उफ् चाया ! घरेलु उपचारले नै पाउन सकिन्छ छुटकारा

अतुल मिश्र

अन्य मौसमको तुलनामा जाडोमा चायाले धेरै मानिसलाई दुःख दिने गर्छ । यसको समस्या भएका मानिस घरबाहिर निस्कनुअघि कालो रङको कोट वा लुगा लगाउन हच्किन्छन् ।

उफ् चाया ! घरेलु उपचारले नै पाउन सकिन्छ छुटकारा

अंग्रेजीमा ‘डेन्ड्रफ’ भनिने यो समस्यालाई चिकित्सकले सामान्य भने पनि यसले प्रभावित व्यक्तिलाई दिने दुःखको सूची भने लामै बन्छ । छाला रोग विशेषज्ञका अनुसार धेरैजसो चाया हानिरहित हुन्छन् । उनीहरूका अनुसार यो स्वास्थ्य नभई सौन्दर्यसम्बन्धी सामान्य हो । यसलाई कपाल खुइलिने प्रत्यक्ष कारणसमेत मानिँदैन ।


यो अवस्था संक्रामक र गम्भीर नभए पनि यसले प्रभावित व्यक्तिलाई निकै दुःख दिनुका साथै उपचार गर्न समेत कठिन हुन्छ । चाया गर्मीको दाँजोमा जाडो याममा बढी मात्रामा देखिन्छ । सामान्य भाषामा भन्ने हो भने मस्तकको छालाको सबैभन्दा माथिल्लो पातलो ‘पत्र’ निष्क्रिय भएर पाप्राजस्तै निस्किने प्रक्रियालाई नै चाया आएको भन्ने गरिन्छ ।

हाम्रो छालाले निरन्तर नयाँ छालाको कोष निर्माण गरेर पुरानो कोषलाई छोपेर स्वस्थ राखिरहेको हुन्छ । नयाँ छाला निर्माण हुने यो चक्र छिटोछिटो हुन थालेपछि चायाको समस्या देखिन्छ । चाया निस्किँदा छाला कन्याउने गरेको खण्डमा कहिलेकाहीँ रातोसमेत हुने गरेको छ ।


‘चायाको समस्या जोसुकैलाई जुनसुकै उमेरमा पनि हुन सक्छ तर बालबालिकामा खासै हुँदैन,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘अधिकांश व्यक्तिमा देखिने यो समस्याले स्वास्थ्यलाई भने हानि पुर्‍याउँदैन, सौन्दर्यसम्बन्धी समस्याजस्तै देखिने गर्छ ।’


कर्णका अनुसार करिब पचास प्रतिशतजति व्यक्तिलाई जीवनको कुनै कालखण्डमा चायाको समस्या रहने गरेको देखिएको छ । महिलाको दाँजोमा पुरुषलाई चायाको समस्या बढी देखिने गरेको छ । अनुसन्धानकर्ताका अनुसार यसो हुनुमा पुरुष हार्मोन मुख्य कारक हो ।


युवा अवस्थादेखि मध्य उमेरकामा चायाको समस्या बढी देखिने गरेको भए पनि यो कुनै पनि उमेरमा देखिन सक्छ । चाया सरसफाइको कमीले गर्दा देखिने समस्या भने होइन तर यदि तपाईं नियमित रूपमा कपाल धुनुहुन्न भने यो समस्या देखिन सक्छ । यस्तै तनाव र जाडो यामले यो समस्या झन् बढाउन सक्छ । यो जीवन जोखिममा पार्ने वा सरुवा रोग नभए पनि हामीलाई चिलाउने आदि समस्याले गर्दा अप्ठ्यारामा पार्न सक्छ ।


चायाका प्रकार

सामान्य ठानिने चाया विभिन्न कारणले गर्दा हुने भएकाले यो फरक–फरक प्रकारको हुन्छ । चाया सुक्खा छाला, तेल, फंगस, रोग आदि विभिन्न कारणले हुने गरेको डा. कर्ण बताउँछन् ।


धेरैजसो व्यक्तिलाई सुक्खा छाला भएका कारणले चायाको समस्या देखिन्छ । यो जाडो याममा झन् बढ्छ । यति मात्र नभई मस्तकबाट निस्किने तेल (सिवम) समेत चायाको कारण हुन सक्छ । यसले छालाको मृत कोशिका र फोहोरसँग मिलेर चिलाउने पत्रको निर्माण गर्न सक्छ ।


यस्तै मस्तकमा भएको अत्यन्त सानो फंगस (यिस्ट) को अत्यधिक वृद्घिसँग ‘चाया’ को सम्बन्ध रहेको भनिन्छ । यो फंगस धेरैजसो व्यक्तिको मस्तकमा बिनाकुनै समस्या उत्पन्न गर्ने गरी सधैंभरि रहिरहन्छ तर कहिलेकाहीं यो अत्यधिक मात्रामा वृद्घि भएर छालालाई खिज्याउने गर्दा चाया उत्पन्न हुन्छ तर अझैसम्म यो फंगसको अत्यधिक वृद्घि हुने यकिन कारण थाहा भएको छैन ।


रोगसँग सम्बन्धित कारणसमेत चायाका लागि जिम्मेवार हुन सक्छ । एक्जिमा, सोराइसिस आदि समेत चायाको कारण हुन सक्छ ।


किन हुन्छ ?

अत्यधिक मात्रामा चाया हुने यकिन कारण अझैसम्म थाहा छैन तर रुखो छाला, फंगसप्रति संवेदनशीलता, सेबोरिक डर्मेटाइटिस, फोहोर टाउको, मानसिक तनाव, छालासम्बन्धी रोग, खानपान, लामो समय औषधि वा स्टेराइड सेवन, एचआईभी एड्स आदि रहेको डा. कर्ण बताउँछन् ।

छाला रुखो, सुक्खा हुनु समेत चाया हुने एउटा प्रमुख कारण हो । रुखो छाला भएकाहरूमा मस्तकको रुखो र मृत छाला पाप्रो बनेर चायाका रूपमा देखिन्छ । जाडो याममा छाला सुक्खा हुनुमा फंगसप्रति संवेदनशीलतासमेत हुन सक्छ । कान, अनुहार, टाउकाको छाला पहेंलो पात्रोयुक्त बन्ने स्थिति सेबोरिक डर्मेटाइटिस हो । यो समस्याले समेत चाया हुने गर्छ ।


टाउको सफा नराख्दा समेत चाया हुन्छ । टाउको सफा नराख्दा त्यहाँ फोहोर र मृत कोशिका थुप्रिन्छन् । यसले गर्दा टाउकामा चाया बढी मात्रामा देखिन थाल्छ । टाउकामा चाया हुनु शारीरिक मात्र नभएर मानसिक समस्याले समेत हुन सक्छ । मानसिक तनावले चाया बढी मात्रामा देखिन्छ । छालासम्बन्धी रोग एक्जिमा, सोराइसिस आदिले समेत चायाको समस्या बढाउँछ ।

हामीले खाने आहारसमेत चाया हुने एउटा कारण हो । हाल फास्ट फुडलगायतका स्वास्थ्यलाई हानि पुर्‍याउने खाद्य पदार्थको बढ्दो सेवनसमेत चायाका लागि जिम्मेवार मान्ने गरिन्छ । स्वस्थकर खानपान, ताजा सागसब्जी, फलफूल, पर्याप्त पानी आदिको सेवन नहुँदा चायाको समस्यामा वृद्घि हुने गरेको देखिएको छ ।


लामो समयसम्म वा बढी मात्रामा औषधि र स्टेराइडको सेवनले चायालगायत समस्या उत्पन्न गर्न सक्छ । क्यान्सरको उपचार केमोथेरापी गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, एचआईभी/एड्स प्रभावितलगायत समेत चायाको समस्याबाट बढी पीडित हुने देखिएको छ ।


उपचार

यदि तपाईंलाई जाडो याममा सामान्य रूपमा चाया अलि बढी देखिन्छ भने यसको सबैभन्दा राम्रो उपचार कपाललाई नियमित रूपमा सफा गर्नु हो । सातामा दुई–तीन पटक कम रसायन भएको स्याम्पु, साबुन, रिठ्ठा वा सफा पानीले नै कपाल धुने गर्दा टाउकामा चाया पर्ने समस्या कम हुन्छ ।


सुक्खा छालाका कारण हुने चायामा नुहाउनुभन्दा अघि र पछि नरिवलको तेल लगाउनु धेरै फाइदाजनक देखिएको डा. कर्ण बताउँछन् । यसले पनि समस्या समाधान नभए बजारमा पाइने एन्टी डैन्ड्रफ स्याम्पुले नियमित रूपमा कपाल धुँदा समेत चायाको समस्या धेरै हदसम्म हराउँछ । विश्वासिलो कम्पनीको चायाविरुद्घ उपयोग गरिने स्याम्पु फाइदाजनक हुन सक्छ ।

यस्ता स्याम्पुमा जिंक पाइरिथियोन, केटो कोनाजोल, सलिसिक्लिक एसिड, सेलेनियम सल्फाइड, कोलटारमध्ये एउटा अवयव (इनग्रिडियेन्ट) हुनुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘स्याम्पुमा लगाउने विधि, मात्रा, पटक आदि बारे लेखिएको जानकारी पढेर त्यसैअनुसार लगाउनुपर्छ ।’


तर यस्ता स्याम्पु लगाउँदा हामीले कपालमा फिँज आउनासाथै तुरुन्त पखाल्ने गरेका छौं । यो पूर्णतः अवैज्ञानिक तरिका हो । यसले गर्दा चायाविरुद्घको गुण भएको यस्ता स्याम्पुले राम्ररी काम नगर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘कपालमा चायाविरुद्घको स्याम्पु लगाएर पाँचदेखि सात मिनेटसम्म त्यसै छोडेर त्यसपछि मात्र पखाल्नुपर्छ । यसो गरे मात्र स्याम्पुमा भएको चायाविरुद्घको अवयवले काम गर्छ ।’


उनका अनुसार हरेक व्यक्तिको कपालको प्रकृति फरक फरक हुन्छ, यसैले बजारमा पाइने जुनसुकै स्याम्पु उपयोग गर्नबाट बच्नुपर्छ । चायाविरुद्घको स्याम्पु नियमित रूपमा चार–पाँच सातासम्म लगाउँदा पनि समस्या समाधान नभए वा बढ्दै गए छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

‘छाला रोग विशेषज्ञले तपाईंको समग्र स्वास्थ्य स्थितिसँगै मस्तकको छालाको अवस्था परीक्षण गरेर चाया हुने कारण खोज्नेछन्,’ डा. कर्ण भन्छन्, ‘साथीभाइसँग सोधखोज, उस्ता उस्तै समस्या आदिका आधारमा आफैंले आफ्नो उपचार गर्नु हुन्न किनभने तपाईंको समस्याका लागि कुनै औषधि उपचार प्रक्रिया सही हुन्छ भन्नेबारे तपाईं यकिन गर्न सक्नुहुन्न ।’


फरक–फरक स्याम्पु

मायो क्लिनिकको तथ्यपत्रअनुसार चाया हटाउने दाबी गरिएको स्याम्पुलाई त्यसमा भएका औषधिका आधारमा वर्गीकरण गरिएको हुन्छ । यस्ता स्याम्पुलाई सुरुमा सातामा एकदेखि तीन पटकसम्म आवश्यकताअनुसार लगाउनुपर्छ । यसपछि बिस्तारै कम गर्दै सातामा एक पटक वा बचाउ र सम्भारका लागि धेरै कम लगाउनुपर्छ ।

औषधियुक्त स्याम्पुलाई नियमित रूपमा धेरै सातासम्म लगाउँदा समेत चाया कायमै रहँदा छाला रोग विशेषज्ञसँग जँचाउनुपर्छ ।

पाइरिथियोन जिंक स्याम्पु– यो स्याम्पुमा जीवाणुको वृद्घि रोक्ने पदार्थ (एन्टी ब्याक्टेरियल) र च्याउको वृद्घि रोक्ने पदार्थ (एन्टी फंगल) जिंक पाइरिथियोन हुन्छ ।


टार आधारित स्याम्पु (न्युट्रोगेन टी)– कोल टारले मस्तकमा भएको छालाको कोषको मृत्यु हुने र यो उप्किने गति मत्थर पार्छ । हल्का रङ भएको कपालका लागि यो स्याम्पुले कपालको रंगलाई झन् हलुका गर्न सक्छ । यसले मस्तकलाई सूर्यको प्रकाशप्रति झन् बढी संवेदनशील बनाउन सक्छ ।

सैलिसिलिक एसिड भएको स्याम्पु– यसले पाप्रा हटाउन सघाउँछ ।

सेलेनियम सल्फाइड स्याम्पु– यो स्याम्पुमा च्याउप्रतिरोधी (एन्टी फंगल) अवयव हुन्छ । यो उत्पादनलाई कपालमा लगाएर राम्ररी धुनुपर्छ किनभने यसले कपाल र मस्तकको रङ बिगार्न सक्छ ।


केटोकोनाजोल स्याम्पु– यो स्याम्पुले मस्तकमा रहने चाया उत्पन्न गर्ने ढुसीलाइ मार्छ ।

नियमित धुँदा कपाल झर्छ ?

चाया भएका धेरैजसो व्यक्तिले नियमित रूपमा धुन लाग्दा आफ्नो कपाल झर्ने गुनासो गर्छन् । तर यो सही नरहेको औंल्याउँदै डा. कर्ण भन्छन्, ‘विश्वमा ५५ देखि ७० प्रतिशत महिला/पुरुष चाया भए वा नभए पनि कपाल पातलो हुने, कपाल दुईमुखे हुनेजस्ता समस्यासँग जुधिरहेका हुन्छन् ।’

चाया र कपाल झर्नुको प्रत्यक्ष सम्बन्ध छैन । चाया टाउको छालामाथि आएको ‘पत्र’ हो । कपाल पातलो हुँदै जानु छालामा भएको कपाल निस्किने प्वाल (रोम छिद्र) को एउटा अवस्था हो ।

यस्ता व्यक्ति हरेक पटक टाउको धुँदा कपाल झरिरहेको देख्दा टाउको सफा गर्ने प्रक्रियालाई नै कपाल कम हुने कारण मान्न थाल्छन् । यसले गर्दा यस्ता व्यक्ति नियमित रूपमा निरन्तर कपाल धुन हच्किने गरेका छन् ।


‘धेरै ढिलो गरेर किन नधुनोस्, तपाईको कपाल झर्छ नै, केही कपाल बाहिर निस्किन नै पर्खिरहेको हुन्छ,’ डा. कर्ण भन्छन्, ‘तर नियमित रूपमा नधुँदा फोहोरले तपाईँको टाउको चिलाउनेलगायत समस्याले गर्दा झन् बढी कपाल झर्ने गर्छ ।’


यदि तपाईंलाई चाया छ भने तपाईंको कपाल झर्ने वा नझर्ने भए पनि कपाल राम्ररी धुने गरे यो समस्याबाट मुक्ति मिल्छ ।

प्रकाशित : पुस १९, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?