माघ २५ गतेबाट १३ जिल्लामा हात्तीपाइले विरुद्वको औषधि खुवाइने

काठमाडौँ — सरकारले यही माघ २५ बाट १३ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । सरकारले झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १३ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको हो । 

१३ जिल्लाका १३८ पालिकामा ७४ लाख ६१ हजार जनालाई औषधि खुवाइने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

हात्तीपाईले रोग मानिसलाई शारिरीक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने सरुवा रोग हो । एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले हात्तीपाईले रोग गराउँछ । रोग संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्छ ।


सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष कार्यक्रम औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ । औषधि सेवन कार्यक्रममा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरूद्धको औषधि सेवन गर्नुपर्छ ।


हात्तीपाईले रोग विरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त विरामीहरु (उदाहरणको लागि कुनै कडा रोग लागी औषधि सेवन गरिरहेका जस्तै( क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, छारे रोगीहरू, २४ घण्टा भित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच बर्ष मुनिका बालबालिकाहरु)ले यो औषधि सेवन गर्न नहुने चिकित्सकहरु बताउँछन् ।


औषधि खाली पेटमा खान नहुने चिकित्सकहरुले बताउँछन् । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका व्यक्तिहरुमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने चिकित्शकहरु बताउँछन ।

प्रकाशित : माघ २०, २०७६ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?