के मास्कले भाइरस छेक्छ ?

एजेन्सी

चीनबाट देखा परेको कोरोना भाइरस अरु देशमा पनि फैलिरहेको छ । हालसम्मको जानकारीअनुसार मृतकको संख्या १ सय नाघिसकेको छ । सुरुमा कोरोना भाइरसको संक्रमणबाट एकअर्कामा नसर्ने बताइए पनि अहिले यो सर्ने कुरा पुष्टि भइसकेको छ ।

के मास्कले भाइरस छेक्छ ?

चिकित्कसहरुले हाछ्युँ गर्दा वा खोक्दा निस्क्ने थुक र र्‍यालको छिटाबाट कोरोना भाइरस संक्रमण हुनसक्ने जानकारी गराएका छन् । कोरोना भाइरसबाट बच्न रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने, त्यसैगरी सरसफाइमा ध्यान दिने, मास्क लाउने भनेर चिकित्सकले सुझाव दिएका छन् ।


मास्कको प्रयोग गर्ने तर कस्तो खालको ? भाइरस मास्कले कत्तिको रोक्न सक्छ त ?


आमरुपमा प्रयोग हुने सर्जिकल मास्क (पेपर मास्क) तथा एननाइनफाइभ मास्कले कत्तिको भाइरस छेक्न सक्छन् त ?

अहिले धेरैजनाले सजिर्कल मास्कको प्रयोग गर्ने गरेको देखिन्छ । यो मास्क प्रदुषण रोक्नलाई बढी लगाइन्छ ।


टोरोन्टो युनिभर्सिटी हेल्थ नेटवर्कका अनुसार सर्जिकल मास्कले थोरैमात्र भाइरसबाट बचाउन सक्छ । यसले मुख तथा अनुहार छोपे पनि केही निश्चित कणहरु भने रोक्न सक्दैन । फ्लु लागेको वा खोकी लागेको छ भने यसको प्रयोग ठीकै हुने चिकित्सकहरु बताउँछन् ।


एन नाइनफाइभ मास्कले काम गर्छ त ?


यो मास्कले भने भाइरसबाट अलि बढी जोगाउन सक्ने चिकित्सकहरुको भनाई छ । किनकी यो मुखमा मज्जाले फिट हुन्छ । यो मास्कको नाम नाइनफाइभ किन राखिएको भन्ने कुरा पनि रोचक छ । यसले ९५ प्रतिशतभन्दा बढी कणहरु जुन ०.३ माइक्रोनस् भन्दा कम हुन्छन् त्यसलाई फिल्टर गर्न सक्छ। तर यो मास्क लगाउन पनि जान्नुपर्छ । र, यो छिटो छिटो परिवर्तन गर्नुपर्छ ।

विज्ञहरुका अनुसार अहिलेको अवस्थामा सबैले यो मास्क लगाइहाल्न पर्ने जरुरी भने छैन । जो मानिस संक्रमित व्यक्तिसँग सिधा सम्पर्कमा छन् उनीहरुलाई यो मास्क जरुरी हुन्छ ।


१८ औँ शताब्दीमा पहिलोपटक सर्जिकल मास्क अस्पतालमा प्रयोग गरिएको थियो । त्यो सर्वसाधारणको प्रयोगमा भने थिएन । तर जब १९१९ मा स्पेनिस फ्लुको महामारी देखियो त्यतिबेला यो मास्कको अत्याधीक प्रयोग भयो ।

सेन्ट युनिभर्सिटी अफ लन्डनका डा. डेविड क्यारिङ्टन भन्छन्, ‘नियमित रुपमा प्रयोग हुने सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याकटेरियाबाट सुरक्षित राख्दैन । किनकी त्यो मास्क लुज हुन्छ र हावा फिल्टर पनि गर्न सक्दैन । तर यसले खोकी र हाच्छयुँ गर्दा केही हदसम्म बचाउँछ । मास्क फुकालेपछि पनि राम्ररी हात धुनुपर्छ । मास्क लगाउँदा मुख र नाक मजाले छोपिनुपर्छ । मास्क लुज भयो भने मास्कले किटाणु तथा अरु कणहरुबाट बचाउँदैन ।'


न्यु साउथ वेल्समा सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार आधा घण्टामा मानिसहरुले २३ चोटी आफ्नो हात अनुहारमा घरीघरी लग्थे । यो बानी राम्रो होइन ।


क्वीन्स युनिभर्सिटीमा कार्यरत डा. कोनर ब्यामफोर्ड मास्कले भन्दा पनि आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिए धेरै लाभदायी हुने बताउँछन् । उनी भन्छन्, ‘हाच्छ्युँ गर्दा मुख छोप्ने, हात धुने र हात नधोइ मुखमा हात नपुर्‍याउने बानी गरियो भने पनि श्वासप्रश्वासबाट फैलिने थुप्रै भाइरसबाट बच्ने सम्भावना रहन्छ ।'


नेशनल हेल्थ सर्भिस लन्डनका अनुसार विभिन्न भाइरसबाट बच्न यी उपचायहरु अपनाउनुपर्छ :

-नियमित रुपमा साबुनपानीले हात धुने

-हातले आफ्नो आँखा र नाक नचलाउने

-स्वस्थ्य जीवनशैली अपनाउने

प्रकाशित : माघ १४, २०७६ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?