कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चाडबाडका नाममा अनियन्त्रित मद्यपान

अतुल मिश्र

काठमाडौँ — मुलुकमा बर्सेनि दसैं-तिहार ताका मदिराको उपयोगसँग सम्बन्धित झैझगडा, हत्या, हिंसा, दुर्घटना, चोटपटक, बलात्कार मात्र 
बढ्दैन अनियन्त्रित ‘मदिराजन्य पेय पदार्थ’ को उपयोगले ज्यान गुमाउने संख्यासमेत उल्लेख्य रूपमा बढ्छ । 

चाडबाडका नाममा अनियन्त्रित मद्यपान

अझ तिहारका तीन दिनमा दसैंका दुई सातामा भन्दा पनि बढी मदिराजन्य दुर्घटना र अपराधमा वृद्घि हुन्छ । नेपाल प्रहरीको विगत ३ वर्षको तथ्यांकअनुसार दसैंका दुई सातामा मुलुकमा मदिरा उपयोगसँंग सम्बन्धित झैझगडा, हत्या, हिंसासँगै ‘अनियन्त्रित मदिराको उपयोग’ (विन्ज ड्रिकिङ) ले ज्यान गुमाउनेको संख्यासमेत अत्यधिक बढ्छ ।


कम समयमै अनियन्त्रित मदिराको उपयोगले तत्काल निर्णय लिने क्षमतामा कमी, भावनात्मक नियन्त्रण गुमाउने तथा दुर्घटना हुने परिस्थिति बन्छ ।


‘दसैं-तिहारको समय उल्लेख्य रूपमा मदिरा सेवनसँगै झैझगडा हुने, आवेगमा आउने, विवाद हुने अनि हत्याहिंसा हुने गरेको देखिन्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक विश्वराज पोखरेल भन्छन्, ‘दसैंको १५ दिनको तुलनामा तिहारको ३ दिनमा जुवा-ताससँगै मदिराको अत्यधिक सेवन हुन्छ ।’


दसैंमा सांस्कृतिक, धार्मिक संक्रियता बढी हुने गरे पनि तिहार अझ दसैंभन्दा बढी मनोरञ्जनात्मक हिसाबले मनाउने गरिएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘थोरै दिन भए पनि तिहारमा नागरिक जुवा-तासमा रमाउने, मदिरा सेवनमा बढी समय बिताउने, मदिरा सेवन

गरेर बाहिर निस्किने गर्ने हुँदा दुर्घटना र अपराधको सम्भावना अझ बढी हुन्छ ।’


उनका अनुसार दसैंताका हुने अधिकांश अपराधमा कुनै न कुनै रूपले मदिरा सेवन जोडिएको हुन्छ । तिहारमा झन् बढी मदिरा सेवन गर्ने चलनले अपराध र दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । हामी मात्र नभई हाम्रो छिमेकी मुलुकमा समेत विन्ज ड्रिकिङ समस्याकै रूपमा देखिन थालेको छ । ‘विन्ज ड्रिकिङ ग्लोबल ड्रग सर्भे’ का अनुसार भारत यसको छैटौं नम्बरमा छ । विन्ज ड्रिकिङ गर्नेमा बेलायती पहिलो नम्बरमा छन् भने दोस्रो, तेस्रो र चौथो स्थानमा अमेरिकी, क्यानाडेली र अस्ट्रेलियाली छन् ।


अमेरिकास्थित ‘नेसनल इन्स्टिच्युट अफ अल्कोहल एब्युज एड अल्कोहलिज्म’ का अनुसार मदिरा सेवनले रगतमा अल्कोहलको एकाग्रता ०.०८ ग्राम प्रतिशत वा योभन्दा माथि हुनु विन्ज ड्रिकिङ अर्थात् अनियन्त्रित मदिरापान हो ।


दुई घन्टाभित्र पुरुषले ५ वा बढी डि्रंक र महिलाले ४ वा बढी डि्रंक लिँदा यस्तो समस्या हुन्छ । अनियन्त्रित मदिरापानको परिभाषामा पुरुषको दाँजोमा मदिराको नशा छिट्टै लाग्छ । यसको कारण पेटको ‘इन्जाइम्स’ र ‘हार्मोन’ हो । महिलाले मदिरालाई राम्ररी अवशोषित गर्छन् र उनीहरूको ‘मेटावोलिज्म’ धेरै सुस्त हुन्छ ।


सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एउटा पेग १४.६ ग्राम शुद्घ मदिराको हुन्छ । यदि मदिरा पाँच प्रतिशत अल्कोहल भएको १२ आउन्स अर्थात् करिब ३५४ मिलिलिटर बियरमा हुन्छ ।


७ प्रतिशत अल्कोहल भएको ८ आउन्स अर्थात् २३६ मिलिलिटर माल्ट लिकरमा हुन्छ भने १२ प्रतिशत अल्कोहल भएको ५ आउन्स अर्थात् १४७ मिलिलिटर वाइनमा रहन्छ । ४० प्रतिशत अल्कोहल रहेको डेढ आउन्स अर्थात् ४४ मिलिलिटर जिन, रम, भोडका, हिृवस्की आदिको रहन्छ ।


पोखरेलको अनुभवलाई नियाल्ने हो भने दसैं-तिहार, उत्सव समारोह आदिमा अनियन्त्रित मद्यपान गर्ने धेरैजसो व्यक्तिहरू भने मदिरामा निर्भर अर्थात् अम्मली भने हुँदैनन् । हाम्रो मुलुकमा अनियन्त्रत मद्यपानबारे खासै बृहत् अध्ययन भएको छैन । अमेरिका जस्तो मुलुकमा अनियन्त्रित मद्यपान १८ देखि ३४ वर्षका युवाहरूमा सामान्यजस्तै छ । तर अनियन्त्रित मद्यपान गर्नेमध्ये आधा ३५ वर्षभन्दा बढी उमेर समूहका हुन्छन् ।


‘मुटुलगायत समग्र स्वास्थ्यसँग जोडिएको विषय अनियन्त्रित मद्यपानबारे मुलुकमा खासै कुनै गहिरो अध्ययन छैन,’ अनियन्त्रित मदिरा सेवनले हृदयाघात, स्ट्रोक आदि भएको प्रशस्त घटनाहरू रहेका औंल्याउँदै मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिल भन्छन् ।


डा. ओममूर्तिका अनुसार स्वस्थ व्यक्तिलाई समेत अनियन्त्रित मदिरापानले गर्दा मुटुको सामान्य रक्तनलीमा रगत जमेर हृदयाघात भएका घटनासमेत प्रशस्त छन् ।


मदिरा सेवनले शरीरको मूलभूत कार्य प्रणालीलाई नोक्सान पुर्‍याउनुका साथै निद्रामै बित्ने जोखिमसमेत कायम रहन्छ । मदिरा विषाक्तमा बान्ता, भ्रम, श्वासको गति सुस्त हुनु, असामान्य श्वासप्रश्वास र शितांगजस्तो लक्षण देखिन्छ ।


कम समयमै अनियन्त्रित रूपमा अत्यधिक मदिरा सेवनले हृदयाघात गराउनुका साथै ज्यान लिइरहेको औंल्याउँदै डा. ओममूर्ति

भन्छन्, ‘अनियन्त्रित मदिरापानले अन्य स्वास्थ्य चुनौतीसँगै यौनहिंसालाई समेत बढाइरहेको छ ।’


अनियन्त्रित मदिरापानको थुप्रै गम्भीर स्वास्थ्यसम्बन्धी जोखिम छन् । सीडीसीका अनुसार यसअन्तर्गत नजानीकनै चोटपटक लाग्नु, मोटरसाइकल, गाडी दुर्घटना, लड्नु, आगो लाग्नु, मदिरा विषाक्तता, आमहत्या, हिंसा, यौन हमला-हिंसा आदि हुन् ।


यति मात्र नभई कलेजोसम्बन्धी समस्या, यौन सञ्चारित रोग, उच्च रक्तचाप, स्ट्रोक मुटुरोग, स्तन, आहार नली तथा कलेजोको क्यान्सर, स्मरण क्षमतामा ह्रास र मदिरामा निर्भरताजस्ता समस्यासमेत देखिन्छन् । त्यसैगरी, मुटुको चाल अनियमित भएकाले मदिरा सेवन गर्नु हुँदैन । उच्च रक्तचाप अनियन्त्रित भएका मानिसले मदिरा सेवन गर्दा ‘ब्रेन हेमरेज’ हुन सक्छ ।

प्रकाशित : कार्तिक २, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?