कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्यमन्त्री सामु कान्ति बाल अस्पतालका निर्देशकको गुनासो- 'आईसीयू अभावले दिनहुँ १० बच्चाको ज्यान जान्छ'

अतुल मिश्र

काठमाडौँ — मुलुकको कुनाकाप्चाबाट अत्यन्त जटिल अवस्थामा रेफर भएर आएका ६ देखि १० जना बालबालिकालाई नचाहँदा-नचाहँदै आईसीयूको लागि बाहिर रेफर गर्नुपर्ने स्थिति रहेको कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी बिच्छाले गुनासो गरेका छन् ।

स्वास्थ्यमन्त्री सामु कान्ति बाल अस्पतालका निर्देशकको गुनासो- 'आईसीयू अभावले दिनहुँ १० बच्चाको ज्यान जान्छ'

डा.बिच्छाले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादव, स्वास्थ्य सचिव लगायतका उपस्थितिमा सोमबार अस्पतालमा ८ शय्या क्षमताको पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (पीआईएमसीयू) को उद्घाटन समारोहमा उक्त दुःखेसो पोखेका हुन् ।


‘मलाई थाहा छ उहाँहरु आफ्नो सन्तानको ज्यान जोगाउन घर, जग्गा, गहना बेचेर यहाँ इमरजेन्सी सेवामा आउनु भएको हो,' डा.बिच्छाले भने, ‘हामीसँग बेड हुँदैन, दुःखदायी स्थितिमा नचाहेर पनि बाहिर रेफर गर्छौं ।’


कान्तिको यही कमीकमजोरीले नजिकका अस्पतालहरुको लागि 'कमाइ खाने भाँडो' बनेको समेत उनले उल्लेख गरे ।


हाल कान्तिमा ५० शय्याको आईसीयूको संरचना रहे पनि मात्र ३० शय्या सञ्चालनमा छ । अस्पतालमा ३० वटा मेडिकल अफिसर र ४० वटा स्टाफ नर्सको दरबन्दी खाली छ ।


‘एक दिन अर्थात २४ घन्टाको २४ हजारसम्म लिन्छन् यस्ता अस्पतालले, एक/दुई दिन त्यहाँ रहन्छन् फेरि पैसो सिद्धिएपछि तेस्रो दिन कान्ति मै फर्किन्छन्,' डा.बिच्छाले भने, ‘र, हामीले बेड उपलब्ध नगराउँदा चौंथो/पाँचौँ दिन यही कान्ति परिसर मै उनीहरुको मृत्यु हुने दर्दनाक स्थिति छ, यसको अन्त हुनु पर्छ ।’


उपप्रधानमन्त्री यादवले उद्घाटन गरेको ८ शय्याको पीआईएमसीयूले सञ्चालनमा आएपछि करिव ५० प्रतिश बिरामी बच्चालाई रेफर गर्न कम हुने दाबी गर्दै उनले स्वास्थ्य मन्त्रालयसँग आवश्यक जनशक्ति व्यवस्था गर्न आग्रह गर्दै भने, ‘हामीले एकजना मान्छे थपेका छैनौं, यही भित्रका जनशक्ति परिचालन गरेर पीआइएमसीयु सुरु गरेका हौं ।’


मुलुकको अस्पतालहरमा आईसीयू, एनआईसीयू शय्या संख्या धेरै कम रहेको जनाउँदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले भने, ‘आईसीयूको अभावमा नीजि जानु पर्छ र पैसा नभएकालाई एकदुई दिन त्यहाँ रहे पछि पुनः सरकारी कै लाईनमा लाग्नु पर्ने विकराल स्थिति छ ।’


स्वास्थ्यमा हाल ४.४८ प्रतिशत वार्षिक बजेट रहेको जनाउँदै उपप्धानमन्त्री यादवले भने, ‘यसमा ४ प्रतिशत तलव, भत्ता आदिमा खर्च हुन्छ, बाँकी रहेको ०.४८ प्रतिशतले विकास , निर्माण लगायतमा खर्च गरेर कसरी राम्रो सेवा दिन सकिन्छ ?’

प्रकाशित : भाद्र २, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?