मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ? 

काठमाडौँ — एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ । 

मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ? 

नेपालमा भने अहिलेसम्म १ जना बाहेक अरुमा पोजेटिभ देखिएको छैन तथापि नेपाल कोरोना भाइरसबाट खतरामुक्त भने छैन । कोरोना भाइरसबाट बच्न विभिन्न उपायहरु अपनाउनुपर्छ तर आत्तिनु भने हुँदैन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले फ्लु वा रुघाखोकीको लक्षण लिएर कोरोनाको आंशकामा दैनिक बिरामीहरु आत्तिँदै आइरहेका हुन्छन् । विशेषगरी विदेश भ्रमणबाट आएका बढी छन् ।

भाग्यवश नेपालमा अहिले कोरोनाको त्रास देखिएको छैन तर सर्तकता अपनाउन छाड्न हुन्न । रुघाखोकी लाग्दा पनि डराएर कोरोना हो कि भन्ने धेरै बिरामी आउने गर्छन् । रुघाखोकी र कोरोनाका लक्षण उस्ताउस्तै हुनाले मान्छेहरु झुक्किन्छन् र आत्तिन्छन् । तर कोरोना भाइरस हो कि होइन शंका गर्न त्यसको अरु कारणहरु राम्ररी जाँचपड्ताल गरेपछि मात्र थाहा हुन्छ ।

कसरी छुट्याउने ?

मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ । तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन । मनमा के राख्नपर्‍यो भने नेपालमा त्यस्तो स्थिति अहिले आइसकेको छैन । त्यसैले सतर्क भने रहनुपर्छ । सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो । कोरोना भाइरसको शंका गर्न सुरुमा संक्रमण फैलिएको देश जस्तै कोरिया, चीन, इटालीबाट आएको हो वा होइन त्यो बुझिन्छ । यदि त्यहाँबाट आएको मान्छेसँग भेटघाट भएको १४ दिनभित्रमा रुघाखोकीका लक्षणहरु देखापरेमा ती व्यक्तिहरुलाई शंकाको घेरामा राख्न सक्छौं । यदि होइन भने रुघाखोकी लागेका मान्छेलाई परामर्श दिइरहेका छौं ।

खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ ।

त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन् । रुघाखोकी लागेमा त्यति कडा हुँदैन । नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ । अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ । यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ । अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ । कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन् । तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको देशबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ ।

यदि तपाईं काठमाडौवासी हो, छिमेकी वा आफन्त कोरिया, इटाली, चीनजस्ता देशबाट आएको छैन भने आत्तिनु पर्दैन ।

रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी रहेन । मौसम परिवर्तन भइरहेको छ । अहिले धेरै कोरोना भाइरस फैलिरहेको इटालीमै जस्तो बसेर नसोचौं । मनमा त्रास नलिऊँ । सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सयौं कोरोनाको नमुना परीक्षण भइसकेको छ र खुसीको कुरा अहिलेसम्म १ जना बाहेक नेगेटिभ देखिएको छ । यदि कोही कोरोना संक्रमित भएको भए अस्पताल आइसक्थ्यो होला आखिर उपचारको लागि अस्पताल नै आउने हो । त्यसैले यसमा विश्वस्त हुन जरुरी छ ।

जुन स्तरमा अरु देशमा बाहिर देखिरहेको छ त्यस्तो स्थिति नेपालमा नभए पनि एकदमै ठूलो संक्रमण फैलिहाल्यो भने के गर्ने भनेर अध्ययन हुनुपर्छ । अरु देशले कसरी रोकथामका लागि उपाय अपनाइरहेका छन् भनेर सिक्न जरुरी छ । त्यसैले सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनसँग बुनु थारुले गरेको कुराकानीमा आधारित )

प्रकाशित : चैत्र १, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?