१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

क्‍वारेन्टाइनमा मास्क लगाएर योग

जनकपुरस्थित क्‍वारेन्टाइनमा श्वासप्रश्वास र घाँटीको समस्या निदान गर्ने तथा रोग प्रतिरोधक क्षमता बढाउने खालका योग अभ्यासमा जोड दिइएको छ ।
अजित तिवारी

जनकपुर — बिहान ६ बजेतिर म्याट बोकेर सबै आँगनमा ओर्लिन्छन् । सामाजिक दूरी राख्दै म्याटमा पलेँटी कस्छन् । योग गुरु विमल पण्डित बरन्डामा पलेँटी कसेर बस्छन् र प्रणाम भन्दै योगको थालनी गर्छन् । क्‍वारेन्टाइनमा बसिरहेका २६ जना जनकपुरको गोपाल धर्मशालाको फराकिलो आँगनमा बिहान दैनिक २ घण्टा योग गर्छन् ।

क्‍वारेन्टाइनमा मास्क लगाएर योग

जनकपुरधाम उपमहानगरपालिकाले मंगलबारदेखि सञ्चालनमा ल्याएको धर्मशालाको क्‍वारेन्टाइनमा बुधबार बिहानदेखि योग कक्षा थालिएको हो ।

‘ओम’ तीनपटक उचारण गरेपछि क्‍वारेन्टाइनमा बसेकाहरूले गायत्री र महामृत्युंजय मन्त्र वाचन गर्छन् । त्यसपछि आधा घण्टा हल्का व्यायाम । ‘सुरुमा शारीरिक कसरत हुने उठबस, सिंहासन र सूर्य नमस्कार गराइन्छ,’ योग गुरु पण्डितले कान्तिपुरसँग भने, ‘क्‍वारेन्टाइनमा बसेकाहरूलाई श्वासप्रश्वास र घाँटीको समस्या निदान गर्ने तथा इम्युनिटी पावर (प्रतिरोधक क्षमता) बढाउने योग अभ्यास बढी गराउने गरिएको छ ।’

यसबाहेक उद्यायी प्राणायाम, श्वासप्रश्वास र दम फुल्नबाट रोक्न अनुलोम–विलोम, मन शुद्धि गर्न भास्त्रिका र कपालभाती लगायतका योग अभ्यास गराइने पण्डितले बताए । ‘क्‍वारेन्टाइनमा बसेकाहरूलाई योग सिकाउनु नौलो अनुभव हो,’ उनले भने । क्‍वारेन्टाइन रहेको जनकपुर–४ का अध्यक्ष सुदर्शन सिंहका अनुसार योग कक्षास्थललाई दैनिक सेनिटाइज गरिन्छ । ‘प्रशिक्षक र परीक्षार्थीबीच सामाजिक दूरी कायम गरिएको छ । सबैले मास्क लगाएका हुन्छन्,’ वडाध्यक्ष सिंहले भने, ‘क्‍वारेन्टाइन जहिलेसम्म रहन्छ, त्यतिबेलासम्म योग अभ्यास गराइनेछ ।’

करिब एक साता योग अभ्यास गराएपछि संगीतमार्फत त्यसलाई निरन्तरता दिइने उनले बताए । गोपाल धर्मशालामा सञ्चालनमा ल्याइएको क्‍वारेन्टाइनलाई नमुना बनाउने प्रयास गरिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बताए । प्रमुख कार्यकारी अधिकृत गोपाल रेग्मीले क्‍वारेन्टाइनको बसाइ पट्यारलाग्दो नहोस् भनेर बिहान योग अभ्यास थालिएको जनाए । उनका अनुसार उक्त धर्मशालामा ६० शय्याको क्‍वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । बिहीबारसम्म त्यहाँ ४० जनालाई राखिएको छ ।

व्यवस्थित क्‍वारेन्टाइन

नगरप्रमुख साहले क्‍वारेन्टाइनमा बसेकाहरूको खानपान, मनोरञ्जन, शारीरिक अभ्यास, बस्ने–सुत्ने सबैको राम्रो प्रबन्ध मिलाइएको दाबी गरे । ‘दिनमा चारपटक खाना–खाजा उपलब्ध गराइन्छ,’ उनले भने, ‘बिहानको खाजामा तुलसीको पात र अदुवा मिसाइएको चिया दिइन्छ । प्रतिरोधात्मक क्षमता बढाउने अण्डा, चाना र बिस्कुट नियमित खुवाइन्छ ।’ क्‍वारेन्टाइनमा बस्ने प्रत्येक व्यक्तिलाई एउटा बेड, तन्ना, सिरानी, झुल, नुहाउने र लुगाधुने साबुन, टुथपेस्ट, ब्रस तथा डस्टबिन उपलब्ध गराइएको छ । तातोपानी पिउन थर्मस र गिलास राखिएको छ ।

क्‍वारेन्टाइनमा खाना खुवाउने तरिका पनि बेग्लै छ । कुन कोठामा कोको बसेका छन्, त्यसको तथ्यांक राखिएको छ । खाना खाने समयमा माइकबाट कोठा नम्बरअनुसार एक–एक गर्दै व्यक्तिको नाम बोलाइन्छ । ‘धर्मशालामा पर्याप्त शौचालय रहेकाले एउटा कोठामा बस्नेलाई एउटा शौचालय प्रयोग गर्न लगाइएको छ,’ रेग्मीले भने, ‘क्‍वारेन्टाइनलाई व्यवस्थित र सुविधासम्पन्न बनाइएको छ । मनोरञ्जनका लागि वाइफाई पनि जोडिएको छ ।’ औषधिसहित स्वास्थ्यकर्मीलाई चौबीसै घन्टा खटाइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?