कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा डिमेन्सियाका बिरामीलाई कसरी जोगाउने ?

अल्जाइमरको समस्या डिमेन्सियाको एउटा रुप हो । विश्वभर नै ज्येष्ठ नागरिकमा डिमेन्सिया साझा समस्या बनेर देखापरेको छ । 
बुनु थारु

काठमाडौँ — कोभिड–१९ को उच्च जोखिममा वृद्धवृद्धा र बिरामी रहेको विज्ञहरुले बताउँदै आएका छन् । अझ डिमेन्सियाका बिरामी त झन् बढी जोखिममा हुन्छन् । यो महामारीका बेला उनीहरुलाई विशेष हेरचाह गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

के हो डिमेन्सिया ?

मनोचिकित्सक डा. कपिल उपाध्यायका अनुसार डिमेन्सिया भनेको बिर्सिने रोग हो । यसबाट बिरामीमा स्मरणशक्ति कमजोर हुनुका साथै सोच्ने क्षमता र समस्याको समाधान निकाल्ने क्षमतामा ह्रास हुन्छ। बिस्तारै बोली र भाषामा पनि समस्या देखिन्छ। ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुका यो समस्या देखिने गरेको छ ।

मनोचिकित्सकहरुका अनुसार यो रोगका विभिन्न चरण हुन्छन् । सुरुवाती चरणमा यो रोग लागेका बिरामीले खाना खाएको बिर्सन्छन्, एउटै कुरा दोहोर्‍याइरहन्छन् । समस्या बल्झिँदै गएपछि दैनिक क्रियाकलाप पनि गर्न नसक्ने हुन्छन् । कोभिडका बारेमा सावधानी अपनाउने कुराहरु समेत बिर्सिन सक्छन् । त्यसैले कोभिडको महामारीको यो बेला उनीहरुको विशेष हेरचाह गर्नुपर्छ ।

अल्जाइमरको समस्या डिमेन्सियाको एउटा रुप हो । विश्वभर नै ज्येष्ठ नागरिकमा देखिने यो साझा समस्या हो । अपांगता हुनुको एक मुख्य कारकमा डिमेन्सियालाई पनि लिइन्छ ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार विश्वभर करिब ५ करोड मानिसमा यो समस्या देखिन्छ । हरेक वर्ष १ करोड नयाँ बिरामी थपिन्छन् ।

कोभिडको जोखिम कति ?

विश्व स्वास्थ्य संगठनले कोभिडको जोखिममा विशेषगरी ज्येष्ठ नागरिकहरुलाई नै राखेको छ । ज्येष्ठ नागरिकमा वयस्कजस्तो सुझबुझ हुँदैन । रोग प्रतिरोधक क्षमतामा पनि कमी हुन्छ ।

चिकित्सकहरुका अनुसार उमेर ढल्किँदै जाँदा रोगसँग लड्ने शक्ति ह्रास हुँदै जान्छ र रोगले छिटो च्याप्छ । त्यसैले कोभिडको संक्रमणको जोखिम समूहमा उनीहरु रहेका छन् । त्यसमाथि डिमेन्सियाका बिरामी थप जोखिममाको घेरामा पर्न सक्छन् ।

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेल डिमेन्सियाका बिरामीलाई परिवारले यो महामारीका बेला अझ ख्याल राख्नुपर्ने बताउँछन् । 'ज्येष्ठ नागरिकहरुलाई अरु बेला स्याहारसुसारको आवश्यकता त छँदै छ,' उनले भने, 'डिमेन्सिया भएकालाई झन् बढी समय दिनुपर्छ ।'

संक्रामक रोग तथा अन्य चोटपटकबाट बचाउन परिवारको सदस्य तथा हेरालुको मुख्य भूमिका हुन्छ । डा. कँडेलका अनुसार कोभिडको जोखिम धेरैजसो रोग प्रतिरोधात्मक क्षमता कम भएकै मानिसमा हुने गर्छ । त्यसमाथि ज्येष्ठ नागरिकहरु झन् जोखिममा हुन्छन् । 'टिभी हेरेको पत्रिका पढेको बिर्सिन सक्छन्,' उनले भने, 'तर नियमित हात धुने, मास्क लगाउने जस्ता क्रियाकलापबारे भनेर होइन गरेरै देखायो भने उनीहरुलाई सम्झिन सजिलो हुन्छ ।'

द ल्यान्सेट जर्नलका अनुसार डिमेन्सियाबाट गुज्रिरहेका बिरामीलाई कोभिडका बारेमा पर्याप्त जानकारीमा कम पहुँच हुन्छ । उनीहरुमा आफूलाई सावधानी राख्ने (जस्तै: मास्क लगाउने, साबुनपानीले हात धुने) जानकारी सम्झिन गाह्रो हुन्छ । सावधानीका उपाय बेवास्ता गर्दा र सेल्फ क्वारेन्टाइनमा बस्ने तरिकाबारे ख्याल नगर्दा संक्रमणको जोखिम बढ्न सक्छ ।

पश्चिमा देशमा भन्दा दक्षिण एसियाली देशहरुमा ज्येष्ठ नागरिकले धेरै स्याहारसुसार पाएका हुन्छन् । पश्चिममा मुलुकमा विशेषगरी नर्सिङ होम, केयर होममा राख्ने चलन छ । यस्तो अवस्थामा डिमेन्सियाका बिरामीहरुले राम्रो स्याहार पाएनन् भने एक्लो महसुस गर्न सक्छन् । अस्पतालमा उपचाररत यस्ता बिरामीको राम्रो स्याहारसुसार चाहिन्छ । अस्पतालको बसाइका कारण उनीहरुमा तनाव र व्यावहारिक समस्या थप्ने वातावरण सिर्जना हुन दिनुहुन्न ।

कोभिडको क्लिनिकल लक्षणमध्ये अक्सिजन नपुग्नु र दोधार महसुस हुनु पनि हो । जसले डिमेन्सियाका बिरामीलाई झन् गाह्रो बनाउँछ । इन्टरनेसनल डिमेन्सिया एक्सपर्टस् एन्ड अल्जाइमर्स डिजिज इन्टरनेसनलले पनि डिमेन्सियाका बिरामीका लागि सहयोगी हुनुपर्ने बताएको छ ।

चीनमा कोभिड संक्रमणको संख्या बढिरहेका बेला विभिन्न संस्थाले यस्ता बिरामीहरुलाई राम्रो परामर्श दिएका थिए । चाइनिज सोसाइटी अफ जेरियाट्रिक साइक्याट्री एन्ड अल्जाइमर्स नामक संस्थाले यस्ता बिरामी तथा आफन्तलाई निःशुल्क परामर्श दिएको थियो । जसको परिणाम वृद्धवृद्धामा डिमेन्सिया र कोभिडको जोखिम कम गराएको थियो ।

डिमेन्सिया युनिट

भैंसेपाटीस्थित अर्किड केयर होमले डिमेन्सिया तथा अल्जाइमरका बिरामीलाई स्याहार गर्न डिमेन्सिया युनिट नै खोलेको छ । होममा हाल डिमेन्सिया भएका १३ जना ज्येष्ठ नागरिक छन् । होमकी अध्यक्ष यमुना कटवालका अनुसार धेरैजसो रोगमको अन्तिम स्टेजमा छन् । 'त्यसो त हामीले अरु बेला पनि हाइजिनमा ध्यान दिएका छौं । संक्रमणको बेला झन् ख्याल राख्दै बिरामीका आफन्तलाई भेटघाटमा रोक लगाएका छौं,' उनले भनिन्, 'नर्सिङ स्टाफहरु पनि लकडाउनयता यहीँ बसिरहेका छन् ।'

उनीहरुको न्यास्रो मेटाउनका लागि होमले आफन्तहरुसँग भाइबरमा कुराकानी गराउने गरेको छ । उनीहरुलाई सक्रिय राख्न गीत सुनाउने पनि गरिएको कटवालले बताइन् ।

मनोचिकित्सक डा. कपिलका अनुसार डिमेन्सियाका पहिलो स्टेजका बिरामीलाई सम्झाउन सहजै भए पनि रोग छिप्पिँदै जाँदा गाह्रो हुन्छ । आफूले गरेका कुरा बिर्सिने हुनाले परिवारका सदस्यले यस्ता बिरामीको निगरानी तथा स्याहारमा ध्यान दिनुपर्छ । 'डिमेन्सिया हुन नदिन शरीरमा मात्र होइन दिमाग पनि सक्रिय रहनुपर्छ,' उनी भन्छन् ।

सेन्टर फर डिजिज कन्ट्रोलले उनीहरुले नबिर्सिउन् भन्नका लागि शौचालयनजिक वा हात धुने ठाउँनिर साबुनपानीको चित्र बनाएर राख्दा बेस हुने बताएको छ । जसलाई यो पनि बुझाउन सकिन्न, तिनको स्याहारका लागि सहयोगी भने राख्नैपर्छ ।

जसको घरमा डिमेन्सिया भएका अभिभावक छन्, उनीहरुको अवस्थाबारे बेलाबेला बुझिरहने र बढीभन्दा बढी समय बिताउनुपर्ने चिकित्सकहरुको सुझाव छ । प्रकाशित : वैशाख १८, २०७७ १७:२४

प्रतिक्रिया
पठाउनुहोस्

रिहा भएलगत्तै अग्रवाल सम्पति शुद्धीकरणको नियन्त्रणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत काठमाडौंको आदेशमा धरौटीमा रिहा भएलगत्तै व्यवासयी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । 

शरीरको तापक्रम नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई अदालतले २५ लाख ५० हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतबाट रिहा भएलगत्तै व्यवसायी अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । उनीसँग सोछपुछ गरेर सामान्य तारिखमा छाडिने विभाग स्रोतले बतायो । प्रहरीले अग्रवालको सम्पत्तिसमेत अनुसन्धान गर्न भनी विभागमा प्रतिवेदन बुझाएको थियो ।

अग्रवाल किर्गिस्तानका अवैतनिक दुत हुन् । उनी गत चैतको अन्तिम साता ६७ वटा थर्मल गर्न सहित पक्राउ परेका थिए । उनी जगदम्बा समूहको शंकर ग्रुपका सञ्चालक हुन् । कालोबजारीमा पक्राउ परेपछि अग्रवालसहित विदशी मुलुकका लागि अवैतनिक दूत रहेका ४ दर्जन नेपालीलाई दिइदै आएको कूटनीतिक सुविधासमेत सरकनारले खोसि सकेएको छ ।

प्रकाशित : वैशाख १८, २०७७ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×