कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दहीले दीर्घायु

कान्तिपुर संवाददाता

काठमाडौँ — दही पञ्चामृतमध्येको एक परिकार मानिन्छ । यसलाई हिन्दु धर्मावलम्बीले धार्मिक कार्यमा समेत उपयोग गर्छन् । जन्मदेखि मृत्यु संस्कारसम्ममा यसको उपयोग हुन्छ । दहीलाई प्राचीनकालदेखि नै पाचनका लागि समेत उपयोग गरिन्छ भने यो अम्लपित्तका लागि पनि लाभकारी हुन्छ । 

दहीले दीर्घायु

दही विश्वभरि नै स्वास्थ्यप्रद भोजनमध्ये एक मानिन्छ । मान्छेले खानमा दहीको उपयोग कम्तीमा ४ हजार पाँच सय वर्षदेखि गरिरहेको मानिन्छ । चिकित्सकको अनुसार, दही शरीरलाई रोगबाट टाढा राखेर स्वस्थ र दीर्घायु बनाउन उपयोगी हुन्छ । बच्चादेखि बूढापाकालाई समेत दही सजिलै पच्छ र पचाउँछ पनि ।


दही खानाले रोग प्रतिरोधक क्षमतासमेत बढ्छ । दही जुन ब्याक्टेरियाका कारण बन्छ त्यसले शरीरमा भइरहेको कुनै पनि संक्रमणबाट सुरक्षित राख्छ । यो सिधै शरीरमा सेतो रक्त कणिकामा काम गर्छ र शरीरलाई रोग प्रतिरोधक क्षमता कम भएर हुने रोगबाट बचाउँछ । यो ती व्यक्तिहरूको लागि राम्रो हो जसलाई दूधबाट एलर्जी हुन्छ । उनीहरू दही सेवन गरेर यसबाट पोषकतत्त्व पाउन सक्छन् ।


दहीको नियमित सेवन गर्ने व्यक्तिमा गामा इन्टरफरान नुन प्रोटिनको मात्रा बढी पाइन्छ । जसले यसको रोग प्रतिरोधक क्षमतालाई बढी सुदृढ बनाउँछ । थुप्रै अनुसन्धानहरूका अनुसार, दहीको नियमित सेवनले मुख्यतः ठूलो आन्द्रा र कोलोनको क्यान्सरसहित अन्य थुप्रै क्यान्सर रोगबाट समेत सुरक्षा दिन्छ । दहीको सबैभन्दा ठूलो विशेषता यसमा ल्याक्टिक अम्ल बढी मात्रामा हुनु हो । यसले गर्दा ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु अर्थात फुटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ । यो जीवाणुलाई ‘बी कोली’ को नामले समेत चिनिन्छ । अर्थात् ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।


दूधमा ल्याक्टोज पाइन्छ तर दहीमा हुने ल्याक्टोज भने सजिलै पच्नुका साथै पेटलाई समेत आराम दिन्छ । दहीमा मिनरल्स र क्याल्सियम बढी मात्रामा हुन्छ । आस्टियोपोरोसिसले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ । दहीमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम बढी मात्रामा पाइन्छ । यसैले हाई कोलेस्ट्रोलको रोगीका लागि पनि यो फाइदाजनक छ । यसमा भिटामिन ‘बी ६’ र भिटामिन ‘बी १२’ समेत पाइन्छ ।


इन्टरनेसनल जर्नल अफ ओबेसिटीमा प्रकाशित एक अध्ययनअनुसार, कम बोसो भएको दहीको सेवन गर्नाले मोटोपना घटाउन मद्दत गर्छ ।


प्रोबायोटिक आहार अर्थात् दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएको छ । वैज्ञानिक रोजर काजका अनुसार जुन व्यक्तिको परिवारमा एलर्जीको समस्या छ उनहरू यो प्रोबायोटिक अर्थात् दहीलार्ई रोकथामको रूपमा उपयोग गर्न सक्छन् । प्रोबायोटिक आहार अति लाभप्रद, अति सूक्ष्म जीवाणुले युक्त हुन्छन् ।


दहीले स्वस्थ जीवन मात्र दिँदैन, यो सौन्दर्य बढाउनसमेत सहयोगी हुन्छ । दही कपालमा लगाउँदा यसले चायाबाट समेत मुक्ति दिलाउँछ । यस्तै अनुहारमा लगाउँदा छाला टल्किन्छ । घामले डढेको छालामा दही लगाउनु लाभदायक हुन्छ ।


सातामा चारपटक दहीको सेवन गर्नाले बच्चामा दन्त क्षयको सम्भावना २२ प्रतिशत कम हुनेसमेत एक अध्ययनले देखाएको छ । उक्त अध्ययन फुकुओका र टोकियो विश्वविद्यालयका विशेषज्ञहरूले गरेका थिए । उनीहरूले दही दाँतमा सुरक्षात्मक प्रोटिनजस्तै काम गर्ने र हानिकारक एसिडबाट दाँतको रक्षा गर्ने पत्ता लगाएका थिए । यो अनुसन्धानलाई अस्ट्रेलियाली वैज्ञानिकहरूले समेत सहयोग गरेका थिए ।


एक कप दहीमा करिब ३ सय ७० मिलिग्राम क्याल्सियम हुन्छ, जो एक व्यक्तिका लागि दैनिक आवश्यक क्याल्सियम मात्राको ३० देखि ४० प्रतिशतको हाराहारीमा हो । यसमा प्रोटिनसमेत प्रशस्त हुन्छ । एक कपमा एकजनालाई दैनिक आवश्यक पर्ने २५ देखि ३० प्रतिशत प्रोटिनको आवश्यकतासमेत पूर्ति गर्छ ।


एक कपमा २ सय ५० मिलिग्राम पोटासियमसमेत हुन्छ । जो एउटा केरामा पाइने पोटासियमको बराबर हो । यसमा कम क्यालोरी हुन्छ जसले यो पोषाक आहारको क्षेत्रमा डाइट फुडको रूपमा समेत

प्रसिद्घ छ ।


बाख्रा दूधको दही सबैभन्दा राम्रो मानिन्छ । दही त्यतिकै प्रभावकारी छ जतिको मल्टिभिटामिन औषधि हुन्छ । आयुर्वेदअनुसार, दही बनाउन माटोको भाँडोको प्रयोग सबैभन्दा बढी राम्रो मानिन्छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?