कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गर्भ जाँचको पालो कुर्दै हैरान

विशेषज्ञ चिकित्सकबाट सस्तो स्वास्थ्य सेवा पाउन सर्वसाधारण उपत्यकाका ठूला अस्पताल पुग्छन् तर भिडियो एक्सरे, ल्याबको अन्य परीक्षणमा हप्तौं कुर्नुपर्ने बाध्यताले निजीमा जान्छन् ।
फातिमा बानु

काठमाडौँ — काँडाघारीकी १८ वर्षीया मनिषासिंह ठकुरी शुक्रबार ११ बजे पाँच महिनाको गर्भ जाँचका लागि थापाथलीस्थित प्रसूतिगृह पुगिन् । पेटमा हुर्किंदै गरेको शिशुको पूर्ण विकास भए/नभएको हेर्नुपर्छ भन्दै चिकित्सकले विशेष भिडियो एक्सरे (एनोमली स्क्यान) गर्न सुझाए ।

गर्भ जाँचको पालो कुर्दै हैरान

अस्पतालको भुइँतलामा रहेको भिडियो एक्सरे गर्ने ठाउँमा उनलाई एक महिना कुर्नुपर्ने जानकारी दिए । फर्किएर उनले चिकित्सकसँग सल्लाह लिइन् । चिकित्सकले उनलाई भने, ‘यो भिडियो एक्सरे एक साताभित्र गर्नुपर्छ, त्यसपछि गर्नुको कुनै अर्थ हुँदैन ।’ त्यसपछि कहाँ जाने उनी अन्योलमा परिन् । उही चिकित्सकले उनलाई बागबजारस्थित सिद्धि अल्ट्रासाउन्ड क्लिनिकमा भिडियो एक्सरे गर्न सुझाए । सिद्धिमा उनले दुई हजार रुपैयाँ तिरेर भिडियो एक्सरे गरिन् । यही एक्सरे गर्न प्रसूतिगृहमा पालो पाएको भए एक हजारमै हुन्थ्यो ।


माछापोखरीकी २४ वर्षीया सञ्चिता तामाङ साढे पाँच महिनाको गर्भ जाँचका लागि थापाथलीस्थित प्रसूतिगृहमै गएकी थिइन् । बच्चाको हातखुट्टा कस्तो छ, बच्चाको ओठ काटिएको छ या विकासमा कुनै बाधा पुगेको छ कि भनेर जाँच गर्नुपर्छ भनेर चिकित्सकले अत्याए । साताभित्रै भिडियो एक्सरे रिपोर्ट ल्याउनुपर्छ भन्दै पुर्जामा मिति लेखिदिए ।


पुर्जा लिएर भिडियो एक्सरे गर्ने ठाउँमा पुगिन् । कर्मचारीले उही कुरा दोहार्‍याउँदै ‘महिनापछि मात्रै पालो आउने’ बताए । ‘एक सातापछि गरेको अल्ट्रासाउन्डको कुनै मतलव छैन भन्नुभो,’ उनले भनिन्, ‘मैले बसुन्धाराको बीपी स्मृति हस्पिटल गएर अल्ट्रासाउन्ड गरेँ ।’ १५ सय तिरेर उनले बीपी स्मृतिबाट भिडियो एक्सरे गरिन् ।


बिरामीको चाप बढी, उपकरण र जनशक्ति कम भएकाले उही दिन सेवा दिन नसकिएको प्रसूतिगृहको रेडियोलोजी विभाग प्रमुख सुवज भट्टराईले बताए । ‘गर्भवतीको पाँच महिना पुगेपछिको भिडियो एक्सरे गर्न धेरै समय लाग्छ,’ उनले भने, ‘यस्तोखाले भिडियो एक्सरे चिकित्सकले तोकेको समयावधिभित्रै गरिसक्नुपर्छ, त्यसैले बाहिर जान बाध्य छन् ।’ गृहबाट हरेक दिन ३० जनाको मात्रै एनोमली स्क्यान गर्न सकिने उनले बताए । गृहमा अहिले चार वटा भिडियो एक्सरे उपकरण छन् । भिडियो एक्सरे सेवाका लागि दैनिक तीन सय जनासम्म आउने र अस्पताललाई धान्नै गाह्रो भएको उनले बताए ।


सरकारी अस्पतालमा सीमित उपकरण र जनशक्तिले भिडियो एक्सरेजस्तो सामान्य उपचार प्रक्रियाका लागि बिरामीले कम्तीमा पनि एक साता पर्खिनुपर्ने अवस्था छ । सरकारी अस्पतालमा उपचार गर्न गएकै दिन भिडियो एक्सरे हुँदैन । यस्तै कारणले अस्पतालबाहिर महँगो शुल्कमा भिडियो एक्सरे गर्ने अर्की बिरामी हुन्– लहानकी ३२ वर्षीया गंगा भट्टराई । कोखा घोच्ने, खान मन नलाग्ने र बान्ता हुने समस्या भएपछि बिहीबार वीर अस्पताल पुगिन् । मिर्गौलामा समस्या भएको आशंकामा चिकित्सकले उनलाई भिडियो एक्सरे गर्नुपर्ने बताए ।


अस्पतालकै भिडियो एक्सरे गर्ने ठाउँमा पुग्दा साताअघि पालो नआउने जानकारी दिए । ‘भिडियो एक्सरे गर्नका लागि कति दिन काठमाडौंमा बस्नु,’ उनले भनिन्, ‘यहाँ न आफन्त छन्, न एक सातासम्म लजमा बस्ने पैसा ।’ अस्पतालले तोकेको समयसम्म पर्खेर भिडियो एक्सरे गर्न समस्या भएपछि उनले बाहिरको निजी क्लिनिकबाट नौ सय शुल्क तिरेर एक्सरे गरिन् । वीरमै सेवा पाएको भए उनले चार सय रुपैयाँमै यो सेवा पाउँथिन् । वीर अस्पतालमा भिडियो एक्सरेका लागि दैनिक दुई सयसम्म बिरामी आउँछन् । वीरमा पुग्ने बिरामीले सामान्य एक्सरेका लागि तीन दिन र विशेष भिडियो एक्सरे गर्न २० दिनसम्म कुर्नुपर्ने बाध्यता छ ।


वीर अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले दैनिक १५० भन्दा बढीको भिडियो एक्सरे गर्न सक्ने क्षमता नभएको बताए । ‘विशेष अल्ट्रासाउन्ड गर्न एक जनाकै आधादेखि एक घण्टा लाग्छ,’ उनले भने, ‘बिरामीको चाप पनि उत्तिकै छ, केही दिन कुरेपछि मात्रै सेवा पाउँछन् ।’


टिचिङमा दैनिक दुई सय जनाजति भिडियो एक्सरे गर्नेको लाइन हुन्छ । यो सेवाका लागि बिरामीले एक सातासम्म कुर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले पाँचवटा उपरकण छन् । बिरामीको चाप धेरै र उपकरण न्यून हुँदा बिरामीलाई आएकै दिन भिडियो एक्सरे सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए । ‘इमर्जेन्सी भएर तुरुन्तै गर्न मिल्छ,’ उनले भने, ‘जनशक्ति पर्याप्त भए पनि भिडियो एक्सरे उपकरण थोरै छ हामीसँग ।’

प्रकाशित : फाल्गुन १९, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?