बेलायती स्वास्थ्य क्षेत्रमा जम्दै नेपाली

नवीन पोखरेल

(लन्डन) — बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने नेपाली जनशक्ति बढिरहेको छ । आकर्षक तलब, जागिर सुरक्षा र प्रतिष्ठित भएकाले यसतर्फ नेपालीको आकर्षण बढेको हो । 

बेलायती स्वास्थ्य क्षेत्रमा जम्दै नेपाली

एनएचएसले गत सेप्टेम्बर २०१९ मा प्रकाशित गरेको तथ्यांकअनुसार मार्चसम्म इंग्ल्यान्डमा एनएचएस जागिरे नेपालीको संख्या १ हजार ७ सय ६० छ । यसमा ब्रिटिस पासपोर्ट लिई काम गर्नेको संख्या भने उल्लेख गरिएको छैन । एनएचएसमा काम गर्ने नेपालीमूलका बेलायतीको संख्या झन् बढी छ ।


एनएचएसमा करिब डेढ दशकको अनुभव सँगालेका लन्डनस्थित क्विन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी सन् २००९ देखि तह ८ का कर्मचारी हुन् ।

‘मेरो अनुभवमा नेपालीको संख्या हरेक वर्ष बढ्दै छ । एनएचएसमा प्राविधिकतर्फ नर्स, चिकित्सकको संख्या नै हजारौं छ,’ कैनी भन्छन् ।


नेप्लिज डक्टर्स एसोसिएसन यूकेका महासचिव एवं कन्सल्टेन्ट डा. कमल अर्यालका भनाइमा जनरल मेडिकल काउन्सिल (जीएमसी) मा दर्ता भएका नेपाली चिकित्सकहरूको संख्या सन् २०१६ सम्म ३ सय ३० थियो । त्यसमध्ये ट्रेनिङ ग्रेड ८६, जीपीमा ३१, स्पेसलिस्ट २९ र स्टाफ, ट्रस्ट ग्रेड ८४ जना थिए । अहिले जुनियर ग्रेडमा केही संख्या बढे पनि तथ्यांक उस्तै रहेको डा. अर्याल बताउँछन् ।


नेप्लिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष विनोदविकास सिम्खडा बेलायतमा एनएचएसमा काम गर्ने नर्सहरूको संख्या करिब १३ सय रहेको बताउँछन् । एसोसिएसनमा दर्ता भएकाको संख्या त १ सय ८० मात्र छ ।


एनएचएसमा १ देखि ९ तहसम्म हुन्छ । प्रशासन र नर्सिङमा सबैभन्दा बढी ८ तहसम्म नेपाली पुगेका छन् । तह ८ ‘ए’ भनेको नर्सिङमा मेट्रोनको पद हो । निर्देशकको पदलाई भीएसएम अर्थात् भेरी सिनियर म्यानेजर भनिन्छ । नर्सिङमा तहअनुसार वार्षिक १८ हजारदेखि एक लाख पाउन्डसम्म तलब हुन्छ । उता फाउन्डेसन ट्रेनिङमा रहेका चिकित्सकको वार्षिक कमाइ करिब २८ हजार पाउन्डदेखि कन्सल्टेन्टको १ लाख ७ हजार पाउन्डसम्म छ । स्पेसियल्टी डक्टरको वार्षिक तलब ४० देखि ७५ हजार पाउन्ड छ ।


इंग्ल्यान्डमा एनएचएसमा १२ लाख ६० हजार ७ सय ५३ जनशक्ति काम गर्छन् । त्यसमध्ये २ लाख ९२ हजार ९ सय ३४ नर्स र हेल्थ भिजिटर, प्रशासनिक र सपोर्ट कर्मचारी १ लाख ७९ हजार ६ सय ५३, चिकित्सक १ लाख १६ हजार ४ सय १६ तथा मिड वाइफ २१ हजार ६ सय ३६ कार्यरत छन् । अहिले १८ हजार ५ सय ८३ विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ । एनएचएस विकसित र कमनवेल्थ मुलुकमध्ये विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक र पाँचौं ठूलो रोजगारदाता हो । सन् १९४८ मा लेबर पार्टीले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्थापना गरेको थियो । बेलायतमा स्वास्थ्य सेवा सबैका लागि नि:शुल्क छ । बेलायतको स्वास्थ्य सेवा, नयाँ उपचार प्रणाली र बिरामी निको हुने नतिजा संसारमै सबैभन्दा उत्कृष्ट रहेको डा. अर्यालको भनाइ छ ।


ब्रिटेनको जनसंख्या करिब ६ करोड ५० लाख छ । बेलायतको कुल बजेटको करिब १८ प्रतिशत नेसनल हेल्थ सर्भिसका लागि खर्च हुन्छ । यसमा ८० प्रतिशत साधारण कर, बिमा योगदान एवं अन्य शुल्कबाट उठाइन्छ ।


बेलायतको राजनीतिमा एनएचएस सबैभन्दा बढी चर्चा गरिने मुद्दा हो । यसको बजेट नै वार्षिक झन्डै १३३ विलियन पाउन्ड छ । सन् २०१९–०२० मा डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरले इंग्ल्यान्डमा १३९. ३ विलियन पाउन्ड खर्च गर्ने योजना बनाएको छ ।


बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गत अगस्टमा इंग्ल्यान्डस्थित २० अस्पतालका लागि १ अर्ब ८० करोड पाउन्ड तुरुन्त उपलब्ध गराउने घोषणा गरेका थिए । यसअघि निवर्तमान प्रधानमन्त्री टेरेजा मेले सन् २०२३ सम्ममा २० अर्ब पाउन्ड थप बजेट घोषणा गरेकी थिइन् ।

प्रकाशित : पुस १२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?