१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुणकारी ‘अदुवा’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्राय: सबैको भान्सामा पाइने अदुवा मसला मात्र हैन । हाम्रो स्वास्थ्यका लागि प्रकृतिबाट उपलब्ध ‘महाऔषधि’ जस्तै हो । संस्कृतमा ‘आद्रक’, अंग्रेजीमा ‘जिंजर’, मैथिलीमा ‘आदि’ भनिने अदुवाको प्रयोग मसलाका रूपमा मात्र नभई यसलाई हजारौं वर्षदेखि नेपाल तथा भारतको परम्परागत चिकित्सासँगै अरबी र चिनियाँ चिकित्सकहरूले औषधिको रूपमा स्वीकार गरेका छन् । 

गुणकारी ‘अदुवा’

काँचो अदुवा मात्र नभएर सुकाएको अदुवाको उपयोगसमेत स्वास्थ्यको दृष्टिकोणले फायदाकारी मानिन्छ । तर सुकाउँदा थुप्रै तैलीय तत्त्व नष्ट हुने भएकाले यसलाई काँचो रूपमा उपयोग गर्नु नै बढी फायदाकारी मानिन्छ ।


हाल अदुवाको प्रयोग मसलाका लागि मात्र नभई औषधि र सौन्दर्य सामग्रीका लागिसमेत हुने गरेको छ । भनिन्छ, शरीर सात धातुले बनेको छ । यो सात धातुको निर्माण र सन्तुलनले नै शरीर स्वस्थ बन्छ । सातौं अर्थात् ‘शुक्र’ धातुलाई बलियो बनाउन अदुवाको विशेष भूमिका हुन्छ ।


अझ जाडो याममा अदुवा हालेको चिया पिउँदा शरीरलाई राम्रो गर्छ । यसले शरीरलाई न्यानो राखेर रुघाखोकी, घाँटीको खसखस, फ्लुसँगै जाडो मौसममा देखिने अन्य रोगबाट समेत जोगाउँछ । बार्‍है महिना उपयोग गरिने भए पनि यो न्यायो प्रकृतिको भएकाले जाडो याममा बढी उपयोगी हुन्छ ।


स्वस्थ व्यक्तिले समुचित रूपमा अदुवा सेवन गर्दा फायदाकारी हुन्छ भने दीर्घरोगीलगायतका शारीरिक समस्या भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा यसको उपयोग गर्न सक्छन् ।


स्वादमा तिखो अदुवा पाचक र चिढाइ हटाउने औषधि नै हो । आयुर्वेदले यसलाई पीडानाशक, वायु कफ नाशक भनेको छ । ताजा वा सुक्खा दुव्रै प्रकारले प्रयोग गर्न सकिने अदुवामा एउटा सशक्त ‘एन्टिभाइरल’ मात्र हैन क्याल्सियम, आयोडिन, आइरन, क्लोरिन, भिटामिनसहित थुप्रै पोषकतत्त्व पनि पाइन्छ ।


मौसमी रुघाखोकीमा पनि अदुवाको उपयोग गर्दा राम्रो हुने मानिन्छ । परम्परागत मान्यताअनुसार कमजोर जीवनशक्ति भएकाहरू रुघाखोकी, घाँटी र फोक्सोसँग सम्बन्धित रोगको सिकार हुन्छन् । यस्तो स्थितिमा अदुवाले एउटा उपयुक्त औषधिको काम गर्छ ।


यति मात्र हैन, यसको उपयोगले कोलेस्ट्रोलसमेत नियन्त्रित गर्छ । रक्तचाप नियन्त्रणमा पनि सघाउँछ । यसमा क्रोमियम, म्याग्नेसियम र जिंक हुन्छ जसले रगत प्रवाहलाई राम्रो गर्छ । रगत जम्दैन । यसको नियमित सेवनले हर्ट अट्याक र स्ट्रोकको जोखिममा पनि कमी आउँछ ।


चिनियाँ चिकित्सा पद्घतिमा मुटु रोगको उपचारमा अदुवाको धेरै प्रयोग हुन्छ । यसमा ढुसीनाशकसँगै क्यान्सरप्रतिरोधी गुणसमेत पाइन्छ ।


अदुवाको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो बनाउँछ । छाला निख्खर बनाउनुको साथै यसले गर्दा छाला स्वस्थकरसमेत देखिन्छ ।


यसले पाचन प्रणालीलाई बलियो बनाउँछ । भोक बढाउँछ । अदुवाले खानाको स्वाद बढाउनुको साथै पाचनक्रियालाई समेत ठीक पार्छ । यसमा जीवाणु मार्ने र कफ अवरोधक गुण पाइन्छ, ठूलो आन्द्रामा पाइने जीवाणुको वृद्घिलाई रोक्छ । यसले गर्दा पेटको ग्यासको समस्याबाट समेत राहत मिल्छ । खाना नपच्दा मात्र हैन, पाचन प्रणाली सुधारका लागि समेत यसको उपयोग गरिन्छ ।


अदुवाको नियमित सेवनले माइग्रेनको दुखाइसमेत कम गर्छ । महिनावारीको समय पेटमा हुने दुखाइमा पनि अदुवाको उपयोगले कमी आउने विश्वास गरिन्छ । मिनिसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अदुवाको उपयोग गर्दा कोलोरेक्टल क्यान्सरको जोखिम धेरै कम हुने दाबी गरेका छन् ।


यस्तै एउटा अर्को अनुसन्धान अनुसार अदुवामा भएका तत्त्वले ओभेरियन क्यान्सरको कोषसमेत समाप्त गर्छ । वनस्पति शास्त्रको भाषामा जिजिबर अफिसिनेल भनिने अदुवाको उत्पत्ति दक्षिण र पूर्वी एसियाको भारत वा चीनमा भएको आंकलन छ । अदुवाको करिब १ सय ५० प्रजाति पाइन्छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?