कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओखरले बढाउँछ प्रजनन क्षमता

काठमाडौँ — एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ । मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त हुने एकमात्र फल ओखर हो । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आयरन, क्याल्सियम र एन्टिअक्सिडेन्टलगायतका प्रशस्त प्राकृतिक खनिज हुन्छ । 

ओखरले बढाउँछ प्रजनन क्षमता

सेवन गरेको ४ घण्टापछि नै ओखरको फाइदा मिल्छ । ओखर सेवनले शरीरमा कोलेस्ट्रोलको स्तरमा तीव्र गतिले कमी हुन्छ । यसले रगत नलीलाई झन् बढी लचिलो बनाउँछ र शरीरमा रक्तसञ्चार सहज भई मुटुमा बढी दबाब पर्दैन ।


ओखरले शरीरमा थर्मोजेनिक प्रभाव उत्पन्न गर्ने हुँदा मुटुको धमनीमा जमेको बोसो घुलनशील अवस्थामा आएर विस्तारै समाप्त हुन्छ । जसले गर्दा मुटुलाई रक्तसञ्चारका लागि बढी मिहिनेत गर्नु पर्दैन ।

ओखरको सेवनले अस्थमा, अर्थराइटिस, छालाको समस्या, एक्जिमा र सोराइसिसजस्ता रोगबाट समेत बच्न सकिन्छ । ओखरको नियमित सेवनले मस्तिष्क तेज हुन्छ र स्मरणशक्ति बलियो हुन्छ ।


पोषकतत्त्वले भरिपूर्ण प्रोटिनको राम्रो स्रोत रहेको ओखर वर्षभरि नै पाइन्छ । ‘जर्नल अफ न्युट्रिसन’ मा प्रकाशित एक अध्ययनअनुसार एउटा ओखर (२८.३५ग्राम) मा १ सय ४६ क्यालोरी हुन्छ ।


ओखर खानाले मुटु रोग, क्यान्सरलगायत अन्य रोगको जोखिम कम हुने अनुसन्धानहरूले देखाएका छन् । पुरुषको शुक्रकीट बढाउनमा समेत ओखर सेवनले महत्त्वपूर्ण भूमिका खेल्छ । पुरुषको प्रजनन स्वास्थ्य र क्षमतामा ओखरको सेवनले सकारात्मक प्रभाव पार्छ ।


एक अध्ययनअनुसार दिनहुँ ७५ ग्राम ओखर सेवनले २१ देखि ३५ वर्ष उमेर समूहका स्वस्थ पुरुषमा शुक्रकीटको जीवनशक्ति, गतिशीलता र सामान्य आकृतिमा सुधार देखिएको छ ।


यति मात्रै नभई ओखरका अन्य धेरै फाइदा छन् । ओखर सेवनले पाचनक्रियालाई राम्रो बनाउनुका साथै रगतमा कोलेस्ट्रोलको स्तर कम गर्छ र पेटसम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ । ओखरको नियमित सेवनले पेटमा भएका कीराबाट समेत मुक्ति पाइन्छ । ओखर भुटेर खानाले खोकीको समस्यामा समेत राहत पाइने आयुर्वेदमा उल्लेख छ ।


ओखर सेवनले प्यांक्रियाज ग्रन्थीमा हुने क्यान्सरबाट बच्न पनि सहयोग पुग्छ । यसले महिलामा हुने स्तन क्यान्सरको सम्भावनालाई पनि कम गर्छ । रगत जम्नबाट रोक्न र टाइप २ डाइबिटिजबाट बच्न पनि ओखर सेवन लाभदायक हुन्छ ।


घुँडाको दुखाइ कम गर्नसमेत ओखर फायदाजनक मानिन्छ । ओखरको तेल जोर्नीमा लगाउँदा आराम मिल्छ । ओखर सेवनले नियमित निद्रा लाग्ने र शरीरमा मेलाटोनिन हार्मोनको श्रावमा वृद्घि हुने बताइन्छ । मेलाटोनिन निद्रासँंग जोडिएको हार्मोन हो । यसले नर्भस सिस्टमको सन्देशलाई मस्तिष्कमा पठाउन र निद्रासँग जोडिएका सबै गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्छ । मेलाटोनिनको बढी मात्राले राम्रो निद्रा लाग्छ । ओखरको नियमित सेवनले डिमेन्सिया (बिर्सने रोग) र स्मरणशक्ति कमजोर हुने समस्याबाट समेत राहत मिल्छ ।

प्रकाशित : माघ १८, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?