चाडबाडका नाममा अनियन्त्रित मद्यपान

अतुल मिश्र

काठमाडौँ — मुलुकमा बर्सेनि दसैं-तिहार ताका मदिराको उपयोगसँग सम्बन्धित झैझगडा, हत्या, हिंसा, दुर्घटना, चोटपटक, बलात्कार मात्र बढ्दैन अनियन्त्रित ‘मदिराजन्य पेय पदार्थ’ को उपयोगले ज्यान गुमाउने संख्यासमेत उल्लेख्य रूपमा बढ्छ । 

अझ तिहारका तीन दिनमा दसैंका दुई सातामा भन्दा पनि बढी मदिराजन्य दुर्घटना र अपराधमा वृद्घि हुन्छ ।नेपाल प्रहरीको विगत ३ वर्षको तथ्यांकअनुसार दसैंका दुई सातामा मुलुकमा मदिरा उपयोगसँंग सम्बन्धित झैझगडा, हत्या, हिंसासँगै ‘अनियन्त्रित मदिराको उपयोग’ (विन्ज ड्रिकिङ) लेज्यान गुमाउनेको संख्यासमेत अत्यधिक बढ्छ ।

कम समयमै अनियन्त्रित मदिराको उपयोगले तत्काल निर्णय लिने क्षमतामा कमी, भावनात्मक नियन्त्रण गुमाउने तथा दुर्घटना हुने परिस्थिति बन्छ ।

‘दसैं-तिहारको समय उल्लेख्य रूपमा मदिरा सेवनसँगै झैझगडा हुने, आवेगमा आउने, विवाद हुने अनि हत्याहिंसा हुने गरेको देखिन्छ,’ केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायवनिरीक्षक विश्वराज पोखरेल भन्छन्, ‘दसैंको १५ दिनको तुलनामा तिहारको ३ दिनमाजुवा-ताससँगै मदिराको अत्यधिक सेवन हुन्छ ।’

दसैंमा सांस्कृतिक, धार्मिक संक्रियता बढी हुने गरे पनि तिहार अझ दसैंभन्दा बढी मनोरञ्जनात्मक हिसाबले मनाउने गरिएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘थोरै दिन भए पनि तिहारमा नागरिक जुवा-तासमा रमाउने, मदिरा सेवनमा बढी समय बिताउने, मदिरा सेवन
गरेर बाहिर निस्किने गर्ने हुँदा दुर्घटना र अपराधको सम्भावना अझ बढी हुन्छ ।’

उनका अनुसार दसैंताका हुने अधिकांश अपराधमा कुनै न कुनै रूपले मदिरा सेवन जोडिएको हुन्छ । तिहारमा झन् बढी मदिरा सेवन गर्ने चलनले अपराध र दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । हामी मात्र नभई हाम्रो छिमेकी मुलुकमा समेत विन्ज ड्रिकिङ समस्याकै रूपमा देखिन थालेको छ । ‘विन्ज ड्रिकिङ ग्लोबल ड्रग सर्भे’ का अनुसार भारत यसको छैटौं नम्बरमा छ । विन्ज ड्रिकिङ गर्नेमा बेलायती पहिलो नम्बरमा छन् भने दोस्रो, तेस्रो र चौथो स्थानमा अमेरिकी, क्यानाडेली र अस्ट्रेलियाली छन् ।

अमेरिकास्थित ‘नेसनल इन्स्टिच्युट अफ अल्कोहल एब्युज एड अल्कोहलिज्म’ का अनुसार मदिरा सेवनले रगतमा अल्कोहलको एकाग्रता ०.०८ ग्राम प्रतिशत वा योभन्दा माथि हुनु विन्ज ड्रिकिङ अर्थात् अनियन्त्रित मदिरापान हो ।

दुई घन्टाभित्र पुरुषले ५ वा बढी डि्रंक र महिलाले ४ वा बढी डि्रंक लिँदा यस्तो समस्या हुन्छ । अनियन्त्रित मदिरापानको परिभाषामा पुरुषको दाँजोमा मदिराको नशा छिट्टै लाग्छ । यसको कारण पेटको ‘इन्जाइम्स’ र ‘हार्मोन’ हो । महिलाले मदिरालाई राम्ररी अवशोषित गर्छन् र उनीहरूको ‘मेटावोलिज्म’ धेरै सुस्त हुन्छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार एउटा पेग १४.६ ग्राम शुद्घ मदिराको हुन्छ ।यदि मदिरा पाँच प्रतिशत अल्कोहल भएको १२ आउन्स अर्थात् करिब ३५४ मिलिलिटर बियरमा हुन्छ ।

७ प्रतिशत अल्कोहल भएको ८ आउन्स अर्थात् २३६ मिलिलिटर माल्ट लिकरमा हुन्छ भने १२ प्रतिशत अल्कोहल भएको ५ आउन्स अर्थात् १४७ मिलिलिटर वाइनमा रहन्छ ।४० प्रतिशत अल्कोहल रहेको डेढ आउन्स अर्थात् ४४ मिलिलिटर जिन, रम, भोडका, हिृवस्की आदिको रहन्छ ।

पोखरेलको अनुभवलाई नियाल्ने हो भने दसैं-तिहार, उत्सव समारोह आदिमा अनियन्त्रित मद्यपान गर्ने धेरैजसो व्यक्तिहरू भने मदिरामा निर्भर अर्थात् अम्मली भने हुँदैनन् । हाम्रो मुलुकमा अनियन्त्रत मद्यपानबारे खासै बृहत् अध्ययन भएको छैन । अमेरिका जस्तो मुलुकमा अनियन्त्रित मद्यपान १८ देखि ३४ वर्षका युवाहरूमा सामान्यजस्तै छ । तर अनियन्त्रित मद्यपान गर्नेमध्ये आधा ३५ वर्षभन्दा बढी उमेर समूहका हुन्छन् ।

‘मुटुलगायत समग्र स्वास्थ्यसँग जोडिएको विषय अनियन्त्रित मद्यपानबारे मुलुकमा खासै कुनै गहिरो अध्ययन छैन,’ अनियन्त्रित मदिरा सेवनले हृदयाघात,स्ट्रोक आदि भएको प्रशस्त घटनाहरू रहेका औंल्याउँदै मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिल भन्छन् ।

डा. ओममूर्तिका अनुसार स्वस्थ व्यक्तिलाई समेत अनियन्त्रित मदिरापानले गर्दा मुटुकोसामान्य रक्तनलीमा रगत जमेर हृदयाघात भएका घटनासमेत प्रशस्त छन् ।

मदिरा सेवनले शरीरको मूलभूत कार्य प्रणालीलाई नोक्सान पुर्‍याउनुका साथै निद्रामै बित्ने जोखिमसमेत कायम रहन्छ । मदिरा विषाक्तमा बान्ता, भ्रम, श्वासको गति सुस्त हुनु, असामान्य श्वासप्रश्वास र शितांगजस्तो लक्षण देखिन्छ ।

कम समयमै अनियन्त्रित रूपमा अत्यधिक मदिरा सेवनले हृदयाघात गराउनुका साथै ज्यान लिइरहेको औंल्याउँदै डा. ओममूर्ति
भन्छन्, ‘अनियन्त्रितमदिरापानले अन्य स्वास्थ्य चुनौतीसँगै यौनहिंसालाई समेत बढाइरहेको छ ।’

अनियन्त्रित मदिरापानको थुप्रै गम्भीर स्वास्थ्यसम्बन्धी जोखिम छन् । सीडीसीका अनुसार यसअन्तर्गत नजानीकनै चोटपटक लाग्नु, मोटरसाइकल, गाडी दुर्घटना, लड्नु, आगो लाग्नु, मदिरा विषाक्तता, आमहत्या, हिंसा, यौन हमला-हिंसा आदि हुन् ।

यति मात्र नभई कलेजोसम्बन्धी समस्या, यौन सञ्चारित रोग, उच्च रक्तचाप, स्ट्रोक मुटुरोग, स्तन, आहार नली तथा कलेजोको क्यान्सर, स्मरण क्षमतामाह्रास र मदिरामा निर्भरताजस्ता समस्यासमेत देखिन्छन् । त्यसैगरी, मुटुको चाल अनियमित भएकाले मदिरा सेवन गर्नु हुँदैन । उच्च रक्तचाप अनियन्त्रित भएका मानिसले मदिरा सेवन गर्दा ‘ब्रेन हेमरेज’ हुन सक्छ ।

प्रकाशित : कार्तिक २, २०७६ १०:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

क्यान्सरपीडितका समस्या : विदेशमा दुःख पाएपछि स्वदेशमा उपचार

फातिमा बानु

काठमाडौँ — धादिङ, बेनीघाटका ४८ वर्षीय केशव बिसुरालको पाइतालामा ६ वर्षअघि साना बिमिरा निस्किए । विस्तारै फोकामा परिणत भएका ती बिमिरा फुटेर खाटा बस्यो । उनले सामान्य ठानेर उपचार खोजेनन् ।

घाउका खाटा विस्तारै मासुका डल्ला बनेर दुखाइ असह्य भएपछि मात्र अस्पताल पुगे । चिकित्सकले खिल बसेको भनेर शल्यक्रिया गरिदिए । ‘तर खिल निकालेको खाल्डो मासुले पुरिएन । अझ त्यही खाडल घाउमा बन्यो, फेरि जचाउँदा क्यान्सर भइसकेको रहेछ,’ ३ वर्षअघिको बेथा सुनाए ।

बिसुरालको क्यान्सर पहिलो स्जेटको मात्रै थियो । उनले स्वदेशमै उपचार गर्ने सोच बनाएका थिए तर छिमेकी र आफन्तले अत्याएपछि पत्नी कुमारीलाई साथलिएर भारतको राजीव गान्धी क्यान्सर अस्पताल पुगे ।

‘त्यहाँ चिकित्सकसँग बोल्न भाषामा समस्या भयो । खानेबस्ने ठेगान भएन,’ बिसुरालले भने, ‘६ महिना उपचार गराएँ तर बेथा कम भएन ।’ त्यहाँका चिकित्सकले नेपालमा रोग बिगारेकाले निको नभएको जवाफ दिएपछि उनीहरू फर्किए । अहिले हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । नेपालमा १० लाखभित्र हुने उपचारका लागि उनले ६० लाख खर्चिसकेका छन् । ‘घरजग्गा सबै बेचिसकें । अब त बेच्नलाई केही छैन,’ कुमारीले भनिन् ।

४२ वर्षीया अर्की एक क्यान्सरपीडित पनि आफन्तकै लहलहैमा भारत पुगिन् । उनलाई पाठेघरको मुखको पहिलो स्टेजको क्यान्सर थियो । चिकित्सकले उनलाई यहीँ उपचार सजिलो र सस्तो हुने परामर्श पनि दिएका हुन् । ‘जान्नेबुझ्नेले क्यान्सर भयानक रोग हो, पैसा नहुने मान्छे पो नेपालमै अड्किन्छन् भनेपछि ऋण खोजेर भारत हिँडेँ,’ उनले सुनाइनन् । त्यहाँ चिकित्सक भेट्न धेरै दिन कुर्नुपर्ने, खानबस्न धेरै खर्च लाग्ने समस्याबाट उनी गुज्रिइन् । ३० लाख रुपैयाँ सकिँदा पनि रोग निको भएको छैन । अहिले नेपालमै उपचार गराइरहेकी छन् ।

नेपालमै सम्भव हुने उपचारको विश्वास नमानेर विदेश धाउने यस्ता पात्र थुप्रै छन् । विदेश धाएर दुःख पाएका, घरजग्गा सिध्याएका बिरामी क्यान्सर अस्पतालमा धेरै भेटिन्छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग विशेषज्ञ डा. समीर शर्माको डेढ दशक उपचार अनुभवमा पनि ५ प्रतिशत बिरामी विदेश पुगेरै उपचार गर्छन् । ‘विश्वभर जहाँ पुगे पनि उपचार एउटै हो । नेपालमा पनि उस्तै प्रविधि छ । तर उपचारप्रति बिरामीको विश्वास जाग्न सकेको छैन,’ उनले भने, ‘पैसा हुन्जेल विदेशमा उपचार गर्छन् । पैसा सकिएपछि नेपाल फर्केर निःशुल्क उपचार गर्ने पनि छन् ।’

नेपाल क्यान्सर अस्पतालका निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठले क्यान्सर लाग्नेबित्तिकै विदेश नै जानुपर्छ भन्ने मानसिकता कायम रहेको बताए । ‘तीन दशकअघि नेपालमा क्यान्सर रोगको उपचार थिएन । विदेशै धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले नेपालमै विशेषज्ञ उत्पादन भइसके, प्रविधि पनि भित्रिसके । उपचारका लागि बिरामीले विदेश नै जानुपर्छ भन्ने छैन ।’ सामाजिक प्रतिष्ठा र आफन्तको करकापका कारण बिरामीले यहाँ उपचार गर्न नमान्ने उनले बताए । उनका अनुसार कतिपय बिरामी रोग लुकाउन पनि बिदेसिन्छन् । क्यान्सरबारे समाजले थाहा पाएर अपहेलना गर्ला भन्ने डरका कारण पनि बिरामी विदेश पुगेर उपचार गर्छन् ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले पनि क्यान्सर उपचारका लागि देशमै जनशक्ति र प्रविधि भए पनि बिरामीको विश्वास बढ्न नसकेको बताए । ‘अब्बल उपचार नेपालमा सम्भव छैन भन्ने मानसिकताबाट पीडित छन् बिरामी । ठूलो रोग लाग्दा पनि विदेश लगेनन् भन्ने सामाजिक दोषारोपण खेप्न नसकेर पनि विदेश लगिन्छन्,’ उनले भने ।

क्यान्सर लागेका सेलिब्रेटी, सामाजिक र राजनीतिक व्यक्तित्वले विदेशमा उपचार गराउने परिपाटीले पनि सामान्य नागरिकमा त्यस्तो मानसिकता हाबी हुन गएको विशेषज्ञहरूको ठम्याइ छ । डा. श्रेष्ठलाई नेपालमै निको भएका बिरामीले खुला रूपमा भनिदिए पनि धेरैले विदेश पुगेर दुःख पाउनु पर्दैनथ्यो भन्ने लाग्छ । ‘रोगबारे खुलेर बोल्नै मान्दैनन् बिरामी । रोगबारे बोली हिँड्दा जागिर नपाइने, इज्जत जाने, बिहे नहुनेजस्ता डरले ग्रस्त छन्,’ उनले भने । उनीहरूलाई खुलेर यहाँको सेवाबारे प्रचार गर्न सरकारले प्रेरित गर्नुपर्ने उनको विचार छ । डा. श्रेष्ठका अनुसार नेपालबाट भारत गएका बिरामीले उपचारभन्दा बढी दुःख पाउँछन् । बिरामीलाई अनावश्यक
औषधि किन्न र परीक्षण गर्न लगाएर बढी खर्च गराइन्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाको अनुभवमा हरेक २० जना क्यान्सरका बिरामीमध्ये एक जना भारत पुगेकै हुन्छन् । ‘नेपालमै उपचार सम्भव छ भन्दाभन्दै पनि अरूको कुरा सुनेर विदेश पुग्ने प्रवृत्ति छ,’ उनले भने, ‘सुरुमा जोसिएर विदेश पुग्छन्, उता दुःख पाएपछि फेरि नेपाल आएर उपचार गर्छन् ।’ नेपालमा क्यान्सरका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन ।

परिषद्ले गरेको अध्ययन गरेको रिपोर्ट अब छिट्टै सार्वजनिक गरिने अध्यक्ष झाले बताए । उनका अनुसार विदेश उपचार गराउन जानेमध्ये ९९ प्रतिशत भारतको दिल्ली पुग्ने गरेका छन् । केही बिरामी बैंकक र सिंगापुर जान्छन् । विदेशमा बिरामीले नेपालमा भन्दा तेब्बरचौब्बर बढी खर्च गर्ने गरेको उनले बताए । नेपालमा भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर क्यान्सरको उपचार गरिने मुख्य ठूला अस्पताल हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत गरिब मुलुकमा महिलाको मृत्युको पहिलो कारण पाठेघरको क्यान्सर हो, दोस्रो स्तन क्यान्सर हो । पुरुषमा भने नेपाल फोक्सो, पेट र नाक, कान, घाँटी बढी हुने गरेको छ । संगठनको आँकलनअनुसार नेपालमा हरेक वर्ष क्यान्सरका ३० हजार नयाँ बिरामी थपिन्छन् र यही रोगका कारण बर्सेनि १५ हजारले ज्यान गुमाउँछन् ।

प्रकाशित : कार्तिक २, २०७६ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT