सामान्य डेंगुको उपचार घरमै

अतुल मिश्र

काठमाडौँ — विशेषज्ञहरूले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्ने सल्लाह दिएका छन् । उनीहरूले जोखिम समूहमा रहेकाहरूबाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अवस्था नरहेको समेत औंल्याएका हुन् । 

‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार ‘जोखिम समूह’ मा रहेकाहरूले भने हालको डेंगुको प्रकोप देखिएको अवस्थामा सामान्य ज्वरो देखिए पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । यो जोखिम समूहअन्तर्गत बच्चा, बूढापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोग प्रतिरोधक क्षमता कम भएकाहरू पर्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीका कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ । सामान्य डेंगु र सिभियर डेंगुका लागि कुनै विशिष्ट उपचार नभए पनि चाँडै संक्रमण पत्ता लगाउनाले र उचित चिकित्सकीय रेखदेखले यसबाट हुने मृत्युदर एक प्रतिशतभन्दा तल झार्न सकिन्छ ।

उचित चिकित्सकीय रेखदेख, स्वास्थ्य सेवाको सुविधामा विस्तारले गर्दा हाल विश्वभरि नै डेंगु संक्रमणले हुने मृत्यु दर घट्दो छ । तर डेंगुको लामखुट्टे नियन्त्रणमा नरहेकाले रोगको प्रसार भने बढ्दो अवस्थामा छ । हाल प्रकोपकै रूपमा डेंगु देखिएकाले साधारण ज्वरो आउँदा ज्वरो/दुखाइ कम गर्न सिटामोल उपयोग गर्नुको साथै एस्प्रिन, ब्रुफिन जस्ता औषधि सेवन नगर्न टेकु अस्पतालकै डा.शेरबहादुर पुन आग्रह गर्छन् ।

एउटा सामान्य स्वस्थ व्यक्तिलाई डेंगुको लक्षणसहित सामान्य ज्वरो भए घरमै प्रशस्त पोसिलो झोल पदार्थ सेवनसँगै आराम गर्न सकिने औंल्याउँदै डा.पुन भन्छन्, ‘कडा र फरक प्रकारको ज्वरो आयो भने तुरुन्त अस्पतालमा जचाउने र चिकित्सकीय सल्लाहअनुसार गर्नुपर्छ ।’ तर हाल डेंगुको जोखिम समूहमा रहेका बच्चा, बूढापाका, दीर्घरोगी, गर्भवती, पेप्टिक अल्सर, मोटोपना भएकालाई ज्वरो देखिए विशेष ख्याल गर्नुपर्नेसमेत उनी बताउँछन् ।

यस्तै, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले तीन/चार दिनसम्म पनि ज्वरो कम नभए, वान्ता आए, शरीरमा फोका आए, जीउ, हाडजोर्नी साह्रै दुख्ने भए चिकित्सकको सल्लाह लिनुपर्ने बताए ।
घरमै स्वास्थ्य लाभ गर्दा
परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ । तर यस्तो समय बिरामीमा देखिने लक्षणहरूलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ किनभने डेंगु तेस्रो र सातौं दिनको बीचमा जतिखेर ज्वरो हट्छ, छिट्टै गम्भीर रूपसमेत लिन सक्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार डेंगु बिरामीहरूलाई ज्वरो हुँदाताका सकेसम्म आराम गर्नुपर्छ । यस्तै, उच्च ज्वरोलार्ई नियन्त्रणमा राख्नुपर्छ । उच्च ज्वरो नियन्त्रणका लागि ‘इबुब्रुफेन’, ‘एस्प्रिन’ भएका औषधि लिन हुँदैन । ज्वरो कम गर्न आवश्यकता भए हरेक ६ घण्टामा ‘पारासिटामोल’ औषधि एक दिनमा अधिकतम ४ मात्रा दिन सकिन्छ । यदि उच्च ज्वरो रही नै रहे टाउकोमा पानीपट्टी वा कपडालाई पानीले भिजाएर पुनः निचोरेर बिरामीको शरीरमा पुछ्न सकिन्छ ।

सीडीसीका अनुसार बिरामीको शरीरमा पानीको कमी हुन दिनुहुन्न । शरीरमा पानीको कमी भएको लक्षणहरूमा निरन्तर ध्यान दिनुपर्छ किनभने यो अवस्थामा ज्वरो, वान्ता वा पर्याप्त तरल पदार्थ सेवन नगरे बिरामीको शरीरको तरल पदार्थमा धेरै मात्रामा कमी आउँछ । यसैले डेंगुको बिरामीलाई प्रशस्त मात्रामा तरल पदार्थ र पानी दिनुपर्छ ।

डेंगु बिरामीको ज्वरो गइसके पनि यो चरण केही बिरामीका लागि खतरनाक हुन सक्छ । घरमा भएको बिरामीको जसरी ज्वरो समाप्त हुन्छ, त्यसमा देखिन सक्ने चेतावनीको संकेतहरूको निगरानी गर्नुपर्ने सीडीसीले जनाएको छ । डेंगुको लक्षण देखिएको ३ देखि ७ दिनपछि ज्वरो घटेपछि चेतावनीको संकेत हेर्नुपर्छ ।

यी चेतावनीको संकेतअन्तर्गत बिरामीलाई गम्भीर पेट दुखाइ वा निरन्तर वान्ता, छालामा रातो बिमिरा वा प्याच, नाक र गिजाबाट रक्त श्राव, रगतसहितको वान्ता वा दिसामा पनि रगत, तन्द्रा वा चिटचिडाहट, रूखो, चिसो छाला देखिए तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ ।

घरमा भएका डेंगु संक्रमितलाई लामखुट्टेले टोकेर संक्रमित भई अन्य व्यक्तिलाई समेत रोग सार्न सक्छ । यसैले बिरामीलाई झुलभित्र सुताउनुपर्छ । अन्य स्वस्थ व्यक्तिलाई लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्छ । घरमा भएको लामुखुट्टेलाई मार्नुको साथै पानी जमेको ठाउँ सफा गर्नुपर्छ ।
सातामा एकपटक घरको निरीक्षण गरौं
डेंगुको लामखुट्टे मात्र सफा पानीमा बस्छ । यदि सफा पानी केही दिनका लागि जम्मा भएको छ र त्यसलाई फेरिएन भने त्यो सफा पानीमा डेंगुको फुल उत्पन्न हुन्छ । फुल ८ देखि १० दिनभित्र डेंगु फैलाउने लामखुट्टेमा परिवर्तित हुन्छन् । हामीले ८ दिनभन्दा अघि नै त्यो पानीलाई परिवर्तन गरेर त्यो फुललाई नष्ट गर्दा डेंगु फैलाउने लामखुट्टे उत्पन्न हुँदैनन् ।

यस्तो प्रक्रिया दिनहुँ गरे सबैभन्दा राम्रो तर अधिकतम सातामा एकपटक बिदाको दिन करिब १०–१५ मिनट घर र छेउछाउलाई अवलोकन गरेर गमला, बट्टा, खाल्डाखुल्डी आदिमा सफा पानी जमेको भए यसलाई हटाउँदा वा फेर्दा डेंगु नियन्त्रणमा धेरै सकारात्मक पाइला हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ किट विज्ञानका डा. बीएन नागपाल बताउँछन् ।

यस्तै, घर छेउको खाल्डाखुल्डीको पानी हटाउन नसके त्यसमा मट्टितेल, डिजेल आदि हाल्दा लामखुट्टे बाँच्न सक्दैनन् । यो लामखुट्टेले एक पटकमा ८० देखि १४० फुल एक ठाउँमा नभई थुप्रै पानी जमेको स–सानो स्थानमा पार्ने गरेको छ ।यसैले यसको प्रजनन् स्थल एक ठाउँमा मात्र नभएर थुप्रै ठाउँमा हुँदा खोजेर मास्दासमेत केही फुल, लार्भा आदि जीवित रहने सम्भावना कायमै रहन्छ ।

अझ डेंगु सार्ने लामखुट्टेले नाली, फोहोर, ठूलो तलाउ आदिमा नभए मुख्य रूपमा घरभित्रै वा बाहिर भएको बट्टा, गमला, टायर आदि पानी भएको ठाउँमा फुल पार्छ । एक वर्षभन्दा बढी समयसम्म जीवित रहन सक्ने यो फुल पानीको सम्पर्कमा आउना साथ लामखुट्टे उत्पन्न हुन्छ ।

यसैले चलाख डेंगु लामखुट्टेलार्ई जित्न हरेक साता एक घण्टा घर र छेउछाउमा रहेको राम्ररी नछोपिएको पानीलाई खाली गर्नुपर्ने औंल्याउँदै डा.नागपालले भनेका छन्, ‘यही प्रक्रिया अपनाएर बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुक यो रोगविरुद्घको लडाइँ जितिरहेका छन् भने तपाईंहरू किन सक्नुहुन्न ? ’
एडिस एजेप्टी लामखुट्टे
मुलुकमा डेंगु फैलाउने मुख्य रूपमा जिम्मेवार मानिएको एडिस लामखुट्टे चारैतिर छ ।यो प्रजाति मात्र त्यो वातावरणमा हुर्किन सक्छन्, जहाँकोतापक्रम १६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ ।

हामीले पोथी एडिस एजेप्टी लामखुट्टेलाई सजिलै चिन्न सक्छौं । यसको शरीरमा खैरा धर्सा हुन्छन् । यो धेरै बढी उचाइसम्म उड्न सक्दैन ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल इन्सपेक्टर उत्तमराज प्याकुरेलका अनुसार, वयस्क लामखुट्टेको आयु करिब एक महिनाको हुन्छ । यो लामखुट्टेले उज्यालोमा र दिउँसो बढी टोक्ने हुनाले रगत चुस्नका लागि बाधा पुग्ने हुँदा पूरा रगत खान धेरैजनालाई टोक्ने गरेको छ ।

यो लामखुट्टे सफा पानी जमेको ठाउँ जस्तो बाटा, टायर, बाल्टिन, गमला, एयर कन्डिसनर, थोरैभन्दा थोरै पानी जम्ने बिर्को, पानी जम्मा भएको खुला ट्यांकीमा फुल पारेर आफ्नो वंशवृद्घि गर्छ ।

तर यसको फुल पार्ने प्रक्रिया पनि वंशवृद्घिमा सघाउने खालको अनौठो रहेको छ । यसले सफा पानी जमेको एउटै ठाउँमा सबै फुल पार्दैन । थोरैथोरै गरी तीन–चार ठाउँमा फुल पार्छ ।

वयस्क लामखुट्टेले आफ्नो जीवनकालमा हरेक ३–३ दिनमा ७ देखि ९ पटक गरी एकपटकमा एक सयदेखि डेढ सयसम्म फुल पार्छ । संक्रमित लामखुट्टेले पार्ने फुलबाट उत्पन्न सबै लामखुट्टे संक्रमित अर्थात् डेंगु रोग सार्ने क्षमताका हुन्छन् ।

यो लामखुट्टै धेरै टाढासम्म जान सक्दैन । यो एक पटकमा एक सय मिटरदेखि आधा किलोमिटर टाढासम्म उड्न सक्छ । तर यस्तो उडाइमा हावाको बहावले साथ दिए लामखुट्टे यसभन्दा टाढासमेत पुग्न सक्ने सम्भावना हुन्छ । यो लामखुट्टेको वृद्घि र विकास घरवरिपरि वा करिब सय मिटरको परिधिमा हुने गरेको छ ।

बिरामीमा यी लक्षण देखिए तुरुन्त अस्पताल
ज्वरो रहँदा देखिने खतराको संकेत
  • पिसाबको मात्रामा कमी आए
  • बच्चा रुँदा धेरै कम वा आँसु नै नआए
  • मुख, जिब्रो वा ओठ सुक्खा भए
  • आँखा धसिएमा
  • धेरै चिढिएको, अलमलिएको भए
  • प्रतिमिनेट १ सय वा योभन्दा बढी मुटुको चाल भएमा

बचाउ
हाल डेंगु ज्वरोका लागि कुनै मान्यता प्राप्त खोप उपलब्ध छैन । यसैले यो संक्रमणको जोखिम भएका ठाउँका बासिन्दा र त्यहाँ यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउनुपर्छ ।

डेंगु संक्रमणको जोखिम भएको ठाउँमा सुरक्षात्मक लुगाफाटा उपयोग गर्नुपर्छ । हाफ पाइन्टभन्दा खुट्टा पूरा छोपिन लुगा र पूरा बाहुला भएको लुगाफाटो लगाउनु बढी उपयोगी हुन्छ । दिउँसो र राति लामखुट्टेको टोकाइबाट जोगाउने क्रिम वा स्थानीय रूपमा उपयोग कुनै प्रक्रियालाई अपनाउनुपर्छ ।


दोस्रोपटक भए झन् खतरनाक
एकपटक डेंगु भइसकेकाहरूलाई अर्को पटक डेंगुको फरक भाइरसको संक्रमण हुँदा रोग कडा रूपमा देखिन सक्छ । डेंगुको डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी ४ प्रकारका भाइरस हुन्छन् । एकपटक जुन सेरोटाइपको भाइरसको कारण बिरामी भइन्छ । अर्को पटक त्यही भाइरसविरुद्घ लड्न जीवनभर रोग प्रतिरोधक क्षमता तयार हुन्छ । उसो त रोग निको भएपछि अन्य सेरोटाइपका लागि ‘क्रस इम्युनिटी’ मात्र आंशिक र अस्थायी हुन्छ ।

डेंगुको अन्य सेरोटाइपद्वारा पछि संक्रमण हुँदा सिभियर डेंगु हुने जोखिममा वृद्घि हुन्छ । अर्थात् पहिलो पटकभन्दा फरक प्रकारको भाइरसले डेंगु उत्पन्न गरायो भने समस्या झन् गम्भीर हुन सक्छ ।

छैन औषधि
डेंगु सामान्यतः एक–दुई सातामा आफैं निको भइहाल्छ । यो रोगको उपचार गर्नका लागि कुनै विशिष्ट औषधि छैन । चिकित्सक, स्वास्थ्यकर्मीले ‘पारासिटामोल’ औषधिको माध्यमले ज्वरो र दुखाइ नियन्त्रण लगायतका लाक्षणिक उपचारअन्तर्गत बिरामीमा देखिएको विभिन्न लक्षणको प्रबन्ध गर्छन् । यसमा आन्तरिक रक्तश्रावको जोखिम हुने भएकोले ‘एस्प्रिरिन’, ‘आइबुप्रोफेन’ आदि उपयोग गर्नु हुँदैन ।

सामान्य डेंगु भएकाहरूलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ ।

रोग सार्ने लामखुट्टे
  • मुख्य रूपमा दिउँसो मात्र नभई राति पनि टोक्न सक्छ
  • अँध्यारो ठाउँमा बस्न रुचाउँछ
  • टेबुल, सोफामुनि, पर्दा पछाडि, घरका कुनामा बस्छ
  • आद्रता मन पराउँछ
  • यो भित्तामा आराम गर्छ
  • हरेक ४८ घण्टापछि टोक्न आउँछ
  • पोथीले मात्र रगत चुस्छ
  • रगत खान गाईभैंसी आदिलाई समेत टोक्छ
  • प्रजनन् स्थलभन्दा अधिकतम ५ सय मिटरसम्म टाढा जान सक्छ
  • यसको फुल एक वर्षभन्दा बढी समयसम्म जीवित रहन्छ
  • यो एक ठाउँमा फुल नपारी थुप्रै ठाउँमा फुल पार्छ
  • एउटा लामखुट्टेले ७५ जना सम्मलाई डेंगु सार्न सक्छ
  • भाले लामखुट्टे एक साता बाँच्छ
  • पोथी लामखुट्टे एक महिनासम्म बाँच्छ

डेंगुको लक्षण देखिएको ३ देखि ७ दिनपछि
ज्वरो घट्दा देखिने खतराको संकेत
  • बिरामीलाई गम्भीर पेट दुखाइ वा निरन्तर वान्ता
  • छालामा रातो बिमिरा वा प्याच
  • नाक र गिजाबाट रक्तश्राव
  • रगतको वान्ता वा दिसामा रगत
  • तन्द्रा वा चिटचिढाहट
  • पहेंलो, रुखो, चिसो छाला

प्रकाशित : भाद्र २८, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

‘सेप्सिस’ : सामान्य संक्रमणले जान सक्छ ज्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईंहरूले अस्पतालको ‘आईसीयू’ मा रहेका बिरामीको मृत्युको कारणबारे बारम्बार एउटा शब्द ‘सेप्सिस’ सुन्नुभएको होला । हो, यही ‘सेप्सिस’ शरीरमा हुने कुनै पनि प्रकारको संक्रमणले हुन्छ र समयमै उपचार प्रक्रियामा नगए ज्यानसमेत लिन सक्छ । 



यो रोग मृगौलाको संक्रमणले गर्दा हुन सक्छ भने सामान्य काटिएको वा खोस्रिएका कारणले हुने संक्रमणबाट समेत हुन सक्छ ।
भनाइको तात्पर्य के हो भने, जटिल कडा संक्रमण मात्र नभई अति सानो मानिने, देखिने संक्रमणसमेत सेप्सिसको कारण बन्न सक्छ ।
चिकित्सकीय भाषामा ‘सेप्टिसिमिया’ को रूपमा बुझिने सेप्सिस एउटा यस्तो जटिलता हो, जो तपाईंको शरीरको संक्रमणको प्रति– प्रतिक्रियाले गर्दा हुन्छ ।

उसो त तपाईंको शरीरमा भएको रोगसँग लड्ने प्रतिरक्षा प्रणालीले तपाईंलाई विभिन्न प्रकारको संक्रमणबाट जोगाउँछ तर यो संक्रमणको सवालमा कहिलेकाहीँ धेरै अगाडिसम्म जान सक्छ ।

जब संक्रमणसँग लड्नका लागि शरीरको प्रतिरक्षा प्रणालीद्वारा छोडिएको रसायनले तपाईंको शरीरमा सुन्नाइ उत्पन्न हुँदा ‘सेप्सिस’ विकसित हुन्छ ।

यसैले भनिन्छ कि सेप्सिसको संकेतलाई पहिचान गरेर समयमै उपचार गराउनु सबैभन्दा राम्रो विकल्प हो । यस्तो नगर्दा सिभियर सेप्सिस भनिने यो अवस्थामा अंग फेल हुन सक्छ । यसभन्दा अगाडिको स्थिति अर्थात् थर्ड स्टेजलाई सेप्टिक सक भनिन्छ, जसमा बिरामीको मृत्युसम्म हुन्छ ।

यसैले यो इमर्जेन्सी स्थिति हो । मुख्य रूपमा संक्रमण तीव्र गतिले फैलिरहँदा मिनेट मिनेटको महत्त्व हुन्छ । यसैले बिरामीलाई तुरुन्त चिकित्सकीय सहायता उपलब्ध गराउनुपर्छ ।

सामान्य शब्दमा परिभाषित गर्ने हो भने, ‘सेप्सिस’ भनेको शरीरमा संक्रमण फैलिएर ज्यान नै जोखिममा पर्न सक्ने एउटा अवस्था हो ।
यसलाई शरीरमा रोगविरुद्घ लड्ने तत्त्वहरू वा रोग प्रतिरोधक क्षमताले रोगसँग लड्दाखेरी उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रूपमा पनि हेर्न सकिन्छ ।

यो रोगमा शरीरको रक्तसंञ्चार प्रक्रिया बिग्रिन्छ । यसले शरीरमा सुन्नाइ दिनुको साथै रगत जम्नसमेत थाल्छ । यसले गर्दा शरीरको अंगले पर्याप्त मात्रामा अक्सिजन र पोषकतत्त्व पाउँदैन । सेप्सिसले हाम्रो शरीरको विभिन्न अंगमा आक्रमण गरेर तिनलाई काम नलाग्ने बनाउन सक्छ, साथै ज्यानैसम्म लिन सक्छ ।

संसार भर प्रत्येक ३.५ सेकेन्डमा एकजनाको सेप्सिसका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।ग्लोबल सेप्सिस एलायन्सको आंकलनअनुसार विश्वभरिमा बर्सेनि २७ लाखदेखि ३० लाखसम्म व्यक्तिलाई सेप्सिस हुने गर्छ । सेप्सिसको मुख्य तीनवटा लक्षण छिटोछिटो श्वास फेर्नु, पिसाब कम हुनु र होसमा कमी हुनु हो । यी ३ मध्ये कुनै दुई समस्या देखिए भने त्यो सेप्सिस हो ।

सेप्सिस संक्रमण अन्य विभिन्न कारणलेपनि हुन सक्छ । सेप्सिसको लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकीय परामर्श लिनुपर्छ ।सेप्सिस कुन कारणले भएको र शरीरमा संक्रमण भए नभएको हेर्न रगत, पिसाब, खकार वा अन्य परीक्षण गर्नुपर्ने हुन्छ ।

सेप्सिसको केही संकेतसमेत छन् । यसअन्तर्गत रगतमा प्लेटलेट्स कम हुनु, पिसाब कम हुनु, निरन्तर कमजोरी हुनु, मुटुको असामान्य कार्यप्रणाली, सोच्ने क्षमतामा परिवर्तन आउनु, शरीरको तापक्रमममा कमी आउनाले चिसो लाग्नु, सास फेर्नमा समस्या हुनु हो ।
सेप्सिस जुनसुकै व्यक्तिलाई हुन सक्छ । तर यो रोग हुने खतरा रोग प्रतिरोधक क्षमता कम भएका, मधुमेही, एचआईभी/एड्सका बिरामी, १०१ डिग्री फरेनहाइटभन्दा बढी र ९८.६ डिग्री फरेनहाइटभन्दा कम ज्वरो भएका व्यक्तिहरू एवं बालबालिका र बज्रुकहरूमा बढी हुन्छ ।

यदि सेप्सिसको लक्षण रहिरहन्छ र रक्तचाप कम हुने देखिन्छ भने त्यसलाई सेप्टिक सक भनिन्छ । यो अवस्थामा शरीरको विभिन्न अंग फेल भएर बिरामीको मृत्युसमेत हुन सक्छ ।सेप्टिक सकको अवस्थामा बिरामीको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म हुन्छ ।
यसैले सेप्सिसलाई चाँडै पत्ता लगाएर उपचार गरे सेप्टिक सक भई अंग फेल हुनुका साथै मृत्यु हुनबाट समेत जोगाउन सकिन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT