चनाका फाइदै–फाइदा

कान्तिपुर संवाददाता

काठमाडौँ — चनाले शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाई चुस्तदुरुस्त राख्छ । रगतमा जोस उत्पन्न गर्छ । यो कलेजोका लागि लाभदायक मानिन्छ । यसले रगतलाई सफा गर्छ, धातु बढाउँछ र आवाजलाई सफा पार्छ । यो रगतसम्बन्धी विकारका लागि लाभदायक मानिन्छ । यसले पिसाब खुलाउन मद्दत गर्छ । चनालाई पानीमा भिजाएर चपाउनाले तागत आउँछ । 

चना मुख्यतः किशोर युवा र शारीरिक मिहिनेत गर्नेहरूका लागि पौष्टिक खाजा हो । चनालाई भिजाएर वा अंकुरित गरी नियमित रूपमा बिहान सेवन गर्नाले शरीर स्फूर्तिवान् र शक्तिशाली हुन्छ । अंकुरित चना धेरै लाभप्रद मानिन्छ । अंकुरित चना धातुलाई पुष्ट, मांसपेशीलाई सुदृढ र शरीरलाई बलियो बनाउने प्राचीन मान्यता छ । यसको सेवन छालाको रोगमा समेत लाभदायक मानिन्छ ।


भिटामिन ‘सी’ को मात्रा बढी भएको चनाले तौल बढाउँछ । रगत वृद्घि गर्नुको साथै त्यसलाई सफासमेत गर्छ । यसबाहेक अंकुरित चना सेवनले फोक्सो बलियो बनाउने मान्यतासमेत छ । यो रगतमा कोलेस्ट्रेलको मात्रा कम गरेर मुटुको रोग हटाउनसमेत सहायक मानिन्छ । कब्जियतको समस्या भएकाहरूका लागि चना राम्रो मानिन्छ । अंकुरित चना नियमित सेवनले यो निको हुन्छ ।


बच्चालाई महँगो बदामको सट्टा कालो चना ख्वाउनाले उनीहरू स्वस्थ रहन्छन् । एउटा अन्डामा हुने एक ग्राम प्रोटिन र ३० क्लालोरी शक्तिभन्दा सोही मूल्यको कालो चनामा ४१ ग्राम प्रोटिन र ८ सय ६४ क्यालोरी प्राप्त हुन्छ । प्रकाशित : फाल्गुन १७, २०७६ ०९:३९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बूढीगण्डकी दोहनमा रोक

किनारी क्षेत्रमा दोहन बढेको भन्दै स्थानीय प्रशासनले निगरानी बढाउन प्रहरीलाई पत्राचार
हरिराम उप्रेती

गोरखा — मुआब्जा वितरण भएको बूढीगण्डकी डुबान क्षेत्रअन्तर्गत गोरखातर्फ अवैध बालुवा खानी सञ्चालन गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार प्रहरीलाई पत्र लेखेर बूढीगण्डकी किनार क्षेत्रमा निगरानी बढाउन भनेको हो । ‘बालुवाको दोहन र चोरी निकासी भएको भेटिए कारबाही गरी जानकारी गराउन भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ।

दोहन रोक्न सहयोग र समन्वय गरिदिन सम्बन्धित स्थानीय तह र बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइलाई पनि पत्राचार गरिएको छ । सरकारी स्वामित्वमा आइसकेको जग्गामा दोहन भएको भेटिए संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई भनिएको छ । यसअघि दोहनमा संलग्नका विषयमा उजुरी परे कारबाही गर्ने प्रशासनले चेतावनी दिएको थियो ।

गएको शनिबार प्रशासन कार्यालयका खरिदार रविलाल सुवेदी नेतृत्वको टोलीले डुबान क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । बुढीगण्डकी आयोजना र टोलीको छुट्टाछुट्टै प्रतिवेदन अध्ययनपछि पछिल्लो समय नदीको किनारी क्षेत्रमा दोहन बढेको प्रशासनको ठहर छ । दुवै प्रतिवेदनमा किनारी क्षेत्रको दोहनले आयोजनालाई नै दीर्घकालीन असर पार्ने निष्कर्ष निकालिएको थियो । सोही प्रतिवेदनलाई आधार बनाएर प्रशासनले दोहनमा निगरानी बढाउन पत्राचार गरेका हुन् । अनुगमन क्रममा गोरखातर्फ ८ ठाउँमा बालुवा खानी सञ्चालन भएको पाइएको थियो । दिनमा भन्दा रातमा बालुवा र नदीजन्य सामग्री ओसारपसार भएको अनुगमन टोलीको प्रतिवेदनमा छ । गण्डकी गाउँपालिकाअन्तर्गत दर्बुङ फाँट, फुजलेको ढावेमा रातको समयमा बालुवा चोरीनिकासी हुँदै आएको पाइएको थियो । भीमसेन थापा गाउँपालिकाअन्तर्गत बोर्लाङको ज्यादुलखोला र घाटबेसी, धावाको बालुवाटार र तान्द्राङको सिसौघारीमा बालुवा निकालिएपछि ठूला–ठूला खाल्डा बनेका छन् । यसले नदी किनार क्षेत्र तथा आयोजना निर्माणमा समेत जोखिम बढेको छ ।

अनियन्त्रित तवरले बालुवा खानी सञ्चालन गर्दा वातावरणमा प्रतिकूल असर परेको र भूक्षयको खतरा बढेको प्रतिवेदनमा उल्लेख छ । ‘व्यापक मात्रामा बालुवा उत्खनन भएको प्रतिवेदनमा समेटिएको छ,’ जिल्ला प्रशासनका अधिकृत हर्क रोकाले भने, ‘यसलाई नरोके बूढीगण्डकी अयोजना निर्माण क्रममा चुनौती देखिने भयो ।’ आयोजनाले विस्तृत वातावरणीय प्रभाव मूल्यांकन गरिसकेको अवस्थामा दोहन बढेपछि निर्माणका लागि चुनौती थपिएको प्राविधिकले बताउँदै आएका छन् ।

जिल्ला प्रशासन, स्थानीय तह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा बूढीगण्डकी जलविद्युत् आयोजनाले अवैध उत्खनन रोक्नुपर्ने अनुगमन टोलीले सुझाव दिएको थियो । खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभागसँग अनुमति लिनुपर्ने कानुनी प्रावधान भए पनि त्यसो नगरिएको रोकाले बताए । ‘कसैको अनुमति र स्वीकृतिबिनै खानी सञ्चालनमा रहेको पायौं,’ उनले भने, ‘यो गैरकानुनी कार्य हो ।’

मुआब्जा पाइसकेका जग्गाधनीले बालुवा उत्खनन गर्न ठेकेदारलाई दिने गरेका छन् । मुआब्जा पाइसकेपछि बालुवा बेच्दा दोहोरो फाइदा हुने भएकाले जग्गाधनीले ठेकेदारसँग मिलेमतोमा गरी अवैध कार्य गरेको देखिएको अनुगमन टोलीले बताएको छ । डुबान क्षेत्रअन्तर्गत धादिङतर्फ पनि ६ ठाउँमा दोहन भएको बुढीगण्डकी आयोजनाको कार्यालयले जनाएको छ । ती क्षेत्रमा उत्खनन भएको बालुवा गोरखाको बाटो हुँदै निकासी भइरहेको छ । अनियन्त्रित दोहनले आयोजना निर्माणमा असर पुग्ने चुनौती थपिए भन्दै बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइले गोरखा र धादिङका जिल्ला प्रशासन कार्यालयलाई पत्रै काटेर बालुवा दोहन रोक्न आग्रहसमेत गरेको छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×