स्क्रब टाइफस अझै जोखिम

अतुल मिश्र

काठमाडौँ — जाडो सुरु हुन थाले पनि मुलुकको विभिन्न भागमा स्क्रब टाइफसको संक्रमण अझै रोकिएको छैन । सहरको दाँजोमा ग्रामीण क्षेत्रमा यो संक्रमणको चुनौतीमा बढी कायम छ । 

शंकास्पद उच्च ज्वरोको बिरामीलाई चिकित्सकले स्क्रब टाइफसको परीक्षणसमेत गराउने गरेका छन् । स्क्रब टाइफसको लक्षण डेंगु, ब्रुसिलोसिस, औलोलगायत थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छ । यो संक्रमण वर्षभरि नै हुने गरे पनि वर्षा यामपछि र धान काट्ने समय मुसाको चहलपहल बढेपछि बढी देखिने गर्छ ।

सरकारी तथ्यांकअनुसार स्क्रब टाइफसको हाल प्रयोगशाला प्रमाणित केसको संख्या गत आइतबारसम्ममा १२ सय ७१ भइसकेको छ । तर वास्तविक संख्या बढी पनि हुन सक्ने दाबी केही चिकित्सक गर्छन ।

सन २०१६ मा यो संक्रमण मुलुका ४८ जिल्लामा देखिएको थियो भने यो वर्ष बढेर ६३ जिल्लामा पुगेको छ, यी मध्ये सबै भन्दा बढी रूपन्देही, धादिङ, पाल्पा, काठमाडौं, चितवन, गुल्मी, अर्घाखाँची, ललितपुर, मकवानपुरलगायतका जिल्लामा स्क्रब टाइफस देखिएको छ ।

राजधानीको काठमाडौंमा हालसम्म ८३, ललितपुरमा ३१ र भक्तपुरमा ७ जनालार्ई समेत स्क्रब टाइफस देखिएको छ ।

‘यस पटक स्क्रब टाइफस ग्रामीण क्षेत्रमा बढी देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले भने, ‘केही साताअघि कान्ति बाल अस्पतालमा धनुषाबाट आएका एक बच्चाको मृत्यु स्क्रब टाइफसबाटै भएको छ ।’ यस्तै चितवनमा मृत्यु भएको एक व्यक्तिमा डेंगुसँगै स्क्रब टाइफसको समेत संक्रमण देखिएको थियो । यो वर्ष हालसम्म स्क्रब टाइफसले ३ जनाको मृत्यु भइसकेको डा. शाह बताउँछन् ।

गत असोज महिनामा मात्र मुलुकभरि करिब ४ सय ५० वटा स्क्रब टाइफसको रिपोर्टेड केस देखिएको डा.शाहले बताए । कात्तिक महिनाको पहिलो र दोस्रो सातामा समेत राजधानीलगायतका ११ जिल्लाबाट करिब १ सय स्क्रब टाइफसको केस देखिएको उनको दाबी छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यो वर्ष मुलुकमा डेंगु सँगसँगै स्क्रब टाइफससमेत फैलिएको हो । वर्षभरि नै देखिने गरिए पनि मौसम चिसो हुँदै जाँदा रोगको फैलावट कम हुँदै जाने विज्ञहरू बताउँछन् ।
स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) को टोकाइबाट मानिसमा सर्छ । ‘ओरेन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरिया (जीवाणु) यी कीरा (माइट) मा पाइन्छ । पहिले ओरेन्सियालाई रिकेटसियासमेत भन्ने गरिन्थ्यो । यही ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणु शरीरमा बोकेको कीराले टोकेपछि यो रोग लाग्ने गर्छ ।

करिब ०.२ मिलिमिटर देखि ०.४ मिलिमिटर लामो कीरा नै यो संक्रमणको बाहक र संग्रहकर्ता हो । यसलाई आवर्धक सिसा वा सूक्ष्मदर्शक यन्त्रद्वारा राम्ररी देख्न सकिन्छ । यो कीराको लार्भा अवस्थाले नै मानिसमा रोग सार्न सक्छ ।

‘यस्ता कीराको मलमूत्र अर्थात् संक्रमित तरल पदार्थ छालाको खोस्रिएको भागबाट शरीरमा प्रवेश गर्दा पनि यो रोग हुन सक्छ,’ डा. शाह भन्छन् । तर यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।

संक्रमित कीराले टोकेको ६ दिनदेखि ३ साताभित्र स्क्रब टाइफसको लक्षण मानिसमा विकसित हुन्छ । यो संक्रमणमा उच्च ज्वरोसँगै शरीरको जुन ठाउँमा टोकेको हो, त्यहाँको छाला कालो हुन्छ ।

अलि राम्ररी हेर्ने हो भने स्क्रब टाइफसले गर्दा एउटा फरक प्रकारको घाउ बन्छ । यो घाउ सुरुमा रातो रंगको हुनुको साथै करिब एक सेन्टिमिटर जति गोलो हुन्छ । पछि गएर यो घाउ च्यातिएर कालो रंगको पाप्राले छोपिन्छ ।

यो शरीरमा देखिने ‘प्याच’ जस्तै कालो छापलार्ई मानिसले ध्यान नदिने गरेको औंल्याउँदै डा.पाण्डे भन्छन्, ‘डेंगुमा जस्तै ज्वरो आउने, शरीर दुख्ने भए पनि यो ‘प्याच’ ले नै स्क्रब टाइफस हो भन्ने किटान
गर्न सकिन्छ ।’

यस्तो संक्रमण भएको पहिलो साता बिरामी खोकी रहन्छ भने अर्को साता निमोनियासमेत विकसित हुन सक्छ । कीराले टोकेको पहिलो साता बिरामीमा ज्वरो बढ्ने, तीव्र टाउको दुख्नेजस्ता समस्या देखिन्छन् । यति मात्र नभई संक्रमण भएको ५ देखि ८ दिनमा शरीरको छेउछाउमा धब्बा/टाटो बन्छ ।

यो धब्बा विस्तारै खुट्टा, बाहुलामा समेत देखिन थाल्ने टेकु अस्पतालकै डा. शेरबहादुर पुन औंल्याउँछन् । उनका अनुसार यो रोगमा देखिने जटिलताअन्तर्गत निमोनिया, मेनिगोएन्सेफलाइिटिस र मायोकार्डिटिस हुन् । निमोनिया र मायोकार्डिटिसको गम्भीर मामिलामा मृत्यु दर ३० प्रतिशतसम्म हुन सक्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) अनुसार एसियामा यो संक्रमणले बर्सेनि करिब १० लाख व्यक्तिलाई प्रभावित गर्ने गरेको छ ।

जटिलता
यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारको संक्रमण हुन थाल्छ । यसले गर्दा संक्रमित व्यक्ति ‘मल्टिअर्गन डिजअर्डर× (धेरै अंगहरूको समस्या) को अवस्थामा पुग्छ ।

समयमै उपचार नभए रोग गम्भीर भएर निमोनियाको रूपसमेत लिन सक्छ । विभिन्न तथ्यअनुसार निमोनियाको जटिलता ३० देखि ६५ प्रतिशत देखिएको छ । केही बिरामीको मृगौला र कलेजो राम्ररी काम गर्दैन । यसले गर्दा बिरामी व्यक्ति बेहोसी अवस्थामा जान्छन् ।
बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा जटिलता देखिन सक्ने जोखिमसमेत रहन्छ । यसअन्तर्गत दीर्घकालीन रूपमै सुन्ने क्षमता गुम्नु, निम्न रक्तचापका साथै अंगमा क्षति र मृगौला फेल हुनु, निमोनियाजस्ता अर्को ब्याक्टेरियाबाट हुने संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल, सुस्ती, मासु कुहिनु आदि समस्या देखिन सक्ने एनएचएसले
जनाएको छ ।

कति दिनमा रोग लाग्छ ?
संक्रमित कीराले टोकेको सामान्यत: ५ देखि १४ दिनमा रोगको लक्षण देखिने गर्छ । तर यो रोग कीराले टोकेको २० दिनभित्रसमेत देखिन सक्छ ।

कसरी पत्ता लगाउने ?
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंग्सन टेस्ट र सीबीसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता
लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गरिन्छ ।

उपचार
स्क्रब टाइफस ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमण भएकोले यसलाई एन्टिबायोटिक औषधिद्वारा उपचार गरिन्छ । साथसाथै शारीरिक जटिलताका लागि सहयोगी उपचारसमेत गरिन्छ ।

समयमै उपचार गरे यो रोगले थप जटिलता उत्पन्न हुँदैन । स्वास्थ्यकर्मीले स्क्रब टाइफसको आशंका गरेका बिरामीलार्ई प्रयोगशाला प्रतिवेदन आउनभन्दा अघिदेखि नै एन्टिबायोटिक दिन सकिन्छ । चिकित्सकहरूका अनुसार बिरामीलाई ‘डक्सिसाइक्लिन’, ‘टेट्रासाइक्लिन’, एजिथ्रोमाइसिन, एन्टिबायोटिकको माध्यमले उपयुक्त उपचार गरिए धेरै जसो बिरामीमा ४८ घन्टा भित्रै सुधार देखिन थाल्नुको साथै पूर्ण स्वस्थ हुने गरेको देखिएको छ ।

कसरी फैलिन्छ ?
मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) ले टोक्दा त्यसको र्‍यालमा भएको खतरनाक ब्याक्टेरिया ‘ओरेन्सिया सुसुगामुसी’ मनुष्यको रगतमा फैलिन्छ । यसको कारणले कलेजो, मस्तिष्क, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन लाग्छ । बिरामी धेरै अंगले काम गर्न छोडने अवस्था (मल्टिपल अर्गेन डिजअर्डर) को अवस्थामा पुग्छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कामको तनावले झर्छ कपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — कपाल झर्ने समस्यालाई धेरैजसो व्यक्तिले गम्भीर रूपमा लिँदैनन् । हालै गरिएको एक अध्ययनअनुसार तपाईं जति समयसम्म काम गर्नुहुन्छ, यसको असर तपाईको कपालमा पर्छ । 

एनल्स अफ अक्युपेसनल एन्ड इन्भारामेन्टल मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार सातामा ५२ घन्टाभन्दा बढी काम गर्ने २० देखि ३० वर्ष उमेरको पुरुषमा यो समस्या बढी हुने गरेको छ । यति तपाईं सातामा ५ दिनका दरले दैनिक १० घन्टाभन्दा बढी काम गर्नुहुन्छ भने तपाईंको कपाल अन्यको तुलनामा बढी झर्छ । नेसनल हेल्थ सर्भेअनुसार हरेक व्यक्तिको दैनिक औसत ५० देखि १०० कपाल झर्ने गरेको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT