राचार्य भन्छन् ।

हातले गर्ने शल्यक्रिया वीर अस्पतालसहित धुलिखेल अस्पतालमा पनि हुन्छ तर सफ्टवेयर प्रयोग गरेर हुने शल्यक्रिया वीरमा मात्र छ । करिब दुई वर्षअघि यो शल्यक्रिया कम्प्युटर एसिस्टेड सर्जरी सिमुलेसन प्रविधिबाट गरिन्थ्यो । अनुहारको नमिलेको संरचना मिलाउने यो शल्यक्रिया बिरामीको दाँतलाई डेढ वर्षसम्म तारले बाँधेर राखिन्थ्यो र त्यसपछि सर्जरी गरिन्थ्यो र फेरि ब्रेसेस बाँधेर प्लास्टर गरेर फिनिसिङ गरिन्थ्यो जसको उपचार साढे २ देखि ३ वर्षसम्म लाग्थ्यो ।

अब भने ‘सर्जरी फस्ट’ अप्रोच डा. मनिष र डा. किशोर भण्डारीको टिमले वीर अस्पतालमा यो वर्षदेखि सुरु गरेको छ । यसमा बिरामीको अनुहार थ्रिडि प्रिन्टिङ गरिन्छ र आकृति कसरी मिलाउने प्लान बनाएपछि सर्जरी गरे पश्चात दाँत मिलाइन्छ । यो उपचार पहिलाका भन्दा थप राम्रो र छिटो हुने डा. मनिषको भनाइ छ । उनी भन्छन्, ‘यो टेक्निक भनेको आज बिरामी आयो भने जाँचपड्ताल गरी सर्जरी गर्छौं जसले ३ हप्तामा नै अनुहारमा परिवर्तन देखिन्छ अनि मात्र ब्रेसेस बाँधेर बिग्रेको दाँत मिलाउँछौं । यसको उपचार साढे १ वर्षभित्रमा सकिन्छ ।’

क्रेनीफेसियल सर्जन डा. किशोर भन्छन्, ‘अहिले आएको थ्रिडी टेक्नोलोजीले बिरामीको सबै अनुहार छर्लंग्गै बनाइदिन्छ । हड्डी चलाउँदा अनुहारमा परिवर्तन कसरी आउँछ भनेर डिजिटल प्रविधिमा हेर्न मिल्छ । यसले हामीलाई थप सजिलो बनाएको छ ।’ थ्रिडी प्रिन्टिङको लागि सफ्टवेयर भने वीर अस्पतालमा छैन । ‘आइ अलाइन’ भन्ने कम्पनीले दाँतमा अलाइन मात्र होइन हड्डीको दाँत पनि बनाइदिन्छ जसले उपचार झनै विश्वसनीय र सजिलो बनाएको छ ।

‘सर्जरी फस्ट’ अप्रोच कस्तो हो ?

यो शल्यक्रिया १८ वर्ष पूरा भएपछि मात्र गर्न मिल्छ । शरीरका हड्डीको वृद्धि भइसकेको अवस्थामा मात्र शल्यक्रिया गर्नुपर्ने डा. मनिष बताउँछन् । सर्जरी फस्ट अप्रोचमा बिरामीको जाँचपड्ताल पश्चात थ्रिडी प्रिन्टिङ गरिन्छ । २ दिन अघि भर्ना गरी सर्जरीद्वारा अनुहारको माथिको हड्डी र तलको हड्डीलाई नयाँ स्थानमा सारेर टाइट्यानियम प्लेट्सको साहरामा फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रैबाट गरिन्छ जसका कारण अनुहारमा कुनै किसिमको दाग देखिँदैन ।

यमनको शल्यक्रियाको उदाहरण दिँदै डा. किशोर भन्छन्, ‘यो शल्यक्रियाको अवधि ४ देखि ६ घण्टासम्मको हुन्छ र शल्यक्रिया पश्चात १–३ दिन मात्र अस्पतालमा बस्नुपर्ने हुन्छ ।’ उनका अनुसार बिरामीले शल्यक्रियापश्चात १–२ हप्ताको आराम लिनुपर्ने हुन्छ र ६ हप्तासम्म झोलिलो खानेकुरा सेवन गर्नुपर्ने हुन्छ । शल्यक्रियाको २–३ हप्ता पश्चात ब्रेसेस बाँध्ने काम शुरु हुन्छ जुन ६ महिनादेखि १.५ वर्षसम्म जारी रहन्छ ।

डा. मनिषका अनुसार यस किसिमका शल्यक्रियामा संसारभरी नै उत्कृष्ट मानिने ‘भर्चुअल सर्जिकल प्लानिङ’ अर्थात कम्प्युटरको सहायताले अनुहारको बनोट निर्क्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधिको प्रयोग गरिने हुँदा पछिल्ला शल्यक्रियाको प्रतिफल अत्यन्तै सन्तोषजनक र आशाजनक छ ।

यमन महर्जन पहिलो व्यक्ति हुन् जसले ‘सर्जरी फस्ट अप्रोच’बाट उपचार सेवा पाएका छन् । हाल सर्जरी फस्टबाट उपचार गराउनका लागि ४–५ जना पर्खाइमा छन् ।

कस्तो समस्यामा भएकाले यो सर्जरी गर्न सक्छन् ?

शरीरको हड्डी वृद्धि विकास नहुँदा तथा विभिन्न दुर्घटना, संक्रमण तथा वंशाणुगत कारणले अनुहारको आकृतिमा समस्या देखिएका व्यक्तिहरुले यो शल्यक्रिया गराउन सक्छन् ।

डा. मनिषका अनुसार चिउँडोभित्र गएको, दाँत बाहिर आएको, मुख बांगिएको, मुख खोल्न गाह्रो हुने, मुख बन्द नै नहुने, हाँस्दा गिजा एकदमै धेरै देखिने, अगाडिको दाँतबाट खाना खानै नसक्ने, दाँतले जति कोसिस गरे पनि टोक्नै नसक्ने लगायतका समस्या यदि कसैमा छ भने यो सर्जरीले ती समस्या हटाइदिन्छन् ।

‘अब यो सेवाका लागि विदेश जानुपर्दैन’

विदेशमा यो सेवा एकदमै महंगो भएको बताउादै डा. किशोर भन्छन्, ‘शल्यक्रिया खर्च वीरमा महँगो छैन । बिरामीले दाँतका लागि चाहिने सामानहरु मात्र किन्नुपर्ने हुन्छ । थ्रिडी प्रिन्टिङका लागि पहिले भारतको भर पर्नुपर्थ्यो । तर अहिले भने यो सेवा नेपालमा पनि उपलब्ध छ । सरकारी अस्पतालमा यो सस्तो सेवा दिएका छौँ ।अब विदेश जानुपर्दैन ।’

धेरैले यस्तो उपचार नेपालमा छ भनेर जानकारी नहुँदा ढिलो अस्पताल आइपुग्ने गरेका छन् । डा. मनिष भन्छन्, ‘अनुहारको विकृतिले कतिपय मान्छेलाई आत्मविश्वास नहुनु, मानसिक तथा समाजिक तनाव हुने गर्थ्यो यो शल्यक्रिया मार्फत बिरामीको हाँसो फर्केको देख्दा खुसी लाग्छ ।’

प्रकाशित : चैत्र १०, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?