पाचन प्रक्रियामा उपयोगी मुला

कान्तिपुर संवाददाता

मुलाले खानालाई पचाउँछ । आयुर्वेदले यसलाई पाचकसमेत भनेको छ । यसले पाचन प्रक्रियालाई सघाउनुको साथै अनेक प्रकारका रोगका किटाणुलाई शरीरबाट निष्काशित गर्छ । मुलामा अनेक किसिमका खनिज पदार्थ पाइन्छन् । यो रक्त शोधकसमेत हो ।

आयुर्वेदअनुसार मासिक धर्मको कमीका कारण युवतीहरूमा डन्डिफोर निस्कँदा मुला सेवन गर्नु प्रभावकारी हुन्छ । मुलाले रगत सफा गर्ने मात्र नभई रक्तसञ्चारसमेत ठीक पार्छ । यसले छालामा भएका दाग/पोतो निको पार्छ । मुलामा गन्धक भएकाले यसको गन्ध नै अनेक रोग निको पार्न सहायक हुन्छ ।


भिटामिन ‘ए’ ले युक्त मुला आँखाका लागि समेत फाइदाजनक छ । आयुर्वेदअनुसार जाडोयाममा नियमित रूपमा बिहानीपख एउटा मुला खानेहरूको आँखाको ज्योति वृद्घावस्थासम्म राम्रो रहन्छ र आँखाको अन्य रोगले सताउँदैन ।


मृगौलाको खराबीले पिसाब बन्न बन्द भए मुलाको रस सेवन गर्नाले फाइदा गर्छ । यो मधुमेहमा पनि लाभदायक मानिन्छ । मुला हरेक मौसममा पाइए पनि चिसोयाममा पाइने मुला तुलनात्मक रूपमा बढी गुणस्तरको मानिन्छ ।


आयुर्वेदमा मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण रहने उल्लेख छ । यसले व्यक्तिको गुमेको ऊर्जा फिर्ता आउँछ । छाला च्याउरी परेकाहरूलाई भने नियमित रूपमा मुला सेवन गर्नु फाइदाजनक हुन्छ ।


एक सय ग्राम मुलामा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट ३.४ ग्राम, बोसो ०.१ ग्राम, ऊर्जा १७ मिलिग्राम, खनिज ०.६ ग्राम, क्याल्सियम ३५ मिलिग्राम, फाइवर ०.८ ग्राम, फस्फोरस २२ मिलिग्राम, नायसिन ०.५ मिलिग्राम, भिटामिन ‘सी’ १५ मिलिग्राम, फलाम ०.४ मिलिग्राम, क्यारोटिन ३ मिलिग्राम, थायमिन ०.६ मिलिग्राम, राइबोफ्लोविन ०.२ मिलिग्राम र पानी ९४.४ ग्राम हुन्छ ।

प्रकाशित : माघ २५, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षित गर्भपतनबारे छैन सचेतना

गर्भवती भएको समयमै थाहा नहुने र थाहा भए पनि अनिच्छित गर्भलाई पतन गराउन कहाँ जाने भन्नेबारे ग्रामिण भेगका धेरै महिला जानकार छैनन्
गणेश चौधरी

टीकापुर — कक्षा ९ मा पढ्दै गर्दा सम्झना चौधरी (नाम परिवर्तन) को विजय चौधरीसँग प्रेम सम्बन्ध स्थापित भयो । कैलाली टीकापुरकी उनी केही समयमा गर्भवतीसमेत बनिन् । सोबारे प्रेमी विजयलाई जानकरी गराएर विवाहको प्रस्ताव राखिन् तर विजयले मानेनन् । बरु उनी पढाइ छोडेर भारततिर लागे ।

कैलालीको बेलवास्थित राष्ट्रिय माविका विद्यार्थी सुरक्षित गर्भपतनबारे सडक नाटक प्रस्तुत गर्दै । तस्बिर : गणेश/कान्तिपुर 

गर्भवती भएकी सम्झना आत्महत्या गर्ने निष्कर्षमा पुगिन् तर साथी निर्मलाले उनलाई सम्झाइबुझाइ भजनीस्थित स्वास्थ्य केन्द्रमा लगिन् । स्वास्थ्यकर्मीलाई उनले आफ्नो समस्या सुनाइन् । अन्ततः स्वास्थ्यकर्मीकै सल्लाहमा उनको सुरक्षित गर्भपतन गरियो । अहिले उनी पढाइमै व्यस्त छिन् ।

आफू गर्भवती भएको समयमै थाहा नहुने र थाहा भए पनि अनिच्छित गर्भलाई निरन्तरता नदिन कहाँ जाने भन्ने जानकारी नहुँदा विशेष गरी ग्रामीण भेगका महिलालाई समस्या पर्ने गरेको छ । सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेट वक्तव्यमार्फत सबै सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गर्ने घोषणा गर्‍यो । तर अनिच्छित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने जानकारी नहुँदा कतिपयले गाउँमै ‘सुडेनी’ (ग्रामीण क्षेत्रमा सुत्केरी हुँदा सहयोग गर्ने व्यक्ति) मार्फत त कतिपयले महँगो शुल्क तिरेर असुरक्षित गर्भपतन गराइरहेका टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए ।

उनले भने, ‘गाउँमा कतिपयले जडीबुटी खुवाएर, पैसा नहुनेले तिखो वस्तुले घोचेर पनि गर्भपतन गर्ने गरेको पाइएको छ ।’ उनले आफ्नै एक जना आफन्तमा गर्भपतन गराउन तिखो वस्तु प्रयोग गर्दा गम्भीर समस्या परेको स्मरण गरे । भने, ‘अस्पताल किन नगएको भनेर सोध्दा पैसा थिएन, गर्भ चाहेको थिइनँ भन्ने जवाफ आएको थियो ।’ अनिच्छित गर्भलाई निरन्तरता नदिन धेरैले सूचीकृत नभएका औषधि पसल वा क्लिनिकमा गर्भपतन गराउने गरेको रावल बताउँछन् ।
‘निजी मेडिकलमा गोप्य हुन्छ भन्ने कतिपयको मनसाय पनि हुन्छ,’ उनले भने, ‘कतिपयलाई सरकारी अस्पतालमा निःशुल्क हुन्छ भन्ने कुरा थाहै नपाएर पनि होला ।’ नेपाल–भारत खुला सीमाका कारण कतिपय भारतमा गोप्य हुन्छ भनेर उतै जाने गरेको पनि हुन सक्ने उनको भनाइ छ । रावलले भने, ‘सुरक्षित गर्भपतनका बारेमा अझै गाउँमा सचेतना छैन ।’

सुरक्षित गर्भपतनका मापदण्ड

गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सरकारी स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर सुरक्षित गर्भपतनको सेवा दिँदै आइएको छ । तर थोरैले मात्र सेवा लिने गरेका उनले बताए । नागरिकको मौलिक अधिकारका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्देश्यअनुरूप सरकारबाट सुरक्षित गर्भपतन सेवालाई सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।

गर्भपतन गर्ने महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलांग बच्चा जन्मन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा गर्भपतन गर्न सकिन्छ । १६ वर्ष उमेर पुगेका महिलाले आफू स्वयंको मञ्जुरी र १६ वर्ष नपुगेका अथवा मानसिक अवस्था ठीक नभएका महिलाले नजिकको नातेदारको मञ्जुरीले गर्भपतन सेवा लिन सकिने सुरक्षित गर्भपतन सेवा, कार्यक्रम कार्यविधि निर्देशिका २०७४ मा उल्लेख छ ।

किशोरीलाई तालिम

सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा प्रायः किशोरकिशोरीहरू समस्यामा पर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । विद्यालय तहका किशोरकिशोरी यस्तो उल्झनमा रहने गरेकाले एक गैरसरकारी संस्थाको सहयोगमा जनता राष्ट्रिय मावि बेलुवा र कर्णाली मावि सत्तीमा यससम्बन्धी कक्षा चलाइएको नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी हेमा ज्ञवालीले जानकारी दिइन् । ‘विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कक्षा सञ्चालन भयो । बालिका लक्षित गरी चलाइएको यो कक्षाबाट करिब ७० जना लाभान्वित भएका छन्,’ ज्ञवालीले भनिन् ।

सो कक्षा लिएकी प्रिया श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी पाएको बताउँदै सो कुरा गाउँका अन्यलाई बाँड्न सडक नाटक देखाएको बताइन् । उनले भनिन्, ‘असुरक्षित गर्भपतनका कारण महिला समस्यामा पर्ने भएकाले बालिका क्लब बनाएर सुरक्षित गर्भपतनसम्बन्धी नाटक गाउँमा प्रदर्शन गर्‍यौं ।’

प्रकाशित : माघ २५, २०७६ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×