‘सेप्सिस’ : सामान्य संक्रमणले जान सक्छ ज्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — तपाईंहरूले अस्पतालको ‘आईसीयू’ मा रहेका बिरामीको मृत्युको कारणबारे बारम्बार एउटा शब्द ‘सेप्सिस’ सुन्नुभएको होला । हो, यही ‘सेप्सिस’ शरीरमा हुने कुनै पनि प्रकारको संक्रमणले हुन्छ र समयमै उपचार प्रक्रियामा नगए ज्यानसमेत लिन सक्छ । 

डा. सुवासप्रसाद आचार्यआईसीयू प्रमुख, त्रिवि शिक्षण अस्पताल



यो रोग मृगौलाको संक्रमणले गर्दा हुन सक्छ भने सामान्य काटिएको वा खोस्रिएका कारणले हुने संक्रमणबाट समेत हुन सक्छ ।
भनाइको तात्पर्य के हो भने, जटिल कडा संक्रमण मात्र नभई अति सानो मानिने, देखिने संक्रमणसमेत सेप्सिसको कारण बन्न सक्छ ।
चिकित्सकीय भाषामा ‘सेप्टिसिमिया’ को रूपमा बुझिने सेप्सिस एउटा यस्तो जटिलता हो, जो तपाईंको शरीरको संक्रमणको प्रति– प्रतिक्रियाले गर्दा हुन्छ ।

उसो त तपाईंको शरीरमा भएको रोगसँग लड्ने प्रतिरक्षा प्रणालीले तपाईंलाई विभिन्न प्रकारको संक्रमणबाट जोगाउँछ तर यो संक्रमणको सवालमा कहिलेकाहीँ धेरै अगाडिसम्म जान सक्छ ।

जब संक्रमणसँग लड्नका लागि शरीरको प्रतिरक्षा प्रणालीद्वारा छोडिएको रसायनले तपाईंको शरीरमा सुन्नाइ उत्पन्न हुँदा ‘सेप्सिस’ विकसित हुन्छ ।

यसैले भनिन्छ कि सेप्सिसको संकेतलाई पहिचान गरेर समयमै उपचार गराउनु सबैभन्दा राम्रो विकल्प हो । यस्तो नगर्दा सिभियर सेप्सिस भनिने यो अवस्थामा अंग फेल हुन सक्छ । यसभन्दा अगाडिको स्थिति अर्थात् थर्ड स्टेजलाई सेप्टिक सक भनिन्छ, जसमा बिरामीको मृत्युसम्म हुन्छ ।

यसैले यो इमर्जेन्सी स्थिति हो । मुख्य रूपमा संक्रमण तीव्र गतिले फैलिरहँदा मिनेट मिनेटको महत्त्व हुन्छ । यसैले बिरामीलाई तुरुन्त चिकित्सकीय सहायता उपलब्ध गराउनुपर्छ ।

सामान्य शब्दमा परिभाषित गर्ने हो भने, ‘सेप्सिस’ भनेको शरीरमा संक्रमण फैलिएर ज्यान नै जोखिममा पर्न सक्ने एउटा अवस्था हो ।
यसलाई शरीरमा रोगविरुद्घ लड्ने तत्त्वहरू वा रोग प्रतिरोधक क्षमताले रोगसँग लड्दाखेरी उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रूपमा पनि हेर्न सकिन्छ ।

यो रोगमा शरीरको रक्तसंञ्चार प्रक्रिया बिग्रिन्छ । यसले शरीरमा सुन्नाइ दिनुको साथै रगत जम्नसमेत थाल्छ । यसले गर्दा शरीरको अंगले पर्याप्त मात्रामा अक्सिजन र पोषकतत्त्व पाउँदैन । सेप्सिसले हाम्रो शरीरको विभिन्न अंगमा आक्रमण गरेर तिनलाई काम नलाग्ने बनाउन सक्छ, साथै ज्यानैसम्म लिन सक्छ ।

संसार भर प्रत्येक ३.५ सेकेन्डमा एकजनाको सेप्सिसका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।ग्लोबल सेप्सिस एलायन्सको आंकलनअनुसार विश्वभरिमा बर्सेनि २७ लाखदेखि ३० लाखसम्म व्यक्तिलाई सेप्सिस हुने गर्छ । सेप्सिसको मुख्य तीनवटा लक्षण छिटोछिटो श्वास फेर्नु, पिसाब कम हुनु र होसमा कमी हुनु हो । यी ३ मध्ये कुनै दुई समस्या देखिए भने त्यो सेप्सिस हो ।

सेप्सिस संक्रमण अन्य विभिन्न कारणलेपनि हुन सक्छ । सेप्सिसको लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकीय परामर्श लिनुपर्छ ।सेप्सिस कुन कारणले भएको र शरीरमा संक्रमण भए नभएको हेर्न रगत, पिसाब, खकार वा अन्य परीक्षण गर्नुपर्ने हुन्छ ।

सेप्सिसको केही संकेतसमेत छन् । यसअन्तर्गत रगतमा प्लेटलेट्स कम हुनु, पिसाब कम हुनु, निरन्तर कमजोरी हुनु, मुटुको असामान्य कार्यप्रणाली, सोच्ने क्षमतामा परिवर्तन आउनु, शरीरको तापक्रमममा कमी आउनाले चिसो लाग्नु, सास फेर्नमा समस्या हुनु हो ।
सेप्सिस जुनसुकै व्यक्तिलाई हुन सक्छ । तर यो रोग हुने खतरा रोग प्रतिरोधक क्षमता कम भएका, मधुमेही, एचआईभी/एड्सका बिरामी, १०१ डिग्री फरेनहाइटभन्दा बढी र ९८.६ डिग्री फरेनहाइटभन्दा कम ज्वरो भएका व्यक्तिहरू एवं बालबालिका र बज्रुकहरूमा बढी हुन्छ ।

यदि सेप्सिसको लक्षण रहिरहन्छ र रक्तचाप कम हुने देखिन्छ भने त्यसलाई सेप्टिक सक भनिन्छ । यो अवस्थामा शरीरको विभिन्न अंग फेल भएर बिरामीको मृत्युसमेत हुन सक्छ ।सेप्टिक सकको अवस्थामा बिरामीको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म हुन्छ ।
यसैले सेप्सिसलाई चाँडै पत्ता लगाएर उपचार गरे सेप्टिक सक भई अंग फेल हुनुका साथै मृत्यु हुनबाट समेत जोगाउन सकिन्छ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

ब्रेक्जिट छलफलमा जुट्दै जोन्सन

एजेन्सी

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे युरोपेली नेताहरूसँग छलफल गर्ने भएका छन् । जोन्सन पछिल्लो समय ब्रेक्जिटका कारण अप्ठ्यारोमा परेका छन् । 

बेलायतको राजधानी लन्डनमा ब्रेक्जिटविरोधीले शुक्रबार गरेको प्रदर्शन । तस्बिर : एपी

जोन्सनले सोमबार ईयू प्रमुख जाँ क्लाउड यान्करसँग भेटवार्ता गर्ने बेलायती प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जनाएको छ । ‘प्रधानमन्त्री जोन्सन सोमबार दिउँसो लक्जम्वर्ग जाने र ब्रेक्जिटबारे यान्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,’ प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए ।

ईयू प्रमुखबाट बिदा लिन लागेका यान्करसँग जोन्सनको प्रधानमन्त्रीका हैसियतमा यो पहिलो बैठक हुने छ । यद्यपि, आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । ‘यान्करसँगको कुराकानीपछि जोन्सनले लक्जम्वर्गका प्रधानमन्त्री जेभियर बेट्टेलसँग भेटवार्ता गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । जोन्सनको लक्जम्वर्ग भ्रमण ब्रेक्जिट सम्झौताका लागि हुने युरोपेली प्रमुख नेताहरूसँगको अन्तिम भेट हुने छ ।

यसअघि उनले जर्मनी, फ्रान्स तथा युरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कलगायतसँग छलफल गरेका थिए । ‘हामीले ब्रेक्जिट सम्झौताका लागि कडा गृहकार्य गरिरहेका छौं, छलफलहरू भइरहेका छन् तर यसका लागि लामो समय बितिसकेको छ त्यसैले वार्ताहरूबाट ठोस उपलब्धि हुने सम्भावना घटेर गएको छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ताले भने ।

जोन्सन सम्झौतामार्फत् वा बिनासम्झौता तोकिएको समयभित्रै ईयूबाट अलग हुने पक्षमा छन् । बेलायत ईयूबाट बाहिरिने सयमसीमा अक्टोबर ३१ तोकिइसकेको छ । जोन्सनले ब्रेक्जिटको समयसीमा थप्न आफूले ईयू मुख्यालयलाई आग्रह नगर्ने बताउँदै आएका छन् । बेलायतकी पूर्वप्रधानमन्त्री टेरेजा मेले ईयूसँग गरेको सम्झौता बेलायती सांसदहरूले अनुमोदन नगरेपछि यसअघि दुई पटकसम्म ब्रेक्जिट प्रयास विफल भएका थिए ।

बेलायत कुनै पनि हालतमा ईयूबाट अलग हुनुपर्ने पक्षमा विपक्षी लगायतले विरोध जनाएपछि प्रधानमन्त्री जोन्सनले संसद्मा मध्यावधि चुनाव गराउने प्रस्ताव गरेका थिए । तर गतसाता संसद्मा सोमबार भएको मतदानमा जोन्सन दोस्रोपटक असफल भएका थिए ।

बेलायतले आगामी अक्टोबर ३१ भित्र सहमतिसहित गरेर वा बिनाकुनै सहमति ईयूबाट बाहिरिनुपर्ने छ । तर गत सोमबार मात्रै महारानीले स्वीकृत गरेको एक कानुनले त्यसलाई परिवर्तन गरिदिएको छ ।

नयाँ प्रावधानअनुसार ईयूबाट बेलायतको बहिर्गमनबारे सम्झौता भए वा नभए पनि त्यसलाई सांसदहरूले अनुमोदन गर्नुपर्ने छ । सांसदले अनुमोदन नगरेसम्म प्रधानमन्त्रीले सन् २०२० को जनवरीसम्म ब्रेक्जिट प्रक्रिया लम्ब्याउन बाध्य हुने छन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्