१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालमै पहिलो ‘आरटिएमएस’ मेसिनबाट मानसिक रोगको उपचार 

विमल खतिवडा

काठमाडौँ — नेपालमै पहिलोपटक काठमाडौंस्थित रिदम न्युरो साइक्याट्रिक हस्पिटलमा आरटिएमएस (रिपिटेटिभ ट्रान्सक्र्यानियल म्याग्नेटिक स्टिमुलेसन) मेसिनबाट मानसिक रोगको उपचार थालिएको छ । 

नेपालमै पहिलो ‘आरटिएमएस’ मेसिनबाट मानसिक रोगको उपचार 

अहिलेसम्म १५ जनाभन्दा बढी विरामीले उपचार सेवा लिइरहेका छन् । अस्पतालले यो सेवा गत पुसबाट सुरु गरेको हो । अस्पतालका मानसिक रोग विशेषज्ञ रितेश थापाका अनुसार यो मेसिन सन १९८० मा लञ्च भएको हो ।


‘कति रोग औषधिबाट ठिक हुन्छ, कति रोग काउन्सिलिङबाट हुन्छ, कति रोगहरुलाई दुवै तरिकाबाट उपचार गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘लामो समयदेखि औषधि खाइरहेर पनि ठिक नभएका विरामीकालागि यो प्रविधि ठिक हो । तर विश्वकालागि यो नयाँ होइन, पुरानै प्रविधि हो, नेपालका लागि भने पहिला हो ।’


मानसिक रोग बाहेक यो प्रविधि पार्किन्सन, नशा सम्बन्धी रोगमा पनि प्रयोग हुने उनी बताउँछन् । 'हामीले मानसिक रोगीका लागि भनेर ल्याएका छौं,’ उनले भने, 'उपचारबाट ठिक नभएका मानसिक रोगी धेरै छन् । यो रोगको उपचारमा पहुँच भएका पनि ठिक भएका छैनन । रोग निको नभएपछि कोही भारत जाने, कोही कता जाने भइरहेको छ ।’ उपचारका लागि भारतलगायत अन्य देश जानु नपरोस भनेर विरामीहरुकै सल्लाहमा यस्तो मेसिन ल्याइएको उनले बताए । यो मेसिन भारतबाट ल्याएको हो । भारतमा यही मात्र सेवा प्रवाह गरेर बस्ने मानसिक रोग विशेषज्ञहरु धेरै छन् ।


भारतमा पढ्दै र अभ्यास गरिरहेका चिकित्सकसँग सल्लाह गरेर मेसिन भित्र्याएको थापाले बताए । कूल जनसंख्याको २० देखि २५ प्रतिशत नेपालीमा कुनै न कुनै किसिमको मानसिक रोग रहेको उनले बताए । ‘यो रोग बच्चादेखि वृद्धसम्मलाई हुन सक्छ, उमेर अनुसार फरक फरक हुन्छ,’ उनले भने, ‘डिप्रेसन ३०/३५ वर्षको उमेरमा हुन्छ, आत्महत्या गर्ने १५ देखि २९ वर्षको उमेरका बढी छन्।’


युवाअवस्थामा हुने मृत्युको दोस्रो कारण नै आत्महत्या रहेको उनले सुनाए । ‘नेपालमा पहिला/पहिला १५ देखि ४९ वर्षको उमेरमा महिलाहरुको मृत्युको कारण प्रेग्नेन्सी रिलेटेड हुन्थ्यो भने अहिले आत्महत्या छ,’ उनले भने, ‘हरेक दिन १४ देखि १५ जनाले नेपालमा आत्महत्या गर्छन् भन्ने रिपोर्ट छ ।’


मेसिन मार्फत जति विरामीको उपचार गरिएको छ, सबै निको भएर फर्किएका छन् । ‘मानसिक स्वास्थ्यलाई हामीले हेपेका छौं, तर यसमा ध्यान दिन जरुरी छ,’ उनले भने, ‘यो रोग पारिवारिक रुपमै सुरु हुने हो । युवा अवस्थामा बढी छ । लागू औषधले गर्दा मानसिक रोगी हुने धेरै छन् ।’ परिवारमा तनाव हुँदा त्यसको प्रभाव बालबालिकामा पर्ने गर्छ । ‘सामान्यसमस्या हुँदै यसको समाधान गर्न जरुरी छ, ताकी यो रोगको रुपमा नबढोस्,’ उनले भने ।


अस्पतालकी नर्सिङ इञ्चार्ज कामना जिसीका अनुसार उपचारका लागि कडा खालका मानसिक रोगी पनि आउने गरेका छन् । ‘ लामो समयदेखि औषधि सेवन गरिरहेका पनि आउने गरेका छन,’ उनले भनिन्, ‘तर इलेक्ट्रिक करेन्ट भन्ने बित्तिकै त्रास हुन्छ, बेहोस बनाएर करेन्ट दिइन्छ भन्ने छ । तर यसमा त्यो केही हुँदैन । सामान्य रुपमा आफ्नो काम सकेर २२ देखि २५ मिनेटको एउटा सेसन हुन्छ, म्याग्नेटिक स्टुमलेसन दिइन्छ, यसले असर गर्दैन ।’ साइड इफेक्ट केही नहुने उनले बताइन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक श्याम प्रधानका अनुसार नयाँ मेसिन भएकाले सबैको चासो छ ।


प्रकाशित : कार्तिक २१, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?