कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

युवामा बढ्दो ‘सीओपीडी’

धूमपान गर्नेलाई मात्र होइन नगर्नेहरुमा समेत ‘दीर्घ दमखोकी’ अर्थात् सीओपीडी रोग बढ्दो छ । नेपालमा ११.७ प्रतिशत यो रोगको सिकार छन् । यो रोगको प्रमुख कारणहरूमा कम उमेरमै धूमपान, प्रदूषणमा अत्यधिक वृद्धि, बाल्यकालमा बारम्बार छातीको संक्रमणलगायत छन् । 
अतुल मिश्र

काठमाडौँ — चास वर्ष कटेकाहरूमा देखिने गरेको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् ‘दीर्घ दमखोकी’ ले पछिल्लो समय युवालाई समेत गाँज्न थालेको छ । 

युवामा बढ्दो ‘सीओपीडी’

यो रोगले थलिएका २५ देखि ३५ वर्ष उमेरका युवाहरू उल्लेख्य संख्यामा उपचारका लागि अस्पतालमा आउने गरेको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. शन्तकुमार दासले बताए । दीर्घ दमखोकीको रोकथाम गर्न सकिने भए पनि निको पार्न नसकिने फोक्सोको रोग हो । यसको लक्षण अस्थमा र ब्रोकाइटिससँग मिल्दो जुल्दो छ ।


‘केहि वर्ष यता मुलुकमा कम उमेरकाहरूमा समेत दीर्घ दमखोकीको समस्या बढ्दो छ,’ डा. दासले भने । कम उमेरमै धूमपान, प्रदूषणमा अत्यधिक वृद्घि, बाल्यकालमा बारम्बार छातीको संक्रमणलगायत कारणले युवाहरूमा यो समस्या बढेको हो । वरिष्ठ छाती रोग विशेषज्ञ डा.रमेश चोखानीले सीओपीडी मुख्य रूपमा मानिसद्वारा सृजित रोग मान्छन् । उनले भने, ‘धूमपान, घरभित्र र घरबाहिरको वायु प्रदूषण यो रोगको मुख्य कारण हुन् ।’


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सीओपीडी हुने मुख्य कारण सुर्ती बल्दा निस्कने धुवाँको सम्पर्क (सक्रिय वा निष्क्रिय धूमपान) रहनु नै हो । अन्य जोखिम कारकमा घर भित्र र बाहिरको वायु प्रदूषण, धुलो र धुवाँको जोखिम पनि हुन् ।


नेपालमा सीओपीडी रोग भएकाको संख्या बढ्दो देखिएको छ । मुलुकमा दुई दशक नाघेका ८ जनामध्ये एक जना यो रोगबाट प्रभावित छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले मुलुकको ७२ जिल्लाका १३ हजार २ सय जनामा सन् २०१६ देखि ३ वर्ष लगाएर गरेको जनसंख्यामा आधारित अध्ययनको निष्कर्ष हो यो । अध्ययनअनुसार मुलुकभरिमा ११.७ प्रतिशत व्यक्ति सीओपीडीका सिकार छन् ।


अझ कर्णालीमा त ४ जनामा एक जना (२५ प्रतिशत) सीओडीका सिकार छन् । नेपालको भक्तपुरसँगै युगान्डा र पेरुमा एकै पटक सीओपीडीबारे साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय अध्ययन जारी छ । अध्ययनमा संलग्न डा.दासका अनुसार भक्तपुरमा १९ प्रतिशत सीओपीडीका बिरामी भेटिएका छन् । भक्तपुरमा सीओपीडी सहरको दाँजोमा गाउँमा बढी देखिएको छ । ‘द ग्लोबल वर्डेन अफ डिजिज’ को अध्ययन प्रतिवेदनअनुसार सन् २०१६ मा विश्वव्यापी रूपमा २५ करोड १० लाख व्यक्तिमा सीओपीडी देखिएको थियो ।


डब्लूएचओको आंकलनअनुसार विश्वव्यापी रूपमा सन् २०१५ मा सीओपीडीले ३१ लाख ७० हजार व्यक्तिको मृत्यु भएको थियो । अझ ९० प्रतिशतभन्दा बढी सीओपीडीका कारण हुने मृत्यु निम्न र मध्यम आय भएको राष्ट्रमा बढी छ । मुलुकमा सीओपीडी हुनुमा धूमपान मात्र नभई, घरभित्रको धुलो, धुवाँ, वातवरणीय प्रदूषणसमेत जिम्मेवार रहेको अध्ययनले देखाएको छ । यस्तै, ग्रामीण र सहरी क्षेत्रमा सीओपीडीको अवस्थामा खासै फरक छैन ।


एनएचआरसीको अध्ययनअनुसार ग्रामीण र सहरी क्षेत्रमा धूमपानको अवस्थामा फरक छैन । गाउँमा घरभित्रको धुलो/धुँवा र सहरमा घरबाहिरको धुवाँ, प्रदूषणलगायतलाई सीओपीडीका लागि जिम्मेवार मानिएको छ । ब्रिटिस ‘लंग फाउन्डेसन’ का अनुसार धेरैजसो व्यक्तिमा धूमपान रोकेर सीओपीडी बढ्ने खतरा न्यूनीकरण गर्न सकिन्छ । तर केही व्यक्तिमा अन्य कारणले सीओपीडी बढेको अवस्थामा त्यसलाई रोक्नु कठिन भएको चिकित्सकहरू बताउँछन् ।


के हो सीओपीडी ?

सीओपीडीलाई दीर्घकालीन अवरोधात्मक फोक्सोसम्बन्धी रोग भनेर पनि चिनिन्छ । सीओपीडीग्रस्त व्यक्तिको श्वास नलीमा अवरोध वा कम लचिलोपनाले फोक्सोको कार्य क्षमता प्रभावित हुन थाल्छ । यो रोग एक्कासि नभएर विस्तारै वर्षौंपछि हुन्छ ।


अझ सामान्य भाषामा भन्ने हो भने, सीओपीडी दीर्घकालीन फोक्सो रोग हो जसमा श्वास नली खुम्चिन्छ । फोक्सो सुन्निने समस्या हुन्छ । विस्तारै सुन्निँदै गएपछि फोक्सोको कार्य प्रणालीलाई प्रभावित पार्छ । श्वास लिँदा अवरोध भई पछि विस्तारै सास फेर्नै समस्या हुन थाल्छ ।


सीओपीडी शब्दको उपयोग धेरै अवस्थामा हुने गरेको छ । तीमध्ये श्वास नलीको सुन्नाइ (क्रोनिक ब्रोकाइटिस), दम, इम्फिसिम अर्थात् श्वास नलीमा अवरोध पनि हुन् । यो रोगमा फोक्सोमा हावा आउने बाटोमा अवरोध आउँछ । यसले नली साँघुरो र कडा हुन्छ । हावाभित्र पस्न र फोक्सोबाहिर जानमा बाधा उत्पन्न हुन्छ । यस्तै, ब्रोकाइटिसको अर्थ सास नलीको सुन्नाइ वा जलन हो । यी ती नली हुन् जुन हावाबाट अक्सिजनलाई फोक्सोसम्म पुर्‍याउँछ । यो सुन्नाइले गर्दा हावाको नलीमा श्लेष्मा/म्युकस बढी मात्रामा निर्माण हुन्छ । यसले कफ बन्छ । रुघा खोकीको समस्या देखा पर्न सक्छ ।

एम्फिसिमा अर्थात् श्वास नलीमा अवरोध त्यो स्थिति हो जसमा फोक्सोमा फैलिएको हावाको नलीहरूको जालो आफ्नो तन्किने क्षमता गुमाउँछन् । यसले अक्सिजन प्रवेश गर्ने मार्गमा अवरोध उत्पन्न हुन्छ । शरीरमा अक्सिजनको आपूर्ति राम्ररी गर्न सक्तैन । बल लगाएर श्वास लिनुपर्ने हुन सक्छ । अर्थात् श्वास फेर्न समस्या हुन्छ ।


अमेरिकन थोरासिक सोसाइटीका अनुसार कफ, सिँगान, श्वास फेर्नमा अप्ठ्यारो सीओपीडीका कारण हुन सक्छन् । यसको प्रमुख लक्षण खोक्नु, घाँटी घर्घराउनु, श्वास फुल्नुलगायत हुन् ।


मुटुरोग र क्यान्सरको जोखिम

सीओपीडी छातीमा मात्र सीमित रहँदैन । यो रोग भएकाहरूलाई मुटुरोग, फोक्सोको क्यान्सर, मधुमेह, मृगौलासम्बन्धी समस्या र अन्य स्वास्थ्य समस्या हुने जोखिममा वृद्घि हुन्छ । सीओपीडी हुनेहरूलाई मानसिक समस्या, हाड खिइने सम्भावनासमेत बढी हुने डा.दासले बताए ।


उपचार

हाल यो रोग निको पार्ने कुनै उपचार उपलब्ध छैन । तर यसको उपचार यो समस्याको स्थितिलाई न्यून गर्न र लक्षणलाई नियन्त्रित गर्न सघाउँछ ।

‘दुई दशकमा सीओपीडीको उपचार रणनीतिमा धेरै परिवर्तन भयो,’ डा. चोखानीले भने, ‘हाल उपचारअन्तर्गत यसको लक्षणलाई नियन्त्रित गर्नु र जीवनयापन गर्न सहज बनाउने प्रयास गरिन्छ ।’


यो रोगको पूर्ण उपचार गर्न नसकिने बताउँदै डा. दास भन्छन्, ‘हामीले औषधिलगायतका विभिन्न उपायबाट रोग विस्तारको गतिलाई कम गर्नुको साथै बिरामीलाई जीवनयापनमा सजिलो पार्छौं ।’यो रोगको विस्तारलाई सुस्त पार्न बचाउअन्तर्गत बिरामीले धूमपान गर्नुभएन, धुलो, धुवाँ प्रदूषण आदिमा

बस्नु हुँदैन । जतिसुकै औषधि सेवन गरे पनि यो रोगको विस्तार सुस्त पार्न बचाउकै उपाय अपनाउनुपर्ने औंल्याउँदै डा.दास भन्छन्, ‘हामीले प्रस्तावित गर्ने औषधिले बिरामीलाई सजिलो मात्र बनाउँछ, उनीहरू सहजै जीवनयापन गर्न सक्छन् तर रोगको विस्तार कम हुँदैन ।’


यो रोगमा तान्ने औषधि (इनहेलर) दिइन्छ । यो तान्ने औषधि एउटा उपकरण हो, जो श्वासका माध्यमले तपाईंको फोक्सोमा सिधै औषधि पुर्‍याउँछ । यो तान्ने औषधिमा साइड इफेक्ट कम हुनुका साथै लामो समयसम्म उपयोग गर्न सकिन्छ । यो औषधिले श्वासको नलीलाई फैलाउनुका साथै खकार निकाल्न सघाउँछ । तर, यदि बिरामीले यो तान्ने औषधिलाई सही रूपमा लिएन भने यो सीओपीडीमा प्रभावकारी हुँदैन ।


बिरामीले तान्ने औषधि लिँदा आफू यसको बानीको सिकार हुने चिन्ता गर्ने गरेको औंल्याउँदै डा. चोखानी भन्छन्, ‘यो रोग औषधि गरेर निको हुने होइन, तान्ने औषधिले जीवनको गुणस्तर बढाउँछ र बढी सुरक्षित छ, खाने औषधिबाट साइड इफेक्ट बढी हुन्छ ।’


यस्तै सीओपीडीका बिरामीलाई अक्सिजन थेरापीले समेत फाइदा पुग्छ । फोक्सोको क्षमता कम हुँदाहुँदै एउटा यस्तो अवस्थासमेत आउँछ जब फोक्सोले शरीरलाई चाहिने जति अक्सिजन लिन सक्दैन । सीओपीडीले ग्रस्त केही व्यक्तिको रगतमा अक्सिजनको कमी हुन्छ ।

यस्तो स्थितिमा भने उनीहरूलाई घरमै बसेर अक्सिजन लिनुपर्ने हुन्छ । यस्तो नगरे भने रोगीको हर्ट फेलसमेत हुने सम्भावना हुन्छ । अक्सिजन दिँदा जीवनको अवधि बढ्छ ।


रुघाखोकीविरुद्घको खोप आवश्यक

सीओपीडी भएकाहरूले आफूलाई श्वासप्रश्वासलगायत संक्रमणबाट जोगाउनुपर्छ । यस्ता समस्या भएकाहरूमा छातीको संक्रमण हुनासाथ सीओपीडी बढेर अस्पतालमा समेत भर्ना हुनुपर्ने स्थिति निम्तिन्छ । यस्ता संक्रमणबाट बच्न सीओपीडी भएकाहरूले निमोनिया र बर्सेनि इन्फुएन्जा (रुघाखोकी) विरुद्घको खोप लगाउनुपर्ने डा. दास औंल्याउँछन् ।


औषधिको साटो व्यायाम बढी प्रभावकारी

सीओपीडी भएकाहरूले उपचार प्रक्रियाअन्तर्गत छातीलगायत मांसपेसीको व्यायामको नतिजा औषधिभन्दा राम्रो देखिएको छ । यस्ता बिरामीले हिँड्ने र शारीरिक गतिशीलतालाई बन्द गर्नु हुँदैन । ‘सीओपीडीको बिरामीको उपचार प्रक्रियामा हाल मात्र औषधिलाई धेरै महत्त्व दिइने गरिन्छ, जुन सही होइन,’ डा. दास भन्छन्, ‘औषधिसँगै छातीलगायतका व्यायामसमेत जारी राख्दा अत्यन्त राम्रो सकारात्मक नतिजा देखिएको छ ।’


हाल सीओपीडीको उपचारअन्तर्गत नेपाल मुलुकमा ‘पल्मोनरी रिहैवलिटेसन’, अत्यन्त महत्त्वपूर्ण भए पनि खासै महत्त्व दिइएको देखिँदैन ।

‘सीओपीडीको बिरामीलाई उपचार प्रक्रियाअन्तर्गत नै छातीको मांसपेसीको व्यायाम, हातखुट्टाको व्यायाम, सास फेर्ने तरिका, व्यायाम आदि सिकाइन्छ,’ डा. दास भन्छन्, ‘यसले गर्दा औषधिको मात्रा आधाभन्दा कम भएको अध्ययनहरूले देखाएको छ ।’


योग फाइदाजनक

सीओपीडी भएकाहरूमा योगअन्तर्गत गरिने श्वासप्रश्वाससम्बन्धी व्यायामले फाइदा पुग्ने गरेको देखिन्छ । तर यसका लागि छाती रोग विशेषज्ञ र योग प्रशिक्षकको सल्लाहमै आफूअनुकूल व्यायाम गर्नुपर्छ । योगले समेत सीओपीडी भएपछि देखिने स्वास्थ्य समस्यामा कमी ल्याएर औषधिको मात्रा घटाउने औंल्याउँदै डा. दास भन्छन् ‘सीओपीडीमा आधुनिक चिकित्सा विज्ञानअन्तर्गत गरिने श्वासप्रश्वाससम्बन्धी व्यायाम र योग धेरै मिल्छ ।’


धूमपान र प्रदूषण प्रमुख कारण

यो रोगको प्रमुख कारण धूमपान र प्रदूषण हो । गाउँघरमा चुलोमा दाउरा बालेर खाना पकाउने महिलासमेत सीओपीडीका सिकार हुने गरेका छन् ।

केही व्यवसायमा कोइला, धुलोमा कम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँ घरमा गुइँठा, दाउरामा खाना पकाउनु, भान्सा कोठामा धुवाँको राम्रो निकास नहुनुले समेत सीओपीडी देखिन सक्छ । परोक्ष धूमपान सँगै पुर्ख्यौली कारणले समेत यो समस्या आउन सक्छ । यसबाहेक जिन, बाल्यकालमा छातीमा संक्रमण, क्षयरोग आदिले गर्दासमेत सीओपीडीको जोखिम रहन्छ ।


बचावट

भविष्यमा सीओपीडीबाट बाँच्न धूमपान गर्नु हुँदैन । प्रदूषणबाट सकेसम्म आफूलाई जोगाउनुपर्छ । घरभित्रको वायु प्रदूषण कम गर्न घरमा हावाको ओहोरदोहोर हुने राम्रो व्यवस्था हुनुपर्छ । यस्तै दाउरा/गुइँठामा खाना नपकाई प्रदूषण कम हुने उपाय खोज्नुपर्छ । यति मात्र नभए बाल्यकालमा छातीको संक्रमण हुँदा उपयुक्त समयमै चिकित्सकबाट उपचार गराउनुपर्छ ।


भर्‍याङ चढ्दा अप्ठ्यारो भए सीओपीडीको सम्भावना

घरको भर्‍याङमा २० भन्दा बढी सिँढी चढ्दा दम फुल्ने समस्या देखिन्छ । अलिकति व्यायाम गर्दा थकाइ अनुभव हुन्छ भने यो श्वाससम्बन्धी रोग सीओपीडीको प्रारम्भिक लक्षणसमेत हुन सक्छ । यस्तो अवस्था देखिए तत्कालै चिकित्सकीय सल्लाह लिनु आवश्यक हुन्छ । फोक्सोको यो समस्या एक्स–रेबाट खासै स्पष्ट हुँदैन । यसका लागि ‘स्पाइरोमेट्री’ परीक्षण आवश्यक मानिन्छ ।


लक्षण

  • खोकी
  • श्वास फेर्न समस्या
  • श्वास फेर्दा घ्यार्रघ्यार्र हुनु
  • रुघा
  • कफ
  • खुट्टा सुन्नाइ
  • तौल कम हुनु
  • तनाव, स्मरणशक्तिमा कमी
  • श्वास प्रणालीमा संक्रमण


प्रकाशित : मंसिर ७, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?