कतै तपाईंको ढाड दुखाइको कारक कार्यालयको कुर्सी त होइन ?

बुनु थारु

काठमाडौँ — अहिले 'ह्वाइट कलर जब' अर्थात कार्यालयमा बसेर गरिने काममा व्यस्त हुने प्राय व्यक्तिमा कुनै न कुनै रुपमा ढाड वा शरीरका अन्य भाग दुख्ने समस्या देखिने गरेको छ । यसको प्रमुख कारक कार्यालयमा प्रयाेग गरिएका कुर्सी, टेबुल र दिनभर घोरिएर हेर्ने कम्प्यूटर रहेको चिकित्सकहरु बताउँछन् । यस प्रकारको समस्याबाट कसरी मुक्ति पाउने त ? यहाँ त्यही बारे चर्चा गरिएको छ ।

कतै तपाईंको ढाड दुखाइको कारक कार्यालयको कुर्सी त होइन ?

बैंकमा क्यासियरका रुपमा काम गर्ने एक २६ वर्षीया महिलामा अचानक ढाड दुख्ने समस्या देखिन थाल्यो । दैनिक ७–८ घण्टा काम गर्नुपर्ने उनलाई खाजा खाने समयमा मात्रै मुश्किलले २५ मिनेट ब्रेक मिल्थ्यो ।

सहकर्मीलाई समस्या सुनाउँदा उनीहरुले पेनकिलर खान सुझाए । पेनकिलरले केहीसमय त राहत दियो तर फेरि उस्तै । त्यसपछि उनले कम्मर बेल्ट बाँध्न थालिन् । त्यो लगाउँदा दुखाइ कम त हुन्थ्यो तर निको भने भएन ।

अन्ततः ३ महिनापछि उनले अर्थोपेडिक चिकित्सकलाई देखाइन् । डाक्टरले घन्टौंसम्म एकैठाउँमा बसेका कारण बडी पोस्चर बिग्रिएर ढाड दुखेको बताए । नियमित थेरापी र बडी पोस्चरमा ख्याल गरेका कारण अहिले उनी स्वस्थ्य छिन् ।

...

समाचार सम्पादनको काम गर्ने ३० वर्षीय एक मिडियाकर्मीलाई पनि कहिलेकाहीॅ ढाड दुखिरहन्थ्यो । उनी त्यति ख्याल गर्दैनथे । दुखाइ सहेर काम गरिरहन्थे । एकदिन त ढाड दुखाइ बढेर बेडबाट उठ्नै नसक्ने भए । जचाउँदा डिस्क प्रोल्याप्स (मेरुदण्डको हड्डी खुस्किएको) भएको पाइयो । जसले कम्मर नै बाङ्गो बनाइदिएको थियो ।

बडी पोस्चरका कारण देखिएको समस्या समयमा पहिचान नगर्दा मेरुदण्डमै असर गर्‍यो । १ महिना त बेड रेस्ट नै गर्नपर्‍यो । उनले करिब डेढ वर्ष औषधि र फिजियोथेरापी गराए अहिले भने ठिक छन् र समाचार सम्पादन मै व्यस्त छन् ।

...

नाम चलेको बैँकमा म्यानेजरको रुपमा कार्यरत एक बैंकरलाई कुर्सीमा बस्ने बित्तिकै ढाड दुख्न थाल्यो । उनी हतारिँदै चिकित्सक कहाँ गए । चिकित्सकले उनको पेसा र काम गर्ने ठाउँको बारेमा बुझे । बुझ्दै जाँदा उनको कुर्सी उपयुक्त नभएको देखियो ।

त्यसमाथि उनले काम गर्ने टेबलमा चाहिने सामानहरु पनि मिलाएर राखिएको देखिएन । त्यसपछि चिकित्सक तथा फिजियोथेरापिस्टको सल्लाह अनुसार उनले आफू बस्ने कुर्सी पनि परिवर्तन गरे काम गर्ने रुमको सेटअप पनि चेन्ज गर्न लगाए ।

साथै अफिसका स्टाफहरुलाई पनि फिजियोथेरापिस्ट बोलाएर बडी पोस्चरको बारेमा जानकारी गराए । धेरै कर्मचारीहरुलाई पनि त्यस्तै समस्या भएको रहेछ । उक्त अभिमुखीकरणले सबैलाई फाइदा पुग्यो ।

...

यी त भए प्रतिनिधि पात्र । हामी कतिले बस्दा, उठ्दा, सुत्दा या हाम्रो दैनिकीमा के बडी पोस्चरको बारेमा ख्याल गर्छौं ? घण्टौंसम्म काममा व्यस्त रहँदा के आफ्नो शरीरको ख्याल राख्छौं त ? बडी पोस्चर नमिलेका कारण शरिरका विभिन्न भाग खास गरेर मेरुदण्डमा समस्या भएर अस्पताल पुग्ने बिरामीहरु बढेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकका अनुसार यस्ता समस्या जुनसुकै उमेरकालाई पनि हुनसक्छ र समयमै ख्याल गरिएन भने जिन्दगीभर दुःख हुने खालकै जोखिमहरु आउन सक्छन् ।


बडी पोस्चर भनेको के हो ?

पोस्चर भनेको शरीरको आसन हो । नर्भिक अस्पतालका कन्सलटेन्ट अर्थोपेडिक एन्ड स्पाइन सर्जन डा. विप्लव सापकोटाका अनुसार मान्छेको बडी पोस्चर अनुसार तौलको भार फरक पर्छ । जस्तै मान्छेले सिधा जेरो डिग्रीमा हेरेको छ भने टाउकोमा ५ किलोको भार पर्छ जति झुक्यो त्यही अनुसार भार बढ्दै जान्छ । झुकाव अनुसार स्पाइनलाई भार बढी पर्ने हुनाले निहुरेर धेरै बेर काम गर्न नहुने उनको सुझाव छ ।

अर्थोप्लास्ट रिह्याब सेन्टरका विशेषज्ञ फिजियोथेरापिस्ट समिद कतिला श्रेष्ठले अहिले बडी पोस्चर नमिलेका कारण ढाड दुख्ने, कुम दुख्ने आदि समस्याका बिरामीहरु बढेको बताउँछन् । उनी भन्छन्, ‘उठ्ने, बस्ने, सुत्ने सबै बडी पोस्चर हुन् । जो मान्छे लामो समयसम्म आसन परिवर्तन नगरी एकै ठाउँमा बसेर काम गर्छन् उनीहरुलाई यो समस्या हुन्छ ।

चिकित्सकहरुका अनुसार २५ देखि ४५ वर्षसम्मका मानिसहरु यस्ता समस्या लिएर आउने गर्दछन् । धेरैजसो बैंक, मिडिया र कर्पोरेट अफिसमा काम गर्ने मानिसहरु रहेका छन् । अफिस वर्क अर्थात कुर्सीमा बढी बसेर काम गर्ने मानिसमा यो समस्या रहेको बताइए पनि जो मानिस आसन परिवर्तन नगरिकन काम गर्छन् उनीहरु सबैलाई यो देखा पर्न सक्छ ।

फिजियोथेरापिस्ट समिद भन्छन्, ‘बसेर मात्र होइन उठेर काम गर्ने मानिसलाई पनि यस्तो समस्या देखिन्छ । उनका अनुसार बसेर काम गर्नुपर्ने मान्छेमा ढाडको दुखाइ, कुमको दुखाइ, पाखुराको दुखाइ, घाँटीको दुखाइको समस्या हुन सक्छ । त्यसैगरी घण्टौंसम्म उभिएर काम गर्नेलाई घुँडा दुख्ने हुन सक्छ ।

आफ्नो आसनकै कारण यस्ता समस्या देखिएमा आत्तिहाल्नु भने पर्दैन । चिकित्सकहरुका अनुसार बेलैमा जाँच गराएर रोकथामका लागे यसले धेरै समस्या दिँदैन । ‘सुरुमै ढाड दुख्दा हड्डी खिईयो होला भनेर आत्तिँदै आउँछन् । तर औषधि र थेरापीले यो निको हुन्छ । ख्याल भने गर्नुपर्छ,’ डा. सापकोटाले भने ।

खाटमा बसेर पढ्ने, निहुरेर धेरै बेर काम गर्ने, धेरै बेर कम्प्युटर तथा मोबाइल चलाउने मानिसमा यो समस्या देखिएको छ ।


ध्यान दिइएन भने के हुन्छ ?

पूर्णरुपमा पोस्चरकै कारण ढाड दुखाइ महसुस भएको छ भने एमआरआई र एक्सरे रिपोर्टले देखाउँदैन । ढाड, कुम, घाँटी दुख्ने भइराख्यो भने जचाइ हाल्नुपर्ने चिकित्सकहरु सुझाउँछन् ।

उनीहरुको अनुसार बडी पोस्चरकै कारण समस्या भएको हो भने चिकित्सकले दिएको सल्लाह बमोजिम नै पोस्चर मेन्टन गर्नुपर्छ । होइन भने, केही महिनामा जुत्ताको लेससम्म पनि बान्न नसक्ने अवस्था आउन सक्छ । अलिकति भारी उठाउने बित्तिकै गाह्रो हुन थाल्छ र त्यो दुखाइ बिस्तारै ढाडबाट सर्दै पिडौँला अनि नितम्बतिर फैलिन सक्छ ।

चिकित्सकहरुका अनुसार समयमा पोस्चर पेनको ख्याल गरिएन भने कालान्तरमा यसले ढाडको नसा च्यापिने, हड्डी खिइन सक्छ, मेरुदण्डको हड्डी खुस्किने हुनसक्छ । सुरुमा यसको पहिचान गरे औषधि र थेरापीले निको हुनसक्छ नत्रभने शल्यक्रिया गर्नुको विकल्प रहन्न ।

समस्या देखियो भन्दैमा जथाभावी चिकित्सकको सल्लाह बिना नै एमआरआई तथा अन्य जाँच गर्नुहुँदैन । चिकित्सकहरुका अनुसार मेरुदण्डको बनोट सबैमा फरक हुन्छ । नसा च्यापिन थालेको देखाउन सक्छ । कुरकुरे हड्डी खिइएको देखाउन सक्छ जसले गर्दा मानिस आत्तिन सक्छन् ।

कामको प्रकृति मात्र होइन कामको अवधि अनि भारले पनि बडी पोस्चरलाई असर गर्ने हुन्छ । भारी सामान बोकेर काम गर्ने भरियाजस्तै मानिसहरुलाई भने पोस्चरल भन्दा स्ट्रकचरल पेन हुने सम्भावना हुन्छ । घरमा काम गर्ने गृहिणीलाई पनि यस्तो समस्या देखिन सक्छ ।

‘वर्क स्टेसन’ कस्तो हुनुपर्छ ?

फिजियोथेरापिस्ट समिदका अनुसार एरगोनोमिक्स (वर्क स्टेशनको व्यवस्थित डिजाइन)का बारेमा धेरै अफिस तथा कम्पनीले ध्यान दिएका छैनन् ।

कम्प्युटरको हाइट कति हुनुपर्छ ? आँखाबाट कति दुरीमा कम्प्युटर हुनुपर्छ ? किबोर्ड कति हाइटमा हुनुपर्छ ? त्यसले पनि बडी पोस्चरमा फरक पर्ने उनको भनाइ छ ।

‘अफिसमा डेस्कटप कम्प्युटर नै राम्रो हुन्छ । ल्पापटप फ्लयाट हुने भएकाले कुममा दुखाइ हुनसक्छ । ओभरलोड हुने बित्तिकै दुख्ने हो,’ उनले भने, ‘त्यसैले एकछिन भएपनि हात खुट्टा तन्‍काउने गरिरहनुपर्छ । जिउ तन्‍काउने, हात खुट्टा तन्‍काउने गर्नुपर्छ ।’

बाहिर विदेशतिर धेरै कम्पनी तथा अफिसले कुर्सीसँगै जिम बल पनि राखेका हुन्छन् । कर्मचारीहरु केही समय कुर्सीमा बसेर काम गर्छन् त केही समय जिम बलमा बसेर काम गर्छन् । जिम बलमा बस्नाले बडी पोस्चर सन्तुलित राख्न कर लगाउँछ ।

‘जुन अफिसमा टेबल वर्क बढी हुन्छ त्यहाँ स्ट्यान्डिङ टेबल राख्दा राम्रो हुन्छ । यसले मांसपेशीलाई राहत दिन्छ । दुख्ने भनेको काम गराइमा पनि फरक पर्छ,’ उनले भने, ‘अफिसको वर्कप्लेस परिवर्तन गर्न नसकेपनि मोडिफाई गर्न सकिन्छ । कर्मचारीहरु स्वस्थ्य भए पो कम्पनीलाई पनि लाभ हुन्छ ।’

टेबलमा कुन सामान चाहिन्छ नजिक राख्नुपर्छ । जस्तै की धेरै टाढा राखिएको टेलिफोन हतारिँदै उठाउन जाँदा शरीरमा असर परिरहेको हुन्छ ।

‘कम्पनी तथा अफिसले फर्निचर रिप्लेस नै गर्न नसके पनि कुर्सीको तलतिर काठको टुक्रा हालेर, कुसन राखेर, इँट्टा हालेर सहज बनाइदिन सकिन्छ,’ उनले जोड दिँदै भने ।


कस्तो कुर्सी राम्रो ?

धेरैलाई आफू बस्ने कुर्सी तथा फर्निचर कस्तो प्रयोग गर्दैर्छौँ भनेर त्यति ख्याल हुँदैन ।

कुर्सी एकदमै कडा अनि एकदमै नरम पनि हुँदैन । बस्ने कुर्सीमा पैताला भुइँमा छुनुपर्‍यो जसले गर्दा ढाडलाई सपोर्ट होस् । धेरै अग्लो भयो भने खुट्टा झुण्डिन्छ त्यो पनि राम्रो होइन धेरै होचो पनि खुट्टा खुम्चिने भएकाले त्यो पनि राम्रो होइन । कुर्सी अग्लो छ भने पिर्का वा इँट्टा राखेर भएपनि खुट्टा भने भुइँ छुनुपर्‍यो ।

कुर्सीमा ब्याक सपोर्टको लागि कुसन प्रयोग गरियो भने राम्रो हुन्छ । बजारमा सहज रुपमा सिट कुसन किन्न पाइन्छ । सपोर्ट नलिइकन बस्दा खेरि ढाडको मासुमा जोड बढी हुन पुग्दछ । कुर्सी प्रयोग गर्दा जहिल्यै आफूलाई सहज भएको छ/छैन भनेर ख्याल गर्नुपर्छ ।

धेरैलाई घुम्ने कुर्सीमा बस्नु आरामदायी र राम्रो हुन्छ भन्ने लाग्छ । फिजियोथेरापिस्ट समिद भन्छन्, ‘घुम्ने कुर्सी फेन्सी देखिएपनि बडी पोस्चरको लागि राम्रो होइन ।’ उनका अनुसार घुम्ने कुर्सीको तल बेस स्टेबल हुँदैन । कुर्सी मुभ हुँदा शरीर पनि मुभ हुन्छ त्यसैले शरीरले नै कुर्सीलाई नियन्त्रण गर्नुपर्छ जसले गर्दा बडी पोस्चर बिग्रिन सक्छ ।

महंगो तथा स्टाइलिस कुर्सी राम्रो हो भन्ने भ्रम तोड्न चिकित्सकहरु आग्रह गर्छन् । उनीहरुका अनुसार कुर्सीले बडी पोस्चरमा प्रभाव त पार्छ, तर आफैंले पनि पोस्चरमा ध्यान दिनुपर्छ ।


के गर्ने, कसरी सावधानी अपनाउने ?

शरीरको आसनको बारेमा नेपालीहरुमा एकदमै थोरै ज्ञान छ । जसले यस समस्याबाट गुज्रेका छन् उनीहरु मात्र यसमा ख्याल गर्ने गरेको देखिन्छ नत्रभने धेरैले वास्ता गरेको पाइँदैन ।

आफ्नो पोस्चर राम्ररी मेन्टन गर्नको लागि आजैदेखि बानी बसाल्नुपर्छ । समिद भन्छन्, आधा घण्टादेखि ४५ मिनेटमा आफ्नो आसन परिवर्तन गर्नुपर्छ, अनि ५ मिनेट रेस्ट गरेर काम थाल्नुपर्छ ।’

आसन परिवतन शरीर एकछिन भएपनि रिल्याक्स हुन्छ जसले गर्दा पोस्चरल पेन हुँदैन ।

यसका लागि कसरी बानी बसाउने भन्दा सुरुमा त अलार्म नै लगाउनुपर्ने हुन्छ । आधा घण्टादेखि ४५ मिनेटमा अलार्म हाल्ने । ध्यान दिएर काम गर्दा उठ्नुपर्छ भन्ने याद हुँदैन । यसरी गर्यो भने पोस्चर पेन धेरै कम हुन्छ ।

डा. सापकोटा भन्छन्, ‘धेरैबेर एउटै आसनमा भइरहँदा मासु थाक्छ त्यसपछि दुखाइ हुन्छ । मासु थाकेपछि हड्डी तथा जोर्नीमा बढी जोड हुनेभयो अनि दुखाइ झन् हुन्छ ।’

बडी पोस्चरको बारेमा सानैदेखि बच्चालाई सिकाए उपयोगी हुनसक्छ । त्यसैगरी क्यालसियम तथा भिटामिन खाँदा हड्डीहरु बलियो बनाउन मद्धत गर्छ । अभिभावकहरुले पनि बच्चाहरुलाई मोबाइल धेरै दिनुहुँदैन, खेलकुद तथा व्यायाम सिकाउनुपर्छ । घण्टौं मोबाइलमा बालबालिका झुण्डिँदा बडी पोस्चर बिग्रिँदै गएको त छ नै आँखामा पनि समस्या आउन सक्छ ।

त्यसैगरी जनचेतनामुलक बडी पोस्चर मेन्टन गर्ने अभियान पनि चलाइनुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

  • हरेक आधा घण्टा वा ४५ मिनेटको अवधिमा आसन परिवर्तन गर्नुपर्छ । काम गर्दा एकछिन भएपनि ५ मिनेट हिँड्नुस् अनि फेरि काम गर्नुस् ।
  • मोबाइल चलाउँदा धेरै बेर घाँटी निहुराएर हेर्नु हुँदैन । त्यसले घाँटी अनि ढाड दुख्ने हुन्छ । १५ मिनेटभन्दा बढी मोबाइल नचलाउने ।
  • मोबाइल चलाउँदा जहिल्यै पनि टेबलमा राखेर चलाउने । सोफामा बसेर चलाउँदा हातको मुनी सानो तकिया तथा कुसन राखेर चलाउनुस् । मोबाइलमा फिल्म हेर्दा पनि हातले समातेर होइन कतै राखेर अड्याएर हेर्नुस् । मोबाइल सुतेर साइडमा घाँटी बाँगो गरेर नचलाउनुस् ।
  • कामको धेरै तनाव लिनुहुँदैन । तनावले पनि बडी पोस्चर मेन्टन गर्नेमा ध्यान जाँदैन ।
  • तौल सन्तुलित हुनुपर्छ । धेरै तौलले बडी पोस्चरमा पनि प्रभाव पर्छ ।
  • उत्तानो परेर सुत्दा घुँडामुनि सानो सिरानी राखेर सुत्यो भने ढाडलाई राम्रो हुन्छ । साइड परेर सुत्दाखेरि एउटा सिरानीलाई छातीको मुनि र एउटा सिरानीलाई खुट्टाको बिचमा राखेर सुत्यो भने आरामदायी हुन सक्छ ।
  • टुल र मुढामा धेरै बेर बस्न हुँदैन ।
  • दिनको १५ मिनेट जति व्यायाम गरियो भने पनि मासंपेशी तथा हड्डी बलियो हुन्छन् ।


प्रकाशित : माघ १०, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?