२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

मनिषा कोइरालाले भनिन् - ‘शय्यामा छँदा स्वास्थ्यको महत्त्व बुझें’

अतुल मिश्र

काठमाडौँ — बलिउड अभिनेत्री मनीषा कोइरालाले आफू अस्पतालको शय्यामा रहँदा स्वास्थ्यको महत्त्वबारे थाहा पाएको बताएकी छन् । उनी आफूलाई क्यान्सर रोग लागेको पहिचान भइसकेपछि स्वास्थ्यको महत्त्व थाहा पाएको जनाइन् ।

मनिषा कोइरालाले भनिन् - ‘शय्यामा छँदा स्वास्थ्यको महत्त्व बुझें’

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा बुधबार मुटु रोगको जोखिमपूर्ण व्यवहार न्यूनीकरणसम्बन्धी अध्ययन सार्वजनिकीकरण समारोहमा उनले उक्त कुरा बताएकी हुन् ।


‘यो मेरो जीवनको दोस्रो मौका हो,’ कोइरालाले भनिन्, ‘म बलिउडको एक्ट्रेस भएकोले मेरो जीवनशैली सामान्य थिएन ।’


स्वस्थ नहुँदा जतिसुकै पैसा भए पनि आनन्द नमिल्ने औंल्याउँदै मनीषाले सकारात्मक जीवनशैलीको उपयोग गरेर आफूलाई स्वस्थ राख्नतर्फ समय दिनुपर्ने बताइन् । आफूलाई स्वस्थ राख्न शिक्षा, जानकारीसँगै स्वस्थकर जीवनशैली अपनाउनुपर्ने औंल्याउँदै उनले भनिन्, ‘यो हामी कसरी गर्न सक्छौं ठूलो प्रश्न हो ?’


स्वस्थकर जीवनशैली शरीरसँग सम्बन्धित मात्र नभई मन मस्तिष्क, भावनात्मक, मनोवैज्ञानिक पक्षसमेत रहेको उनले औंल्याइन् । आहारसमेत स्वस्थतातर्फ जाने बाटो रहेको जनाउँदै मनीषाले भनिन्, ‘कस्तो आहार, कस्तो भोजन छ, धेरै सोच्नुपर्छ । अर्ग्यानिक, साकाहारी उपयुक्त हो ।’


जीवनले मानवलाई शरीर दिएको र त्यसलाई हामीले सकारात्मक उपयोग गर्नुपर्ने भन्दै उनले दिनहुँ ८–९ घन्टा निदाउनुपर्ने, तनाव कम गर्नु, व्यायाम, स्वस्थकर खानपानमा समेत ध्यान पुर्‍याउनुपर्ने बताइन् । यसका लागि योग, ध्यान, तनाव कम गर्ने उपाय आदि अंगिकार गर्न सकिन्छ ।


मनुष्य भएकैले हामी सबैलाई थुप्रै चुनौती, बाधा, अवरोध आउने गरेको जनाउँदै मनीषाले भनिन्, ‘योसँग जुध्ने, यसलाई पराजित गर्ने शक्ति पनि हामीसँगै छ ।’


उनले ग्लास आधा खाली भएको नहेरी आधा भरेको हेर्ने दृष्टिकोणसहित आफूलाई बलियो र सकारात्मक बनाउनुपर्नेसमेत बताइन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?