कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिभिल अस्पतालमा तनाव

कान्तिपुर संवाददाता

काठमाडौँ — टाउको र छाती दुखेर सिभिल अस्पताल पुगेका पेप्सीकोलाका ५१ वर्षीय अर्जुनबहादुर खड्काको उपचार क्रममा मृत्यु भएपछि वानेश्वरस्थित सिभिल अस्पतालमा तनाव उत्पन्न भएको छ । 

सिभिल अस्पतालमा तनाव

खड्का आफैं अस्पतालको आकस्मिक कक्षसम्म पुगेर चिकित्सक र नर्सलाई समस्या बताएका थिए । फोनमार्फत छोरी तारालाई आफू अस्पताल आएको बताएका थिए । आधा घण्टाभित्र अस्पताल पुग्दा अर्जुन राम्ररी बोलिरहेको ताराले बताइन् । ‘टाउको दुखेर बुबा छटपटाइरहँदा पनि कसैले वास्ता गरेन,’ उनले भनिन्, ‘४५ मिनेटपछि बल्ल बुबालाई एउटा सुई लगाइदिए, औषधि खान दिए ।’


मुटुमा समस्या भएको आशंकामा चिकित्सकले ईसीजी गर्नुपर्ने बताए । रगत, पिसाब सबै जाँच गर्न पठाए । चिकित्सकले रिपोर्ट नआई केही गर्नै नमिल्ने बताए । ‘बुबाको मुख बाङ्गो हुँदै गयो, जिउ चिसो हुँदै गयो,’ उनले भनिन्, ‘म रुन कराउन थालेपछि बल्ल नर्स र डाक्टर दौडिएर आए ।’ चिकित्सकले छातीमा थिचेर बिरामीको श्वास फर्काउन खोजे । यहाँ उपचार हुँदैन भन्दै आफन्तले अन्यत्रै लैजाने होहल्ला गर्न थालेपछि चिकित्सक आफैंले मेडिसिटीबाट एम्बुलेन्स बोलाइसकेको जानकारी दिए । बिरामीलाई आईसीयू चाहिने तर भेन्टिलेटर खाली नभएको भन्दै चिकित्सकले मेडिसिटी रिफर गर्न खोजे ।


उपचारमा लापरबाही भएको भन्दै उनीहरूले शव लिन मानेका छैनन्, प्रहरी र मेडिकल काउन्सिलमा उजुरी हालेका छन् । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि कारबाही गर्नुपर्ने उनीहरूको माग छ । हृदयघातका कारण बिरामीको मृत्यु भएको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए ।


अस्पतालले अनुसन्धानका लागि तीन सदस्यि छानबिन समिति गठन गरेको छ । ‘हृदयघात भन्ने यस्तै हो, फेरि हामीले हेर्दाहेर्दै म्यासिभ अट्याक आयो,’ उनले भने, ‘उहाँहरूलाई चित्त बुझ्दैन भने मेडिकल काउन्सिलले छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँछ ।’

प्रकाशित : फाल्गुन १९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?