आत्महत्या यसरी रोक्न सकिन्छ

मानसिक समस्या देखिएपछि मनोचिकित्सक, मनोपरामर्शदाता वा अन्य मानसिक स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गरी उपचार गर्नुपर्छ
अतुल मिश्र

काठमाडौँ — चिकित्साशास्त्रका २२ वर्षीया एक छात्रा होस्टलको कोठामा भुन्डिने प्रयास गर्दा डोरी चुँडिएर बाँचिन । साथीहरूले तत्कालै त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागमा पुर्‍याएकाले दुर्घटना भएन । 


आर्थिक, पारिवारिक, रिलेसनसिप (सम्बन्ध) लगायत तनावका कारण बाध्य भई उनी आत्महत्या गर्न खोजेकी रहेछन् । उचित परामर्शपछि उनी अहिले पूर्णस्वस्थ छिन् ।

उनले आत्महत्या गर्ने संकेतचाहिं महिनौंअघिदेखि नै दिन थालेकी थिइन् । होस्टल, अस्पतालमा सँगै बस्ने र पढ्ने साथीभाइले खासै वास्ता गर्दा उनले गलत विकल्प रोजिन्, आफैंलाई समाप्त पार्न तर्फ लागिन् । एकैछिनको आवेशमा आत्महत्या रोजेकी तिनले डोरी नचुँडिएको भए यो संसारमा हुने थिइनन् ।

मनोचिकित्सकहरूका अनुसार आत्महत्याको प्रयास गरेपछि बाँचेकाहरूमध्ये धेरैलाई गलत निर्णयपछि पछुतो हुने गर्छ । कुनै व्यक्तिले विष सेवन गर्‍यो, छतबाट वा नदीमा हाम्फालेपछि तत्कालै पछुतो अनुभव गर्ने गरेको उनीहरू बताउँछन् ।

भविष्यकी चिकित्सक ती छात्राबारे मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा. सरोज ओझा भन्छन्,‘आत्महत्या गरे पनि डोरी चुँडिएकोले उपचार प्रक्रियामा आएर हाल उनी पूर्ण स्वस्थ छिन्, समयमै सामान्य कुराकानी, काउन्सेलिङ, उपचार प्रक्रियाले आत्महत्या रोक्न सकिन्छ ।’

व्यक्तिविशेष एक्लो बस्नु, निराशजनक र असहाय अनुभव गर्नु तथा आफूलाई आएको समस्या समाधान गर्न नसक्नुलगायत आत्महत्याकोसंकेतहरू हुन् ।

‘समाजमा आत्महत्या मानसिक अवस्था गुमेको, कायरले मात्र गर्ने भन्ने भ्रम छ,’ कन्सलटेन्ट साइकियाट्रिस्ट डा. रितेश थापाले, ‘आत्महत्या व्यक्तिले आफ्नो मानसिक तनावलाई व्यवस्थित गर्न नसकेर गर्छन् ।’ अध्ययनहरूले आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग नै भएको देखाएको छ ।

डा. थापाका अनुसार नेपाल स्वास्थ्य अनुसन्धान परिषदको मानसिक स्वास्थ्यसम्बन्धी हालै गरिएको एउटा अध्ययनको प्रारम्भिक परिणामअनुसार मुलुकमा आत्महत्याको सम्भावना रहेका व्यक्ति करिब ८.७ प्रतिशत छन् ।तर, अकाल मृत्युका प्रमुख कारण रहेको आत्महत्या रोक्न सकिने विषयमा मुलुकका आम जनसमुदायलाई खासै जानकारी छैन ।

दैनिक औसत रूपमा १५ देखि १६ जनाले मुलुकमा आत्महत्या गरिरहेको तथ्यांक औंल्याउँदै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले भने, ‘बर्सेनि आत्महत्या गर्ने दर करिब ८ प्रतिशतले बढ्दो देखिन्छ ।’ उनका अनुसार हाल सामाजिक सञ्जालमा देखिएको विकृति र विसंगति पनि पछिल्लो समय आत्महत्याको कारण बन्दै गएको छ ।

प्रहरीको तथ्यांकअनुसार मुलुकमा सबैभन्दा बढी अर्थात् २४ प्रतिशत आत्महत्या आवेगमा आएर हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार बर्सेनि करिब ८ लाख व्यक्ति आत्महत्याले गर्दा मृत्युवरण गर्छन् । आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहमा मृत्यु हुने दोस्रो ठूलो कारण हो ।

विश्वभरिमा हुने आत्महत्याको ७९ प्रतिशत जति निम्न र मध्य आय भएका राष्ट्रमा हुने गर्छ । विषादी सेवन, झुन्डिनु, पेस्तोल बन्दुकलगायत सबैभन्दा बढी आत्महत्या गरिने माध्यम हुन् ।आत्महत्याको प्रयास विशेषगरी किशोरावस्था युवतीहरूमाबढी देखिने गरिए पनि आत्महत्याबाटमृत्यु भएकाहरूमा युवक धेरै रहेको डा.ओझाले बताए ।

आत्महत्या गर्ने सोच आउने मनोविज्ञान मान्छेपिच्छे फरकफरक पाइन्छ । सानोतिनो कुरामा संवेदनशील हुने, तनावहरू मनभित्र राख्ने, बाहिर निकाल्न न सक्नेलगायतका कमजोर मनोविज्ञान हुने व्यक्ति आत्महत्या गर्न सक्छन् ।

समस्याको निकास न निस्किने नकारात्मक सोचको अन्तिम बिन्दुमा पुगेर व्यक्तिले आत्महत्याको योजना तयार पार्छन् । मुलुकमा सबैभन्दा बढी आत्महत्या झुन्डिएर हुने गरेको छ ।

डा.थापाका अनुसार आत्महत्याले मृत्युवरण गर्ने हरेक व्यक्तिको दाँजोमा कम्तीमा १० देखि १५ गुणा बढीले आत्महत्याको प्रयास गर्छन् । यसभन्दा पनि सय गुणाभन्दा बढी व्यक्ति यसबारे सोच्ने गरेका हुन्छन् ।

जोखिममा को ?
आत्महत्या र मानसिक समस्या अन्तरसम्बन्धित रहेको मनोचिकित्सकहरू बताउँछन् । डब्लूएचओका अनुसार मानसिक समस्याअन्तर्गत मुख्य रूपमा उदासी रोग (डिप्रेसन) र मदिराको अम्मल प्रमुख हो । विश्वमा करिब ३० करोड मानिस डिप्रेसनले प्रभावित रहेको डब्लूएचओको तथ्यांकमा छ ।

डिप्रेसन कडा भएर आत्महत्याको बाटो रोज्ने सम्भावना बढ्छ । कडा किसिमको दीर्घकालीन शारीरिक र मानसिक रोग भएकाहरू आत्महत्याको जोखिममा हुन्छन् । सामाजिक रूपमा प्रतिष्ठामा आँच आउने अवस्थामा, सम्बन्धविच्छेद लगायतको स्थितिमा आवेशमा आएर आत्महत्याको प्रयास हुन सक्ने डा.ओझा बताउँछन् ।

यस्तै, आत्महत्याको प्रयास गरेकाहरूसमेत पुनः आत्महत्या गर्न सक्ने जोखिममा हुन्छन् । यति मात्र नभई परिवारमा मानसिक समस्या,आत्महत्याको इतिहास भएकाहरूसमेत जोखिममा हुन्छन् ।

मधुर सम्बन्ध टुट्नु, जटिल आर्थिक समस्या, थेग्नै न सक्ने खालको दीर्घकालीन दुखाइ र रोगले जीवनको तनावसँग व्यवहार गर्ने क्षमता समाप्त वा कम हुनुले पनि आत्महत्याको जोखिम बढाउँछ ।

यसबाहेक द्वन्द्वको अनुभव, अपमान, दुर्व्यवहार, विपत्ग्रस्त अवस्था, हिंसा, क्षति र एक्लोपनाको अनुभूति कडा
रूपमा आत्महत्याको आचरणसँगजोडिएका हुन्छन् ।

डब्लूएचओका अनुसार आत्महत्याको दर भेदभाव अनुभव गर्ने, शरणार्थी, प्रवासी, महिलामहिलाबीच यौनसम्बन्ध हुने वर्ग, पुरुषपुरुषबीच यौनसम्बन्ध हुने व्यक्ति, उभयलिंगी, इन्टर सेक्स (एलजीईबीटीआई) कैदी लगायत असुरक्षित र कमजोर समूहमा उच्च छ ।
आत्महत्या गर्ने संकेत
‘म मरे नै ठीक हुन्छ’, ‘अब म बाँच्न चाहन्नँ’, ‘म नजन्मेको भए कति राम्रो हुन्थ्यो’, ‘भगवान् मलाई लिएर गइहाल’ जस्ता आवेग कुराकानीको समय प्रकट गर्नु भविष्यमा आत्महत्या गर्न सक्ने संकेतसमेत हुन सक्छ ।

आत्महत्या गर्नेबारे सोचिरहेका कुनै पनि व्यक्तिले आफ्नो निकटका वा छिमेकी, साथीभाइ, आफन्तलाई संकेतका रूपमा प्रकट गरिरहेका हुन्छन् ।

डा.थापाका अनुसार यस्ता संकेतलाई बेलैमा पहिचान गरी आफ्नो निकट व्यक्तिलाई उपचार प्रक्रिृयामा लग्नुपर्छ ।
चेतावनीको संकेत सधैं स्पष्ट हुँदैन । यस्ता संकेत व्यक्तिपिच्छे फरकफरकसमेत हुन सक्छन् । केही व्यक्तिले आत्महत्या गर्ने चेतावनीका संकेत आफ्नो छेउछाउमा हुनेहरूसमक्ष व्यक्त गरे पनि केहीले यसबारे विचार र भावना बाहिर प्रकट नगरी भित्रै पनि राख्न सक्छन् ।

यी संकेतलाई समयमै पहिचान गरी समस्या समाधानर्फ लाग्नुपर्छ । सम्झाइबुझाइ, उचित चिकित्सा प्रक्रिया वा व्यक्तिको पीडा राम्ररी सुनिदिनुले समेत धेरै फरक पार्ने डा. ओझा औंल्याउँछन् । कसैको व्यक्तित्वमा परिवर्तको लक्षणसमेत विकसित हुनसक्छन् भने गम्भीर रूपमा चिन्तित वा उत्तेजित हुनुलगायतका समस्या पनिदेखिन सक्छ ।
आफ्नो कामप्रति अरुचि प्रकट गर्नु, एक्कासि आफैंमा रम्दै एक्लै समय बिताउन थाल्नु, अव्यवस्थित देखिनुलगायत अस्वाभाविक व्यवहारलाई समेत संकेतकै रूपमा लिनुपर्छ । यसो अवस्थामा व्यक्तिको मनोदशामा धेरै परिवर्तन भइरहेको हुन्छ ।

आत्महत्या गर्ने संकेत देखाएका व्यक्तिले कम पीडा र दुखाइले मृत्यु हुने तरिकाको खोजीमा लाग्ने गरेको पनि पाइन्छन् । यसका लागि तिनीहरू मृत्युपछि के हुन्छजस्तो प्रश्न सोधेर आफूभित्रयसबारेको उत्सुकतासमेत देखाउँछन । यस्ता व्यक्ति आफ्नो स्वच्छा , देखरेख र स्वास्थ्यप्रति उदासिन हुन थाल्छन् ।

आफ्ना प्रिय सामानभन्दा टाढा रहनेप्रयास गर्छन् ।यति मात्र नभई केहीले त एक्कासि आफ्नो सम्पत्ति कसलाई कति दिने भन्नेबारेमा समेत भन्न थाल्छन् ।

ज्यानको माया नहुने भएकाले अत्यधिक मदिरा, ड्रग सेवन, अत्यन्त गतिमा जोखिमसहित गाडी चलाउनुलगायतका खतरनाक व्यवहार देखाउन थाल्छन् ।

आफन्तजनसँगको भेटघाट वा कुराकानीमा आफू पुनः नभेट्नेजस्तो लक्षण, हाउभाउ प्रकट गरी बिदा माग्ने गरेको पाइनु पनि आत्महत्याको संकेतका रूपमा लिने गरिन्छ ।

कति बेला चिकित्सकलाई देखाउने
तपाईँको मनमा आत्महत्याको विचार आइरहेको अवस्थामा आफ्ना अत्यन्त निकटस्थ साथी वा माया गर्ने व्यक्तिनजिक पुगेर भावना प्रकट गर्नुस् । मनको बह पोख्न अत्यन्त गाह्रो भए पनि आफ्नो अनुभूति र भावनाहरू पोख्नुस् ।

नबिर्सनुस् कि आत्महत्याको विचार अस्थायी हुन्छ । सुसाइड हटलाइनमा समेत फोन गरेर आफ्नो भावना पोख्न सकिन्छ । त्यसबाट पनि सल्लाहसुझाव लिन सकिन्छ ।

मनोचिकित्सक, मनोपरामर्शदाता वा अन्य मानसिक स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गरी आफ्नो समस्याको उपचार खोज्नुस् । ‘मायो क्लिनिक’ का अनुसार आत्महत्याको प्रवृत्ति आफैं निको नहुने भएकाले सहयोग लिनु अग्रसर हुनुपर्छ ।

उपचार प्रक्रिया
आत्महत्याको संकेत दिने वा भावना आउने व्यक्तिलाई सबैभन्दा पहिले साइकियाट्रिस्टसमक्ष उपचार सहयोगका लागि लानुपर्छ । आत्महत्याको प्रयास गरेकाहरूलाई उपचारअन्तर्गत

अस्पतालमा भर्ना गरी औषधि र काउन्सेलिङ गरिन्छ । कहिलेकाहीँ धेरै कडा परिस्थितिका बिरामीहरूलाई काउन्सेलिङ, औषधिसँगै ‘शक’ समेत दिनुपर्ने डा.थापा औंल्याउँछन् । आत्महत्या गर्ने संकेत दिएका व्यक्तिको उपचार गर्दा सफलताको दर धेरै राम्रो छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

गाईजात्रामा सापारु गीत

नेवार समुदायमा दिवंगत भएकाहरूको मोक्षको कामना गर्दै आफन्तले सापारु गाए । गीतमा नेवारी, संस्कृत, मैथली, हिन्दी र पर्वते भाषा मिसिएका छन् ।
प्रशान्त माली

काठमाडौँ — उपत्यकाका तीनै जिल्लामा दिवंगत भएकाहरूको मोक्षको कामना गर्दै आफन्तले सापारु (गाईजात्रा गाइने गीत) गाएर नगर परिक्रममा गरे । नेवारहरूको ऋतुअनुसार चाड पर्व मनाउँदा फरकफरक गीत गाउने चलन छ ।

सापारु गाउने छुट्टै खलक हुन्छन् । गीत गाएमा वर्षभरि बन्द रहने यमलोकको ढोका खुल्ला हुने र मृतआत्मले प्रवेश पाई मुक्त मिल्ने जनविश्वास छ ।

‘अजम्बर अजम्बर जी.. अजम्बर
चन्द्रसूर्य जी.. अजम्बर धरा तीरे माता जी
कर लेखा बन मेरे राजा जी ।।
जोगी या जोला उन राजा जी ।।
कान चीरी देउ मेरे गुरु बा बा जी (२)
गुरु मेरा जागन्द्र जी बिनाती हमारे
सुनी लेउ जी मेरे माता कुन्द्र र सन
करी आउला जी (३)’

यो साःयाः (गाईजात्रा) गीत एक हरफ हो । गीतमा नेवारी, संस्कृत, मैथली, हिन्दी र पर्वती भाषा मिसिएका छन् । गोदावरी नगरपालिका १२ थेच्वमा यो गीत गाउने माली गाः दाफा खलः (भजन समूह), न्हुछेँ, न्ह्यछेँ र सिखछेँ दाफा खलः छन् । ‘यो देवताको गीत हो । कुन देवताको भन्ने थाहा छैन,’ सिखछेँ दाफा खलक ६२ वर्षीय हेरा गोविन्द महर्जन भन्छन्, ‘गाउने चलन पुस्तौंदेखि हस्तान्तरण हुँदै आइरहेको छ ।’

गीत गाएमा मृतकको आत्माले शान्ति मिल्नेमा उनको विश्वास छ । उनका अनुसार कतिपय गीत सत्य युगमा बुबा मर्दा छोराले यमराजलाई खुसी पार्न गरिएका कठोर कर्म, कतिपय राजाले बुबाको मुक्तिका लागि कछपाल पर्वतमा गरेको ध्यान, लोकेश्वरलाई अन्न दान दिएको बारेमा वर्णन गरिएको छ । जोगीको भेषमा गीत गाउँदै आउनेले भने मृतकको जन्म/मृत्यु, उनका परिवारको नाम र उनलाई बचाउन परिवारले गरेका कर्मको बारेमा वर्णन छ ।

अन्तमा गणेश, ब्रहृमायणी, बालकुमारी, नवदुर्गा भवानी दर्शन गरी बैकुण्ठबासमा गएको कुरा उल्लेख छ । गीतमा पुरुषले मात्र भाग लिन्छन् । ‘महिलाको मृत्यु भएमा दुई जना दौरासुरुवाल लगाएर हाकुपटासी, सेतो जनै र पटुवा बेरेर भुइँमा लतारी गीत गाउँदै अगाडि बढ्छन्,’ महर्जनले भने,‘पुरुषको मृत्यु भएमा २/२ जोरी कास (पहिलाको कट्टु) र पटुका भुइँमा लतार्ने चलन छ ।’

सिखछेँ दाफा खलक ७१ वर्षीय राम महर्जन भन्छन्, ‘गीत गाउन जाँदा मृतकको परिवारसँग शुल्क लिन मिल्दैन । यो निःशुल्क गर्ने सेवा हो । ४० वर्षदेखि गाउँदै आएको छु ।’ उनले गीत विस्तारै गाएमा एक दुई वटा वाक्यको अर्थ पत्ता लगाउन सकिने बताए । ‘यो भजन गाउनुभन्दा १० गुण गाह्रो छ,×’ उनले भने । शुक्रबार ललितपुरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिर अगाडि गाईजात्रामा सहभागी हुने सबै भेला भएका थिए ।

त्यहाँबाट एकैपल्ट नगर परिक्रमा गरेका थिए । नगर परिक्रममा गराउनुअघि एकजनालाई कृष्ण तथा अरू दुई जनालाई रुक्मिणी र सत्यभामाको भेषमा रूप धारण गराई कृष्ण मन्दिरको सामुन्ने राखेर पूजा गरियो । त्यसपछि सत्यभामा र रुक्मिणीको बीचमा रहेका कृष्णको अगाडि बलरामको रूप धारण गरेका बालकले बलेको धूप समाई कृष्णतर्फ फर्कंदै नमस्कार गरेको मुद्रामा छत्रले ओढाएर नगर परिक्रमा गराएका थिए ।

मृतकका नाममा बालकलाई एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी, चोलो र जामा लगाउन दिई पटुकाको टुप्पो भुइँमा लतार्न लगाई गाई बनाएर नगर परिक्रमा गराइयो । स्वर्ग लोकमा पुग्न अन्तिम वैतर्णी नदी पार गर्नुपर्छ । गाईको पुच्छर समाएर गएमा सजिलै पार लागिन्छ भन्ने धार्मिक मान्यता छ ।

कसैकसैले बालकलाई जोगीको भेष धारण गराएर छत्र ओढाई बाजागाजासाथ नगर परिक्रमा गराएका थिए । कीर्तिपुरको पाँगामा भने देवताको मुकुट लगाएर नगर परिक्रममा गराएर विषेश रूपमा जात्रा मनाएका छन् ।

राजा प्रताप मल्लभन्दा पहिले १४ औं शताब्दीका राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा नै ‘सा याः (गाईयात्रा)’ भन्ने उल्लेख भएको पाइन्छ । यसले गाईजात्रा प्रताप मल्लभन्दा अघि नै सञ्चालन भएको जनविश्वास छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्