औषधिको भण्डार बन्दाकोबी

कान्तिपुर संवाददाता

काठमाडौँ — भान्सामा सस्तो र सर्वसुलभ रूपमा उपलब्ध हुने बन्दाकोबीलाई औषधिको भण्डारका रूपमा पनि लिइन्छ । यसमा नघोलिने रेसा, बिटा केरोटिन, भिटामिन ‘बी १’, ‘बी ६’, ‘के’, ‘ई’, ‘सी’ लगायतका भिटामिनसमेत पाइन्छ । 

स्वास्थ्य विशेषज्ञहरूद्वारा गरिएको विभिन्न अनुसन्धानको निष्कर्षअनुसार, क्यान्सर रोगीले बन्दा खानाले र यसको रस सेवनले आराम मिल्छ । यसमा पाइने ‘सिनिग्रान’, ‘इन्डोल’ आदिले क्यान्सरबाट जोगाउँछ । यसमा पाइने तत्त्व कोलोन क्यान्सर रोक्न सघाउँछ ।

बन्दाकोबीको रसमा आइसोसाइनेटस हुन्छ । यो रसायनले हाम्रो शरीरमा एस्ट्रोजन मेटाबोलिज्मको प्रक्रियालाई तीव्र गर्छ । जसले गर्दा स्तन, फोक्सो, प्रोस्टेट, पेट, कोलोन आदिको क्यान्सरबाट जोगाउँछ । यति मात्र नभई बन्दाको सेवनले क्यान्सर निको हुने प्रक्रियालाई समेत गति मिल्ने मान्यता छ ।

बन्दा जति हरियो हुन्छ, त्यति नै पोषक तत्त्वले युक्त हुन्छ । यसले रोग प्रतिरोधक क्षमतालाई समेत बढाउँछ । हरियो बन्दामा भिटामिन ‘ई’ धेरै मात्रामा हुन्छ । यसमा भित्रको पहेँलो खण्ड भिटामिन ‘ए’ को पूर्ति गर्छ । ठूलो बन्दामा सानोमा भन्दा बढी मात्रामा क्याल्सियम पाइन्छ ।

बन्दामा ९० प्रतिशत पानी हुन्छ । यसमा ०.६ प्रतिशत खनिज पदार्थ, प्रोटिन १.६, क्याल्सियम ००.३, बोसो ०.००१, कार्बोहाइड्रेट ६.२, फलाम ००.५ प्रतिशत पाइन्छ । बन्दामा भिटामिन ‘ए’ र ‘डी’ पर्याप्त मात्रामा पाइन्छ । यस्तै भिटामिन ‘सी’ समेत थुप्रै मात्रामा हुन्छ ।

यसको माथिल्लो पातमा भिटामिन हुन्छ । यसलाई फ्याँक्नु हुँदैन । यसको पातलाई राम्ररी धोएर संक्रमणमुक्त गरेर काँचै खानाले रक्तविकार, अजीर्ण, दाँत, पेट, आँखासम्बन्धी रोग, कफ, पित्त आदि विकार हट्छन् । यो कुष्ठरोगमा समेत लाभदायक मानिन्छ । आयुर्वेदका अनुसार, ताजा बन्दाको पात बिहान चपाएर खानाले कब्जियतबाट मुक्ति पाइन्छ । यस्तै, अनिद्रापीडितले समेत सुत्नुअघि बन्दाको रस सेवन गर्दा फाइदा हुन्छ । बन्दाको नियमित सेवनले कपाल झर्न रोकिन्छ । पिसाबसम्बन्धी रोगमा समेत यो प्रभावकारी मानिन्छ । पिसाब अड्किएर आउँछ भने बन्दाको रस नियमित सेवनले उक्त समस्या समाप्त हुन्छ । बन्दाको उपयोग सुन्दरता निखार्नसमेत गरिन्छ । रुखो तथा चाउरी परेको छाला भएमा बन्दाको रस अनुहारमा लगाउनाले रुखोपना हट्नुको साथै चाउरीसमेत कम हुन्छ । यति मात्र नभई यसको रसले अनुहारमा भएको दाग कम गर्नुको साथै गोरोपना समेत बढाउँछ । यसले ज्यान नभएको र तैलीय छालालाई समेत फाइदा पुर्‍याउँछ ।

बन्दाले स्तनपान गराउने महिलालाई स्तनको दुखाइ र संक्रमण हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ । यो दुखाइ बढेर संक्रमणको रूप लिन्छ जसलाई मास्टाइटिस भनिन्छ । स्तनपान गराउने महिलालाई स्तनमा दुखाइ, सुन्निनु र स्तन रातो हुनुजस्ता समस्याबाट मुक्ति पाउन चिकित्सकहरू बन्दा सेवनको सल्लाह दिन्छन् । मास्टाइटिस स्तन कोशिकाको संक्रमण हो जुन स्तनपान गराउने समय उत्पन्न हुन्छ । यो ती महिलामा समेत हुन सक्छ जो आमा बनिसकेका छैनन् वा जसमा रजोनिवृत्ति हुनेवाला छ । यसको उपचार नगराउँदा स्तनबाट पिप आउने समस्या हुन सक्छ जसको उपचार शल्यचिकित्साले नै हुन सक्छ ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय चिकित्सा विज्ञान प्रतिष्ठान (एम्स) का अनुसार, यो उपचार स्तनको प्रभावित स्थानमा बन्दाको पात राखेर हुन्छ । यो प्रक्रियालाई हरेक दुई–दुई घन्टाको अन्तरालमा दोहोर्‍याउनाले र दिनमा बढीभन्दा बढी समयसम्म गर्नाले छिटो फाइदा हुन्छ । एम्सले यो उपचार विधिबाट थुप्रै महिलालाई फाइदा पुगेको समेत जनाएको छ । बन्दाको उपचार युरोपेली मुलुकमा पहिलेदेखि नै प्रचलनमा छ ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विस्तारै हिँड्ने व्यक्ति पछि रोगी

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै गरिएको एउटा अनुसन्धानअनुसार, विस्तारै हिँड्ने व्यक्तिहरूमा बुढ्यौलीमा रोगी हुने जोखिम बढी हुन्छ ।

यो अनुसन्धान जामा नेटवर्क ओपेन जर्नलमा प्रकाशित भएको हो । अनुसन्धानअन्तर्गत न्युजिल्यान्डमा तीन वर्षका नौ सयभन्दा बढी सहभागीलाई ४० वर्षसम्म अध्ययन गरिएको थियो ।

अध्ययनअनुसार, व्यक्ति विशेषको हिँडाइको गतिले भविष्यमा अल्जाइमर्स जस्तो रोग हुन सक्छ वा सक्दैन भन्ने थाहा पाउन सकिन्छ ।

विस्तारै हिँड्ने ४५ वर्षका व्यक्ति अन्य व्यक्तिको दाँजोमा छिट्टै बूढो देखिन्छन् । उनीहरूको दाँत, फोक्सो र रोग प्रतिरोधक प्रणालीमा प्रौढमा देखिने जस्तो समस्या हुन्छ ।

अध्ययनअन्तर्गत, विस्तारै हिँड्ने व्यक्तिको औसत गति १.२१ मिटर प्रतिसेकेन्ड अर्थात् सामान्य रूपमा ४.३ किलोमिटर प्रतिघन्टा हो । यस्तै तीव्र गतिले हिँड्ने व्यक्तिको औसत गति १.७५ मिटर प्रति सेकेन्ड अर्थात् ६.२ किलोमिटर प्रति घन्टा मानिएको छ ।

अनुसन्धानमा यो पनि भनिएको छ– तीन वर्षको बच्चाको मस्तिष्कलाई हेरेर यो थाहा पाउन सकिन्छ कि त्यो कति तीव्र गतिले बुज्रुक हुनेछ । मस्तिष्कमा के भइरहेको छ, त्यो हेर्न अनुसन्धानमा एमआरआई स्क्यानको सहयोग लिइएको थियो ।

प्रकाशित : कार्तिक १६, २०७६ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×