साउना जाँदा के कुरामा ध्यान पुर्‍याउने ? 

काठमाडौँ — साउना गएका एक दम्पतीको हिजो बुधबार निसास्सिएर मृत्यु भयो । ललितपुर–१४ सातदोबाटोको विशालचोकमा रहेको फिट एण्ड फाइन एरोबिक फिटनेस जिम सेन्टरमा साउनामा वाफ लिन गएका दम्पत्ती बेहोस भेटिएका थिए । उनीहरुलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

साउना जाँदा के कुरामा ध्यान पुर्‍याउने ? 

चिकित्सकहरुका अनुसार साउनाले स्वास्थ्यलाई फाइदा गर्छ, तर यसको प्रयोग भने गर्न जान्नुपर्छ ।

स्वासप्रस्वास रोग विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार साउना आफैंमा नराम्रो होइन । वाफका लागि पानी तताउँदा ग्यासको प्रयोग गरिएमा भने त्यो खतरनाक हुन्छ । ढोका थुनेर वाफमा बस्न खोज्दा कार्बोन मोनोअक्साइड ग्यास उत्पादन हुन्छ र त्यो हानिकारक हुन्छ । त्यसले मानिस निस्सासिन सक्छ । साउनामा भएको पानीको वाफले भने हानी गर्दैन ।

ओजस आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक नारायण आचार्यका अनुसार साउना सेन्टरका सञ्चालकले आफ्ना प्रयोगकर्तालाई साउनाका नियमहरु राम्ररी बुझाइदिनुपर्छ । उनी भन्छन्, ‘साउनाको बारेमा प्रयोगकर्ताहरु आफैं त्यति जानकार छैनन् । साउना भित्र रहने चिप्लो एरिया, तातो पानी, कम देखि बढी तापक्रमको बारेमा जानकारी भएको हुनुपर्दछ ।

साउना के हो?

साउना भनेको ड्राइहिटमा पर्छ । ढुंगालाई तताएर ढुंगाको तातोमा बस्ने टेक्निक हो । तर पानी राखिएर आऽता मिलाइएको हुन्छ । थुप्रै किसिमका साउनाहरु प्रयोगमा रहेका छन् । एउटा वुडन (दाउराबाट ताप उत्पन्न गराउने) दाउरा बालेर ढुंगा तताउने हुन्छ । यो अलि पुरानो र शास्त्रीय र सबैभन्दा पुरानो पद्धति हो ।


अर्को चाहिँ बिजुलीबाट ढुंगा तताउने हुन्छ । जसमा ओभन प्रयोग गरिन्छ । साथै कोइला बालेर पनि ताप उत्पन्न गराइन्छ ।


आचार्यका अनुसार ओभनलाई बिजुलीबाट तताउने प्रक्रियामा ढुंगाको मात्रा कम हुन्छ र रड चाहिँ तातिएको हुन्छ । यसमा तातो हावा फाल्ने टेक्निक हुन्छ । हिटरको पावर र रुमको क्यापासिटी मिलेन भने निस्सासिने सम्भावना हुन्छ ।


उनी भन्छन्, ‘प्राय साउनामा भेन्टिलेसनको व्यवस्था गरिएको हुन्छ । साउनामा मृत्यु हुने भनेको साउनाको अनुभव नभएको मानिसहरु हुनसक्छन् । अनुभव पनि नभएको र एकैचोटी बिजुलीबाट चल्ने साउनामा जाँदा तापक्रम हृवात्त एकैचोटी आउँछ । हावा र पानीको तापक्रम एकैचोटी बढ्यो भने व्यक्तिलाई सास फेर्न कठिन हुन्छ ।’


७ देखि ८ फिट भन्दा कमको साउना रुम प्राय बनाइँदैन । तर अहिले ५ फिटका पनि साउना बनाइदिन थालेका छन् । साउनाको मापदण्ड कसले हेर्ने भन्ने नियम नभएको आचार्यको भनाइ छ ।


साउना प्रयोग गर्दा के कुरामा ध्यान पुर्‍याउने?

साउना हजारौँ वर्षदेखि प्रयोग हुँदै आइरहेको छ र अहिले पनि उत्तिकै लोकप्रिय छ । साउनाले रिल्याक्स गराउनुका साथै ताजगीपन महसुस गराउँछ । तर सबैलाई यो उपयुक्त नहुन पनि सक्छ ।


साउनामा एउटा कोठालाई ७० देखि १०० डिग्री सेल्सियसम्म तापक्रममा तताइन्छ । मानिस साउनामा बस्दा उसको धड्कनको गति बढ्छ र रक्त नली पनि चौडा हुन्छ । यसले रक्तसञ्चार बढाउँछ । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ ।


रक्तसञ्चार बढ्नाले मांसपेशीको दुखाइ, हाड जोर्नीको दुखाइमा कमी ल्याउन मद्धत गर्छ । साउनाले तनावबाट मुक्त दिलाउन पनि सहयोग गर्छ ।

  • स्वासप्रस्वाससम्बन्धी समस्या छ वा रुघाखोकी लागेको बेला साउनामा बस्छु भन्नु गलत हो । यस्तो बेला सास फेर्ने नली हल्का साँगुरिएको हुन्छ ।
  • ६ वर्षभन्दा कम उमेरका बालबालिकालाई साउनामा लग्नु हुँदैन । सो भन्दा माथिका बालबालिकालाई साउना लगेमा बढीमा १५ मिनेट राख्नुपर्छ ।
  • गर्भवती महिला तथा वृद्धले पनि साउना लिनु राम्रो होइन । साथै मुटुरोगीहरुले पनि साउना लिनुपर्दा विचार पुर्‍याउनुपर्छ ।
  • साउनाको कोठाको तापक्रम भनेको ८०–९० भन्दा जान मिल्दैन । तर ६०–८० लाई राम्रो मानिन्छ ।
  • साउनामा आफैं पनि अक्सिजन कम हुन्छ । त्यसमाथि अत्यधिक तातो पनि । जसले गर्दा रिंगटा लाग्ने हुन सक्दछ । रिंगटा लाग्न थाल्यो भने सेफ साइडतिर जानुपर्ने हुन्छ । पसिनाहरु बगेको हुनाले साउनामा चिप्लो पनि हुन्छ जसले गर्दा लडेर हेड इन्जुरी हुने सम्भावना बढी हुन्छ ।
  • वाफले गर्दा पसिना निस्किरहने हुनाले बढी डिहाइड्रेट हुन्छ त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।
  • साउना लिने भनेको सामान्तया २० मिनेट सम्म हो । ४५ मिनेट भन्दा बढी बस्नु हुँदैन । नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने ५ देखि १० मिनेट समय उपयुक्त हुन्छ ।
  • साउना जानुभन्दा अघि मद्यपान गर्नुहुँदैन ।
  • साउनामा जाँदा ठिक्कको तापक्रममा बस्नुपर्छ । साथै कम रक्तचाप भएका व्यक्तिले साउना जानुभन्दा चिकित्सकको परामर्श लिनुपर्छ । किनकी यसले रक्तचाप घटाउन सक्छ ।


प्रकाशित : माघ १६, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?