३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

फैलँदै डेंगुको प्रकोप

अतुल मिश्र

काठमाडौँ — पछिल्लो दशकमा नेपालमा डेंगु रोगको विस्तार अत्यधिक देखिएको छ । यो वर्षपनि डेंगुका कारण देशका विभिन्न स्थानमा मानिस पीडित बनेका छन् । 

फैलँदै डेंगुको प्रकोप

बर्सेनि वर्षायाममा देशैभर संक्रमण देखिने डेंगुमा सामान्य लापरबाही वा गलत उपचारले रोगीको ज्यानसमेत लिन सक्छ । भाइरसबाट हुने डेंगु संक्रमण एक व्यक्तिबाट अर्कोमा फैलिँदैन । हाल नेपालमा डेंगुको प्रसार सबैभन्दा बढी पोथी ‘एडिस एजेप्टी’ लामखुट्टेका कारण देखिएको छ । यो संक्रमण एडिस एल्बोपिक्टस लामुखुट्टेले समेत सार्छ भने यो प्रजातिसमेत मुलुकमा देखिएको छ । डेंगु फैलाउने यही लामखुट्टेले जिका संक्रमण, चिकनगुनिया, यलो फिभरसमेत सार्छ ।


सामान्य डेंगु करिब एक सातामा आफैं निको हुने औंल्याउँदै टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डे भन्छन्, ‘डेंगुको ज्वरो आउनेबित्तिकै अस्पताल भर्ना हुनुपर्दैन, चिकित्सकीय सल्लाहमा घरमै उपचार गरे हुन्छ ।’


तर सिभियर (गम्भीर) डेंगु (डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम) देखिए तरुन्त अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ । सन् १९५० मा फिलिपिन्स र थाइल्यान्डमा महामारी फैलिएको समय पहिलो पटक ‘सिभियर डेंगु’ को पहिचान भएको हो ।


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीं सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ । सामान्य डेंगु र सिभियर डेंगुका लागि कुनै विशिष्ट उपचार छैन तर चाँडै संक्रमण पत्ता लगाउनाले र उचित चिकित्सकीय निगरानीले मृत्युदर एक प्रतिशतभन्दा तल झार्न सकिन्छ । डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा यसको लक्षण प्रकट हुन सक्छ । डेंगुको तीब्रता वयस्कको दाँजोमा बालबालिका र बूढापाका बढी देखिन्छ । यस्तै घरमा स्वास्थ्य लाभ गरिरहेका सामान्य डेंगुका बिरामीहरूलाई राति मात्र हैन दिउँसोसमेत झुलभित्रै सुताउनुपर्छ ।

घरमै आराम गर्दै स्वास्थ्य लाभ गरिरहेका सामान्य डेंगुको बिरामीहरूले ४ घण्टामा पिसाब लाग्ने गरी पानीलगायत भरल र झोल पदार्थ सेवन गर्दा यसको लक्षणमा धेरै राहत मिल्ने टेकु अस्पतालकै डा.शेरबहादुर पुन बताउँछन् । उनका अनुसार चिकित्सकीय सल्लाहअनुसार घरमा स्वास्थ्य लाभ गरिरहेका बिरामीहरू कुनै पनि जटिलता वा चेतावनीको संकेत देखिए तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ ।


सामान्य डेंगु भएकाहरूले जीउ बढी दुख्दा औषधि पसल गएर आफैंले ब्रुफिन, एस्प्रिनजस्ता दुखाइ नाशकलगायतका औषधि सेवन गर्ने खतरनाक स्थिति मुलुकमा रहेको समेत विशेषज्ञहरू औंल्याउँछन् ।


‘ज्वरो भएका सामान्य डेंगुका बिरामीले दुखाइ/ज्वरो कम गर्न एस्प्रिन, ब्रुफिनजस्तो औषधि सेवन गरे शरीरको आन्तरिक रक्त श्राव भएर यो समस्या सिभियर डेंगुमा परिवर्तन हुन सक्ने खतरा रहन्छ,’ डा.पाण्डे भन्छन्, ‘यसैले धेरै दुख्छ, ज्वरो बढी छ भने चिकित्सकीय सल्लाहमा पारासिटामोल उपयोग गर्न सकिन्छ ।’


अस्पतालमा भर्ना रहेका डेंगु बिरामीहरूलाई दिनहुँ रगतमा ‘प्लेटेलेटस, डब्लूबीसी र पीसीपी परीक्षण आवश्यक मानिन्छ ।


टेकु अस्पतालले रगतमा प्लेटेलेटसको संख्या ३० हजारभन्दा कम भए मात्र डेंगुका बिरामीलाई प्लेटेलेटस चढाउने गरे पनि उपचारको गाइड लाइन अनुसार ५० हजारभन्दा कम प्लेटेलेटसको संख्या देखिए यो तत्त्व नढाउन सकिने डा.पाण्डे बताउँछन् । डब्लूएचओको अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन् । हालका दिनमा नाटकीय रूपले डेंगुको विश्वव्यापी घटनामा वृद्घि देखिएको छ । मुलुकमा डेंगुको पहिलो रिपोर्टेड केस मुलुकमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो भने यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको हो ।


ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलका अनुसार सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुर जिल्लाहरूमा डेंगु महामारीको रूपमा फैलिएको हो । यो वर्ष सुनसरीमा मात्र ३ हजार २ सय ६६ डेंगुका बिरामी पाइएका ।


सामान्य डेगुंको घरमै उपचार

तपाईंको परिवारमा कसैलाई सामान्य डेंगु भए चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ । तर यस्तो समय बिरामीमा देखिने लक्षणहरूलाई सावधानीपूर्वक निगरानी गर्नुपर्ने हुन्छ, किनभने डेंगु तेस्रो र सातौं दिनको बीचमा जतिखेर ज्वरो हट्छ, छिट्टै गम्भीर रूपसमेत लिन सक्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार डेंगु बिरामीलाई ज्वरो हुँदाताका सकेसम्म आराम गर्नुपर्छ ।


उच्च ज्वरो नियन्त्रणका लागि ‘इबुब्रुफिन’, ‘एस्प्रिन’, भएको औषधि दिन हुँदैन । ज्वरो कम गर्न आवश्यकता भए हरेक ६ घण्टामा ‘पारासिटामोल’, औषधि एक दिनमा अधिकतम ४ मात्रा गरी दिन सकिन्छ । यदि उच्च ज्वरो रही नै रहे टाउकोमा पानीपट्टी वा कपडालाई पानीले भिजाएर पुनः निचोरेर बिरामीको शरीरमा पुछ्न सकिन्छ । सीडीसीका अनुसार बिरामीको शरीरमा पानीको कमी हुन दिनुहुन्न । शरीरमा पानिको कमी भएको लक्षणहरूमा निरन्तर ध्यान दिनुपर्छ किनभने यो अवस्थामा ज्वरो, वान्ता वा पर्याप्त तरल पदार्थ सेवन नगरे बिरामीको शरीरको तरल पदार्थमा धेरै मात्रामा कमी आउँछ । यसैले डेंगुको बिरामीलाई प्रशस्त मात्रामा तरल पदार्थ र पानी दिनुपर्छ ।


डेंगु सामान्यतः एक/दुई सातामा आफैं निको भइहाल्छ । यो रोगको उपचार गर्नका लागि कुनै विशिष्ट औषधि छैन । चिकित्सक, स्वास्थ्यकर्मीले ‘पारासिटामोल’, औषधिको माध्यमले ज्वरो र दुखाइ नियन्त्रण लगायतका लाक्षणिक उपचारअन्तर्गत बिरामीमा देखिएको विभिन्न लक्षणको प्रबन्धन गर्छन् । यसमा आन्तरिक रक्त श्रावको जोखिम हुने भएकाले ‘एस्प्रिरन’, ‘आइबुप्रोफेन’, आदि उपयोग गर्ने सल्लाह दिइँदैन । सामान्य डेंगु भएकाहरूलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ ।


ज्वरोबिना पनि हुनसक्छ डेंगु

तीव्र ज्वरो, कडा शरीरको दुखाइलगायतका लक्षण देखिए मात्र डेंगु भएको आशंका गरिन्छ । तर ज्वरो नदेखिने पनि डेंगु संक्रमण हुन सक्छ । ‘जनरल अफ फिजिसियन अफ इन्डिया’ मा प्रकाशित एउटा अनुसन्धानअनुसार यस्तो ज्वरो नहुने ‘एफ्रेबिल डेंगु’, को लक्षण सामान्य डेंगुभन्दा फरक हुन्छ ।


बूढापाका, मधुमेह भएका, शरीरको प्रतिरोधक क्षमता कम भएकाहरूलाई ज्वरोबिना समेत डेंगु हुन सक्छ । यस्तो बिरामीलाई ज्वरो नभए पनि डेंगुको अन्य लक्षण देखिन्छ । तर यो लक्षण पनि धेरै हलुको हुन्छ । यस्तो डेंगुका धेरै हलुका संक्रमण हुने अध्ययनमा उल्लेख छ । बिरामीलाई ज्वरो, छालामा बढी बिमिरा वा जीउ दुखाइ आदिको समस्या देखिँदैन ।

प्रकाशित : भाद्र १४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?