कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्फ्लुएन्जा जाडोमा हुने जोखिमबाट बच्न खोप

अतुल मिश्र

काठमाडौँ — राजधानी मात्र नभई मुलुकका अन्य भेगमा समेत जाडोयाम सुरु भइसकेको छ । मौसम परिवर्तनसँगै बोलचालको भाषामा ‘फ्लु’ भनिने इन्फ्लुएन्जा अर्थात् (रुघाखोकी) को समस्यासमेत यदाकदा देखिन थालिएको छ । 

जाडोयाम र मौसम परिवर्तनको अघिपछि मौसमी रुखाखोकीसहितको ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामीको संख्यासमेत बढ्ने गरेको पाइन्छ ।


मौसमी इन्फुएन्जा प्राय: सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । केही मानिसमा यसका लक्षणहरू आफै हराएर जान्छन् भने केहीमा जटिलता देखिन थाल्छ । बर्सेनि सामान्य भनिने यस्तै रुघाखोकीले खासगरी बूढापाका, बालबालिका, दीर्घरोगी, अंगप्रत्यारोपण गराएका, मधुमेह तथा क्यान्सरका बिरामीलगायत रोग प्रतिरोधक क्षमता कम भएकाको मृत्युसमेत हुने गरेको छ ।


‘बर्सेनि ६ महिनाभन्दा बढी उमेरका जोसुकैले चिकित्सकीय सल्लाहमा इन्फ्लुएन्जा खोप लिनु राम्रो मानिए पनि ६० नाघेकालाई अत्यावश्यक नै हो,’ जेष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेल भन्छन्, ‘एउटा अत्यन्त सामान्य मानिने रुघाखोकीविरुद्घको खोपले जेष्ठ नागरिकलाई मृत्युको मुखबाट फर्काउँछ भने संक्रमणको जटिलतामा कमी ल्याउँछ ।’


खासगरी गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका, रोग प्रतिरोध क्षमता कम भएका तथा दीर्घरोगीमा यसको जोखिम बढी हुन्छ ।


इन्फलुएन्जा (रूघाखोकी) श्वास प्रणालीको एक संक्रामक रोग हो । चिकित्सकीय भाषामा भन्ने हो भने सामान्य रुघाखोकी माथिल्लो श्वासनलीमा हुने संक्रमणले देखिन्छ । यो स्वनियन्त्रित र संक्रमणशाली रोग थुप्रै प्रकारको भाइरसले हुन सक्छ । रुघाखोकी दुई सयभन्दा बढी प्रकारका भाइरसले हुन्छ ।


इन्फ्लुएन्जा भाइरस शरीरमा नाक, मुख र आँखाको माध्यमले प्रवेश गर्छ । यो भाइरस खोक्दा, हाँच्छिउ गर्दा बा निकट सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । यस्तै, ६५ वर्ष माथिकाले चिकित्सकीय सल्लाहमा निमोनियाविरुद्घको खोप लगाउनु फाइदाजनक हुन्छ । ६० वर्षमाथिका रोग प्रतिरोधक क्षमता कम भएका, मुटु–कलेजो–फोक्सो–मृगौला आदिका दीर्घरोगी, क्यान्सरका उपचार गराइरहेकाले पनि खोप लिनु उत्तम हुने डा.कँडेल बताउँछन् ।


इन्फ्लुएन्जाको खोप जाडो सुरु हुनै लाग्दा लगाउनुपर्छ । उनका अनुसार नेपालमा कात्तिक र मंसिर महिना नै खोपका लागि उपयुक्त समय हो ।


रुघाखोकीले सबैलाई दु:ख दिने भए पनि खासगरी जेष्ठ नागरिकलाई जाडोको समयमा साधारण रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने समस्या हुनुका साथै इन्फलुएन्जा बल्झिँदै गएर जटिल खालको निमोनिया हुने सम्भावना हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् ।


अधिकतम फाइदा पाउन फ्लुविरुद्धको खोप उपयुक्त समयमा लगाउनु अत्यावश्यक हुन्छ । ‘६५ वा योभन्दा बढी उमेरका व्यक्तिलाई फ्लुको मौसमभन्दा धेरै अगाडि खोप लगाउनु हुँदैन, चिकित्सकको सल्लाहमा लगाउनुपर्छ,’ डा.कँडेल भन्छन्, ‘किनभने केही महिनामै खोपका कारण शरीरमा निर्माण भएको एन्टिबडीमा कमी आउन थाल्छ ।’


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रूघाखोकीको रोकथामका लागि सबैभन्दा प्रभावकारी तरिका खोप लगाउनु नै हो । हाल फ्लुविरुद्धका सुरक्षित र प्रभावकारी खोप सहजै उपलब्ध छन् । यस्ता खोप ६ दशकअघिदेखि नै उपयोग हुँदै आएको डब्लूएचओले जनाएको छ ।


खोपको माध्यमले शरीरमा आउने रूघाखोकीविरुद्धको प्रतिरोधक क्षमता घट्दै जाने भएकाले हामीले बर्सेनि खोप लगाउनुपर्छ । स्थानीय वातावरणमा फैलिरहेको रूघाखोकीको भाइरस खोपमा भएको भाइरसको प्रजातिसँग जस्ताको त्यस्तै नमिले पनि स्वस्थ वयस्क व्यक्तिलाई यसले फैलिरहेको भाइरसविरुद्ध सुरक्षा प्रदान गर्ने डब्लूएचओले औंल्याएको छ ।


जेष्ठ नागरिकमा इन्फ्लुएन्जाको खोप बिरामी हुनबाट जोगाउनमा कम प्रभावकारी देखिए पनि यसले रोगको गम्भीरतालाई कम गर्नुको साथै रोगको जटिलतामा कमी ल्याएर मृत्यु दरमा समेत कमी ल्याउँछ ।


इन्फ्लुएन्जाविरुद्धको खोप विशेष रूपले रूघाखोकीको जटिलता हुने उच्च जोखिममा रहेका व्यक्ति र यस्ता व्यक्तिसँग रहने, उनको स्याहार गर्ने व्यक्तिका लागिसमेत आवश्यक हुने डब्लूएचओले जनाएको छ । एक अध्ययनअनुसार उच्च रक्तचापका बिरामीलाई इन्फ्लुएन्जा खोपले हृदयाघात र स्ट्रोक १८ प्रतिशतसम्म कम गर्छ । सन् २००७ देखि २०१६ सम्म कोपेनहेगन विश्वविद्यालयमा गरिएको अध्ययनअनुसार १८ देखि सय वर्ष उमेर समूहका ६ लाख ८४ हजार ५२ जनामा अध्ययन गरिएको हो ।


अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार हरेक महिना फ्लुविरुद्घको खोपको असर ६ देखि ११ प्रतिशतसम्म कम हुन्छ । आज खोप लगाएर भोलिदेखि नै रुघाखोकीविरुद्घ हाम्रो शरीर प्रतिरोधी हुँदैन । हामीले खोप लगाएको करिब १४ दिनपछि शरीरमा रुघाखोकीविरुद्घ ‘एन्टिबडी’ बन्न थाल्छ ।


हामीले सामान्य रूपमा लिने इन्फ्लुएन्जाका कारण विश्वमा बर्सेनि लाखौं मानिसको ज्यान जाने गरेको छ । नेपालमा भने यसबारे आधिकारिक तथ्यांक छैन ।


रुघाबाट बच्न


  • संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहनु हुँदैन
  • संक्रमित व्यक्ति वा उसले छोएको वस्तु छोएपछि हात साबुनपानी राम्ररी धुनुपर्छ
  • रुघाखोकी भएका बालबालिकाको खेलौना थन्काउनुअघि साबुनपानीले धुनुपर्छ
  • तौलियाको सामूहिक उपयोग गर्नुहुँदैन । संक्रमित व्यक्तिसँगको निकट सम्पर्कबाट सम्भव भएसम्म बच्नुपर्छ
  • चिसो र सुक्खा हावाबाट बच्नुपर्छ
  • घाँटी सुन्निएको अवस्थामा नुन मिसाएको तातोपानीले दिनमा ३/४ पटक गार्गल (कुल्ला) गर्नुपर्छ
  • रुघाखोकी लाग्ने बित्तिकै चिकित्सकको सल्लाह लिनुपर्छ
  • कुनै पनि प्रकारको अस्वाभाविकता वा अप्ठ्यारो अनुभव भए अस्पताल जानुपर्छ


प्रकाशित : कार्तिक ३०, २०७६ ०९:३९

प्रतिक्रिया
पठाउनुहोस्

७३ प्रतिशत भारतीय बढी निदाउन चाहन्छन् 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै गरिएको एक सर्वेक्षणमा ७३ प्रतिशत भारतीयले निद्राको गुणस्तर सुधार्न इच्छा व्यक्त गरेका छन् । स्वास्थ्य प्रविधिको क्षेत्रको कम्पनी ‘रोयल फिलिप्स’ ले ‘द ग्लोबल परसुट अफ बेटर स्लिप हेल्थ’ शीर्षकअन्तर्गत गरेको विश्वव्यापी सर्वेक्षणमा यस्तो देखिएको हो । 

सर्वेक्षणमा भारत, फ्रान्स, जर्मनी, जापान, अस्ट्रेलिया, ब्राजिल, दक्षिण कोरिया, क्यानडा, चीन, सिंगापुर, नेदरल्यान्ड र अमेरिकाका ११ हजार ६ जनालाई विभिन्न प्रश्न सोधिएको थियो । परिणामअनुसार ५५ प्रतिशत वयस्कले राम्रो निद्रा लिने स्वीकार गरे पनि ७३ प्रतिशतले निद्राको गुणस्तर सुधार गर्न चाहेको बताएका थिए । सर्वेक्षणले निद्रा र स्वास्थप्रति भारतीयमा जागरुकता बढेको समेत उल्लेख गरेको छ । सर्वेक्षण परिणामअनुसार निद्रामा हुने समस्यालाई भारतीयले स्वास्थ्य समस्या मान्ने भए पनि निद्राका कारण हुने रोग तथा उपचारबारे जागरुक छैनन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×