उपचारमा उपयोगी 'प्लाज्माफेरेसिस’

अतुल मिश्र

काठमाडौँ — प्रविधिको सहयोगमा विशेष प्रकारले गरिने रगतको सफाइ ‘प्लाज्माफेरेसिस’ हाल थुप्रै प्रकारको जटिल रोगको उपचारमा समेत प्रयोग गर्न थालिएको छ । यसले रगतको प्लाज्मामा भएको एन्टिबडी हटाउँछ । 

उपचारमा उपयोगी 'प्लाज्माफेरेसिस’

प्रधानमन्त्री केपी ओलीलाई मृगौलासम्बन्धी समस्याको उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ गरिएपछि यो चिकित्सकीय प्रक्रिया सबैको चर्चा र चासोमा छ । प्रधानमन्त्री ओली सिंगापुरबाट ‘प्लाज्माफेरेसिस’ गराएर दुई सातापछि शुक्रबार स्वदेश फर्किइसकेका छन् ।


डायलासिसजस्तै रगत शुद्घीकरणको प्रक्रिया ‘प्लाज्माफेरेसिस’ हाल थुप्रै प्रकारको जटिल रोगको उपचारमा समेत प्रयोग गर्न थालिएको छ ।


सामान्य भाषामा भन्ने हो भने यो प्रविधिको सहयोगमा विशेष प्रकारले गरिने रगतको सफाइ हो । यसले रगतको प्लाज्मामा भएको एन्टिबडी हटाउँछ । मुलुकमा समेत धेरै अघिदेखि प्लाज्माफेरेसिस गर्दै आइएको छ । सम्पूर्ण रगतबाट प्लाज्मालाई अलग गर्न प्लाज्माफेरेसिसअन्तर्गत मौलिक रूपमा दुई फरक प्रविधिलाई उपयोग गरिन्छ ।


यसअन्तर्गत सेन्ट्रिफयुगेसन (बीचबाट छेउतिर आउने/ केन्द्रप्रसारी) वा फिल्ट्रेसन (छान्ने/निथार्ने) प्रविधिको उपयोग गरिन्छ । सेन्ट्रिफयुगेसनद्वारा रगतको चारवटै घटकलाई छुट्ट्याइन्छ । यस्तै फिल्ट्रेसनअन्तर्गत सम्पूर्ण रगत एउटा चाल्नोबाट प्लाज्मालाई रगतको अन्य भागबाट छुट्ट्याउन गुज्रिन्छ ।


‘प्लाज्माफेरेसिसको इतिहास लामो छ, एफेरेसिसको माध्यमले हामी प्लाज्मालाई अलग गर्छौं र प्लाज्मालाई परिवर्तन गर्छौं,’ भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग विशेषज्ञ डा.अजयकुमार झा भन्छन्, ‘प्लाज्मामा एन्टिबडी, एन्टिजेन एन्टिबडी कम्प्लेक्स, साइटोकाइन्ड हुन्छ, शरीरमा यो विकारक वस्तु हो, जसले सिस्टमिक (प्रणालीगत) जटिलता दिन्छ ।’


‘हामी कहाँ मृगौलासम्बन्धी विभिन्न प्रयोजन र न्यरोलोजिकल रोगका लागि एक दशकदेखि प्लाज्माफेरेसिस भइरहेको छ,’ त्रिवि शिक्षण अस्पतालका मृगौला रोग विशेषज्ञ डा.महेशराज सिग्देल भन्छन् । उनका अनुसार अस्पतालमा हाल यो प्रक्रिया स्थापित उपचारजस्तै भएको छ । जुन–जुन रोगमा प्लाज्मामा भएका विकारयुक्त तत्त्वलाई प्लाज्माफेरेसिसका माध्यमले शरीरबाहिर निकालिन्छ । विशेषज्ञहरूका अनुसार प्लाज्माफेरेसिस थुप्रै उपचार प्रक्रियामा उपयोग मानिएको छ । यो थुप्रै अटोइम्युन रोगको उपचारमा समेत उपयोग गरिन्छ ।


प्लाज्माफेरेसिसको सामान्य प्रयोग आँखाको नशा र मेरुदण्डको हाडलाई प्रभावित गर्ने केन्द्रीय स्नायु प्रणालीसम्बन्धी अटोइम्युन रोग न्युरोमाइलाइटिस अप्टिकामा समेत प्रभावकारी मानिन्छ ।


केन्द्रीय स्नायु प्रणालीमा आक्रमण गर्ने अटोइम्युन रोग ‘मल्टिपल स्क्लेरोसिस, न्युरो मसकुलर डिजअर्डर ‘माइस्थानिया ग्रेभिस’, गुलियन वेरी सिन्ड्रोम, ट्रान्सभर्स माइलाइटिस, छाला रोग सोराइसिसलगायतमा समेत यो प्रक्रिया उपयोगी छ ।


भविष्यमा कलेजो प्रत्यारोपणको आवश्यकता हुने बिरामीलाई समेत प्लाज्माफेरेसिसको माध्यमले बचाउन सकिन्छ । तर यो प्रक्रिया टक्सिसिटी, भाइरल संक्रमण, हेपाटाइटिस ‘बी’ र ‘ई’, वा मदिराले कलेजोमा खराब संक्रमण भएका बिरामीका लागि प्रभावकारी हुन्छ । प्लाज्माफेरेसिले भिन्न रगत समूहबीच मृगौला प्रत्यारोपण सम्भव हुन्छ ।


प्लाज्माफेरेसिस, फिल्ट्रेसन र सेन्ट्रिप्युगेसन प्रविधिबाट गरिने भए पनि फिल्ट्रेसन पुरानो पद्धति भएकाले हाल धेरै ठाउँमा उपयोग नगरिने डा. झा बताउँछन् ।


सेन्ट्रिफयुगेसन नयाँ प्रविधि हो । एफेरेसिस मेसिनले सेन्ट्रिफयुगेसनका माध्यमबाट काम गर्छ । एफेरेसिस मेसिनको धेरै काम हुने भए पनि यसअन्तर्गत प्लाज्माफेरेसिस पनि एउटा हो ।


रगतलाई सेन्ट्रिफयुज गर्दा यो अति सानो कणको बाक्लोपना (घनत्व) मा काम गर्छ । कणको घनत्व जति सानो एकाईमा छ, त्यसरी नै ती छुट्टिन्छन् । यसरी रगत छुट्टिएपछि प्लाज्मासमेत छुट्टिन्छ ।


‘यस प्रक्रियाअन्तर्गत प्लाज्मा छुट्टिएपछि हाम्रो बाँकी रक्तकोष, रातो रक्तकोष, सेतो रक्त कणिका, हेमोग्लोबिन, प्लेटेलेट्स आदिलाई पुनः हामी बिरामीकै शरीरमा फर्काउँछौं,’ डा. झा भन्छन् ।


प्लाज्माफेरेसिसमा सामान्यतः बिरामीको प्लाज्मा १५ प्रतिशतभन्दा कम परिणाममा निकालिने भएकाले सामान्यतः केही प्रतिस्थापित गरिँदैन ।


तर प्लाज्माको बढी परिणाम बिरामीबाट निकाल्दा अर्थात् हाइपो थेराप्युटिक प्लाज्मा एक्सचेन्ज गर्दा बिरामी शरीरबाट बढी मात्रामा प्लाज्मा निकालिन्छ । ‘यसको बदलामा प्लाज्मा, एल्बोमिन वा सलाइन वा यस्तै प्रकारको कम्पोजिसन पुनः बिरामीको शरीरमा फर्काइन्छ,’ डा. झा भन्छन्, ‘प्लाज्माफेरेसिसमा १५ प्रतिशतभन्दा कम मात्रा उपयोग गरिने भएकोले यसमा केही प्रतिस्थापित गर्नु पर्दैन ।’

केहो प्लाज्मा ?

प्लाज्मा रगतमा हुने हलुका पहेंलो रंगको तरल पदार्थ हो । रगतमा हुने प्लाज्माको काम हाम्रो शरीरलाई संक्रमणबाट जोगाउनु हो ।

रगतलाई रक्तकोष र प्लाज्मा गरी दुई भागमा बाँडिन्छ ।

प्लाज्मा आयतनका आधारमा रगतमा करिक ५५ देखि ६० प्रतिशत हुन्छ भने रक्तकोष ४० देखि ४५ प्रतिशत हुन्छ । प्लाज्मामा ९० देखि ९२ प्रतिशत पानी र बाँकी ८ देखि १० प्रतिशत भाग थुप्रै कार्बनिक र अकार्बनिक पदार्थ हुन्छन् ।


प्लाज्मामा भएको ग्लोब्युलिंसले एन्टिबडीजस्तै काम गर्छ र हानिकारक ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । यस्तै प्रोथ्रोम्बिन, फाइब्रिनोजनले रगत जम्न सघाउँछ । प्लाज्मामा हार्मोन्स, भिटामिन, चिनी, अमिनो एसिड, बोसोसम्बन्धी अम्ल, एन्टिबडी, युरिक एसिडलगायतका पाइन्छ ।


यस्तै, प्लाज्मामा सोडियम बायोकार्बोनेट, सोडियम क्लोराइड, क्याल्सियम, म्याग्नेसियम, पोटेसियम, आइरनको फस्फेट, बाइकार्बोनेट, सल्फेट, क्लोराइडसमेत पाइन्छ । यति मात्र नभई, प्लाज्मामा अक्सिजन, कार्बनडाइअक्साइड, नाइट्रोजन, एमोनिया आदि ग्याससमेत घोलिएको अवस्थामा हुन्छ ।


कसरी गरिन्छ ?

बिरामीलाई मेसिनमा सब्जेक्ट गरिन्छ । एकतर्फबाट रगत निस्किन्छ र यो मेसिनमा जान्छ र अर्कोतर्फबाट प्लाज्मा छुट्टिएर बाँकी रगत बिरामीकै शरीरमा फर्काइन्छ । यसका लागि २/३ घण्टा लाग्छ । एकैपटक बढी मात्रामा रगत शरीरबाट बाहिर निस्किँदा कहिलेकहीँ हाइपोभोलेमिया हुन सक्छ । यसले गर्दा रक्तचाप कम हुन्छ । यस्तै हाइपोक्याल्सिमियासमेत हुन सक्छ । यसमा हातखुट्टा झमझमाउने तथा हातखुट्टाका मांसपेशी कडा हुने गर्छन् ।


यस प्रक्रियामा ब्लड कम्पोनेन्ट शरीरबाहिर गएर पुनः शरीर भित्र जाने भएकाले संक्रमण हुने सम्भावनासमेत हुन्छ । पलाज्माफेरेसिसमा साइड इफेक्ट भने कमै हुने झा बताउँछन् ।


कुन रोगमा उपयोगी ?

  • माइस्थानिया ग्रेभिस
  • गुलियनवैरी सिन्ड्रोम
  • डिमाइली नेटिङ पोली न्युरोपेथी
  • सिस्टमिकब स्क्लैरोसिस
  • हिमोलाइटिक युरेमिक सिन्ड्रोम
  • थ्रम्बोटिक थ्रम्बोसाइटोपेनिक परप्युरा
  • थ्रम्बोटिक माइक्रो एन्जियोपेथी
  • एन्टि फस्फोलिपिड एन्टिबडी सिन्ड्रोम
  • गुड पास्चर सिन्ड्रोम
  • ग्लोमेरुलो नेफ्राइटिस
  • विषाक्तता
  • कलेजो फेल हुनु
  • औषधिको ओभर डोज

प्रकाशित : भाद्र २१, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?